कविता : हाम्रो पहिचान

~बी के पाण्डे~B K Pandey

मिल्ने अनि फुट्ने
फुट्ने अनि मिल्ने
किन मिल्यौँ, किन फुट्यौँ ?
फेरि किन मिल्यौँ ?
फेरि किन फुट्यौँ ?
प्रश्न आवश्यक छैन
उत्तर छरपस्ट जताततै छ
हामी फुट्नकै लागि मिल्छौँ
किनकि यही नै हाम्रो नागरिकता हो
यही नै हाम्रो पहिचान हो ।

आउनु होस् मन मिल्नेहरु मिलेर
विचार मिल्नेहरु मिलेर पार्टी खोलौँ
अनि विचारलाई खोपामा थन्क्याएर
फुटको अभ्यास सुरु गरौँ
तँ भन्द म ठूलोको
लडाइँ सुरु गरौँ
यसलाई विचार र सिद्धान्तको लेपन देऔँ
अनि पार्टीलाई चिरा चिरा पारौँ
एकले अर्कालाई महागद्दार घोषणा गरौँ
तानातान गरौँ, हानाहान गरौँ
किनकि यही नै हाम्रो नागरिकता हो
यही नै हाम्रो पहिचान हो ।

जहाँ जाऔँ, संगठन बनाऔँ
अनि महाभारत सुरु गरौँ
कोही दुर्यधन बनौँ
कोही युधिष्ठिर बनौँ
कोही सकुनी बनौँ
कोही भिष्म बनौँ
कोही कर्ण बनौँ
काेही अर्जुन बनाैँ
कोही कृष्ण बनौँ
अनि युद्ध गरौँ
जानेसम्मका छलछाम गरौँ
आफू पनि सकिऔँ, अर्कोलाई पनि सकौँ
किनकि यही नै हाम्रो नागरिकता हो
यही नै हाम्रो पहिचान हो ।

जात, उपजातको संगठन खोलौँ
क्षेत्र, जिल्ला र गाउँको संगठन बनाऔँ
लिंग र वर्गको पनि संगठन बनाऔँ
अनि
ताना–तान, हाना–हान सुरु गरौँ
अघिल्लो दिन मिलौँ
भोलिपल्टै फुट्न सुरु गरौँ
खादा खोसाखोस गरौँ
मान लुटालुट गरौँ
हामी सबैलाई थाहा छ
हाम्रो नागरिकता बचाउनु छ
पहिचान जोगाउनु छ
किनकि यही नै हाम्रो नागरिकता हो
यही नै हाम्रो पहिचान हो ।

एक–दुईवटा कविता लेखौँ
एक–दुईवटा गजल लेखौँ
यति नि भएन भने
आधा दर्जन हायकु लेखौँ
अनि साहित्यकारमा दर्ज होऔँ
अनि मिलौँ र साहित्यिक संगठन खोलौँ
भोलिपल्टनै आँखा तर्न थालौँ
झगडा कवितामा गरौँ
व्यङ्ग्य गजलमा कोरौँ
मनको तितो मुक्तकमा पोखौँ
सिर्जनाको नाउँमा विषवृक्ष रोपौँ
किनकि यही नै हाम्रो नागरिकता हो
यही नै हाम्रो पहिचान हो ।

हाम्रो लागि मन्दिर बनाऔँ
गुम्बा बनाऔँ
मस्जिद र चर्च बनाऔँ
अनि जालझेल सुरु गरौँ
सत्तो सरापको खेती गरौँ
भाँडभैलो मच्चाऔँ
गाँड कोराकोर गरौँ
दुनियाँ हसाऔँ
किनकि यही नै हाम्रो नागरिकता हो
यही नै हाम्रो पहिचान हो ।

घरमा झगडा गरौँ
मिल्नको लागि दिल्ली जाऔँ
त्यतिले पुगेन ब्रशेल्स जाऔँ
किनकि हामी अर्काका लागि
अर्काकै इशारमा मिल्ने प्राणी हौँ
तर जसरी मिले पनि
जहाँ मिले पनि
क्षणभरका लागि मिलेका हौँ
देख्नको लागि मिलेका हौँ
यथार्थमा
फुट्नकै लागि मिलेका हौँ
किनकि यही नै हाम्रो नागरिकता हो
यही नै हाम्रो पहिचान हो ।

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.