संस्मरण : जेलबाट फर्केपछि

~इन्द्र जिजीविषा~Indra Jijibisha

१२ अक्टोबर २०१५ को दिन थियो । हस्याङफस्याङ म आफ्नै पारामा काम गरिरहेको थिएँ । अनि कामको चटारो, पसिनाले भिजेको शरीर, नसानसामा रगतको प्रवाह तीव्र भएकै बेलामा एकजना स्थानिय स्टाफ गाली गर्दै थिइन् ।

अचानक मेरो हातको चक्कुले उनले बोकेको फाइलमा ठक्कर खान जान्छ ।

उनी मलाई कुटयो भन्दै चिच्याउदै बाहिर एचआर (अफिस) तिर दगुर्छिन् ।

एचआरबाट मलाई बोलाइन्छ । म आफू निर्दोष रहेको जिकिर गर्छु । कम्प्रोमाइज गर्ने कोशिस गर्छु तर एचआरको स्टाफ भारतीय मुलका मलेसियन नागरिक म दोषी रहेको जिकिर गर्छ । मेरो फेसबुक स्टाटसमा निगरानी राखेको सो भारतीय मुलका मलेशियन नागरिक र म पुलिस चौकी सेङ्गाराङ गयौं । त्यहाँ मेरो २ वटा रिपोर्ट बन्यो । एउटा साइवर क्राइम र अर्को कुटपिट भन्ने । जीवनमा पहिलोपल्ट मेरो हातमा हतकडी लागेको थियो । त्यो दिन केहि घण्टा पछाडी मलाई बलाइ पुलिस सेङ्गाराङ बाट पुलिस थाना वातुपहात लगियो । त्यो ठाउँ, त्यो स्थीतिलाई कसरी वर्णन गर्ने ? साघुरो कोठाभित्र सारा तनमनलाई खुम्च्याएर बस्नुपर्ने । अक्टोबर १५ को दिन महाकामामा मलाई लगियो ।

त्यो दिन मेरो तारिख मात्र तोकियो । त्यसपछि मलाई सुंगाइ उडाङ पेन्जरा (जेल) मलक्का सारियो । त्यहाँ केहि नेपाली साथीहरु कृष्ण परियार (धनकुटा), खड्क वि.क. (मुगु), प्रकाश पोख्ररेल (उर्लाबारी), कमल तामाङ बाहेक अरु साथीहरु आफू आफू एक आपसमा झगडा गर्दा जेल परेका रहेछन् । कमल भने एक नेपालीको ज्यान मारेको अभियोगमा त्यहाँ आएका रहेछन् । मैले भेट्दा ९ महिना जेलमै काटीसकेका कमलको सजाय भने तोकिएको थिएन । मैले उनको चाहना बुझ्दा १० बर्ष जति मात्रै सजाय दिए आफू खुशी हुने बताए । तर ज्यान मारेको अभियोग केस नम्बर ३०२, १५–१६ बर्षभन्दा तल सजाय हुन सक्दैन । घरमा भर्खरै विहे गरेर मलेसिया आएको हुँ भनेर मलाई उनले सुनाए । हमेसा नेपाली गीत र हिन्दु धर्मका मुल मन्त्र गायत्री मात्र सुनि रहने कमल २ बर्ष सम्म गल्ति स्विकार नगरी रेयनमै बस्ने कुरा बताएका थिए ।

सुंगाई उडाङ पेन्जरामा केहि हप्ताको बसाई पहाडी फेरि मलाई मलाकामा अदालत वातुपहात ल्याइयो । त्यहाँ २ जना नेपालीसँग भेट भयो । एकजना दैलेखका मनलाल घर्तिमगर र अर्को तराई मुलका नेपाली थिए । मनलालको केस ३२४ थियो भने ति नेपाली मुलका तराई बासीको भने अलिक पृथक किसिमका केस रहेछ । कम्पनीमा काम गर्दै गर्दा सुपार भाइजरले गाली गरेपछि, सुपरभाइजरको गाडीको टायरको हावा फालेको (पम्चर) रहेछ । त्यही कारण ति सुपरभाइजरले पुलिस रिपोर्ट गरेको रहेछ । उनलाई र मलाई एकसाथ महाकामा लगियो । उनलाई जेल बस्ने भए, ३ महिना र जरिवाना तिर्ने भए ८०० मलेसियन रिंगेट भन्ने फैसला भयो । मलाई भने कुटपिट आरोप केस नम्बर ५०८ को २ महिना र युटुवमा लगाएको भिडियोलाई दोषी ठहरियो ४ महिनाको सजाय (चलान) तोकियो ।

कुनै एक कम्पनीमा काम चालु रहेको अवस्थामा भिडियो खिची मैले युटुबमा राखेको थिए । यो भिडियोको सम्बन्धमा कम्पनी पश्चात र म बिच लिखित सम्झौता गरि मिडियालाई युटुबबाट हटाएर मिलेका थियौं । तर त्यो पनि एउटा इस्यू बन्यो ।

त्यसपछि मलाई जोहरको कुलुवाङस्थित रहेको काम्पोङ गाजाहा पेन्जरामा लगियो । यो जोहर राय मध्येको सबैभन्दा ठूलो जेल हो । यहाँ हमेसा ७,८ हजार कैदीहरु रहने गर्छन् । जोहोर राज्यमा भने सिम्पाङ रेम्गम पेन्जरा, ताइपोइ, पेन्जरा, आयर मलिक र मलेसियन अध्यागमन विभागको क्याम्प पेकान नेनास गरि ५ ठाउँमा कैदीहरु रहने गर्छन् ।

कुलुवाङ जेलमा पुगेपछि धेरै नेपालीहरु भेटिए । राज राई (मोरङ), भोलाप्रसाद नेपाल (पोखरा), भीम पुन मगर (प्यूठान), लोकेन्द राई (धनकुटा), रामहरी खड्का (सिन्धुपाल्चोक), घमनसिं तामाङ (नुवाकोट), उज्वल राई (नुवाकोट), समिक गुरुङ (नवलपरासी), दिपक थापा (कोहलपुर बाँके) लगायत अन्य दर्जनौं नेपालीहरु त्यहाँ थिए । तर त्यहाँ भएका अधिकांश नेपालीहरुको समस्या एउटै थियो । आफन्तसँग सम्पर्क गर्न नसक्नु । त्यहाँ गल्तिले भन्दा पनि अन्जानमा अज्ञानतामा परेर जेल सजाय काट्न आएका नेपालीहरुलाई कुनै पनि संघसंस्थाबाट सरकारी निकाय सोध्न र बुझन जादैनन् । जबसम्म कोही आफन्त जेलमा भेट्न जादैनन् तबसम्म टेलिफोन कार्ड किन्न नपाउदा बाहिर फोन सम्पर्क गर्न पनि सक्दैनन् । धेरै नेपालीहरु त फोन नम्बर नै सम्झेका हुदैनन् ।

कुलुवाङ जेलमा सरेको १ महिनापछि मलाई भेट्न मेरा साथीहरु दिनेश थापा (खोटाङ) र भरत शाही (सुर्खेत) आए ।

जेलभित्र बस्दा आफन्त साथीहरु भेट्न आउदा पनि नेपालमा रहदा दशै आएजस्तो लाग्दो रहेछ । त्यहाँ बस्दा अनुशासित रहने पर्दो रहेछ नत्र कडा सजाय भोग्नु पर्दो रहेछ । बिहान ६ बजे सबै कोठाका ढोकाहरु खोलिन्छन् । अनि एकै ठाउँ जम्मा भएर मास्टर गन्तिको लागि लाइन बस्नु पर्छ । यो गन्ति ४५ मिनेटसम्म हुन्छ । मास्टर पछाडि बिहानको खाजा दुई टुक्रा प्लान्टा ब्रेट फिका चिया वा कफी त कहिलेकाहिँ, चामलको जाउलो या दालको झोल दिँदा रहेछन् । त्यहा अधिकांश कैदीहरु इस्लाम समुदायका भएका कारण जेलभित्र पनि दिनमा ५ पटक नमाज पढ्दारहेछन् । समाजको लागि जेल प्रशासनले रामै्र व्यवस्था गरेको हुदोरहेछ । जेलभित्र हिन्दु धर्मको कैदीहरुको लागि पुजापाठको केहि व्यवस्था नभए पनि स्थानिय एक तामिल पुलिसले अंग्रेजी बुझ्ने भएर हिन्दूहरुको लागि एक ठाउँ जम्मा भएर हिन्दू धर्मको बारेमा छलफल गर्ने व्यवस्था गरेका थिए । हिन्दूहरुको लागि गोरुको मासुको साथै कुखुराको मासु दिने गरिन्छ तर जर्वजस्त गोरुको मासु खुवाइँदैन ।

मलेसियाको जेलहरुमा कति छन् नेपालीहरु ? यो तथ्याङ्गक कोहि कसैलाई थाहा छैन । त्यहाँ न कुनै सरकारी संघ संस्था नै अनुगमनको लागि पुग्छन् न त गैर सरकारी संघ संस्था नै पुगेका छन् । नेपाल दुतावास मात्र रमिते हो । जेल प्रशासन संग नेपाल दुतावासको बारेमा बुझ्दा काम्पोङ गाजाहा कुलुवाङ अन्जान रहेको बताए । छिमेकी मुलुक इन्डोनेशियाले मलेसियाको जेलमा रहेका आफ्ना नागरिकको लागि ठूलो बजेट नै छुट्याउने गरेको रहेछ । जसले गर्दा मलेसियाले जेलमा रहेका नागरिकहरुले खासै दुःख पाएको भेटिएन । सिंगापुरको पनि इन्डोनेसियन आफ्ना नागरिकहरुलाई भेट्न जेल आउने गरेको भेटियो । राजधानी नजिकैको काजाङ जेलमा बेलाबेला गएपनि मलेसियाको अन्य दर्जनौं जेलमा रहेका हजारौं नेपालीहरुले नेपाली दुतावास र गैर सरकारी संघ संस्थाको नाक मुख देख्न पाएका छैनन् । जसको कारण झिना मसिना समस्यामा पनि तोकिएको समयभन्दा बढि नेपालीहरु जेल बस्न बाध्य बनेका छन् । अध्यगमन विभागको पेकानानस क्याम्प जोहरको कर्मचारीसँग बुझ्दा ‘नेपाली दुतावास छ महिनामा एक पटक पनि आउदैन’ भन्ने जवाफ पाएँ । त्यहाँ भित्रबाट बाहिर फोन सम्पर्क गर्न कठिन छ । कोहि आफन्त भेट्न आएभने वारटेल कार्ड खरिद गरि दिन सक्छन् । सामान्य तथा ३० रिंगेट पर्ने कार्डमा २० रिंगेट ब्यालेन्स हुन्छ । त्यही कार्डबाट नेपाल कल गर्न प¥र्यो भने मिनेटको ३ रिंंगेट काट्ने गर्छ । त्यो पनि हप्तामा १ वा २ पटक पालो आउँदा सयौं जनाको बिचबाट आफ्नो पालो नआउला पनि सक्छ । त्यहि भित्रका पुराना कैदीहरु मार्फत फोन सम्पर्क गरे, उनिहरुको बैंक एकान्टेण्डमा २०० रिंगेट जम्मा गरिदिनुपर्छ ।

बाहिर रहेका आफन्त आफन्तले काम्पोङ गाजाहा जेलभित्रै सुर्खेतका एकजना नेपाली भेटिए । उनको केस ३०२ अर्थात ज्यानमारेको अभियोगमा १७ बर्ष जेल सजाय कटाइरहेका थिए । तर अहिले ति नेपालीलाई बान्तुङ जेल, पहाङ सरुवा गरिएको छ ।

विभिन्न आरोपमा हाजारौं नेपालीहरु मलेसियामा कैदी जीवन बिताईरहेका छन् । तर उद्दार गर्ने संघसंस्था र व्यक्ति भने शुन्यको अवस्थामा छ । जेलभित्र सार्वजनिक विदाहरु कटाउँदा ३० दिनको महिनालाई २० दिनको १ महिना भन्ने गरिन्छ । म करिब ६ महिना जेल बसेपश्चात बेवासत भए । तर आफ्नो पासपोर्ट र भिषा हुँदाहुँदै पनि कम्पनी प्रशासन र पुलिस प्रशासनले बिच बाटोमा मेरो पासपोर्ट लुकाइदिएको कारण बाध्यतामा आउट पास कुर्नुपर्ने भयो । काम्पोङ गाजाहा जेलबाट अध्यागमन विभागको क्याम्प पेकान तेनास त लगे तर भने करिब ३ महिना थप समय कुर्नु प¥र्यो त्यहाँ म र म जस्ता दर्जनौं नेपालीहरु अदालतले तोकेको समय काटेर पनि बन्दी बनेर बस्नु परिरहेका छन् ।

रोजगार व्यावसायी संघले उपलब्ध गराएको टिकट कुनै पनि जेल सजाय काटेर क्याम्पमा मात्र ६ महिनामा भन्दा धेरै बस्नुपर्ने हुन्छ । खानु र बस्नुको कुनै व्यवस्था नभएको त्यो क्याम्पमा रोग, शोक र भोकले नेपालीहरु ग्रसित छन् । लामा लामा जिग्रिङ कपाल र दाह्री जुङ्गा अनि मासु सकिएर हाड र छाला मात्र बाँकी रहेको शरीर । अनि तनाव तनावै जिन्दगी । एक प्रकारको बैराग लाग्दो हुन्छ ।

म क्याम्पमा आएको करिब २ महिनापछि मात्र आउटपास अर्थात एकतर्फि यात्रा अनुमति पत्रको लागि आराम भर्न पाएँ । यो फाराम नेपाल दुतावास पठाइयो र उतावाट फर्केर आउन एकमहिना लाग्यो । त्यसपछि मात्र दिनेश थापा, भरत शाही, भूमिराज पराजुली, बिपिन राई लगायतका अन्य केहि साथीहरुको सहयोगमा नेपाल फिर्न सके ।

मलेसियामा दर्जनौं सामाजिक संस्थाहरु समाज सेवाका नाममा खुलेका छन् । आफ्नो विज्ञानपन गर्न कतिपनि नहिच्किचाउने ति संस्थाका पदाधिकारीहरु वास्तविक समाज सेवा भने गर्दैैनन् । जेलभित्र रहेका तर कहि कतै सम्पर्क गर्न नसकेका दर्जनौं नेपालीहरुलाई उद्दार न यस्ता समाज सेवाको नाममा खुलेका संघ संस्थाले गरेका छन् । न त नेपाल दुतावासले नै । कोहलपुर बाँकेका दिपक थापा, पोखराका दिपक श्रेष्ठ, यसका उदाहरण पात्र छन् ।

मलेसियाका अदालतमा नेपालमा जस्तो वादी प्रतिवादी हुँदैन । यसर्थ एकतर्फी फैसला हुन्छ । उजुरीकर्ताले उजुर गरेपछि सम्पूर्ण काम पुलिस र एकतर्फी वकिलको मात्र हुन्छ । अदालतमा जबसम्म गल्ति स्विकार गर्दैन तबसम्म पढाइ रहन्छ ।

जब अतालिदै गल्ति स्विकार गर्छ । सिधै जेल सजाय तोकिन्छ । यसरी बाध्यतामा गल्ति स्विकार गर्नु पर्छ । तर केसले ३०२ र अन्य ठुला ठुला केसमा भने वकिल राख्न सकिन्छ । यस्ता वकिलहरु एक मलेसियनसंग आफैले उपलब्ध गराएका र अर्को आफ्नै पैसा तिरेर ब्यक्तिगत रुपमा पनि वकिल राख्न सकिन्छ । मलेसियाको भिन्न भिन्नै विभिन्न जेलमा कति र कस्ता सजाय पाएका नेपालीहरु छन् । सम्बन्धित निकायले अनुगमन गर्न नितान्तै जरुरी छ ।

(स्रोत : Nayasamachar.com)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

1 Response to संस्मरण : जेलबाट फर्केपछि

  1. indra jijibisha says:

    थान्क यौ साहित्य संग्रह.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.