कविता : मेरो मृत्यु कविता

~नरेश शाक्य~Naresh Shakya

मेरो मृत्यु साधारण हुनेछ
घटित हुनेछ सामान्य घटनासरह
कसैलाई थाहा पनि हुने छैन
न कुनै रोदन
न कुनै क्रन्दन
मेरो पार्थिव शरीरलाई
स्वजनहरूद्वारा
छिटोभन्दा छिटो उठाएर लगिने छ
र दफनाइनेछ माटोमा
एकपटक माटोमा मिलेपछि
त्यो सदाको लागि विस्मृत हुनेछ
स्मृतिपटलबाट
मेरो मृत्यु हिमालय पहाडजस्तो
न अग्लो हुनेछ
न गरुङ्गो
किनभने मैले कसैको हितको र
महान काम गरेको छैन
न देशभक्तिपूर्ण युद्धमा
एउटा सिपाहीले जस्तो जीवनदान गरेको छु
न आन्दोलनमा
शहादतप्राप्तिको सम्मान र अवसर नै पाएको छु
पार्टी नीति र सिद्धान्तप्रति
आस्थावान र समर्पित व्यक्ति पनि
म होइन ।
म यो भूमण्डलको
कुनै महत्वपूर्ण घटना नै होइन
मेरो मृत्युमा
कुनै शोकसभाको आयोजना हुने छैन
पार्टीको झण्डा
मेरो शवमाथि ओढाइँने छैन
कुनै समाचारपत्रको मुखपृष्ठमा
ताजा समाचार बनेर प्रकाशित हुने छैन
म एउटा सामान्य मान्छे
मृत्यु पनि सामान्य हुनेछ
मेरो मृत्यु कसैका निम्ति पनि
अपूरणीय क्षति बन्ने छैन ।

(स्रोत : शब्द-संयोजन)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.