~अनुभव मञ्जरी~
भावनाको बगैँचामा
एकै क्षण टहल्न मन लाग्यो
प्रकृतिको सबै रङ्ग टिपी
जीवनको पानाभरि पोत्न मन लाग्यो
गराहरू बाँझै छन्
घारीहरू बुटृयानले भरिएका छन्
कता कति सतहीरूपमा
बाँझो फुटाउन सुरु भएको छ
भस्मे फाँडिने योजनामा छ
अलिकता कविताको बीज छरेको छ
उम्रने क्रममा कतै कराले नखाइदेओस्
अलि पर कथाको बेर्ना सर्ने तयारीमा छ
पापी खडेरीले कलिला बेर्नाहरूलाई
फताक्क नगलाओस्
अलि वर नाटकको टुसाहरू नि पलाउँदै छन्
केही कोपिलाहरू लाग्दैछन्
फूल फुल्नुभन्दा पहिला
कलिला कलीहरू कतै हुरि बतासले
नझारि देओस्
बगैँचाको बीच–बीचमा कलिला
मुक्तकका बिरुवाहरू पनि छन्
त्यसैगरि कुनाकानी तिर
हाइकु, सेन्यू, उखान र चुडकिलाका
लहराहरू पनि पलाएका छन्
त्यो सानो बगैँचा, खडेरी परेको
बाँझोमाझ उभिएको छ
हातको ठेला उठाउन बाँकी छ
डल्लाहरू फुटाउन पुगेको छैन
खनजोत गरेर ढुङ्गा–रोडा हटाउन
माटो सम्माउन पुगेको छैन
बगैँचा त्यतिकै सुन्दर बन्दैन
कठोर मेहनत र लगन चाहिन्छ
बगैँचाको सौन्दर्य पनि त्यत्तिकै बढ्दैन
मालीको उत्कृष्ट कलाकारिता खुबै चाहिन्छ
रङ्गीविरङ्गी भाँती–भाँतीका सुन्दर फूलहरू
रसिला, स्वादिला, कैयौँ प्रजातिका फलहरू
आह ! कल्पना गर्दै मात्र पनि पुलकित हुन्छ मन
हरियाली बृक्षको छहारीमुनि
पात, फूल, कोपिला र लातिका छामी
आनन्दविभोर भै नाच्न चाहन्छ मन
जीवनलाई अमृत बनाई पिउन चाहन्छ मन
भावनाको बगैँचामा टहल्न चाहन्छ मन, टहल्न चाहन्छ मन ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )