कविता : एकादेशको एउटा मान्छेको कथा

~पुष्कर शाह~ Puskar Shah

एकदेशको
एउटा सानो गाउमा
संसारको सबैभन्दा सुखी मान्छे बस्थ्यो
उसंग एउटा घामजस्तै छोरा
जुनजस्तै छोरी
र धर्तीजस्तै स्वास्नी थिई ।

एक दिन !
एक दिन उसले स्वास्नीलाई सुख दिने बहानामा
छोराछोरीलाई उच्चशिक्षा दिने बहानामा
अनि आफ्नो भोकोपेटको बहनानामा
गाउ त्याग्यो
लेक , बेशी ,

घास , दाउरा
मेलापात
छर , छिमेक
इष्ट , मित्र
आफ्नो मातृभूमि
सब त्याग्यो
अनि उ आधुनिक दासहरुको देशमा पुग्यो

त्यहाँ उसले सबथोक पायो
घर , मोटर , टेलीभिजन , इन्टरनेट
रेफ्रेजेरेटर , बासिङ्गमेसिन
छोराछोरीलाई आधुनिक र उच्चशिक्षा
स्वास्नी र आफुलाई सुकिलो लुगा
र , भरपेट खान
जुन चिज उसले खोजेर आएको थियो ।
त्यसको निकै वर्षपछि
एक दिन उनीहरु सबैजना छुटिए
उसकी स्वास्नी सधैकोलागि जीवनबाट बिदा लिई
छोराछोरी उमेर पुगेर
आर्कै शहरतिर लागे

त्यो मान्छे
जीवनको अन्तिम अन्तिम क्षणमा
आधुनिक दासबाट मुक्त भयो
उसले लिएको
घर , कार र बैंकका सबै ऋणहरु चुक्ता गर्यो
र , आनन्दको सास फेर्यो ।

त्यसको केहि समय पछि ऊ बिमारी पर्यो
उसले छोराछोरीलाई फोन गर्यो
छोराले तिम्रा डाक्टरलाई बोलाऊ भन्यो
छोरीलाई फोन गर्यो
छोरीले मेरो छुट्टि मिल्दैन भनि
जिन्दगिको अन्तिम क्षणमा ऊ एक्लै भयो
उसले एउटा अस्पतालको बेडमा जिन्दगिको अन्तिम सास बिसायो ।

कठै ! भनेर उसको जीवनको अन्तिम क्षणमा
दुई थापा आँसु चुहाउन
न सन्तान थिए
न आफन्त थिए
न छर छिमेक थिए
न इष्टमित्र थिए
न त मृत्यु संस्कारको अन्तिम संगीत नै थियो ।
धेरै लामो समय पछि
छोरा र छोरी दुबैले छुट्टि मिलाए
र बाबुले अन्तिम सास बिसाएको अस्पतालमा पुगे
बाबुको चिहान पत्ता लगाए
एक एक गुच्छा फूल किने
ढिलै भए पनि श्रद्धान्जली अर्पण गरे
थोरै भए पनि आँसु चुहाए
अनि दुबैले रुन्चे स्वरमा
एक अर्कालाई भने
” हि वाज रियल्ली रियल्ली नाइस” ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.