कविता : बेमौसमी बर्षात्

~रसिक रमण~Rasik Raman

चुहिन आतुर भएका
निसा ओढेर
अकल्पनीय प्रहार गर्न
तम्सिएका
पहाड र जङ्गलका फेद तथा बिचतिर
उछिट्टिएर उत्रिएका
मेघका धब्बाहरुसङ्ग ठोकिएर
कोमल नयनबाट
पिडाका अश्रुधारा
बगाइरहेकी प्रकृति ,

दिग्दिगन्त फैलिएको जलमग्न पर्यावरण
खसमसङ्गको रति क्रिडाको भावना कल्पदै
पग्लिएकी स्त्रीसमान
हर अवयब सिथिल बनाइ
प्लावित नेपाल आमा
देहभार खेप्न नसकी
असमर्थता र निरिहपनले
एक एक अङ्ग अर्पण गर्दै छिन
कोशी , भेरी र महाकालीहरुमा ,

भुकम्पको जर्जरताले थर्थराउन विवश
पहाड , बेशी , फाँट र चुचुराहरु
पुन काँपिरहेछन्
अस्तित्व सुरक्षार्थ
नदी वारपार भएकाे छ
वर्षा बारबार भएकाे छ
कत्तिकाे बास बगाएकाे छ
कतिकाे लास बगाएकाे छ
काेमल दृग मुहानका
गाेल सकिने गरि
मन राेएकाे छ , मुटु जलेकाे छ ,

साथी याे वर्षा स्वार्थी छ
आफ्नो अनुकुल
सागरसँगकाे मिलनापेक्षामा
हर निमेष वर्षिरहेछ
याे मात्र पीडक छ
सकल दर्द र वेदना
व्यबहृत भएर
मनमा पीडाका लेसमात्र
अट्ने स्थान भएसम्मकाे
प्रहार खपेर
संवेगशुन्य भएका
मेची देखि महाकालीसम्मका कायहरुका
सम्पूर्ण भाैतिक सम्पत्ति र आँसु खाेसेर
अकिञ्चन जीवन बँचाइरहेछ ;

यसले त पहाड बेसी र फाँट भिजाउन सघाउनुपर्थ्याे
हर्हराएकाे भूमिकाे आतमा मूल फुटाइ
राेपाइँ गर्न सघाउनुपर्थ्याे
तर अफसाेच
यसले त केबल
सताएकाे छ रुवाएकाे छ
त्यसैले त साथी
वर्षा याममा पनि नेपाली आकाशबाट
बेमौसमी बर्षात् वर्सँदैछ !!!

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.