नियात्रा : डोल्से लाहुप्लेमा झ्वाम्ल्ङग

~केदार सङकेत~Kedar Sunuwar 'Sanket'

पौडी खेल्दा तैरिन नसकेको याद ताजै छ । पौडीमा पास भएपछि माछो जस्तै तैरिँदाको स्वाद पनि फेरि अर्कै छ ।

अल्लरे छँदा उत्तिसको स्याउलाले ठाडेखोला बारेर चिसो पानीमा झ्वाम्ल्लङग हाम्फालेको झर्रो याद तातो पानीको डुबुल्कीले मेट्न सकेन तिर्सना । हुनत यात्रा न हो, स्पर्श लिन सक्नुमा आत्मनिर्भरताको ठूलो भूमिका रहन्छ । आज यस्तै अनुभव भैरहेछ डोल्से ला हुप्लेमा झोप्लाङिदा ।

१७ अगस्ट २०१३ को ६ बजे बिहानै हामी डोभरको बन्दरगाहतर्फ लाग्यौँ । बिहानीपख बेलायतमा हाइवे त्यत्ति खचाखच हुन्न । त्यसैले बिहानै बाटो छिचोल्नु अलिक सजिलो हुन्छ । हामी ४ जनाले पनि आ–आफ्नो सामान कारको डिक्कीमा राखेर खाली पेट नै घर छोड्यौँ ।

डोभरको डीएफडीएस नामको पानी जहाजमा कार लोड गरेपछि जहाज भित्रको कार पार्कमा बस्न पाइन्न । सप्पै मानिसहरु पानीजहाजको माथिल्लो भागमा जानु पर्दछ । जहाँ खाने बस्ने सवै सुविधा हुन्छ । हामीले हल्का खाजा यहीँ नै खायौँ । ४५ मिनेट पछि हामी फ्रान्सको बन्दरगाह कालाइजमा उत्रियौँ । सेटालाईट नेभिगेटर छोरी प्रेरिकाले सेट गरेपछि हामी डोल्सेला होप्ले होटलतर्फ लाग्यौँ । बेलायत बाहेक युरोपमा सबै सवारी साधनहरु दाहिनेपट्टि कुदाउनु पर्ने हुनाले अलिक असजिलो लाग्यो । यहाँसम्म पुग्न अर्थात बेलायतको ह्याम्पसाएरबाट होटलसम्म ठ्याक्कै ७ घण्टा लाग्यो कारमा ।

बेल्जियम चकलेट र बिएर उत्पादनमा कहलिएको देश मानिन्छ । १५० भन्दा बढी ब्राण्डेड बिएर तथा १०० भन्दा बढी चक्लेट उत्पादन गर्ने कारखाना छन् । हामी पनि भोलीपल्ट चकलेट फ्याक्ट्री हेर्न जाने निधो ग-यौँ । तर जानु भन्दा पहिले गुगल सर्चमा गएर नजिकको फ्याक्ट्री पत्ता लगाए मैले र फोन पनि गरिहालँे । ४० जनाको ग्रुप भए मात्र जान पाइँदो रहेछ तर पनि हेर्नकालागि मात्र हो भने आउन सक्ने बताए त्यहाँका म्यानेजरले । हामी २० मिनेटमा नै त्यहाँ पुग्यौँ । कार फ्याक्ट्रीको अगाडि राखेर डोर बेल थिचँे । ढोका खोलियो । हामी भित्र छि-यौँ । खाली थिए कोठाहरु । एकजना कामदार मात्र यताउता काम गर्दै थिए ।

केहीबेर त्यहाँका मेनेजरले चकलेट बनाइने तरिका वताए र चाख्न पनि दिए । केही चकलेट किनेर फेरि ब्रशेल सहरतर्फ लाग्यौँ । बाटोमा एकजना स्कुटर चालक उनकै भाषामा बेस्कन चिच्चाएर हामीलाई हेर्दै कराए । किन कराए थाहा हुन सकेन । नजिकैको पबमा बियर तान्दै बसेका मान्छेहरु भने मुसुमुसु हाँस्दै त्यो मान्छेलाई हेर्दै थिए । मैले पागल जस्तो मान्छे भने नानीहरु सबै गलल हाँसे ।

यसपछि ब्रशेल्सको सहरतर्फ झरियो । यो सडकवाट ब्रशेल्स सहर झपक्क झप्किएको देखियो, बगैचाको फूलझैँ । अग्ला–होचा घरको उचाइले यो सहरलाई गाँजेको छ, सुन्दरता थपिदिएको छ ।

कारपार्कमा कार पार्क गरेपछि यहाँको मुख्य एेतिहासिक बजार ‘ग्राण्ड प्लेस’ तिर लाग्यौँ । १२औँ शताब्दीमा निर्माण सुरु गरिएको यो उद्यानमय बजार विशेषतः हटियाको रुपमा सुरुवात भएको पाइन्छ । जहाँ फूल, काठ, मासु–माछाका ब्यापार मुख्य मानिन्थ्यो त्यो बेला । १० अगस्ट १६९५ मा लुइस चौधाैँले ठुलो बमबारी गरेपछि यसले मुर्तरुप पाउन पुरै ५ वर्ष लागेको थियो । यसपछि झन् पहिलाको आकृतिभन्दा कलात्मकतामा बढी प्रचुरता पायो यसले । यहाँ लगाइएका ‘कोट आफ आम्र्स’ विश्वकै पृथक मानिन्छ । जहाँ बर्सेनी हजारौँ पर्येटकहरु पृथ्वीका विभिन्न कुनाबाट यहाँ दृश्यावलोकन गर्न आउँछन् ।

– यात्रा गर्नु मात्र पनि यात्रा हैन
– रमिता मात्रले यात्राको पूर्णता दिँदैन आँखाको ।
– यदि यात्रा गरेकै हो भने मन भित्र छुने स्पर्शनै यात्रा हो ।
– अदम्य आत्म सन्तुष्टीको विम्व अनुभूति हो ।

यात्रा गर्नु भन्दा पहिला कुन ठाउँ जाने हो त्यो ठाउँको बारेमा केही जानेर यात्रा गर्नु उचित अर्थात बुद्धिमानी ठानिन्छ, नत्र एक दिनको अघि या पछिले पनि धेरै फरक पार्दछ । त्यहाँको मुख्य इभेन्ट (पर्व) छुट्न सक्छ । हो, यस्तै भयो हाम्रो यो पटकको यात्रा पनि किनकि २ दिनको तल माथिले गर्दा यहाँको विश्वकै बृहत फूलवाट निर्मित कार्पेट हेर्न चुकियो, जुन हरेक २ वर्षको १४ देखि १७ अगस्टसम्म राखिन्छ । जहाँ ८ लाख भन्दा बढी फूलका झुण्डहरुको संमिश्रणमा यो कार्पेट निर्माण गरिन्छ जसको चौडाई २४ र लम्बाई ७७ मिटरको हुने गर्दछ भने यस्को सुरुवात १९७१ सालमा पहिलो प्रदर्शनीबाट भएको इतिहासमा पढ्न सकिन्छ ।

मजेदार फूलको कार्पेट हेर्ने सपना हावामा परिणत भयो हाम्रो, एकै दिनले गर्दा ।
फूलमेलाको आलो रापले मात्र छोयो हामी चारलाई ।

सानी छोरीको सपनालाई मैले सपनामानै सिमीत बनाएँ । तिनीहरुको मन ओइलिएको प्रस्टै देख्न सक्थे म । १७ अगस्ट सम्मको बेलुकीमा हेर्न पाइनेमा १८ तारिखसम्मको मेरो भ्रमणले गर्दा यस्तै भयो, नहुनु पर्नेमा एक यो भयो । मन कोक्काइरह्यो, वनका बाँको झैँ ।

हामी हल्का निराशा बोकेर ‘वफल’ (गहुँको पिठोबाट बनेको एक प्रकारको रोटि) खाना नजिकैको पसलतिर लाग्यौँ । यो विशेषतः युरोपको बेल्जियम, फ्रान्स, नेदरल्याण्ड, पोल्याण्डमा मुख्यतः प्रयोग गरेको पाए पनि सुरुको प्रयोगकर्ता फ्रान्सका राजा चाल्र्स १०औँको नाम अगाडि राखिएको पाइन्छ ।

भोलिपल्ट फेरि पनि हामी बेल्जियमको राजधानीतिरै झ-यौँ । हामी बसेको होटेलबाट नजिकै पर्ने भएकोले १८ तारिख अपरान्ह ३ बजे ‘अटोमिउम’ घुम्न पुगियो । पार्किङमा कार पार्क गरेर हामी पार्कको पानीको फोहरामा फोटो खिच्दै हल्का उकालो लाग्यौँ । टिकटको दाम १३ वर्ष मुनिका लागि २१ युरो रहेछ र त्योभन्दा माथिकाका लागि २३.४० युरो । ९१.२० युरो त्यतै झ्वाम्म भयो । यो बेल्जियमको टुरिस्टका लागि आकषर्णको केन्द्रहरु मध्येमा पर्दो रहेछ । जसको डिजाइन सुरुमा एन्डी वाटरकेनले १९५८ गरेका रहेछन् । यसको उचाइ १०२ मिटर र वजन २४० टनको रहेको छ । यो देशमा जाँदा यहाँ घुम्न जान भने नभुल्नु होला भन्ने मेरो आग्रह ।

गर्मीको सेखी झार्न हामीले नजिकैको पसलबाट आइसक्रिम किनेर चुस्यौँ । चुसुन्जेल चिसो, सकेपछि फेरि जस्ताको तस्तै ।

योसँग नजिकै जोडिएको एउटा ठूलो पार्क छ जसलाई मिनी वल्र्ड भनिदो रहेछ । जहाँ युरोपका प्रख्यात ऐतिहासिक बस्तु र मुख्य सहरहरु दुरुस्त तवरले सानो मोडलमा अतिशोभनीय र आकर्षक तरिकाले बनाइएको रहेछ । विशेष गरी साना नानीहरुका लागि अति मनोरञ्जनात्मक रहेको छ ।

दिनभरिको यो घुमाईले थकाई लागे पनि ब्रशेल्ससम्म पुग्ने निधो भयो । एकछिन हल्का बजार घुमेर बेलुकीको खाना त्यतै खाएर फेरि होटलतर्फ फकियौँ । होटल पुग्दासम्म पनि गर्मीले छोडेको थिएन ।

होटेलको रिसेप्सन नजिकै नै बार थियो । अरु थुप्रै तरुण–तन्नेरी, बुढा–खाडा सबै जाँडको रागमा गफ हाँकिरहेका थिए । मैले पनि एक पाइन्ट लागर पिएर तिर्खा धपाउने जमर्को गरेँ, तर सकिन ।

म पनि डोल्से ला हुप्लेमा झ्वाम्लङग डाइभ हानेँ, आहा !! कस्तो मनतातो पानी । यो बेलासम्म नानीहरु स्विमिङ पुलमा डुवुल्की मारेर पनि निस्कन लागेका रहेछन ।
सुनेथेँ जंगलमा पत्तै नपाई हराइन्छ ।

देखेथेँ टिभी दृश्यहरुमा यीनै यायावरका कुराहरु ।
मलाई यतिखेर तीनै कुराहरुको भनभनी याद आइरह्यो ।
– म हराएँ
– सानी छोरी प्रकृती हराइन् ।
– श्रीमती पार्वती हराइन् ।
– ठुलो छोरी प्रेरिका उतै बसिन् होटेलमा, तिनलाई के थाहा हामी हराएको ?

सट्कट बेपत्तामा हानिएछ । मनमनै कुँडिए म । दुबै जनाको अनुहार परिवर्तन भयो, मानौँ पृथ्वी खुम्चिँदै छ । दायाँ वायाँ सुनसानछ । हरिया छेपाराहरुको मस्त घाम तपाई छ ।
– चराहरुको नजिकैको आत्मीय उडाईले म भने प्रफुल्ल छु, उनीहरु छैनन् ।
– मअलिक हुत्तिन खोज्छु अलिक ठुलो गोरेटोको फुकाइतिर, उनीहरु घोडेटोको आसपासनै छोड्दैनन् ।
– सायद हुँदो हो हराएकोमाथि अरुहराईन्छ भन्ने आगन्तुक पीरको निमोठाईले छोपेको ।

हामी तीनैजना होटल नजिकैको क्यासल हेर्न हिँडेको एकाबिहानै । किनकि होटलले दिएकोसुझावी नक्सामा जंगलबीच एउटा क्यासल पनि थियो । त्यही नक्साको क्यासल देखेर कान्छी छोरीले घुम्ने इच्छा जाहेर गरेकी थिइन् ।

बिहानको ७ बजे नै रिसेप्सनकी केटीलाई बाटो सोध्यौँ । उनीले गोरेटो सानो बाटो छ, त्यसलाई नछोडी जानु भनिन् । हामी होटेलको पूर्वतिरबाट जंगलतर्फ उनले भनेझैँ लाग्यौँ ।

जाँदा बडो रमाइलो भयो । जंगलको बाटामा राखेको काठको ब्यालेंसिङ मुडा, लुकामारी, झुन्डिने खेल्दै गयौँ । जति हिँडे पनि क्यासलको नाम निसाना देखिएन । फर्कौं आधा घण्टा भइसक्यो हिडेको, के फकिर्नु नहेरी ? जाऊँ अगाडि नाम निशाना छैन, देखिने हैन टुप्पो क्यासलको ! मनमा हल्का शंका उत्पन्न भयो मेरो । तैपनि हराउँदै भए पनि हामी हिँडी नै रह्यौँ । बित्थामा ताल पो भेटियो बाटामा । ठूलो जमेको मन्द ताल । अनि फाट्टफुट्ट पैदल हिँडेका मान्छेहरु । नभन्दै एक छिनपछि नाङगो चौरमा पुग्नु अगावै एउटा घर देखियो ।
– त्यही पो रहेछ क्यासल ।
– मान्छे बस्ने घर, नाम मात्रको क्यासल ।
– यस्तो पनि हुन्छ बाबा क्यासल ? – सानीले प्वाक बोलिन् घोसे मुन्टो लगाउँदै थकित मुद्रामा ।

हामी आएको बाटोतर्फ नलागीकन अन्दाजी यताबाट पनि पुगिन्छ होला भनेर उकालो लाग्यौँ । छकाल भइसकेको थियो दिन । बाटामा साइकिलिङ, हिड्ने, दौडने मानिसहरु पनि देखिन्थे ।

चौरस्ता आयो बिनासाइन बोर्डको, म पनि दोधारमा परेकाले छोरी प्रकृतिलाई सोधेँ । उनीले हातको इसाराले दाहिनेतर्फ देखाइन् । हामी तीनैजना अलिक परसम्म त त्यतै लाग्याैँ, एकदम तेर्सो । तर कुनै पनि सङकेत नमिलेकाले फेरि पछाडि नै फर्कियौँ ।
अग्ला–अग्ला सल्लाका रुखहरुमा बिहानी पखको मन्द हावाले सुसेलीको भाका हाल्दै थियो । हामीलाई भने भोक तिर्खा सबैले एकैचोटी गाँज्दै थिए ।

– पिलपिल हुन थाले उनीहरु ।
– नेपथ्यमा कतै घन्टी बज्यो । सबैले दायाँ बायाँ हे-यौँ ।

यति नै बेला तीनवटा कुकुरहरु डो-याउँदै हामी भएतिर एकजना आइमाई नजिकिइन् । हामीले ‘डोल्से ला हुप्ले’ होटल जाने बाटो भुलेको कुरो बताएपछि उनले इसाराको भरले बताइन् । हामी सोही बमोजिम त्यही बाटोमा लाग्यौँ । नभन्दै करिब तीस मिनेटपछि होटेल पुग्याैँ ।

होटल पुगेर छोरी प्रकृतिको जुत्ता खोल्दा त पानी फोका उठेर पनि सेतो क्यानभास जुत्तामा हल्का रगत लागेछ, यो देखेर दिदी प्रेरिकाले ‘रगत आउन्जेल चाहिँ किन हिड्नु परेको होला’ भनेर आपत्ति जनाइन् । मैले जुत्ता धोएर सुकाई दिएँ होटेलकै बार्दलीमा र तातो पानी उमालेर बिस्कुट चोप्दै भोक थम–थम्यायौँ ।

आफै कारमा घुमेकाले केही ठाउँ छुटे हुन् जस्तो लाग्यो । त्यसैले फेरि ब्रशेल्सको सिटी साइटसिइङ लाइन २ बसमा घुम्यौँ २१ तारिखका दिन । टिकटको दाम थियो ठूलाको २३ र १३ वर्षभन्दा मुनिकाको १३ युरो । बसले आफ्नो बाटो लियो । ग्राण्ड प्यालेसको सेन्ट्रल स्टेसनबाट प्यालेस रोयल (राज दरबार, तर अहिले यहाँ राजपरिवार बस्दैनन्), स्याब्लोन (जहाँ पुराना चर्च, सन १५३३ यता बनेको पुराना ऐतिहासिक मूतिर्कला अझै पनि मजबुत तवरले चर्चको भित्तामा अवस्थित छ), लौइस शपिङ सेन्टर (ब्रान्डेड सामान पाइने शपिङ सेन्टर जहाँ छोरी प्रेरिकाले माइकल कोर्स नामक एक घडी पनि किनिन् २२९ युरोमा, जुन बेलायतको भन्दा केही हदमा सस्तो नै हो), अनि आर्ट नौभेउ, एबियाए कम्ब्रे, युरोपियन डिस्टिक जहाँ युरोपियन संघ तथा नेटोको मुख्यालय तथा विश्वको तेस्रो मिटिङ हुने भवन । मानेकेन पी (भनिन्छ, यी सानाकेटाको पिसाबले ब्रशेल्स सहरलाई ठूलो आगलागीबाट बचाएका थिए रे), त्यसै गरेर सिक्वानटेनियर अर्केड्स (लेउपोल्ड दोस्रोले बेल्जियमको पन्ध्रौँ स्वतन्त्रता दिवसको अवसरमा उद्घाटन गरिए पनि सन् १९०५ मा मात्र यसको पूण निर्माण भएको थियो, जहाँ ऐतिहासिक कला र विषय, प्राचीन सैनिकी हतियार संकलन, विभिन्न मोडेलका संकलित कार आदि चाखलाग्दो तरिकाले सजाइएको छ यो संग्राहलयमा) ।

आहा ! कस्तो कलात्मक सीप परेको सहर । कस्तो सरस जीवन शैली । सवै सवै देखिएका कलामा तथ्यात्मक वर्णन अनि भावनात्मक तथा सजीवता र सजिवपन यो सहरमा । सफा बाटा, आधुनिक ढंगले सजिएका यहाँका बार र रेस्टुराहरु बसौँ बसाँै लाग्ने । भित्री मनमा हल्का–फुल्का पीडा नबोकेका को पो होलान् र तर, यहाँ देखिने मानिसहरु सुकिला, फुतिर्ला, चिल्ला अनि हँसिला । यही होला युरोपिएनहरुको धेरैमा पर्न आउने एक विषेशता ।

मलाई युरोपले छुने भनेको प्राकृतिक विम्ब भन्दा यहाँका कला र सभ्यताले नै हो, यात्राका शब्दहार र प्रकृति वर्णन बुन्ने र अनुच्छेदलाई थापिदिने त मेरै देश नेपालकै छवि र छटाले नै हो ।

जम्माजम्मी १ घण्टा ३० मिनेट लाग्यो ब्रशेल्स सहरलाई एक चक्कर लगाउन ।
घाम ढलिसकेको हुनुपर्छ यतिखेर । गर्मी महसूस कम गरे मैले । नजिकैको पसलमा पानी किनेर पिउँदै फेरि बजार चहार्न लागियो । असन, इन्द्रचोकको भन्दा भीडको मात्रा कम हैन । फरक यत्ति हो यहाँ मःम र कचिलाको झर्रो स्वादको बासना चल्दैन । लप्सी, गुन्द्रुक र अकबरे खोर्सानीको रागले हाच्छिउँ फुर्दैन । छाडा कुकुर र साँढेको डर हुन्न । त्यही बाटोमा पैदल यात्री, त्यही बाटोमा ठेलागाडा, मोटरबाइक र साइकलको मिचाहट पटक्क नै छैन । नेपाली व्यापारीहरु पनि रहेछन हल्का, सोभिनर बेच्ने पसल थापेका । टापटिपे कुम्ले दोकाने भने जताततै हुँदो रहेछन् । युरोप, अमेरिकामा त छन् भने नेपालमा हुनु स्वाभाविकै ठाने मैले । पुलिस आएको नआएको थाहा दिने पनि यसै ग्रुपबाट संचालित हुँदो रहेछ । त्यो पनि नौलो नै लाग्यो मलाई ।

रमाइलो छ बेल्जियमको राजधानी धनीका लागि लाग्छ युगीन सहरको प्रतिक हो यो सहर ब्रशेल्स । ठूला सहरका ठूला मान्छेका लागि । हामी जस्ताका लागि ‘घुमिस् युरोप ?’ भन्दा स्वादले घुमेँ, घुमे मजाले भन्नु सुहाउँदो नै हो ।

कति यात्रुहरु रमाएर घुमेका हुन्छन् आफ्नै पैसाले भने कोही सरकारी खर्चको बजेटले वा साथीभाइको निम्तोले । जे सुकै तवरले जुन देशमा घुमे पनि केही सिक्नु, बुझ्नु र नजानेकालाई सिकाउनु, धेरथोर उन्नति गर्नसके राम्रो ठान्छु म ।

हाम्रा देशमा घुम्न आउने आउरे बाउरे कुहिरेले हामीले आची गरेको, नाकको सिँगान चाटेको अर्थात निजी सस्कृति भन्दा पनि असभ्य झल्किने फोटो खिचेर, किताव छपाएर मालामाल बन्छन तर हामी भने जता गए नि महंगा सामान र गहना पात किनेर पैसा सक्छाैँ, यिनीहरुबाट केही सिक्दैनौ, सिकाउँदैनौ र सिकी पनि माग्दैनौँ ।

फेरि साँझ पर्छ । होटेलमा खाना महँगो भएको कारणले हामी फेरि भनेको जस्तो आहारा खोज्दै होटेल जाने बाटो समात्यौ । ‘भाग्यमानीको भूतै कमारो’ भनेझैँ तीन दिन पछि ब्रशेल्स नजिकै नेपाली रेस्टुरा एभरेस्ट भेटियो । केही हदसम्म भए पनि जिब्रो पड्काइयो । यहाँका साहुजी रामशरण खनालजीको मीठो बोलाई र फरासिली उहाँकै धर्मपत्नीसँग केही भलाकुसारी गफगाफ गरियो । स्पेनको रेस्टुरामा घाटा लागेपछि त्यताबाट ब्रशेल्समा बसाइँ सर्नु भएको रहेछ । साँझले परेली झिम्काउँदै गर्दा हामी पनि आफ्नो गुँडतिर लाग्यौँ किनकि हामी बसेको होटेल अलिक टाढै थियो ।
पाँच दिन त यता र उता घुम्दैमा बितेछ । भोलि त फर्कने दिन । तैपनि तिर्सना टुंगिएकै थिएन । जाँदा बाटामा पर्ने सहर ब्रुजेसमा पुगेर खाजा खाने, एकछिन बजार घुम्ने निधो भएपछि हामी २३ तारिख बिहानै होटेलको बिल तिरेर हिड्यौँ । ब्रुजेसमा खाजा खाएपछि बग्गीमा चढेर एकछिन बजार सवार गरियो र लागियो बन्दरगाह केलसतिर । यसपछि डोभर हुँदै छिरियो फेरि…बेलायततिर ।

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.