~डा. धनपति कोइराला~
क) विषय प्रवेश :
निलमकुमार न्यौपानेद्वारा लिखित ‘भक्ति थापा’ एउटा खण्डकाव्य हो । यो ऐतिहासिक विषयमा आधारित छ । नेपालका राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८७० सालमा तत्कालीन नेपाल सरकार र तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारका बीच नेपालका विभिन्न नौवटा नाका र दुर्गहरुमा भयङ्कर युद्ध भयो । ती युद्धभूमिहरुमध्ये एउटा थियो देउथल । यस किल्लाको संरक्षण गर्न खटिएका थिए, भक्ति थापा । उनकै बुद्धिमत्तापूर्ण उत्साह, वीरता, त्याग र वलिदानको संस्मरण गरी सृजना गरिएको काव्य हो यो ।
ख) संरचना :
यसमा सात सर्ग छन् । सर्ग या विश्रामजस्ता शब्दको प्रयोग गरिएको छैन, तर शीर्षकीकरणचाहिँ गरिएको छ । पहिलो सर्गलाई ‘वन्दना’, दोस्रोलाई ‘पृष्ठभूमि’ तेस्रोलाई ‘सुरू’, चौँथोलाई ‘प्राकृतिक सौन्दर्यमा गोरा मोहिनु’, पाँचौँलाई ‘द्यौथल किल्लामा भक्ति’, छैटौँलाई ‘भक्तिलाई आंग्लको चिठ्ठी’ र सातौँलाई ‘द्यौथलमा युद्ध’ नामकरण गरिएको छ । यसमा श्लोकहरुको साङ्ख्यिकीकरण गरिएको छैन । यो जातीय लय अर्थात् भ्mयाउरे लयमा लेखिएको काव्य हो । यस लयमा आधारित रही यसमा ८१४ पङ्क्ति रचिएका छन् । पहिलो सर्गमा ३६, दोस्रोमा २७३, तेस्रोमा ३४, चौँथोमा ७०, पाँचौँमा ४८, छैटौँमा ८७ र सातौँमा २६६ पङ्क्ति रहेका छन् । सर्वाधिक लामो दोस्रो सर्ग र अत्यन्त छोटोमा तेस्रो सर्ग रहेको छ । तृतीय पुरूषीय वस्तुगत कथनपद्धति अँगालिएको छ यसमा ।
ग) कथावस्तु :
पहिलो सर्गमा लक्ष्मणले लङ्का नरेश बन्न आग्रह गरे पनि रामद्वारा ‘स्वदेश मेरो पवित्र भूमि मुटुझैँ प्यारो छ (पृ.१)’ भन्दै जन्मभूमि र आमा समान भएको धारणा प्रकट गरी मातृभूमिलाई उच्च स्थान दिइएको छ । यसपछि ज्ञानकी खानी शारदा देवीको प्रार्थना गरी विनयपूर्वक अज्ञानी मनको ढोका खोलिदिन हार्दिक आग्रह गरिएको छ । दोस्रो सर्गमा प्रकृतिका अत्यन्त मनोहर रुपको सुरम्य वर्णन गर्दै रत्नाकर, ऋषि (नारद), अत्यन्त दयालु राजा शिविको प्रसङ्ग प्रस्तुत गरिएको छ । राजा शिविसमक्ष उपस्थित भई गौँथलीले आप्mनो प्राणको रक्षा गर्न अपिल गरेको तथा शिकारीले आप्mनो बुबुक्षा शान्त पार्न उही गौँथली चरो सुम्पन आग्रह गरेको सन्दर्भ निकै मार्मिक रुपमा आएको छ । यहाँ राजाले आप्mनो शरीर दान गरेको सन्दर्भ पनि उत्तिकै रोचक बन्न पुगेको छ । यसै सन्दर्भसँग मिल्दो देवताको हितका निम्ति जिउँदै आप्mनो जीवन अर्पण गर्ने महर्षि दधीचि, अतिथि सेवाका निम्ति जीवन कुर्वान गर्ने रन्तिदेव र गुरूभक्तका रुपमा ख्याति कमाएका शिष्य अरूणि, ज्ञानीमा बुद्ध, दानीमा अर्का राजा बलि, त्यागीमा मर्यादा पुरूषोत्तम रामको नाम उच्चारण गरिएको छ । हृदयभरि देशको माया सँगाल्ने राजर्षि जनक, जगज्जननी सीता र हरित तारा भृकुटिको नाउँ स्मरण गरिएको पनि छ ।
तेस्रो सर्गमा १८७० सालमा अङ्ग्रेजले उपनिवेश स्वीकार्न या युद्ध गर्न चुनौती दिएपछि सल्लाह गर्न बसेको बैठकको जीवन्त बिम्ब उतारिएको छ । अङ्ग्रेजसँग अथाह शक्ति र साधन भएकाले युद्ध गर्दा नेपालको धेरै क्षति हुने केही सेना र विद्वान् गुरूहरुको भनाइ पारित हुन नसक्दा देश युद्धमा होमिएको सन्दर्भ प्रस्तुत छ । साथै शक्तिको उन्मादमा बालि, रावण, कंश, महिषासुर र हिरण्यकशिपु मारिएको प्रसङ्ग कोट्याई जुक्तिले काम लिएको भए बढी लाभ हुन्थ्यो कि भन्ने उद्भावना प्रकट गरिएको छ । चौँथो सर्गमा पूर्वमा टिस्टा, पश्चिममा काँगडा, उत्तरमा डिगर्चा र दक्षिणमा लखनौसम्म नेपालको भूभाग विस्तारित थियो । नेपाली वीरहरुले जुन भूमिमा पाइला राख्थे, त्यहाँ विजय सुनिश्चित हुने गरेको ऐतिहासिक तथ्य प्रस्तुत गरिएको छ । वातावरणीय दृष्टिले गोराका निम्ति नेपाल उपयुक्त स्थल भएकाले उसले नेपालमाथि गिद्धे दृष्टि लगाएको यथार्थ यसमा आएको छ । पाँचौँमा नेपालको पूर्वदक्षिण र पश्चिम सीमातिरका नौवटा किल्लाको सुरक्षार्थ नेपाली वीरहरु खटिए । ती नौवटा स्थलहरुमध्ये अमरसिंह मलाउमा, बलभद्र नालापानीमा र भक्ति थापा देउथलमा तैनाथ थिए । सत्तरी वर्ष भइकन पनि नवयुवासरह जोश भएका भक्ति थापाका हातमा तरबार, ढाल, घुयेँत्रो, गुलेली, पिठ्यूँमा ढुङ्गा, गोजीमा मट्याङ्ग्रा, कटीमा खुँडा र खुकुरी हरेक क्षण रहने गथ्र्यो । साम, दाम, दण्ड र भेद नीतिद्वारा पूरै भारतलाई आप्mनो अधीनमा पार्न सफल अङ्ग्रेजहरुमाथि विश्वास थिएन उनलाई । यसैले रातमा पनि नसुती पहरा दिन्थे । छद्म भेषमा किल्ला सुरक्षा गरिरहेका सिपाहीको पनि निगरानी गर्थे । कसैले भनेको कुरामा विश्वास गर्नुभन्दा आफैँले गएर हेरेपछि मात्र विश्वास गर्ने उनको स्वभाव थियो । छैटौँ सर्गमा नेपालीसँग लडेर जितिन्न भन्ने निष्कर्षमा पुगेका अङ्ग्रेजले वीर थापा द्रव्यको मोहमा पर्छ कि भन्ने आशयले पत्र पठायो । यसमा भक्ति थापाका वीरताको मुक्त कण्ठले प्रशंसा गर्दै उनलाई पद र पैसाको प्रलोभन देखाई आत्मसमर्पण गर्न प्रेरित गरिएको थियो । तर थापा स्तुति, पद र पैसाको प्रलोभनमा पर्दैनन् । ‘पैसामा आत्मा बेच्दैन कैल्यै नेपाली छोराले, अर्पन्छ ज्यान, उत्सर्ग हुन्छ स्वार्थले गिर्दैन’ भन्दै उनी ‘स्वतन्त्रता निम्ति लड्दछौँ हामी ज्यान नै गए नि’ भनी अपार राष्ट्रप्रेम प्रकट गर्दछन् । उनी बमको जवाफ ढुङ्गाले र सङ्गीनको कर्दले फर्काउने तथा देशका निम्ति मर्नु आप्mनो सौभाग्य ठान्ने दृढता व्यक्त गर्दै नेपाली बमको तुजुकले नडराउने प्रत्युत्तर गोराकै दूतमार्फत पठाउँछन् । सातौँ सर्गको सुरूमा प्रकृतिको शोक र असामान्य मनोदशा प्रस्तुत गरिएको छ । बम, गोली, बारूदसहित हतियार बोकेका अङ्ग्रेज फौज सात हजार तर खुकुरी, तरबार, गुलेलीजस्ता घरेलु हतियार बोकेका नेपाली तीन हजारमात्र त्यसमा पनि महिला र केटाकेटीहरुको सङ्ख्या धेरै रहेको तथ्य प्रस्तुत गरिएको छ । किल्ला घेरेर बसेका अङ्ग्रेज र नेपाली सेनाका बीच घमासान युद्ध आरम्भ हुन्छ । नेपाली वीरहरुको अदम्य साहस र वीरत्व देखेर अङ्ग्रेज डराउँछ । उसको ठूलो मानवीय क्षति हुन्छ । अत्तालिएको अङ्ग्रेज फौजले अन्धाधुन्ध बम र गोली बर्साउँछ । नेपाली फौजतर्फ पनि ठूलो क्षति हुन्छ । यस्तो बीभत्स दृश्य देखेर भक्ति थापाभित्रको वीरत्व झन उत्कर्षमा पुग्छ । उनी रणभैरव हुन्छन् र अङ्ग्रेजमाथि जाइलाग्छन् । असङ्ख्य अङ्ग्रेजहरुको प्राण पखेरू उड्छन् । उनको अदम्य रणकौशल देखेर डराएका अङ्ग्रेजहरुले पुनः पत्र पठाउँछन् । तर, वीर थापाले ‘‘ए गोरा, तेरो धनको शान देखाउनु पर्दैन, नेपाली वीर पराई धन मानमा गिर्दैन’’ भन्दै कप्तानलाई कठालो समातेर घिसार्दै लगी उसकै तोप हानेर जीवललीला समाप्त गरिदिन्छन् । तत्काल अर्को गोरा आएर भक्तिमाथि तोपको निसाना साध्छ । छ–सात गोली लाग्दा पनि नढली अङ्ग्रेजलाई अघि बढ्न दिएनन् । अन्ततः मुटु नै छेड्ने गरी हानिएको गोली लागेर उनले वीरगति प्राप्त गर्छन् ।
तेस्रो सर्गमा अङ्ग्रेजसँग युद्ध गर्ने कि नगर्ने भनी भइरहेको छलफलबाट कथाको आरम्भ भएको छ । अङ्ग्रेजले प्रथमपटक पठाएको पत्र र अस्वीकृति मध्य, कप्तानको मृत्यु चरम उत्कर्ष र भक्तिको दुःखान्ततामा अन्त्य भएको छ । यसरी हेर्दा पहिलो सर्गलाई मङ्गलाचरण माने पनि सर्वाधिक पङ्क्ति सङ्ख्या रहेको दोस्रो सर्ग कविप्रौढोक्तिका रुपमा मात्र आएको छ । यो सर्गको कथावस्तु वीरता र त्यागका प्रेरक ऐतिहासिक तथा पौराणिक व्यक्तित्वसँग भक्ति थापाको शौर्यगाथा तुलना गरी उनको महिमामाथि प्रकाश पार्ने उद्देश्य राखिएको छ । कथाको प्रस्तुति बेजोड हुँदाहुँदै पनि सर्गात्मक रुपमा कथाहरुको विन्यासमा त्यति सन्तुलन देखा पर्दैन ।
घ) पात्रविधान :
बहुल पात्र प्रयुक्त काव्य हो यो । यसका केन्द्रीय चरित्र हुन्, भक्ति थापा । शिवि र गाँैथली (मानवेतर, चरो) शिकारी सहायक पात्रका रुपमा प्रस्तुत छन् । गौण भूमिकामा दिवान, दधीचि, नेपाल आमा, नेपाली वीर सिपाही, महिला, केटाकेटी, अङ्ग्रेज सेना, दूतहरु प्रस्तुत छन् । भक्ति थापा मुख्य, सत्, अनुकूल, बद्ध, मञ्चीय, स्थिर, सार्वजनीन, प्रतिनिधि वयोवृद्ध तथा असाधारण वीरता र साहस भएका सपूतका रुपमा, शिवि अत्यन्त दयालु तथा परमवीर चरित्रका रुपमा, शिकारी कठोर पात्रका रुपमा र गौँथली भय एवम् त्रासयुक्त निरीह मानवेतर चरित्रका रुपमा देखा परेका छन् । अन्य गौण पात्रहरु सबै बद्ध र वर्गीय पात्रका रुपमा उपस्थित छन् । यसको पात्रविधान सन्तुलित छ र काव्यिक दृष्टिले सशक्त पनि छ ।
ङ) परिवेश :
यसमा १८७० सालको कालिक तथा नेपालको राजदरबार तथा तत्कालीन नेपालको मुख्य किल्ला देउथल र त्यहाँ इष्ट इन्डिया कम्पनी सरकारको फौज र नेपाली फौजका बीच भएको युद्धजन्य शूरता, वीरता, भयानक त्रासदी तथा बीभत्सता मानसिक परिवेश हुन् । अङ्ग्रेजले नेपालको जलवायुप्रति मोह राखी यसलाई आप्mनो क्रीडाभूमि बनाउने चाहना तथा आप्mनो देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउने चाहनाबाट पैदा भएको युद्ध र तज्जन्य भयावह परिस्थिति यसका मुख्य परिवेश हुन् । विशाल नेपाल निर्माणका अन्तिम चरणमा अनपेक्षित रुपमा भएको युद्ध र नेपालतर्फको अकल्पनीय क्षतिलाई उजागर गरेको छ, यस काव्यले । साथै, नेपाली वीरवीराङ्गनाहरुको वलिदानीपूर्ण तथ्य यसमा सर्वव्यापी परिवेश बनेर आएको पनि छ ।
च) बिम्ब, प्रतीक तथा अलङ्करण :
बिम्ब, प्रतीक तथा अलङ्करण यस काव्यको खास वैशिष्ट्य हो । यसको सुरूमा नै लक्ष्मणले लङ्का र अयोध्या नगरीको तुलनात्मक चित्र प्रस्तुत गर्दा अत्यन्त सुन्दर बिम्ब सिर्जना हुन पुगेको छ । यस्तै, दोस्रो सर्गमा प्रकृतिका मनोरम्य चित्र उतार्दा, शिवि, गौँथली र शिकारीको संवादको दृश्य खिच्दा, तेस्रोमा भारदारहरुको छुट्टाछुट्टै बैठक बस्दा पनि सुन्दर बिम्ब बन्न गएका छन् । चौँथोमा नेपालको जलवायु र प्रकृति देखेर गोराहरु लठ्ठ परेको अवस्थाको वर्णनमा, पाँचौँमा देउथलमा खटिएका भक्ति थापाको साहसको वर्णनमा, छैटौँमा भक्ति थापाले गोराको प्रलोभनसहितको पत्र अस्वीकृत गरेको वर्णनमा, सातौँमा बम र बन्दुकको निशानामा परेका सिपाहीहरुको त्रासदीय अवस्थाको वर्णनमा, कप्तानको मृत्यु र भक्ति वीरगति प्राप्तिको वर्णनमा पनि निकै सशक्त बिम्बको संयोजन गरिएको छ ।
यसमा प्रचुर मात्रामा पौराणिक प्रतीकहरु प्रस्तुत छन् । माता र मातृभूमिप्रति अगाध आस्थाका पर्याय राम, करूणाका अथाह सागरका रुपमा शिवि, त्यागीका पर्याय दधीचि, गुरूभक्तका पर्याय अरूणि, अतिथि सेवकका पर्याय रन्तिदेव पर्याय बनेर आएका छन् । कठोरताको पर्याय बनेको छ शिकारी । विध्वंसका पर्याय हुन्, युद्धजन्य तोप, गोली र हतियारहरु । षड्यन्त्रकारीका पर्याय अङ्ग्रेज तथा क्रूरताका पर्याय हुन् रावण, कंश, महिषासुर र हिरण्यकशिपू । पृथिवीमा स्थित स्वर्गको प्रतीक नेपाल, शत्रु वशमा पार्ने एक प्रकारको अस्त्रका रुपमा चिठ्ठी र प्रेमको पर्याय बन्ने गरेको फोटो यहाँ प्रतीकात्मक प्रस्तुति बनेर आएका छन्, यस रचनामा । शोकसन्तप्त प्रकृति नै युद्ध र तज्जन्य पर्याय बनेर आएको छ यसमा । र, भावी अनिष्टतातर्फ सूचित गरेको छ यसले ।
यसमा अलङ्कारको अत्यन्त सुन्दर संयोजन गरिएको छ । त्यसमा पनि उपमाको प्रचुर प्रयोग छ । यस्तै, रुपक दृष्टान्त स्वभावोक्ति र उत्प्रेक्षाहरुको पनि उस्तै विशिष्ट झाँकी देखा पर्दछ । उपमाको सुन्दर संयोजन गरिएको केही पङ्क्ति यस्ता छन् :
पवित्र हुन्छ देशको
भक्ति गण्डकी जलझैँ
सोहोरी फाल्छ ईष्र्या र द्वेष
वर्षाको भलझैँ
(सर्ग १, पृ.२)
सुनौलो रङ्ग पोतेको
जस्तो देखिन्छ आकाश
सुदूरतिर नीरझैँ
रङ्ग पोतेझैँ आभास ।
(सर्ग २, पृ.३)
रुपक अलङ्कारको प्रयोग भएका दुईटा पङ्क्ति हेरौँ ः
सुनको चरी भारत भए
हीरा हो नेपाल
स्वप्निल संसार साङ्ग्रिला
भन्नु नेपाली हिमाल ।
(सर्ग ४, पृ.१८)
यस्तै उत्पे्रक्षा अलङ्कार प्रयुक्त दुईटा पङ्क्ति यस्ता छन् ः
गुलाव हो कि स्फटिक हो
कि या हो त्यो अरु क्यै
या फुल्न सक्छ पातको
माथि स्फटिक पूmलझैं ।
(सर्ग २, पृ.३)
विरोधाभास अलङ्कार प्रयुक्त दुईटा पङ्क्ति यस्ता छन् ः
हे ! नृप मेरो शिकार
यहाँ पसेको छ कि त
मुटुमा चोट लागेर
रूँदै बसेको छ कि त ।
(सर्ग २, पृ.९)
दृष्टान्त अलङ्कार प्रयुक्त दुईटा पङ्क्ति यस्ता छन् ः
पिञ्जराभित्र रम्दैन चरी
सुनकै भए नि
स्वीकार हुन्न अङ्ग्रेज राज
हीरा नै दिए नि ।
(सर्ग ६, पृ.२३)
तुल्ययोगिता अलङ्कार प्रयुक्त दुईटा पङ्क्ति यस्ता छन् ः
फलामे किल्ला उनका
हाम्रा खरका झुप्रा छन्
तालिमे सेना उनका
हाम्रा सिकारू जवान ।
(सर्ग ३, पृ.१४)
स्वभावोक्ति अलङ्कार प्रयुक्त दुईटा पङ्क्ति यस्ता छन् ः
विपत्ति प¥यो भनेर
कर्म छोड्नु नै हुँदैन
भोकाए पनि बाघले
घाँस कहिल्यै छुँदैन ।
(सर्ग २, पृ.११)
अतिशयोक्ति अलङ्कार प्रयुक्त दुईटा पङ्क्ति यस्ता छन् ः
क्या दिव्य जादू छर्दछ
त्यहाँ बिहानी घामले
अनौठा दृश्य उत्पन्न
गर्छ वासन्ती यामले ।
(सर्ग २, पृ. ३)
यस प्रकार बिम्ब, प्रतीक र अलङ्कारको अन्वेषणका निम्ति यो त एउटा प्रस्थान विन्दुमात्र हो । यसमा भावको उडान भर्दै जाँदा कतैकतै अन्त्यानुप्रासीयता स्खलित बन्न गएको छ, तर भाव रस, कथा शृङ्खला र श्रुतिमाधुर्यमा भने त्यति अवरोध देखा पर्दैन ।
छ) रस, भाव तथा गुण :
यसमा वीर रस अङ्गी र बीभत्स, रौद्र, भयानक, शान्त, अद्भुत तथा करूण अङ्ग रस बनेका छन् । सरसर्ती हेर्दा बीभत्स र रौद्र रसको प्राचुर्य छ, तर अन्तर्गर्भमा नेपाली वीरहरुको अदम्य उत्साह र पराक्रमले उत्कर्षता पाएकाले यसमा वीर अङ्गी रस बन्न गएको स्पष्ट हुन्छ । यस्तै उत्साह, घृणा, क्रोध, भय, शोक, आश्चर्य, चिन्ता, ग्लानि, दया, प्रेमजस्ता भावहरु प्रस्तुत छन् । यसमा मुख्यतः पाञ्चाली रीति र प्रसाद गुण रहेको छ ।
ज) शब्द संयोजन :
सरल तत्सम शब्दहरुको प्रयोग फेला पर्दछ यसमा । उत्तिकै मात्रामा तद्भव शब्दहरु पनि प्रस्तुत छन् । जन्मभूमि, कर्मभूमि, प्रीति, पवित्र, भक्ति, ईष्र्या, द्वेष, ज्ञान, आभास, सुवास, दिव्य, रश्मि, भूमिका, ऋषिवर, प्रफुल्ल, संस्कृति, सहस्र, स्वत्व, गृहयुद्ध उत्सर्गजस्ता तत्सम शब्दहरु प्रयुक्त छन् । यस्तै सुनौलो, आँखा, घाम, हिउँ, हरियो, घर, रूवाइ, पखेँटाजस्ता तद्भव र मुसुक्क, थुङ्गे, कान्ला, बाटो, प्याट्ट, चिर्बिर च्यार्र, झर्रा, सिस्नोजस्ता झर्रा शब्दहरुको प्रयोगले रचना पनि निकै आस्वाद्य बनेको छ । जिन्दगी, निसाफ, गुलाब, जादू, मुहार, बगैँचा, तालिम, चौपाया, किल्लाजस्ता नेपाली जिब्रोले पचाइसकेका आगन्तुक शब्दहरु आएका छन् ।
झ) जीवन चेतना :
यसको मूल सार हो राष्ट्रभक्ति । अर्को हो, राष्ट्रिय विभूतिप्रति अपार श्रद्धा सुमन अर्पण गर्नु । यस्तै विशाल नेपालको भौगोलिक चिनारी, नेपालीले रणभूमिमा देखाएको अदम्य साहस, उनीहरुको त्याग र वलिदानको स्मरण गर्नु, पुर्खाको वीरतापूर्ण गाथालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु, राष्ट्रभक्त चरित्र निर्माण गर्नु, लोकलयलाई सम्मान गर्नु पनि यसका सन्देश नै हुन् ।
ञ) निष्कर्ष :
राष्ट्रभक्तिको भावनाले ओतप्रोत यस काव्यमा राष्ट्रिय विभूति भक्ति थापा र नेपाली वीरवीराङ्गनाहरुको अदम्य साहस र वीरता नै कथावस्तुको रुपमा प्रस्तुत छ । कथानक झिनो हुँदाहुँदै पनि यसलाई सशक्त बनाउने प्रयत्न स्तुत्य छ । कथावस्तु विन्यासमा केही खुकुलो भए पनि बिम्ब, प्रतीक, अलङ्करणको सुन्दर संयोजनले कृतिमा ओज थपिदिएको छ । विषय, भाव र भाषाको समन्विति सन्तुलित छ । भक्ति थापाको वीरगति प्राप्ति हुनासाथ कथावस्तु समाप्त भएकाले कथामा अझै चूडान्त दुःखान्तता पैदा हुन नसकेको अनुभूति हुन्छ । कथावस्तु, चरित्र, परिवेश, भाषाशैली र शिल्प यी सबै पक्षहरुको अन्वितिको पालनाले भने काव्य उत्कृष्ट बनेको छ ।
(स्रोत : Echitwanpost)