~बासु शर्मा~
आज मलाई लेखकीय शिष्टता र मर्यादाका बारेमा लेख्न मन लाग्यो । व्यक्तिहरु बीचमा विचारको भिन्नता भएकै कारणले अभिव्यक्ति र लेखनकार्यमा कुनै विषय वा मुद्दामा फरक विचारहरु आउनु स्वाभाविक हो । कसैले आफ्ना विचारहरु शालिन र शिष्ट रुपमा व्यक्त गर्दछन् भने कसैले तितो रुपमा छुच्चो शैलीमा व्यक्त गर्दछन् । मेरो प्रश्न हो – छुच्याईँपूर्ण अभिव्यक्तिको पनि एउटा सीमा हुन्न र ? कहाँदेखि उता नजाने भन्ने एउटा लक्ष्मणरेखा हुन्न र ? यदि शिष्टता र मर्यादाको लक्ष्मणरेखा पार गरेर लेख्ने हो भने लेखन कर्म र लेखन धर्मले नै शर्मिन्दा हुनु पर्ने अवस्था आइपर्छ । नेपाली लेखन क्षेत्रमा छुच्चा लेखकहरुको कमी छैन । यही छुच्चा लेखकहरुको पंक्तिमा पर्ने अहिले छापाहरुमा छाएको नाम हो – दिल निशानी मगर । म उनका लेखहरुको पाएसम्म नियमित पाठक हुँ । मलाई उनको वेजोड तर्कपूर्ण प्रस्तुति मन पर्छ । हालका दिनहरुमा उनी जातीय पहिचानका आधारको संघीयताका विरुद्धमा लेखिरहेकाछन् भन्ने कुरा उनका लेखहरुको पाठकलाई थाहा हुने नै कुरा हो । उनको तर्क सटिक हुन्छ र लक्षित पात्रहरुलाई घायल नै पार्ने गरी उनी दनक दिन्छन् । हो, उनको लेखन शैली छुच्चो ढर्राको छ । यो उनको आफ्नो निजी शैली हो । यसमा मलाई ज्यादा केही भन्नु छैन । तर उनका पछिल्ला केही लेखहरुमा उनको छुच्याईँले लेखकीय शिष्टता र मर्यादालाई भुलेको हो कि भन्ने लागेको हुनाले मलाई उनको उदाहरण दिएर यस विषयमा लेख्न मन लागेको हो ।
नेपालमा जातीय पहिचानमा आधारित संघीयता देश र जनताको हीतमा हुँदैन भन्ने विचारमा दिल निशानी मगरसँग विमति राखेर म यो लेख लेखिरहेको छैन । बरु मेरा लेखहरुमा उनका विचारहरु उद्धृत गर्ने गरेको तथ्य मेरा लेखहरु पढ्ने पाठकलाई थाहा हुने नै कुरा हो । र, म उनको तर्कपूर्ण लेखन तिक्ष्णताको प्रशंसक पनि हुँ । तर उनको गाली गलौजको शैलीसँग भने म पटक्कै सहमत हुन सक्दिन । हातमा कलम छ भन्दैमा जसरी मन लाग्यो त्यसरी लेख्न मिल्छ र ? मलाई त लाग्दछ यस्तो लेखन शैलीले उनका विचारहरुको सकारात्मक प्रभाव पर्नुको सट्टा उल्टै उत्तेजना फैलाउँदछ । आफू जनजातिकै भएकाले जनजातिको पहिचानवादी सोचका विरुद्ध उनले यसरी अमर्यादित शैलीमा अग्नि वर्षा गर्न नहिच्किचाएका हुन सक्छन् । तर आफूले आफैलाई आलोचना गर्न पनि शिष्टतालाई भुल्नु पर्दछ भन्ने छैन नि ! मर्यादित रुपमा गर्न सकिन्छ र यसरी गर्दा बढी प्रभावकारी पनि हुने गर्दछ भन्ने कुरा उनलाई थाहा नै होला । एकछिन विचार गरौँ – एउटा ब्राम्हणको कुल जातमा जन्मेको लेखकले उनले झैँ अमर्यादित शैलीमा जातीय पहिचान सहितको संघीयताका विरुद्धमा शव्द ओकले भने स्थिति के होला ? उत्तेजना नभड्केला र ?
उनले आफ्नो पछिल्लो एउटा लेखमा ‘…. आवेग, भाषा शैली, फोहरी रवाफ र उत्तेजना देखेर मलाई बडो उदेक लाग्यो’ भनेर चित्त दुखाउँदै लेखेको पढ्न पाएको थिएँ । तर उनैले त्यस अघिको लेखमा अमर्यादित शैलीमा ‘…. नाकमा झाँगाको कालो दलिदिनु पर्दछ । यसरी झाँगाको कालो तिनको नाक नेर क्रमशः दलियो भने तिनको पहिचान युग–युगसम्म बाँचिरहन्छ । ….. जसको नाकको टुप्पोमा कालो थोप्लो देखियो भने सम्झ कि उ आफ्नो पहिचान हराइजाला भनिकन ……. नाकनेर कालो दल्न राजी खुसी भयो । … एउटा महान किराँत वंशावलीको भुईं फुटुवा विद्वान नाकमा जाँडको लेदो दलेर फुत्त निस्कियो ।’ आदि ईत्यादि भनेर निम्न स्तरको अशिष्ट र अमर्यादित शैलीमा लेखेको पनि पढेको हुँ । त्यसैले उनलाई नै सोध्न मन लाग्यो – दिल निशानी मगरजी, भाषा शैली र शिष्टताको कुरा अरुलाई अर्ति दिन मात्र लागु हुन्छ कि तपाईलाई पनि लागु हुन्छ? यदि तपाईलाई ‘पहिचानवादी’हरुले ‘खसहरुको पैसा हसुरेर यसरी लखिरहेको हो’ भन्ने आरोप लगाए भने तपाईं के भन्नु हुन्छ ? जस्तो कि तपाईंले पहिचानको माग गर्नेहरुलाई ‘डलरे’ भनेर आरोपित गर्नु भएकोछ ।
मगरजीले आफ्नो पछिल्लो एउटा लेखमा लेखेकाछन् – ‘कुनै पनि विचार डाक्टरको प्रयोगशालाबाट आउँदैनन् । विचारको दोस्रो रुप बहस हो ।’ सही हो – कुनै पनि विचार वैज्ञानिक प्रयोगशालाबाट प्रमाणित भएर आउँदैन । तर बहसको दोस्रो रुप मात्रै चैँ विचार होइन । विचारकै लागि मात्र विचारको कुनै अर्थ छैन । विचारले सामाजिक प्रयोगशालाबाट भने प्रमाणित हुन आवश्यक छ र मात्रै समाजमा स्थापित हुन सक्दछ । र, यसरी प्रमाणित हुनका लागि बहस मात्र पर्याप्त हुँदैन । अपितु सामाजिक व्यवहार र सकारात्मक परिणाम पनि आवश्यक हुन्छ । बहस र सम्वादकै मात्र कुरा गर्ने हो भने मानव जातिले आफ्नो उत्पति कालदेखि नै सवैभन्दा बढी गर्दै आएको कुरा नै सम्वाद वा सञ्चार हो । तर भए गरिएका सञ्चारमा लगभग ७० प्रतिशत सञ्चार सामान्य अवस्थामा असफल हुन्छन् भनेर विज्ञहरु बताउँछन् । गरिएको सञ्चार असफल हुनाका कारणहरु मध्ये एउटा कारण हो सन्देश प्राप्तकर्ताले सो सन्देश नरुचाउनु । यसरी सन्देशलाई अरुचिकर बनाउने जिम्मेवार तत्वहरु मध्ये पहिलो र सर्वप्रमुख तत्व हो प्रयोग गरिएको भाषाको स्तर र शैली । त्यसैले प्रष्ट छ अशिष्ट र अमर्यादित भाषा र शैलीले निश्चय नै प्रवाह गरिएको सन्देशलाई सफल हुनबाट रोक्दछ चाहे त्यो विचार जतिसुकै सही होस् । अतः सञ्चारकर्ताहरुले यसतर्पm ध्यान दिन जरुरी छ । खासगरी लेखनकर्ममा लागेकाहरुले त झनै बढी ध्यान दिनु पर्ने हुन्छ । त्यसैले, दार्शनिक कन्फ्युसियसले भने झैँ जसरी मगरजीलाई अरुको अमर्यादित भाषा मन पर्दैन त्यसरी नै अरुलाई पनि उनको अशिष्ट र अमर्यादित भाषाशैली पच्दैन भन्ने कुरा उनले बेलैमा बुझेदेखि उनको लेखाईको गुरुत्व अझ बढ्ने थियो ।
मुखको तितो पोख्दै तथानाम ओकल्नु न लेखाई हो न सन्देश प्रवाह हो । यस्तो प्रवृत्ति हिजोआज छ्याप छ्याप्ति देखिन थालेको छ । खासगरी सामाजिक सञ्जाल माध्यमहरुमा त कति हो कति । अशिष्ट र अमर्यादित मात्र होइन अश्लिल र फोहोरी शव्दहरु र विम्वहरुको प्रयोग समेत भइरहेको देखिन्छ । हाम्रो शिष्टता, भद्रता र सहिष्णुता किन खस्केको हो यसरी ? हामी कस्तो सँस्कृतिलाई हुर्काइरहेकाछौँ ? आमाचकारी गालीको रुपमा देखिन थालेका यस्ता अभिव्यक्तिहरुले हाम्रो आफ्नै मर्यादालाई खस्काइरहेको हुन्छ । यसरी सामाजिक सञ्जाल माध्यमहरुमा प्रयोग भइरहेका समाजमा बोल्न नसकिने स्तरसम्मका शव्दहरु र भाषाको स्तर देख्दा आलाकाँचा उरेण्ठेउलाहरुले प्रयोग गरेका हुन् कि भन्ने लाग्दछ । तर ताज्जुब लाग्ने कुरा चैँ के भने मगरजीका माथि उद्धृत शव्दहरु र वाक्यांशहरु हेर्दा उनले अब यस्तै अश्लिल शव्दहरु मात्र प्रयोग गर्न बाँकि रहेको हो कि भन्ने देखिन्छ ।
भनिन्छ नि हानेको गोलीले निशानामा लागेन भने पनि त्यो उतै जान्छ फर्किएर आउँदैन तर छोडेको बोलीले निशानामा लागेन भने फर्किएर आई आफैलार्इ लाग्दछ । त्यसैले छुद्र वचन किन गर्नु ? आफ्ना विचारहरुलाई शिष्ट र सभ्य तरिकाले पनि त राख्न सकिन्छ नि । समाजलाई सकारात्मक दिशातर्फ डो-याउने उद्देश्यले लेख्ने लेखकहरुले त झनै शिष्ट, भद्र र मर्यादित हुन आवश्यक छ । यो मेरो लेखकीय मान्यता हो । त्यसैले, मेरो निजी लेखन विधि चैं कस्तो रहने गरेको छ भने जव जव म लेख्न थाल्दछु मैले प्रयोग गरेका शव्द, वाक्यांश, विम्व, उखान टुक्का र उपमाहरु अशिष्ट र अमर्यादित नहोउन् भन्ने चाहान्छु र हरेक पटक लेखिसकेपछि दोहो-याई तेहे-याईकन पढ्दछु । यदि त्यस्तो केही अशिष्ट र अमर्यादित शव्द वा वाक्य वा उपमाहरु फेला परे भेटेसम्म समअर्थी शिष्ट र मर्यादित शव्द वा वाक्य वा उपमाहरुले प्रतिस्थापन गर्ने गर्छु नभए हटाई नै दिन्छु । जस्तो कि यसै लेखमा पनि प्रयोग गर्न चाहेको एउटा उखानले समाजको एउटा हिस्सालाई अपमानित गर्ने ठानी हटाइदिएँ र यसरी नै यस अघिको एउटा लेखबाट पनि मैले प्रयोग गर्न चाहेको एउटा उखानले कुनै एक स्थानविशेषको समुदायलाई होच्याउने ठानी हटाएको थिएँ । सँगै काम गरेर प्रतिवेदन लेख्न बस्दा मेरा मित्र डा. निरज नारायण जोशी भन्ने गर्दथे – If you have doubt take it out (यदि शंका लाग्दछ भने झिकिदेउ) । मलाई उनको यो भनाई गुरुमन्त्र नै भएकोछ ।
लेखकहरुले, अझ खास गरी समाजको सकारात्मक परिवर्तन चाहाने लेखकहरुले, लेखन कर्म (writing itself), धर्म (its ethics) र यसको मर्म (its essence)लाई ख्याल गर्दै लेखकीय शिष्टता र लेखकीय मर्यादालाई पालना गर्नै पर्दछ भन्ने म ठान्दछु । तसर्थ, म सबै लेखकहरुलाई, खास गरी छुच्चा लेखकहरुलाई, शिष्ट र मर्यादित लेखनका लागि आग्रह गर्न चाहान्छु । विगतका मेरा लेखाईहरुमा अन्जानमा कुनै अशिष्ट, अमर्यादित र कहीँ कसैको अपमान हुने अभिव्यक्ति भएको भए विनम्रतापूर्वक क्षमा याचना गर्दै अब उपरान्त म अझै सजग रहनेछु भनिकन यसै लेखमार्फत प्रतिवद्धता जाहेर गर्न पनि चाहान्छु । अस्तु ।
(स्रोत : सत्यतथ्य मासिक)