निबन्ध : के आत्महत्या नै समस्याको समाधान हो त ?

~सजना गुरुङ~Sajana Gurung

समय कति परिवर्तनशील छ, समयको परिवर्तन हुनु नौलो कुरा होइन किनकी हामी सबै यो कुरा जान्दछौ तर मानिसको जिन्दगीमा आएका कतिपय परिवर्तनहरुले मानिसको जिन्दगीको रुपरंग नै फेरेर राखिदिंदो रहेछ । मैले कहिल्यै सोचेको थिइन, जिन्दगीको अन्तिम पलसम्म हरेक सुख दु:खमा तिमी सँगसँगै उभिनेछु भनेर सारा दुनियाँको सामु वाचा गर्ने जीवनसाथीले अहिले आएर मलाई नै चरित्र हिनताको यती निक्रिस्ट कलंक लगाएर टाढा हुनेछ भनेर । जव म अहिले जिन्दगीको त्यो मोडमा छु, जुन अति दु:खद मोड अनि पिडादायी पलको रुपमा मेरो अगाडि उभिइरहेको छ । मलाई पलपल उसको साथ र मायाको अती आवश्यक परेको आभास भइरहेको छ । घर परिवारको दुर्व्यवहाँरले मलाई भित्र भित्रै यती कस्टकर गतिमा रेटिरहेको छ फेरिपनी रुनु को सँग ? आपतबिपतमा साथ दिने आफ्नैले पिंडा दिएपछि मनको बह पोख्नु कोसँग ? कति सहनु र कहिले सम्म सहनु यी दुर्व्यावहार र दुर्वचनहरु ? हो म नारी हुँ, कुनै निर्जिब मुर्ति होइन म । म स्वीकारछु यो सत्यतालाई कि विवाह भएको आज पन्धौं बर्षा हुँदासम्म पनि म आमा बन्न सकिन, यो मेरो दुर्भाग्य हो चाहना होइन । मलाई पनि त आमा बन्ने अदभुत चाह नभएको होइन । तिम्रो र तिम्रो घरपरिवारको बच्चा खेलाउने रहरहरुलाई साकार रुप दिन मन नभएको होइन तर म के गरुँ ? म आँफै ठगिएकी छु बिधाताको यो बिधानबाट ! मलाई वन्चित गरिएको छ प्रकृतिको यो अपरिहर्य नियमबाट ! किन ? के कारण भनेर कोही मलाई प्रश्न सोध्न अगाडि नबढ किनकी यी प्रश्नहरुको सोधाइहरुसंगै म जीवन व्यतीत गरिरहेकी छु

सबै क्रियाकलापहरुको एउटा हद हुन्छ । माया गर्नुको, घृणा गर्नुको, अन्याय गर्नुको र अन्याय सहनुको ? हो म स्वास्नी मान्छे हुँ तर कसैको गोठमा बाँधिएर राखिएको चौपाया होइन जो बाँझी छ भन्ने जानकारी पाउनसाथ काटेर मासुको बिलो लगाइ बिक्रिमा राखिदिने ! न म बजारबाट किनेर ल्याइएको त्यो खेलौना हुँ जसको एउटा भाग निस्कृय हुनासाथ कुनै फोहोरको बट्टामा लगेर फ्यालिदिने ! तर आज म निसन्तान हुँदा तिमीले मेरो गणना त्यही एक निर्जिव सस्तो खेलौना सँगै गरिदियौ, जो जबसम्म मानिसको स्वार्थ पुरा गर्न सक्छ तबसम्म मानिस त्यसलाई आफ्नो साथमा राख्दछ र जब त्यसले मानिसको स्वार्थ पुरा गर्न असमर्थ हुन्छ स्वार्थी मानिस त्यसलाई धेरै टाढा मिल्काइदिन्छन् । तिम्रो जिन्दगीको सबै सबै चाहना र आवश्यकताहरु पुरा गरें मैले, मात्र एउटै चाहना पुरा गर्न असफल भएँ तिम्रो बच्चाको आमा बन्न, तिम्रो सन्तानलाई यो दुनियाँमा ल्याउन ! मेरो यही एउटा कम्जोर पक्षलाई पकडेर मेरो यो कोमल र पीडित मनलाई जीवनसाथी भएर राहत र सहनुभुति दिनुको सट्टा नगन्य आरोप, दुर्व्यावहार र दुर्वचनरुपी तरवारले निरन्तर रेटिरह्यौ ! तिमी र तिम्रो परिवारबाट गरिएको ती सारा अत्याचारहरु जब मैले चुपचाप सहँदै तिमीसँगै जीवन बिताउने जिद्दीमा म अडिरहें । तिम्रो स्वार्थी मनले यती निक्रिस्ट र तुच्छ षड्यन्त्र गर्नपुगेछौ कि यसको कल्पनासम्म मैले गरेकी थिइन । मान्छे आफ्नो स्वार्थ पुरा गर्नलाई यहाँसम्म गिर्दो रहेछ कि मलाई त बिश्वास नै हुँदैन । म त आजसम्म यही भ्रममा बाँचिरहेकी थिएँ कि विवाह पश्चात लोग्ने र स्वास्नीको तन मन, इज्जत सबै सबै एक हुन्छन तर म गलत रहेछु । तिमीले कसरी मेरो चरित्रमा दाग लगाउन सक्यौ ? मेरो स्वास्नी हुनुको इमान्दारितालाई जानी जानी कसरी चरित्रहिनताको कुसंग्या दिन सक्यौ ? यही स्वार्थको लागि हैन ? ता कि यी सब सहन नसकी म वाध्य भएर तिमीसँग सम्बन्ध बिच्छेद गर्नलाई राजी बनुँ ? किन समाज मानिसको कैयौं सबल र सही पक्षलाई अन्देखा गरी एउटै कम्जोर पक्षलाई महत्व दिन्छ ? किन ? प्रकाश ! मैले चाहेको खण्डमा जे पनि गर्न सक्छु, तर अब म तिम्रो सामु न त रुँदै बिन्ती गर्नेछु न त कुनै बिरोध ? प्रकाश ! नारी , कानुनले लेखिदिएको नारी हकहितका नियमहरुको जानकारी लिएर होइन यस्ता बिसँगतिपूर्ण मोडहरुमा आफ्नो जिबनसाथी र परिवारको माया र अत्मीयताको प्राप्ति अभास गरेर जिउना चाहन्छ । जब त्यो आत्मसम्मान र आत्मीयताबाट नै मलाई वन्चित गराइन्छ भने एउटै घरमा परिवार बनेर बस्नुको के अर्थ ? जब लोग्ने र स्वास्नी बीचको समीप्यता र एकर्कामा समर्पित हुने भावहरुनै स्वार्थको अग्निमा जलेर भस्म भैसकेपछि एउटै बिस्तारामा जीबनसाथी बनेर पल्टनुको के अर्थ ?

आफ्नै लोग्नेद्वारा चरित्र हीनताको आरोप ! यती घीनलाग्दो आरोप स्वीकारेर म कसरी तिमीसँग प्रेम र सहाराको आशा राख्न सख्छु र ? प्रकाश ! तिम्रो सामु म हारें, तिमीले मलाई हार स्विकार्न वाध्य बनाइदियौ । यदि तिम्रो बिचारमा यो समस्याको अन्तिम समाधान सम्बन्ध बिच्छेद नै हो भने म तिमीले तयार गरेको छोडपत्रमा राजीखुसीसाथ दस्तखत गर्न तयार छु । सधैं सधैं बाँझी र निसन्तान हुँ भन्ने तिमी र तिम्रो परिवारको हजारौ तुच्छ वचनरुपी बोधको वाणहरु यसरी मेरो मानसिकता भरी खनिएको म अरु सहन सक्दिन । यही त फरक छ प्रकाश, लोग्ने र स्वास्नीमा ! लोग्नेको हरेक

आपतबिपत र बिसँगतिमा ऊ सँगसंगै उभिनसक्नुमा स्वास्नी आफ्नो सौभाग्य सम्झन्छे ! आफ्नो कर्तव्य र महानता सम्झन्छे । तर लोग्ने स्वास्नीमाथि आइपरेको बिकटपलहरुमा उनको साथमा हुनुपर्दा आफ्नो दुर्भाग्य सम्झन्छ । आफ्नो लाछिपन र आँफैलाई नामर्दा सम्झन्छ ।

सारा समाजको सम्मुख्मा मैले सम्बन्ध बिच्छेदको कागजमा दस्तखत गरी पचास हजार रुपैयाँमा आफ्नो बैबाहिक जिन्दगीको अन्त्य गरिदिए, औपचारिक रुपमा । प्रकाशको मुहारमा देखिएको खुशी र हाँसोको रङले उसलाई बिजेता घोषित गरिरहेको भान हुन्थ्यो । प्रकाश ! यदि तिमीमा मानवता भन्ने थोरै मात्र पनि शेष हुन्थ्यो भने तिमी आज लोग्ने र स्वास्नीबीचको अटूट पवित्र बैबाहिक सम्बन्धको यसरी बद्नाम गरेर, यसरी उपहास गरेर रमाइरहेको हुने थिएनौ ! अचानक मेरा नयनहरु प्रकाशको आमा र दुई दिदिहरुमा पर्नगयो । ती मुहारहरुमा पनि खुशी छचल्की रहेको थियो ! एकमन गएर भनु जस्तै भइरहेको थियो , सासु आमा ! के आज मेरो ठाउमा हजुरकी यी दुई छोरी उभिएकी भए पनि यसरी नै हाँस्न सक्नुहुन्थ्यो ? निसन्देह, हाँस्न सक्नु हुने थिएन ! छोरीको पिंडामा दुख्ने मन बुहारी को पिंडामा किन दुख्न सक्दैन ? दिदीमाथि अन्याय पर्दा बिद्रोह गर्ने मन भाउजु माथिको अत्याचारमा किन बोल्न सम्म खोज्दैन ? तर अब मैले गर्ने कुनै पनि बहस र बिन्तिहरु मात्र व्यार्थ हुनेछन । यदि मानिस आँफैलाई सजीव, श्रेष्ठ , चेतनशील , संवेदनशील प्राणी सम्झन्छ भने उसको हरेक निर्णय अरुको भलाइको निम्ती हुनुपर्दछ ! मानिसको हरेक कर्मद्वारा समाजमा सुपरिवर्तन आएको हुनुपर्दछ ! एउटा को दु:खमा अर्को दुखी हुनुपर्दछ ! खुशीहरु बाँडेर हाँस्नुपर्दछ र पिंडाहरु अभास गरेर रुन सक्नुपर्दछ ! सही र गलतको ठिक निर्णय लिन र दिन सक्नुपर्दछ ! प्रकाश ! अब त लाग्छ, तिमीमा सम्बेदना, चेतना …, सबै सबै मरिसकेको छ बाँकी छ त केवल सन्तान प्राप्तिको अदभुत चाह र आफ्नै मात्र खुशीको पर्वाह गर्ने स्वार्थी मन ! जसरी निस्वार्थ र समर्पणले सबन्धलाई अटुट र दिर्घायु रुप दिँदछ त्यस्को ठिक बिपरित स्वार्थले हरेक सम्बन्धको उपेक्षा गर्दै आफ्नोपन र आत्मियताको अन्त्य गरिदिन्छ !

मेरो कपडा र पचास हजार रुपैयाँ राखिएको झोला बोकेर म त्यो मानिसहरुको भिडबाट निस्किएँ ! जतिजती मेरा पाइलाहरु अगाढि बढाउदथें मनमा त्यतिनै बढि एक किसिमको भयानक बिचलित भुकम्प गइरहेको अनुभव गर्दथें । जबरजस्ती मनभित्र फुटेको भक्कानो र आँखामा छचल्किरहेको आँसुलाई रोकिरहें ! अब म कहाँ जाउँ ? बुढेसकालका बाआमालाई माइतमा गएर के भनुँ र कसरी भनुँ ? किन यी सब कुराहरुलाई मैले कसैसँग भन्न जरुरी सम्झिन ? म गन्तब्य बिहिन हुनपुगें, धेरै सोचें र अन्त्यमा एक निस्कर्षमा पुगेँ आत्महत्या ! जिन्दगीकै अन्त्य गरिदिएपछि न पिंडाको आभास न त खान, लाउन र बस्ने बासकै आवश्यकता ? चारैतिरबाट मुक्ती नै मुक्ती ! अचानक खुट्टा एक ढुङ्गामा ठोक्किएर म लड्न पुगेँ, आँफैलाई सम्हालेर उठी हेर्दा खुट्टाको बुढी औलामा काटेको रहेछ, रगत बगिरहेको थियो । म त्यसै त्यसै आत्तिएँ र रुन थालें । एक पललाई शायद मैले आफ्नो सन्तुलन र समबेदना गुमाइसकेकी रहेछु । त्यसैले त आत्महत्या जस्तो निक्रिस्ट निर्णय लिन पुगें ! मेरो लोग्ने र घरपरिवारले मेरो यो निसन्तान हुने स्वरुपलाई बहिस्कार गरे भन्दैमा के म स्वयंले पनि यस स्वरुपको अपहेलना गर्नु उचित होला त ? सबैको जिन्दगीमा मृत्‍यु निश्चित छ त फेरी म मर्नको निम्ती हतार किन गरुँ ? ठुल्ठुला लडाईंको मैदानमा बम र बारुदले शरिरको अङ्ग भङ्ग पारिदिंदा पनि जब सम् त्यस सिपाहीको देहमा प्राण जिबित रहन्छ तबसम्मा उ आफ्नो अपाङ्ग शरिरलाइ बैशाखी र पांग्रे कुर्सिको सहारा लिएरै भएपनि बाँच्ने प्रबल हिम्मत राख्दछ ! आफुसँग नभएको कुरालाई बढी महत्व दिएर जिन्दगीलाई निरुत्साहित पार्नु भनेको गलत मनस्थिती हो । जिन्दगीको यो कटु सत्यलाई स्वीकारेर, आत्मसात गरेर म बाँच्ने छु । म परजिबी होइन आफैलाई परजिबी सम्झनु मेरो अज्ञानता हो । प्रकाशबाट अलग्गिएर पनि मेरो जीबनको आफ्नै छुट्टै अस्तित्व छ । र त्यो अस्तित्वलाई जीवन्त राख्ने हर कोशिस म गर्नेछु । असाढको महिना एक्कासी तिव्र गतिमा बर्षा हुन थाल्यो । ओत लाग्नको निम्ती यताउती हेर्दा अली पर एउटा मन्दिर देखेँ । जतिसक्दो छिटो पाइला चाली मन्दिरमा पुगेँ र निर्धक्क भई लामो श्वास फेरेँ र सोंच्न थालें सानो बर्षातदेखि बचाउनलाई ओतको जरुरत ठान्ने जिन्दगी कति अनमोल छ । किन यसलाई व्यर्थ खेर फाल्ने ? आत्महत्या जस्तो कायरता मनमा किन पाल्ने ? जान्दगीदेखि विजय हाँसिल गर्नु नै उचित ठानें र नयाँ ढंगले जीन्दगीको शुरुवात गर्ने निर्णय गरें ।

(जसको जिन्दगीमा यो घटना घट्यो र यी सब जीन्दगीका सत्यतालाई स्वीकारेर पनि बाँच्ने हिम्मत राख्नुहुने मेरी आदरणिय सानिमा चन्द्र गुरुङमा समर्पित ।)

कुश्मा , पर्वत
हाल इजरयल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.