~डा. रुपक श्रेष्ठ~
वि.सं.२०५८ मा प्रकाशित ‘अपरितुष्टि’ बेलायती–नेपाली डायस्पोरामा लेखिएको सम्भवत पहिलो उपन्यास हो । ईश्वर मानन्धरकृत यस लघुउपन्यास नेपालबाट सन् १९७० को दशकमा कामको शिलशिलामा बेलायत प्रवेश गरेका नेपालीहरुको प्रतिनिधि कथा हो । कथाका मुख्य पात्र बिक्रम लन्डनमा एक रेष्टुरेन्टमा सेफको रुपमा काम गरेता पनि नेपालमा जाँदा होटेल मालिक भएको झुटो आडम्बर देखाउछन् र क्याम्पस पढ्दै गरेकी गाउँकी सोझी गौरीसँग उनको मागी विवाह हुन्छ । धुमधामसँग विवाह भएको दुई हप्ता पछि गौरीलाई छिट्टै लण्डन झिकाउने आश्वासन दिँदै बिक्रम बेलायत फर्कन्छन् । भिसा मिलेपछि गौरी पनि मनभरि सपना सजाएर सपनाको देशतिर उँड्छे र लण्डन पुगेपछि गौरीलाई त्यहाँको खानपिन, उठबस, रहनसहन, बोलीचाली, लवाइखवाई, हँसीमजाक, हरेक कुरासँग ‘कल्चरल शक’ हुन्छ । यिनै कुराहरुसँग मानसिक द्वन्द्व गर्दागर्दै बिक्रमको पुरुषत्वहिनता माथिको बिषम सत्यको बोध हुन्छ जसले गौरीलाई अव्यवहारिक सुहागरातदेखिको कुराहरु छर्लंग हुन्छ । सात समुद्रपारीको देशमा जो छ बिक्रम छ र उही पनि दुर्बल पुरुषत्वको शिकार । कामबाट उब्रिएको समय बिक्रमले गौरीलाई दिएकै हो । खान लाउनको लागि दुःख थिएन । नयाँ नयाँ ठाउँमा घुमफिर पनि कम थिएन । शारिरीक बाहेक अरु सन्तुष्टि दिन बिक्रमले कुनै कमजोरी बाँकी राखेन तर पनि गौरीको दिन प्रतिदिन अपरितुष्टि बढ्दै जान्छ । उनलाई खान, बोल्न, घुम्न पनि मन लाग्न छोड्छ । लोग्ने रातभरि छेउमा घुरिरहन्छ एकोहोरो, गौरीलाई भने आँखामा निंद्रा पर्न छोड्छ । त्यही घरमा डेरा गरी बस्ने बिक्रमकै बंगाली साथी चौधरी मियाले बिक्रमको उपस्थिति÷ अनुपस्थितिमा भरथेग सेवा गर्छ ।
आफै डिप्रेशनकी शिकार बनिरहेकी गौरी नेपालमा भएको एक सडक दुर्घटनामा परी आमा, भाइ र बहिनीको मृत्यु भएको खबरले मानसिक रुपमा पुरै विचलित हुन्छे र लन्डन आएको तीन महिनामा नै गौरी मेन्टल हस्पिटलमा भर्ना हुन पुग्छे । उपचारकै क्रममा डाक्टरले गौरी दुई महिनाको गर्भवती रहेको जानाकारी गराउँदा बिक्रमले आफुलाई मुस्किलले सम्हाल्छ । यस्तो बेलाको गर्भले आमालाई खतरा हुनसक्ने कारणले एबोर्सनको लागि गरिएको सिफारिसमा बिक्रमले अर्धचेतमै सही गर्छ । लगभग मानसिक रुपमा विछिप्त बनिसकेको बिक्रम गौरीको देहवासनले पुरै विछिप्त बन्छ र कसैले नभेट्ने गरी हराउँछ । कथा संक्षेपमा यति नै हो तर यति छोटो कथामा पनि उपन्यासकारले एउटा सिंगो डायस्पोरिक जिन्दगीको कथाभित्र नेपाली मनोवृति, बेलायती जीवन शैली, मानिसका प्राकृतिक र कृत्रिम आवस्यकताहरु, नारी मनोविज्ञान, पुरुष मनोविज्ञान, समाजमा विद्यमान रितिरिवाज, कुरिती र आडम्बरहरुलाई केलाउन सक्षम छन् ।
बिक्रम रेष्टुरेन्टको जागिरमा हिँडेपछि दिनभरि गौरी एक्लै कोठामा ऊ फर्केर आउने बाटो हेरेर बिताउन बाध्य हुनु, बिक्रम उतै खाना खाएर आधाराततिर फर्कनु र फर्केर आएपछि बियर र चुरोटको धुवाँमा रंगमगिनु, गौरी दिनरात नेपालमै रहेका घरपरिवार र साथीहरुको सम्झनाले ब्याकुल हुनु, सप्ताहन्तमा डबल डेकर बस र अण्डर ग्राउण्ड रेल चढेर घुम्न जानु, सिनेमा र नाटक हेर्न जानु, बिक्रम डान्स बारमा युबतीहरु फेरि फेरि नाच्नु र गौरीलाई पनि नाच्न आग्रह गर्नु, गौरीलाई नाइट क्लबको बातावरणले दिगमिग लाग्नु, बिक्रमले गौरीलाई बेलायती रहनसहन स्वीकार्नलाई सिकाउनु, गौरीलाई आफ्नै परम्परागत मूल्य र मान्यतालाई कुल्चन गाह्रो पर्नु, बेलायती चालचलनसँग शक हुनु र भिज्न नसक्नु जस्ता घटनाहरुलाई उजागर गर्दै डायस्पोरिक चेतनाले कथालाई वास्तविकताको लेपन दिन सफल छन् उपन्यासकार । डायस्पोरामा बिक्रम आफ्नो काम र स्थापनाका लागि संघर्षरत देखिएकाले डायस्पोरिक जीवनको दोस्रो चरणका पात्र देखिन्छन् भने भर्खरै बेलायत पसेकी गौरी हरेक कुराहरुसँग घुलमिल हुन सफल/असफल कोसिस गरिरहेकी, घरदेश, बाबुआमा, साथी–संगीहरुको सम्झनाजस्ता अतित मोहले गाँजीएकी हुनाले डायस्पोरिक जीवनको पहिलो चरणकै पात्रको प्रतिनिधित्व गर्छिन् । प्रमुख पात्रहरुमा बिक्रम र गौरीलाई उभ्याएका छन् भने अन्य सामान्य पात्रहरुमा बिक्रमकी आमा, भिनाजू, गौरीका साथीहरु, बाबु आमाहरु र बिक्रमकै बंगाली साथी चौधरी मियाँलाई समय र परिवेशको भुमरीबाट निकालेर खलपात्रका रुपमा उभ्याएका उपन्यासकारले थोरै पात्रहरु लिएर कथालाई मर्मस्पर्शी बुनोट दिएका छन् ।
कथाबस्तु लण्डनमा वारेन स्ट्रीट, पिकाडेलि सर्कस, अक्सफोर्ड स्ट्रीट, रिजेन्ट स्ट्रीट, मार्बल आर्च, लेसेस्टर स्क्वाएरजस्ता सेन्ट्रल लण्डनकै विषेश स्थानहरु वरपर छरिएर सकिन्छ । कथा गौरीको बिहेको कुराबाट सुरु भएर, विवाह, गौरीको लण्डन प्रस्थान, गौरीलाई लण्डनमा एक पछि अर्को मानसिक आघात र अन्त्यमा गौरीको पेटमा हुकिर्एरहेको भ्रुणको कुराले अपुरुष बिक्रममा विक्षिप्तता आउनु र गौरीको मृत्यु हुँदा बिक्रम पनि विक्षिप्त भएर कथा टुंगिदासम्म पुग नपुग पाँच महिनाको समय ओगटेको देखिन्छ । छोटो समयाबधि, थोरै पात्रहरु र लण्डनको सिमित भूभागमा कथाले फेरो मारेर पनि कथा पूर्णतः डायस्पोरिक र सशक्त छ । जम्माजम्मी ५८ पृष्ठमा फैलिएको यस लघु उपन्यासले बेलायती–नेपाली डायस्पोरिक लेखनमा दह्रो जग हालेको छ ।
साहित्यकार ईश्वर मानन्धरको जन्म २३ जुलाई १९३१ मा सप्तरी राजविराजमा भएको थियो । बुबा सुन्दरप्रसाद मानन्धरबाटै अक्षर लेख्न सिक्नु भएका मानन्धरले आइएसम्मको अध्ययन गर्नुभएको थियो । बि.सं. २०२६ सालदेखि लन्डनमा रेष्टुरेन्ट ब्यवसायमा संलग्न हुनुहुन्थ्यो भने साहित्यिक र सामाजिक कार्यहरुमा पनि उत्तिकै सक्रिय रहनु हुन्थ्यो वहाँ । नेपाली साहित्य विकास परिषदका संस्थापक अध्यक्ष मानन्धर सन् २०१० देखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सल्लाहकार हुनुहुन्थ्यो । वहाँ विश्व हिन्दु महासंघ तथा ब्रिटेन नेपाल सोसाएटी जस्ता संस्थाहरुमा पनि लामो समयसम्म संलग्न हुनुहुन्थ्यो । स्व. मानन्धर लण्डनमा एक लब्धप्रतिष्ठित व्यक्तित्व हुनुहुन्थ्यो । साहित्यमा वहांको विशेष चाख थियो । हरेक साहित्यिक कार्यक्रमहरुमा वहाँको सक्रिय सहभागिताले साहित्यकारहरुमा नयाँ उर्जा थपिन्थ्यो । तसर्थ वहाँ बेलायती–नेपाली साहित्यकारहरुको प्रेरणाको श्रोत पनि हुनुहुन्थ्यो । ४ फेब्रुअरी २०१२ मा लण्डनमा वहांको स्वर्गारोहण हुनु अघि यात्रा संस्मरण, कथा, उपन्यास, कविता, लघु उपन्यास र ठट्यौलीहरु गरी ९ वटा साहित्यिक कृतिहरु प्रकाशित छन् भने अपरितुष्टि भाग –२, कथा संग्रह, कविता संग्रह तथा द सेक्रेट अफ नेपलिज कुकिङ (The Secret of Nepalese Cooking) प्रकाशित हुन बाँकी कृतिहरु छन् । साहित्यकार मानन्धरले आफ्ना पिता स्व.सुन्दरप्रसादका स्मृतिमा बेलायती–नेपाली डायस्पोराबाट प्रकाशित एक उत्कृष्ट कृतिलाई वार्षिक रुपमा प्रदान गर्ने गरी सुप्रमा पुरस्कारको स्थापना पनि गर्नु भएको छ । उक्त पुरष्कार पहिलो पटक यसै वर्ष मुकेश राईको कविता संग्रह ‘अनुभूतीका रंगहरु’लाई प्रदान गरिएको छ । वि.सं.२०५२ मा गोरखा दक्षिणबाहु चौथाद्वारा विभूषित मानन्धर नेपाली प्रतिभा प्रतिष्ठानबाट पनि सम्मानित हुनुहुन्थ्यो । वहाँले बेलायती–नेपाली डायस्पोरामा साहित्यको शिलान्यास गर्नु भएको तथ्यलाई स्वीकार्दै अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज बेलायतले सन् २०१२ मा वहाँलाई ‘बेलायती–नेपाली डायस्पोराका आदिकवि’को रुपमा सम्मान गरेको थियो ।
(स्रोत : सत्यतथ्य मासिक)