~रामहरि पौड्याल~
चम्किला बत्तीहरुको झिलिमिली प्रकाशमा उज्यालिएको छ वातावरण । सहरका हरेक चोक र गल्लीहरु क्रिशमस ट्री र तिनमा सजाईएका रंगिन बत्तीहरुसँगै टल्किएका छन् । सहर सजिएको छ आधुनिक फेशन र ग्ल्यामरको केन्द्र बनेर । शपिंगमलहरु, डिपार्टमेन्ट स्टोरहरु खचाखच भरिएका छन् तन्नेरी ग्राहकहरुको क्रिशमस क्रेजसँगै । तिनका उत्साहलाई वातावरणको हिमाच्छादित धर्ती प्रतिकूल देखिदैन । माइनस पाँचको चिसोले क्रिशमस सपिंगको भिडलाई रोक्न सकेको छैन । सबैखाले सपिंग मलहरु वातानुकुलित तातोसँगै स्वागतातुर देखिन्छन् आफ्ना ग्राहकहरुको सेवामा ।
युरोप पश्चिमाहरुको सभ्यता र संस्कृतिको नमूना । विकाश, निर्माण र मानवीय प्रगतिको चरमोत्कर्ष लण्डन वोल्र्ड क्यापिटल । सहर जुन कैल्यै सुत्दैन । फरक छैन दिन हो कि रात ? मान्छेहरुका समुन्द्र र तिनका ब्यस्ततम दैनन्दिनी । फराकिला बाटाहरु, सलल बग्ने कारहरुका लामा लामा लाईनहरु । तिनले फाल्ने उज्याला बत्तिहरुको चम्काई, मानाँै स्वर्गतिरको दिव्य यात्राझैँ लाग्दछ । हो ! यही दिव्य यात्राको लस्करमा लामबद्ध संसारभरका इमिग्रेन्टहरु । काले,गोरे, गहुँ गोरे, अग्ला, होचा संसारका सबै खाले मान्छेलाई देख्न र बुझ्न पाइन्छ एकै थलोमा ।
बेलायतको ब्यस्त वास्तविकतामा मन फुकाएर घुम्ने, फिर्ने समय निकाल्ने भनेको यस्तै क्रिशमस, न्यु इयरको लामो छुट्टीमा हो । साथी भाइहरुसंग भेट घाट, रमाइलो ठाउँको दृश्यावलोकन । सबैको कार्यसूचीमा यतिखेरै जुर्दछ । मैले पनि यस्तै रंगिन सपना साँचेथेँ रमाइलो गरी बिदा मनाउने । दिनहरुको उत्सुकतापूर्ण पर्खाई रमाईला दिनहरुसँग नजिकिदै थिए ।
एकदिन कामबाट फर्केपछि मैले आफ्नो इमेल चेक गरेँ ल्यापटपमा । मेरा विस्थारित नजरहरु टक्क एउटा इमेलको फरवार्डेड म्यासेजमा गएर अडिए । ‘हेल्प नेप्लिज उमन सेभ हर लाइफ, ब्रिङ ब्याक दि स्माइल अन हर किड्स ।’ कैलेकाहीँ नियति किन यति बिघ्न कृतध्न भई दिन्छ, एउटी होनाहार फूलका विरुद्ध ? तिनका आश्रित स–साना नाबालक विरुद्ध ?? बिचरी ३१ वर्षकी ऊ मृत्यसँग लडिरहेकी छ, हात फैलाई रहेकी छ सहयोगको थापेर भीख जीवनको । एकातिर रक्त क्यान्सरको प्राणघातक महारोग, अर्कातिर तीन तीनवटा कलिला सन्तानहरुका बाच्ने तीब्र जीवनेक्षा र बीचमा असहाय ऊ । आधुनिक चिकित्सा विज्ञानले जति प्रगति गरेको भए पनि गरीव अबलाहरुले सस्तो मूल्यमा मुलुकभित्रै बोन म्यारो ट्रान्सप्लान्टको सुबिधा कहिले पाउलान् ? मृगौलाको सस्तो र सुलभ प्रत्यारोपण स्वदेसभित्रै कहिले होला ?? मेरा भावनात्मक जिज्ञासाहरुको उपक्रम ।
विरही कथाले तुरुन्त द्रवित मलाई श्रीमतीले साथ दिन्छिन् । ‘एक थुकी सुकी, हजार थुकी नदी ।’ सहयोग न हो कसैको सानो सहयोगले एउटी होनाहार युवतीको जीवन बाँच्दछ भने । १०÷२० पाउण्ड भगवानका नाममा यो फेस्टिव सिजनमा सबैले दिदिए बिचरीको जीवन बचाउन सकिने थियो । कलिला नानीहरुले अल्पायुमै आमाको मायाबाट टाढिनु पर्ने थिएन । हामी दम्पत्ती यही कल्पिदै सबैलाई इमेल फरवार्ड ग-यौँ । सम्पूर्ण इस्टमित्र, साथी–संगती सबैलाई सहयोगको अनुरोध ग-यौँ । धन्य छ प्रविधि इमेल इन्टरनेटको । क्षणभरमै हाम्रा अनुरोधहरु सम्प्रेषित भए ग्लोबभरि । वेब पेजसहित बिचरीका तीन तीन लालाबालाहरुको तस्बिर, डाक्टरी सिफारिस सहितको प्रतिलिपि संलग्न हाम्रो फरवार्डेड म्यासेजले कसो मान्छेहरुको मन नछोला र ?
बेलायतमा पनि नेपालीहरुको संख्या ह्वात्तै बढेको छ आजभोलि । पूर्व गोर्खा आर्मीहरुले स्थायीरुपमा बेलायत बस्न पाउने नियम बनेपछि नेपालीहरुको संख्या पनि लाखबाट माथि पुगिसकेको अनुमान गर्दैछन् । यतिधेरै नेपालीहरुको महासागरमा मात्र केही सयले दस÷बीस पाउण्ड क्रिशमस र न्यु इयरको नाममा हाम्रो झोलीमा हाली दिए ती अभागी बैनीलाई बचाउन र तिनका सन्तानलाई अल्पायुमै मातृ वियोगको पीडाबाट बचाउन सकिन्थ्यो । सम्भाव्य सहयोगका अनुमानमा हामी दम्पत्तीका दिनहरु कौतुहलतापूर्ण रहे । हामीले आफ्ना घुम्ने फिर्ने कार्यक्रमहरु स्थगन ग¥यौँ तत्काललाई । मैले त्यो बिदाभरि ड्रिंक नगर्ने संकल्प गरेँ । हामी मानवीय अभियानमा जुटी रह्यौँ ।
क्रिशमस÷न्यु इयर शुभकामना आदन प्रदानको बाढीको समय । मोबाइल फोन, इमेलले कति सजिलो बनाइदिएको छ दुनियाँलाई । एउटै टेक्स्ट म्यासेज, एउटै इमेल फर्वाड गरिदियो सबैलाई, कति सजिलो ? सयौँ टेक्स्ट म्यासेज आउने हामीलाई यो साल गजब भयो – एउटै म्यासेज आएन मेरी क्रिशमसको र ह्याप्पी न्यु इयरको । कसैलाई फोन ग-यो भेटै हुँदैन । सबै तकिन्र्छन् पर पर ।
‘हैन मेनुका के भो यस्तो अचम्म ?’
‘पख्नुस है, म ट्रिक गर्छु ।’ उनले मोबाइल समातिन् र सेटिंङ मिलाईन् हाम्रो नम्बर डिस्प्ले नहुने गरी । अनि तम्सिन् मोबाइल घुमाउन ।
‘हेलो ! भाउजु पो, अर्कैको भनेर उठाएको आइडी डिस्प्ले नदेखेर । बिजी छौँ काममा ।’
‘क्रिशमसमा पनि काम ?…….।’ खै के हो, के हो ?? …………..।
सधैँ अनलाइन हुनेहरु अफ लाइन भै दिन्छन् हामीलाई अनलाईन देखेपछि । हामी दम्पत्ती आजित भयौँ । अचानक सबै साथी–संगतीहरुमा देखिएको यो अस्वभाविक परिवर्तनले । मनभरि ग्लानी भो यसरी सबैलाई चिढाउनु पर्दा । के यी सबै व्यवहारको एउटै कारण त्यही सहयोगको लागि प्रेषित फरवार्डेड इमेल म्याशेज नै थियो त ? हाम्रा मनमा साथीभाइहरुका यी अनपेक्षित रहस्यमयी व्यवहार एउटा जटिल प्रश्न बनेर घुमि रहन थाल्यो ।
‘राजनीतिक स्वार्थकालागि, नेताहरुलाई खुसी पार्नको लागी, बियर कक्टेल पार्टीकालागि हामीहरु कति पैसा उठाउँछौ ? बिसुद्ध मानवीय जीवन रक्षा त्यो पनि एउटी तीन तीन सन्तानकी आमा अल्पायुमा मर्दैछन् रक्त क्यान्सरबाट । देश भित्रै छैन कुनै उपचार । भगवानकै अनुकम्पाले बेलायत आउने सौभाग्य, पाउण्ड कमाउने अहोभाग्य पाएका हामीहरु किन १०/२० पाउण्ड दान गरेर भगवानप्रति धन्यबाद टक्र्याउने अबसर गुमाउछौ ?’ विरक्तिएका मेरा मनभरि खेल्ने यस्तै यस्तै भावनाहरु । आथिक सहयोगका लागि अनुरोध गर्दा गर्दै थाकेका मेरा हातहरु । कसैको जीवन रक्षाकालागि लागिपरेका मेरा आस्थाहरु ।
मान्छेहरुको पहिचान दुखमै हुँदो रहेछ । यति ठूलो ब्रह्माण्डमा कति धेरै मान्छेहरु ? तथापि अर्काको दुखलाई पनि आफ्नै परिवारको मान्छेजस्तै ठान्ने पनि देखिए र देखिए बाल नदिने पाषण हृ्रदयी पनि । चन्दा माग्ने काम जीवनमै गर्न नपरोस् कसैलाई । कायल भइयो हामी दम्पत्ती । आफन्त र चिनेजानेका भन्दा नचिनेका अजनवीहरुले हाम्रो अभियानलाई यति साथ दिए कि तिनका गुणलाई जीवनमै सायद तिरेर सकिएला । हामीले तिनलाई साँचो भगवान ठानेका छौँ जसले हाम्री बैनी चुनुको जीवन रक्षाका लागि मागिएको झोलीमा सप्रेम सहयोग गरे । दानवीर कर्णरुपी भवानी मनहरु भएका डाक्टरहरु भेटिए, अजश्र मनका धनी दिलैदेखि रोशन बलेका पनि देखिए । ठूला ठूला राजनीतिक कुरा गर्ने र आपद परेर गुहार्दा सूको नझार्ने महान नेताहरु बग्रेल्ती भेटिए । जेहोस परदेशी भूमिमा एउटी चेलीलाई बचाउनका लागि गरिएको हाम्रो कदमलाई साथ दिने सबै सबैलाई दिल देखि हाम्रो हार्दिक अभिवादन । यस्ता सहयोगी भावनाहरु सधैँ रहिरहोस् सबै सामु । बचाउन सकियोस् सबै मिलेर दुखमा परेकाहरुलाई । मर्नु नपरोस् कसैले स–सानो सहयोगको अभावमा । आमाहरु नगुमाउन् स–साना नानीहरुले अल्पायुमै । चेलीबेटीहरु, बुवा, दाजुहरु, काका मामाहरु सबैलाई बचाउन सकियोस् । यस्ता दैवी विपत्ती र रोग महारोगसँग लड्न एउटा राष्ट्रिय कोष स्थापना गर्न सके बेलैमा सबैले गच्छे अनुसारको दान अभियानको महासन्देश र महापुराण समयमै लगाउनु पर्ने सन्देश सहितको फरवाडेड म्यासेज सबैलाई पठाउन ढिला भै सकेन र ? मरेपछि दान दातव्य गर्ने गराउने परम्परामा सानो सुधार गरी जिउँदै सकेको दान गर्ने र आफ्ना दानले कसैको जीवन बाँचे बचाएको, हाँसे हँसाएको आफ्नै आँखाले देखेर मर्ने नयाँ परिपाटीको फरवार्डेड म्यासेज देश विदेशका सबैलाई पठाउन सके कसो होला ??
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक ३, डिसेम्बर २०१३)