~सबी श्रेष्ठ~
झिस्मीसे बिहान
आँखाहरु डुल्छ
शुभदिनको आशमा
डिजिटल अखबारको भित्ताहरुमा
आतुर हुन्छ मन
लालयित हुन्छ नयन
मेरो बेर्नाहरुको
सन्चो, बिसन्चो हालखवर जान्न
उन्नती र प्रगतिका कथाहरु पढ्न
तर फुस्सा हुन्छ
शुभ सन्देश नामको
हर अखवारहरु
समाचारको नाममा
विज्ञापनको धन्दा गर्ने
हर न्युज च्यानलहरु
मैले कुशल, मंगल मालीलाई
जिम्मा लगाएर आएको
मेरो मलिलो माटोमा
हुर्कदै गरेका बेर्नाहरु
कति भर्खर फूल बन्न
तम्सेका कलिला मुनाहरु
हो तिनैका रगत र आँशुले पो
लत्पतिएको हुन्छ अचेल
हरेक बिहानका हरेक पानाहरु
सहुँ कति ? सम्हालिउँ कसरी ?
आफ्नै मालीले
किटनाशकको नाममा
बिष छरेर सबै बेर्ना नष्ट पारे पछि
म त मल किन्न हिँडेको थिएँ
केही वर्षमा हराभरा पारौँला भनी
विरुवा चिल्ला भए अन्त पनि सारौँला भनी
तर फगत एउटा स्वप्न भयो
कहानी हराएको कथा भयो
त्यसैले आज
सधैँ धुरीमा
बसेर अशुभ समाचार
ल्याउने काला कागहरु
अनि अखबारका काला अक्षरहरु
सराबर हुन मेरो लागि
बराबर हुन मेरो लागि ।
(स्रोत : सत्यतथ्य मासिक)