~टी एन रिजाल~
डिसेम्बर महिनाको दिन लण्डनको चार्ल्टनमा पिटपिट पानी परिरहे पनि मन चङ्गा झैँ खुशी थियो । धेरै वर्षपछि सम्झेर टेक्स्ट मेसेज पठाएछन् राजुले । जसमा ‘जन्मोत्सवमा जसरी पनि आउनु है, चुल्हो निम्तो छ’ लेखिएको थियो । अहिले उनको नाम र शान बेग्लै छ । नेपालमा उनी मध्यमवर्गीय परिवारका भए पनि लण्डनमा अथाह सम्पत्ति कमाएका छन् ! चारवटा त निकै नै चल्ने रेस्टुरेण्ट, दुईवटा घर, दुईवटा गाडी देखिएका सम्पत्ति मध्येका हुन् रे !
सहरका नाम चलेका नेपालीले निम्तो गरेकाले हुन सक्दछ, मेरी श्रीमती पनि खुशीले दंग थिइन् । साँझ नजिकियो । उनले ड्रयरबाट कपडाहरु निकालिन् । केही कपडाहरु ठीकै देखिन्थे केही भने मुजा परेका थिए । उनले फटाफट आइरन गरिन् । त्यही मेसोमा मचाहीँ हतार हतार बाथरुमको काम सिध्याएर आइरन गरिवरी तयार पारेका कपडाहरु चट्ट लगाएँ । ऐना हेरे । यसपालि पनि ऐनाले ढाँटेन । अनुहार त उही सुकेनाश र पिलन्धरे देखायो । तर मन पुलकित भएर होला त्यो क्षण–क्षण भरमा नै बिर्सिएँ । थोत्रो गाडी लिएर श्रीमतीसँगै गफिँदै लागे राजुको जन्मोत्सव मनाउन ।
करिव २० मिनेटपछि पुग्यौँ गन्तव्यमा । फूलका माला र विद्युतीय प्रकाशहरुले प्रवेशद्वार निकै नै आकर्षक बनेको थियो । ‘ओहो रिजालजी के छ ?’ चर्को स्वरमा सोधिएको त्यो प्रश्न राजुको नै हो भनेर चिन्न मलाई कुनै अप्ठेरो भएन । ‘के छ यार ? जन्मदिनको बधाइ छ ।’ मैले पनि उनीतिरै फर्केर जवाफ दिए । गहनाले सजिएकी उनकी श्रीमती भने फिस्स हाँसिन् । मैले र मेरी श्रीमतीले उनलाई नमस्कार टक्र्यायौँ । ‘ओहो भाउजु पनि आउनु भएछ, नमस्कार भाउजु’ राजुले थपिहाले । राजुको घाँटीमा टाई र टाई बाध्नुको गर्व अनुहारमा स्पष्ट देख्न सकिन्थ्यो । गजक्क फुलेकाझैँ देखिन्थे उनी ।
‘के खाने ? के पिउने ?’ राजुले अर्को प्रश्न तेस्र्याए । ‘एकै छिन राजुजी’ मेरो जवाफ थियो । राजुकै इशारामा हामी रिसेप्सनबाट भित्र भित्रियौँ । बाफ रे बाफ मानिसहरुको लर्को । समाजका नेता, लेखक, संचारकर्मी, व्यापारी, समाजसेवी मधुर गीत र संगीतको अभुतपूर्व अपार आनन्दमा गफिँदै खाँदै र पिउँदै थिए । चिल्ला अनुहार भएका टाईसुटका पुरुषहरु र गरगहनामा झपक्क परेका महिलाहरुमा प्रशन्नताका आभाहरु स्पष्ट देखिन्थे । खुशी, खित्का र खानाको बेजोड मिलन थियो त्यहाँ । तर यहीनेर केही वेर अघिसम्मको मेरो मनको चङ्गा अब चुडियो । अलिकति डाहा, इस्र्या र धेरै त लघुताभाषले गाँज्यो मलाई । थपमा राजुको नेपाली र अंगे्रजी मिसिएको नेपाङ्गेजी भाषाले मलाई अप्ठेरो लागिरहेको थियो । आवश्यक नै नपर्ने उनको भाषाले मलाई उनको फूइँ बाहेक अरु प्रमाणित गरेन । अब ‘बर्थ डे केकको पालो’ बीचमा एकजना चिच्याए ।
बर्थ डे केक काटिदैछ । ‘ह्याप्पी बर्थ डे’ भन्ने हलिउड गीत पृष्ठभूमिमा सुनिन्थ्यो । सँगसँगै थपडी पनि बज्न थाले । राजुले एकाएक बलिरहेको मैनबत्ती फुकेर निभाए । मैनबत्ती त उज्यालोको प्रतिक – बलिरहनु पर्ने । मलाइ वातावरण नै अँध्यारो लाग्यो । वरपर हेरेँ, सबैजना खुशी छन् । कोही मोवाइल फोनबाट फेसबुकमा फोटोहरु अपलोड गर्दै थिए भने कोही निकैबेर सेल्फीमा मस्त थिए । म भने वाक्क भएँ । अाफ्नाे भावना श्रीमतीसँग पोख्न मन लाग्यो । तर अफसोच उनलाई बढी बोलेको मन पर्दैन । यो उनको माइतैदेखिको स्वभाव हो । यत्तिकैमा कोही एकजनाले फेरि चर्कोसँग भने – ‘जन्मोत्सवको मूख्य उत्सव’ यही हो । अब खानपिन र नाच गानको समय ।’
मीठा मीठा परिकारका खानाहरु धित मरुन्जेल डम्फाउन पाइने ठाउँ रहेछ त्यो । हामीले पनि मजैले खायौँ । पार्टीहरुमा खाना खाने मामिलामा अलिक लाज मान्ने स्वभाव भएकोले हो क्या रे उनले मज्जैले थपिदिइन् । मलाई २ गिलास वाइन रित्याउन समय नै लागेन । साँझ जति जति रातको गहिराइमा गहिरिँदै थियो, त्यही गतिमा वातावरण पनि कक्टेलमय बन्दै गयो । सानो स्वरमा सुरु भएकाे छलफल विस्तारै ठूलो स्वरमा उम्लिँदै थिए । दाहिनेपट्टिका टेबलमा रहेका सज्जनवृन्द मध्ये एकले एक्कासी अर्काको गालामा थप्पड पड्काई दिइहाले । किन हाने होलान् म छक्क परेँ । अब त झन् दुवै उठे । मूलाहरुले त खाली गिलास उठाएर एकले अर्कालाई ताक्न पो थाले । अरु टेवलबाट पनि त्यहीँ ओइरिए । वातावरण खल्लो, अहमपूर्ण र अराजक बन्यो । त्यो साँझको जीवन एउटै र स्थीर भएन । मानिस–मानिसहरु हुल हुलमा विभाजित भएर हारालुछ गरे झैँ देखिन्थे । कुरुक्षेत्र पो बन्यो सो वातावरण । स–साना नानीहरु भने चिच्याउँदै थिए । त्यसैमा एकजना महिला रुँदै कराइन्, ‘लौन नि मेरो सिक्री हरायो ।’ सबैले वेवास्ता गरिदिए । मैले सोचेँ राजुले सम्हालछन् होला त्यो अराजक वातावरण । एकै छिनमा त उनी आफू बोल्नै नसकिने हालतमा पो देखा परे । टाई घाँटीमा लुज भई लत्रिएको थियो ।
कमिजको बीचका दुईवटा टाँकहरु घरबाट बाहिरिएका थिए । पाइन्ट भित्र मिलाइएको कमिजको तल्लो भाग अब भने भित्रै बस्न नमानेर बिस्तारै बाहिरिँदै थियो । दुई ओठको बीचमा चूरोट च्यापिएको थियो । उनी भने आफै कमिजको खल्ती छामछुम गर्दै थिए । सायद त्यो सलाइ वा लाइटरको खोजी होला । बाफ रे बाफ त्यो वातावरण अनि राजुको कन्तविजोग देखेर नाकै थुन्नु पर्ने पो भो । दुःस्वप्न झैँ लाग्यो । वरपरका साथीहरु भने फिस्स हाँस्दै बाहिरतिर कुलेलम ठोकेका स्पष्ट देखिन्थ्यो । ‘शकुन्तला हामी पनि जाऔँ ’ मैले श्रीमतीलाई भनेँ । हामी पनि फुत्त निस्कियाैँ । निस्कँदा निस्किँदै फूलका माला र विद्युतीय प्रकाशहरुले सजिसजाउ प्रवेशद्वारको भुइँ वरपर सभ्य मानिसहरुका बान्ताका छोक्राहरु असरल्ल देखिन्थ्यो । यसरी समापन हुन पुग्यो विशिष्ट उत्तरआधुनिक जन्मोत्सवको कार्यक्रम ।
(स्रोत : सत्यतथ्य मासिक)