~जया राई~
मेसेज बक्सभित्र आएको मेसेजले कुनै बेला खुशी बनाउँछ त कुनै बेला निराश । कुनै बेला पारो चढाउँछ भने कुनै बेला हतार लगाउने आदि अनेक गर्छ ।
करिव एक हप्ता अगाडि आएको ईन्बक्सको मेसेज बीके पाण्डेजीको रहेछ । यसपाली सत्यतथ्य मासिकले साहित्यक अंक निकाल्ने भएकोले रचना पठाउनु भनेर अनुरोध रहेछ त्यसमा । यसको लागि विशेष तयार पनि छैन । नपठाई पनि भएको छैन । के लेखौँ भन्ने हरेक क्षण प्रेसर बढ्न थाल्यो । लेख्ने विषयवस्तु सोच्दा सोच्दै बीचमा एउटा सामान्य घटना घट्यो, त्यो नै मैले यहाँ बाँड्न चाहेँ ।
आज अक्टुबरको पहिलो दिन बुधबार, बिहान काममा जाँदा आकाशमा बादल यत्रतत्र छरिएको छ । पानीका मसिना छिटा पर्दैछन् । सडकमा कारको गति हैन ताँतीमा अल्झिएको छ । ट्राफिक जाममा घिस्रिएका कारहरुको गति भन्दा मेरो हिँडाईको गति तीब्र छ । दश मिनटको मेरा हिँडाईमा पुगिने काममा पुग्न ढिलो हुने डर छैन, न त ट्राफिक जामले नै असर गर्छ ।
म काममा पुग्दा रिसेप्सनिष्ट भारती पनि ढोकाको ताला खोल्दै गर्दा भेट भयो । हाम्रो बिहानको औपचारिकता पछि आजको हाम्रो कामको हतारमा गर्ने रुटिन भन्न थालिन् – ‘जया ! आज दूध सकिएको छ, चाँडै टेस्कोबाट ल्याउनु पर्छ ।’
उसको आसय मैले दूध किन्न जानु पर्छ । किनकि सानातिना किन मेल मेरो भागमा पर्छ । युनिफर्म फेरिसकेर म तयार भएँ । कफी पनि किन्नु पर्ने रहेछ । उसले सानो कालो कन्तुरबाट बीस पाउण्डको नोट निकालेर दिई ।
त्यो बीस पाउण्डको नोट हातमा पोको पारेर बाटो पारिको टेस्को एक्स्प्रेसमा जानको लागि पीनार रोडको पेटीमा उभिएकी छु । सडकको माला उनिएको जस्तो दोहोरो ट्राफिकलाई छल्दै बाटो काटेर पसल भित्र पसेर दूध र कफी लिएर पैसा तिर्न लाईनमा उभिएँ । बिहान भए पनि अलि लामो लाईन छ । मेरो पालो आएपछि एसियन मुलकी क्यासियर जो कस्टमरलाई सर्भ गर्दैछन्, उनलाई बाँकी फिर्ता सबै एक पाउण्डका क्वाइनहरु मागेँ ।
उसले एउटा चाहीँ पाँच पाउण्डको नोट र बाँकी क्वाइन् दिउँला हुन्न र भनी । मैले हुन्छ भन्नासाथ एउटा हरियो पाँच पाउण्डको नोट हातमा दिई । बाँकी चानचुन पैसा र बिल अर्को हातमा लिएँ । सानो हत्केलाभरि भए चानचुन पैसा ।
फिर्ता कति आयो भनेर गन्ने चलनै छैन । त्यहीमाथि अलि हतार पनि भएको । त्यसैले क्वाईन गनिरहनेतिर लाग्दै लागिन । तिनै कारहरुको ताँतीलाई छल्दै फेरि पीनार रोड क्रस गरेर अफिसभित्र छिर्दै फिर्ता आएको एक मुुठी क्वाईन र बिल रिसेप्सन डेक्समा जिम्मा लगाएर म सामान थन्काउन थालेँ ।
हाम्रो बिग बोस र अरु दुईजना मेनेजरहरुसँग मीटिङ हुने भएकोले आज हामीले धेरै नै होसियारीका साथ काम गर्नुछ । आज मेरो काम हो – रिसेप्सन डेक्समा भारतीलाई सघाउनु पर्ने ।
ती बिग बोस कति बेला आउलान् भनेर हामी सबैको मन अलि चञ्चल छन् । जति पटक ढोका उघ्रिन्छ हाम्रा आँखा चनाखा हुन्छन् । भित्र काम गर्ने साथीहरु मग्लिना र माहिला पनि बाहिर आएको बेला बिग बोस आइसक्यो भन्दै जानकारी लिन चाहिरहेका छन् ।
साढे दश बजेतिर सानो हल्लाखल्ला गर्दै बिगबोस र अर्की मेनेजर भित्र पसेको थाहा भयो । त्यो आवाज अरुले पनि सुने, सबैले थाहा पाए । भेटघाटमा बिहानको औपचारिकता पछि मिटिङ सुरु भयो । हाम्री मेनेजरको अघिदेखिको तयारी र चुरिफुरी हेर्न लायकको छ । फायल अहिलेसम्ममा पक्कै पनि तयार भएको हँुदो हो ।
बिहानको हाम्रो काम धमाधम चलिरहेकोछ । फोनको घन्टी मिनेट मिनेटमा बजिरहेछ । तर आज इमर्जेन्सी एप्वाइन्मेन्टको लागि धेरै फोन बजेन, खाली नियमित एप्वाइन्मेन्टको लागि मात्र । तर पनि भारती व्यस्त छे । म आउने हप्ताको लागि रेकर्ड कार्डहरु तयार गर्दैछु ।
भित्र मिटिङ चलिरहेछ । करिव एक आधा घन्टापछि हाम्री मेनेजर टाउको समात्दै बाहिर आई र अर्को फायल बोकेर भित्र पस्ने बेलामा चिया कफीको लागि मलाई अनुरोध गरी । अरुबेला बिगबोसलाई उसैको हातले बनाएर चिया खुवाउने गर्थी तर आज मेरो पालो भयो । यो पनि खुशीको कुरा ।
भित्ताको घडीमा आँखा परिरहन्छ कति बेला साढे बाह्र हुन्छ र लन्चको लागि बाहिर भागौँ । तर आज हामीले लन्चको लागि बाहिर नगई अफिसमा नै बस्नु पर्ने भनेर बिगबोसको आदेश भयो । मैले फेरि लन्चको लागि स्यान्डविच किन्न जानु पर्ने भयो । फेरि त्यही अगाडिको टेस्को एक्सप्रेमा स्यान्डविच, जुस र कृप्स किन्न गएँ । चिकन स्यान्डविच, एग मायो, साल्मन मायो, चिज स्याण्डविच छानेर दश जनाको लागि लिएर पैसा तिर्न लाईनमा बसेँ ।
लाइनमा संजोगले बिहान दूध र कफी किन्दाको काउन्टरमा पुगेँ, जहाँ क्यासियर पनि उनै थिइन् । जब म उनको नजिक पुगेँ, उनले बिस्तारै सोधिन् – ‘बिहान मैले दिएको फिर्ता पैसाहरु गन्यौँ ?’ मैले त उनको आशय अलि बुझिन ।
सोधेँ – ‘किन र ?’ उनले अलि नम्र र हतास हँुदै भनिन् – ‘मैले बिहान पाँच पाउण्ड बढी तिमीलाई दिएर पठाएछु नि । तिमी फर्की जानासाथ मैले थाहा पाएँ । त्यहाँ तिम्रो अफिसमा आउँ कि भन्ने पनि लागेको तर यहाँबाट उम्कन नै पाईन ।’
उनको त्यो भनाईले मलाई दुईटा झट्का लाग्यो । पहिलो यो बनावटी झुटका कुरा हो कि ! दोस्रो ओहो ! म जस्तै काम गर्ने कामदार आफ्नो टिलमा पैसा कम भएमा आफ्नो गोजीबाट हाल्नु पर्छ !! त्यो पनि करिव आधा घन्टा बराबरको रकम । मैले उनलाई सान्त्वाना दिदै भनेँ – ‘यदि बीचमा चान्स मिलेछ भने हेरौँला । तर आज हाम्रो बिग बोसहरु आएको हुनाले थोरै मात्र चान्स छ । जब उनीहरु फर्किन्छन्, त्यो सम्भव होला ।’
‘अनि तिम्रो सिफ्ट कति बजे सकिन्छ ?’– मैले सोधेँ ।
‘साढे दुईसम्म मात्रै हो । यहाँ सबै स्टाफहरुलाई मैले जानकारी पनि गराई सकेकी छु । जसलाई भने नि हुन्छ’– उसले भनी । जति सक्दो प्रयास गर्ने छु भन्दै उनलाई वचन दिएर म फर्केँ ।
उनलाई के लाग्यो कुन्नि मलाई भने आफ्नो बेहोसिपनले भतभती पोल्न थाल्यो । आजसम्म जीवनमा कति किनमेल गरियो होला । कहिल्यै कति फिर्ता आयो भनेर पैसा गन्ने बानी छैन । कतिले फिर्ता दिँदा त्यसरी नै धेरै दिएका हँुदा हुन् र कतिको मन त्यसरी नै भतभत पोलेको हँुदो हो । उसको पाउने थोरै तलबबाट तिर्न परेको हुँदो हो ।
त्यस्तैगरी म पनि मर्कामा परेको हुँदो हुँ । त्यसरी मलाई पनि थोरै दिएका पनि हँुदा हुन् । आफै मारमा पनि परेको हुँदो हो । तर क्यासियर कहाँ गएर तिमीले मलाई फिर्ता दिँदा बढी दियौ वा कम दियौ भन्नु पर्ने – तर त्यो मौका कहिले आएन । एउटा ग्लानी, खिल झैँ गाडिएको छ ।
बाटो क्रस गरेर म फेरि अफिस पुगेँ र लन्चको लागि मलाई नै पर्खिरहेकाले म पुगेपछि स्याण्डविच, जुस र कृप्स सबैले खायौँ । भारतीलाई एकान्तमा भन्नु पर्ने कुराको लागि समय नै भएन ।
लन्चको समय सबैले गफ गर्दै फुस्स गयो । उनीहरु फेरि मिटिङको लागि भित्र पसे । अनि मात्र मैले पैसाको कुरा भारतीलाई जानकारी गराएँ । उसले सहज तरिकाले क्लोजिग गर्दा मात्र थाहा हुन्छ, बढी भएको भए, फर्काउँला पीर नगर भनी ।
काम गर्दा समय त्यत्तिकै ढिलो जान्छ । मेरा आँखा भित्ते घडीमा परिरहन्छ । दुई बजे बल्ल मीटिङ सकियो । उनीहरु बिस्तारै विदा भए । रीजल्ट के भयो मौखिक थाहा भएन । तर हाम्रो मेनेजरको लोङ्ग फेस देखियो, राम्रो छनक होइन । जे होस्, त्यसको जानकारी चाँडै आउला । तर मलाई भने त्यो मर्कामा पर्ने क्यासियरको विदा हुन समय भयो भनेर मन हुट्हुटी भइरहन्छ । क्लोजिङपछि मात्रै पैसा घटी बढी भएको थाहा हुने कुरा भएको छ ।
दिनभरि व्यस्त भए पनि त्यो क्यासियरको मलिन अनुहार आएर हरक्षण मलाई सताई रहन्छ, पिरोलिरहन्छ । उसको त्यो पीडामा मलम लाउन पाऊँ भनेर कामना गरिरहन्छु । जब क्लोजिंङ भयो भारतीले अन्तमा बढी पैसा आएकै रहेछ भनी जानकारी गराई । त्यसमा खै कसरी हो तीस पेन्स पुगेन । त्यो मैले थपेँ र पाँच पाउण्ड भयो ।
भारतीले एक पेन्स, दुई पेन्स, दश पेन्स, बीस पेन्स, पचास र एक पाउण्डका क्वाइन् गरेर एक मुठ्ठी क्वाइन दिएर मेरो दिनभरिको पीडामा मलम लगाई दिई ।
अब ती क्वाईन लगेर त्यो विचरी पीडित क्यासियरको मलम लगाउनु छ । ऊ त विदा भएर घर गईसकी तर पनि भारती र म कसैलाई त्यो पैसा जिम्मा लगाउनका लागि गयौँ । स्टोरको सुपर भाइजरलाई सोध्यौँ । उसले ‘ए रीना ! उनको त सिफ्ट् सकिएर विदा भयो’ भन्यो – त्यो थाहा थियो नै ।
मैले विहानको विवरण सुनाउँदै हातमा बोकेको सेतो टिस्यु पेपरमा रबरब्यान्डले बाँधेको एक मुठ्ठी पाँच पाउण्डको क्वाइन उसको हातमा थमाइदिएँ ।
उसले उनलाई भोलि दिने छु भनेर वाचा गरेको छ । आज दिनभरिको मेरो नौ मुरी पीडा दिने त्यो एक मुठ्ठी क्वाइनको गरौँ भारी उसलाई बिसाएर हलुका भएको छ । यी झिना मसिना ठानिएका कुराहरु पनि कुुुनै बेला बिर्सनै नसकिने पनि हुने रहेछ । मलाई आज त्यस्तै भएको छ ।
साँझ पर्दै गएको भए पनि आकाश अझै उज्यालो नै छ । हामी फेरि पीनार रोडका ट्राफिकहरुलाई छल्दै बाटो काट्छौँ । र, जीन्दगीका बाटामा सधैँझैँ छुट्टिन्छौं । बाई भारती सी यू टुमरो !! (५अक्टोबर २०१४)
(स्रोत : सत्यतथ्य मासिक)