~करूण थापा~
तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ ।
टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ ।
धेरै रोएँ जिन्दगीमा अब पत्थर हुन्छु भन्थें
यति कोमल मन छ कि कपासले चोट लाग्छ ।
अँध्यारोमा बस्ने बानी परे पछि के लाग्छ र
सानो सानो जुनकिरीको प्रकाशले चोट लाग्छ ।
आफै बस्ने घर पनि पर जस्तो लाग्छ मलाई
तारा हुँ म कहिलेकाहीं आकाशले चोट लाग्छ ।
ज्यानै दिंदा पनि तिमी कसम खाउ भन्छेउ अझै
तिमीले म माथि गर्ने विश्वासले चोट लाग्छ ।
(स्रोत : गजल सङ्ग्रह “बतासले चोट लाग्दा” बाट सभार)