कविता : बालुवाको मरूभूमिबाट

~जीवन खत्री~Jiwan Khatri

बाध्यताको आँधी घरभित्र छिरेर
नबगाएको भए बाको अनुहारबाट घाम
नचोरेको भए आमाको आँखामा चम्कने जून
फूलजस्तो मुस्कान
प्रियाको ओठबाट नखोसेको भए
नानीबाबुको स्कुल पुग्ने बाटो नभत्काएको भए
पुर्खाले उपहार छाडीगएको जिउँदो घर र
ताराहरूले गुच्चा खेल्ने आकाशजस्तो आँगनसँग
कसैगरी साट्ने थिईँन राहदानी
र आउने थिईँन्, सपना पुर्ने चिहानजस्तो यो मरूभूमिमा।

यहाँ त आगो बोकेर बसेका बालुवाहरू छन्।
तीनै बालुवाहरू माथि नाङ्गो पैताला हिड्नु पर्छ र

डुलाउनु पर्छ भेडाका बथानहरू।
चोपेर आफ्नै आँशुको अचार

टोक्नु पर्छ पीडाको सुख्खा खबुज।
निचोरेर आफ्नै शरीरको रगत पसिना
भर्नुपर्छ हरेक दिन दुःखको अम्खोरा

र मेटाउनु पर्छ जिन्दगीको प्यास।
मनभरि प्रश्नहरूको तुफान चल्छ
गाउँको खबर बोकेर किन आउँदैन यहाँ, हुलाकी हावा?
किन उज्यालो लिएर बिउँझदैन् बिहान
बिनायोको धुन बोकेर झ्याँकिरीहरू
किन बोलाउन्नन् प्यारले? गोधुली सुवास।

किन रोबटको मुटु बोकेर बाँच्छ? मेरो मालिक र
बिनाकारण मलाई लगाउँछ कोर्रा?
भगवान्, के सोचेर हिँडेथेँ घरबाट
म त भेडाहरूको बथानमा भैसकेछु, अर्को भेडा।

म जान्दिन्
मैले गन्न नसकेका अनेकौँ वर्षपछि
मालिकले किन हेर्यो मलाई, आज अनौठोसँग?
किन ल्यायो? बजारबाट काठको रातो बाकस
यत्ति जान्दछु,
यो बाकसमा भरीनुअघि
म शकुसल पुग्नुछ देश।

आफ्नै माटोको क्यानभासमा
पोत्नुछ पसिनाको रङ
र बनाउनुछ,
बा-आमाको अनुहारमा हाँसोको जिवन्त चित्र।

यो भूगोलकै अग्लो माटोको आशिर्वाद थापेर
म अहिल्यै हिँडे।

Khatri.jiban@gmail.com
(यो कविता अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर र गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन समितिद्वारा आयोजित “विश्वब्यापी कविता प्रतियोगिता २०७३” मा उत्कृष्ट भएर पुरस्कृत भएको कविता हो।)

(स्रोत : Motivatenews.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.