~बासु शर्मा~
उल्टो सरेको हो कि समय ?
फेरि धकेल्दैछ भिमसेन थापाहरुलाई
जीवन र मृत्युको आँखमिचौलीमा
र, नन्द प्रसाद र गंगामायाहरुको नियति लेखिंदैछ ।
अनगिन्ति आँखाहरु डुवेकैछन् आँसुमा
विचारान्तरको शिकार बनेकाहरु
कहाँ जाउन् न्याय खोज्न
जवकि ‘न्याय’ आफै न्याय मागिरहेछ ।
‘चरी’हरुको मृत्यूमा आन्दोलन उठ्ने सँस्कृति भित्र
जनहीत र अधिकारका कुरा
मयुरको प्वाँख भिरेको कौवा न हो
हो, गँजडीका गफ झैं
स्खलित भइरहेछन् विचारहरु ।
आवाज सुन्न सक्ने कानहरु हुनु पर्ने हो
सुन्नु पर्नेहरुसँग
तर स्वार्थको कानेगुजी भरिएर
बहिरा बनेका ती कानहरु
झिरले घोचे पनि खुल्ने छाँट देखिन्न
वितण्डा देख्न सक्ने आँखाहरु हुनु पर्ने हो
हेर्नु पर्नेहरुसँग
तर स्वार्थको पट्टि बाँधेर
अन्धा बनेका ती आँखाहरु
धृतराष्ट्रको मोहबाट निस्कने छाँट देखिन्न
र, निरन्तर स्खलित भइरहेछन् विचारहरु ।
आमालाई रण्डी भन्नेहरु
र, आमाको मासु लुछेर भोज पस्कन खोज्नेहरु
छाती तन्काएर निस्फिक्री डुक्रेको देख्दा
स्वाभिमानी मनहरु
चुपचाप बसिरहन सक्लान् के ?
ती कुपात्र हुर्काउनेहरुले
जवाफ दिनु पर्छ देश र जनतालाई
विभाजित भूगोलको सपना किन रोप्यौ ?
विभाजित विचारको इतिहास किन रच्यौ ?
आदर्शहरु बन्धक बनेका देखिन्छन्
शक्तिकेन्द्रका खोपीहरुमा
न माक्र्सको आदर्श काम लागेकोछ
न गान्धीको आदर्श
बरु आदर्शहरु नै लिलाम भइरहेछन्
सत्ता प्राप्तिको दौडमा
र, आदर्शका ध्वजा बाहकहरु
तिनै आदर्शलाई भँजाएर
फगत भँजाएर
खान पल्केकाहरु
हो, खान पल्केकाहरु
कसैको हातको कठपुतली झैँ
तमाशा देखाइरहेको भान हुन्छ
मदारीको छडीको ईशारामा
छमछम नाचिरहेको प्रतित हुन्छ
र, निरन्तर फस्टाउँदो छ
स्खलित विचारहरुको बजार
जहाँ
आहत मनहरु भित्र
देश छट्पटाइरहेकोछ
जहाँ
गौरवशाली स्वाभिमान भित्र
पहिचान दुखिरहेकोछ ।
(स्रोत : सत्यतथ्य मासिक)