कथा : क्याफे लभ

~गजेन्द्र बोहरा~Gajendra Bohora

पहिलो भेटमै त्यो केटी (बिहे भइसकेकीलाई के भन्ने?) ‘साइको’ लागेथी ।
यो हाम्रो पाचौँ भेट थियो काठमाडौं । उही क्याफे, उही कफीको चुस्की अनि उही मधुर संगीत…. ।

यसपालिको लुक्स अलि ट्यापे थियो मेरो । कानमा टप, फुलेकै भएपनि लामो कपाल । हातमा सलमान खानवाला लकेट, जुँगा…. ।

‘ओहो, कस्तो ट्यापे लुक्स…’ बानेश्वरको व्यस्त बीच चोकमै अँगालेर उसले भनी ‘कस्तो क्यूटी भाको के तिमी…।’

हात फन्नाइरहेको ट्राफिकले फुकेको सिठ्ठीले हामी अँगालोबाट छुट्टियौँ । पर, गाडी रुके । केही सेकेन्डमैें लाम भयो । हामी क्रसिङबाट हात जोडेर त्यो चोक छोड्यौँ ।

अघिल्लो भेटमा उसले भनेकी थिइ ‘अर्काे पटक छोरालाई पनि ल्याउनु…।’

क्याफेमा बस्नासाथ उसले भनी ‘खै छोरा, किन आएन ?’

ऊ मेरो छोराको आमा हैने । तर, नौ महिना कोखमा राखेर जन्माएको भन्दा नि बढी माया गर्छे मेरो छोरालाई ।

म पनि उसको छोरीलाई त्यत्तिकै माया गर्छु, जत्ति मेरो छोरालाई । तर, म पनि उसको छोरीको बाउ हैन ।

भनेँ ‘अहिले छोराको एक्जाम् छ, पछि ल्याउँछु…।’

‘कस्तो के तिमी छ’ ठुस्सिएर ऊ भित्तातिर फर्किइ ‘जहिल्यै झ्यास गर्छौ ।’

‘म भए पुगिन र ?’ म जिस्किएँ ‘किन फेरि छोरा  चाहियो के ?’

‘इस्स्स्् बोल्छु…’ अर्काेतिर फर्केर उसले चुरोट झिकी ।

‘नौटङ्की…’ लाइटरको उज्यालोमा ऊ धपक्कै बली । लाग्यो, त्यो चन्द्रमाको उज्यालो सब उसको मुहारमा छ ।

क्याफेका स–साना चरबाट छिरेर घामका किरणहरु उसको शरीरमा पोखिएका थिए, सुनको रंगमा । लत्पतिएर उसको शरीरमा चलमलाईरहेका किरणहरुलाई उसले पातलो चुन्नीले छेकी । ती फेरि त्यही चुन्नीमाथि सल्बलाउन थाले ।

स्कट, हापको पनि हाप पाइन्ट, त्यो भन्दा नि सानो टि–सर्ट । यसको जागिरको ड्रेस कोड हो । तर, हाम्रो भेटमा ऊ सधैँ सादा कुर्ता सलवारमा हुन्छे ।

‘तुझ से नाराजा नही है जिन्दगी….’

‘ओहो कस्तो मीठो गीत है….’ उसले गोलो बनाएर उडाएको धुँवा उसको शरीरमा पोखिएका किरणमा मिसिएर सुनौला भए । उसका केश जस्तै ।

‘अँ…’ म उसकै आँखामा थिएँ, बोल्न मन थिएन । मौन भएर उसैलाई हेरिरहुँ झैँ भइरहेको थियो ।

‘ओइ…..’ उसले मेरो गालामा प्याट्ट पारी ‘के भो, के हेरेको ?’

‘तिमीलाई…..’ मैले भनेँ ‘यसपालि मनभरि हेरेर जान्छु ।’

‘वर्षको २ घण्टा नि टाइम हुँदैन के मेरो लागि त….’ ऊ फेरि ठुस्सिइ ।

हामी पाँच वर्ष भेट्टा यो क्याफे कफी रंगमा थियो । आज यसको रंग फेरिएर गुलावी भएको छ । तर, ऊ उस्तै छे । म पनि त्यस्तै । बस् मेरो ‘लुक्स’ हल्का फेरिएको छ । उसको चुरोट पिउने लत बढेको छ । चेन स्मोकर भइछे आजकल । यतिसम्म कि, मेरो एउटा कोक पियरियडमा उसले पाँचवटा सम्म चुरोट खरानी पार्छे ।
भेटमा प्रायः म कोक पिउँछु, ऊ धेरैजसो वाइन् । तर, क्याफेमा हाम्रो स्वागत कडा कफीबाट हुन्छ ।

म चिनी नै खाँदिन, ऊ एक कप कफीमा ३ चम्मा चिनी थप्छे ।

‘तिमी धेरै चुरोट नखाऊ त अब…’ उसको गिलासमा मैले एक पेग भरेँ ।

‘किन, तिमीलाई जलाउँछ र ?’ स्ट्रेमा धुलो निफन्दै उसले भनी ‘जल्न देऊ…।’

गोल गोल धुँवा क्याफेभरि रन्थिनिएर बाहिर गयो कता कताबाट ।

‘तिम्ले चुरोट जलाउँदा मेरो मुटु जल्छ….’

‘नाटक…’

‘तिम्लाई किन मेरा हरेक कुरा नाटकजस्तै लाग्छ ?’

‘हो त, सब नाटक वर्षमा एक दिन त्यो पनि दुई घण्टामात्रै भेट्छौ, त्यो पनि क्याफेमा । फेरि भन्छौ, म तिमीसँगै हुन्छ हरपल ।’

मोबाइल झिक्दै उसले भनी ‘अनि यो नाटक नभए के हो त ?’

उसैमाथि टोलाइरहेँ, म्यूजिक ननस्टप थियो ‘….जिया जाये ना तेरे बिन्….’

उसकी छोरी होस्टेलमा बस्छे । महिना दिनमा एकचोटी कैलेकाइँ मात्रै भेट्छे उसले । बाबु थाहा छैन, कहिलेकाहीँ फोनमा कुरा गर्दा मलाई नै बाबा भन्छे ।

‘मलाई के भन्छौ ?’

उसले मोबाइलमा मेरो ‘स्न्याप’ गरी ।

‘के भनूँ ?’

फेरि भनेँ ‘तिमी नै नाम देऊ न…।’

‘हाम्रो सम्बन्धको के नाम छ र ?’

हो त नि । खै हाम्रो सम्बन्धको नाम ? के यस्तै नामबिहीन सम्बन्धमा हामीले जीवन बिताउनेछौँ ? म सोचिरहन्छु कति होलान् यो समाजमा हाम्रा जस्ता नामबिहीन सम्बन्धहरु ?

अघिल्लो दिन….

म रत्नपार्क नजिकैको आकाशे पुलमा थिएँ । रत्नपार्क फेरिएको छ । त्यसले फेरिको रुपमा धेरैका रुप मिसिइरहेका थिए ।

अरुहरु ‘बोर’ लाग्दा काठमाडौं छोड्छन् । म रिफ्रेस हुन काठमाडौं जान्छु । केही वर्ष अघि घोराहीबाट ‘नाइट’ चढेर बिहान कंलकी झरियो । सडकमा एक कप चिया र चुरोट तानियो अनि फेरि ‘हाइस’ चढेर घोराही आइयो ।

अर्काेदिन साथीहरु भन्दै थिए, ‘बस चढ्न नपा’को….।’

जवाफ फर्काएँ ‘कति घोराहीको मात्रै चिया पिउनु त, काठमाडौंको चिया खाएर फर्किएँ…’ दुनियालाई वाल…?
राजधानीका यिनै पार्क अनि आकाशे पुलबाट मान्छेहरु हेर्दाहेर्दै मेरा दिन बित्छन् । म संसार भुल्छु, काठमाडौंमा । किनकि काठमाडौं एउटा त्यस्तो सहर हो, जहाँ कसैलाई कसैको मतलब हुँदैन ।

जे लगाए पनि फेशन हुन्छ, जे खाए पनि कल्चर हुन्छ । अनि जे गरे पनि दुनियालाई वालै हुन्न । त्यसैले काठमाडौं मन पर्छ मलाई ।

पश्चिमतिर पुगेर सूर्य लाल हुँदै थियो । वरिपरि पुलिस छ कि छैन ? हेर्दै हेर्दै मैले गोजीको सूर्य जलाएँ ।

धुवाँ रंगमंगिदै, ती ठेलमठेल सडकका गाडीहरुसँगै बेपत्ता भयो । आकाशे पुलमा घण्टौँ बिताइदिन्छु म । तर, मैले अझैंँ बुझ्न नसकेको कुरा के हो भने ती लाम का लाम गाडीहरु जान्छन् कहाँ ? हर निमेस मान्छे र गाडीको घुँइचो उस्तै हुन्छ ।

त्यो दिन पनि आकाशे पुल भरिभराउ थियो । साँझ छिप्पिदैँ गर्दा पुलमा उक्लिने अनि अडिने अनुहारहरु फेरिन थाले । रत्नपार्क बन्द भयो । जोडिहरु तितरबितर भए ।

‘१५ सयमा त के जानु र ?’

उसको कालो अनुहारमा घसेको क्रिममा पारी क्षितिजबाट तेर्सिएका सूर्यका किरण टल्किए ।

‘जाउ न जाउ, बल्लबल्ल म’नाको छु….’ सय रुप्पेमा मोबाइलका चार्जर र अनि एयरफोनहरुको बिज्ञापन गरिरहेको झोले व्यापारीले उसलाई सम्झाउँदै थियो ‘मेरो मार्केट पनि बनाउनुप¥यो नि ?’

‘तिम्लाई पातकि बुडा अनि मेरो मार्केट बिगारुँ ?’

‘जाउ न जाउ…..’ उसलाई छेलेर फेरि त्यो चिच्यायो, ‘सय रुप्पेमा चार्जर, ब्रान्डेड इयरफोन….।’

एकपल्ट त्यस्तै व्यापारीसँग सय रुप्पेमा मेरो १८ सयवाला मोबाइलको चार्जर किनेको सम्झिएँ । कोठामा पुगेर जब त्यो चार्जर मोबाइलमा घुसाएँ अनि केही बेरपछि ब्याट्रीको चार्ज झन् घट्न पो थाल्यो । ३५ प्रसेन्टमा लगाएको चार्जर त १५ मिनेटपछि १८मा झरेछ । आज सम्झेर मनमनै हाँसे ।

धेरैबेर त्यहाँ डिस्कस भयो । पछि कुरो मिलेछ सायद । ऊ छेउँको केटोसँग अँगालोमा बाँधिइ ।

‘भर्खर ओर्लिएँ, ल…. ल…. एउटा माल पनि भेटियो यार… भोलि  घर हिँड्छु ल है ल राम्रोसँग बस…।’

पुल ओर्लिरहेको उसको स्वर सडकका हर्नले मधुर थियो । सोचेँ, सायद लाहुरबाट आजै फर्किएछ केटो ।
एक हुल प्रहरी लाठी फन्नाउँदै आए । हुर्रर्र सबैजना पुलबाट भागे । कोही व्यापारीले भुँइका सामान उठाउनै पाएनन् ।

‘ओइ…. भालु त्याँ किन बस्या ?’

एउटा पुलिसको हप्काइले म झस्किएँ, वरिपरि हेरेँ म मात्रै रैछु, केटा भनेको । पुलको पल्लो किनारामा अर्की लाल दुपट्टावाली थिई । उसको अनुहार धुमिल थियो, तन्नेरी भइरहेको साँझमा राम्रोसँग देखिनँ ।

‘अनि तँ किन ह्याँ बसिरा ?’ एउटा पुलिस मेरो छेउमा आयो ।

‘दलाल हो….?’ अर्काे बोल्यो ‘गाडी बोलाउँ…?’

परकि त्यो लाल दुपट्टावालीलाई पनि एउटाले मेरै छेउमा ल्यायो ।

‘रन्डीबाजी गर्ने…?’

म बोल्नै पाइनँ, पुलिसहरु प्रश्नमाथि प्रश्न गर्न थाले ।

‘तँ भालुनी, कतिमा सुत्छेस् भन्….’

वाकिटकी समाएको त्यो पुलिसको काँधमा हवल्दारवाला एउटा टाँका थियो । आफ्नो पोज झार्दैहोला सायद ।

‘यो पुलमा उभिन नपाइने हो र ?’

मेरो स्वर मधुर थियो ।

‘ओइ के भनिस्….मुजी….?’ एउटाले त लात्ति नै उठायो ।

‘मुला रण्डीबाजी गर्ने ? तेरो बाउको पुल हो…?’

अर्काे पुलिस जोस्सियो ‘यसलाई जगाइदिम् रातभरि खेलाएर बस्छ, मुजी…।’

ऐले आएरचाहीँ त्यो त्यो पुलिस मलाई ठीक लाग्न छोड्यो ।

‘बोल्ने तमिज छैन ?’

म ऊ तिर झर्किएँ ‘पब्लिकसँग कसरी बोल्ने भनेर तालिममा सिकाएनन् कि क्या हो ?’

‘त्यो माचि….स्को तलासी ले…’ वाकीटकीको भोल्यूम सानो गराउँदै त्यो हवल्दार बोल्यो ‘सालेलाई जकाइदिम्…, ओइ त्यो भालुलाई पनि लैजा…..।’

म केही बोलिनँ ।

एउटा मेरो खानतलासी गर्न आयो ।

मेरो शरीर छामछुम गर्दै भन्यो ‘ह्याँ किन आको ?’

‘पुलबाट मुत्न…’ मलाई उसको दिमाग चाट्नु थियो ।

उसले मेरो शरीरमा तलदेखि माथिसम्म लाइट लगायो ।

‘सर ट्यापेजस्तो छ…’

‘छाम् छाम् चरेस पनि राख्या होला…’

उसले छामछुमलाई बढायो । मेरो गोजामा हात हाल्यो ।

चुरोट निस्कियो । मैले भनेँ ‘सर, सलाई यता छ…’

‘मुजी…..’ उसले भन्यो ‘पुलिसको दिमाग चाट्ने ?’

पाइन्टको पछाडिको गोजीबाट पर्स पनि झिक्यो । सबै कागजपत्रहरु निकाल्यो ।

अन्तिममा मेरो परिचयपत्र थियो ।

उसले लाइट लगाएर हे¥यो ।

‘सर, पत्रकार हुनुुहुन्छ….।’

एकछिन सन्नाटा छायो । सबै प्रहरीहरु त्यहीँ एककठ्ठा भए । त्यो ‘रातो’ केटी अँध्यारोमा कालो छायामात्रै देखिन्थी ।

‘किन यति रातिसम्म पुलमा बस्या सर जी…?’

त्यो हवल्दारले भन्यो ‘यो ठाउँ गतिलो छैन…।’

‘ठाउँ हैन, सरकार, तपाइँ हामी अगतिलो हौँ…’

मैले भनेँ ‘पुलिसले त केटा देखे, ट्यापे भन्छन् अनि केटी देखे भालु ।’

‘ल त सरी है सर…’ त्यो फर्किँदै भन्यो ‘जाम् जाम् अब…।’

उनीहरु फटाफट ओर्लिए, पुलबाट ओर्लिए ।

‘तपाइँसँग लाइटर छ…’

त्यो केटी मेरै नजिकमा आइ ।

मैले लाइटर बालिदिएँ, उसले चुरोट सल्काइ ।

ऊ अगाडि फर्कि म पछाडितिर । केहीबेर हाम्रो मौनतामाथि त्यो चुरोटको धुँवा जथाभावी नाच्यो ।

‘साला ! कुत्ताहरु, फोकटमा चुसाउन पल्केका…’ उसले दाह्रा किटी ‘आफ्नै स्वास्नीलाई गर्नु नि फोकटमा त जत्ति गरेनि…।’

उसले कताकता फोन डायल गरिरही । केहीबेरमा पुलमुनि एउटा बाइक अडियो । ऊ झरी । बाइकमा चढेर उसले भनी ‘पत्रकार जी, समाचार नलेख्नु है ?’

चुरोटको उज्यालोमा उसको अनुहार रापिलो थियो । हेक्कै भएन ।

पुलको कहानी सक्यो ।

‘ओइ… काँ हराको के तिमी…?’

चिसो कोकको गिलास मेरो गालामा छुवाउँदै उसले भनी ‘मसँगै बसेर पनि अरु कसलाई मिस् गरिराछौ हँ ?’

‘तिम्लाई नै …’ भनेँ ‘अरु को छ र…।’

‘भो भो, दया नदेखाऊ….’ उसले भनी ‘तिम्रा त धेरै छन्…. जीवनमा साथ दिने….’

‘अनि तिम्रा पनि त होलान् नि….?’

‘जिन्दगीमा प्रेम त तिमीलाई मात्रै गरेको छु मैले….’ मुखबाट गोल धुँवा निकाल्दै उसले भनी ‘मसँग त रात बिताउनेहरु मात्रै धेरै छन्, जीवन होइन…।’

एकपटक उसलाई घरबेटीले निकालिदिए । मलाई फोनमै सुनाई ‘साला, म भालु रे, इज्जत बेच्ने आइमाइ रे….’ धेरै बेर रोइ पनि ।

म अर्काे दिन नै काठमाडौंँ हिँडे । ऊ साथीको मा बसेकी रैछे ।

दुई दिन लगाएर हामीले नयाँ डेरा खोज्यौँ । उसका लागि । नयाँ डेरामा घरबेटी नबस्ने रैछन् । आनन्दै भो ।

‘तर, मलाई कैलेकाइँ पछुतो लाग्छ हेर तिम्रो–मेरो सम्बन्धमा…’ स्ट्रेमा चुरोट धुलो पार्दै उसले भनी ‘पत्रकार हौ, कत्रो इज्जत छ तिम्रो…म त बारमा नाच्ने ‘आइटम’ न हुँ….।’

अनि मैले भनेँ ‘मलाई के बाल भो र ?’

‘तै पनि यो दुनिया छ, समाज छ अनि तिम्रो इज्जत…?’ केहीबेरको मौनता चिर्दै उसले भनी ‘….. मत इज्जत नभएको आइमाइ के चरित्रै नभाकी रे, इज्जत बेच्ने आइमाइ….’

‘म यस्ता, इज्जत इज्जत जान्दिनँ…’ उसको ओंठले च्यापेको चुरोट झिक्दै मैले भनेँ ‘तिम्रो इज्जत योनीमा अनि मेरो इज्जत लिंगमा मात्रै टाँस्सेको हुँदैन…।’

क्याफेमा मधुर स्वर गुञ्जिदैँ थियो ।

‘ओइ… पाँच बज्यो ।’

मैले मोबाइलको घडी हेरेँ । हो त साँझको पाँच बज्यो, अब उसको जागिर सुरु भयो ।

एउटा ट्याक्सी लिएर, हामी बागबजार लाग्यौँ ।

उसलाई उसको ‘अफिस’ डान्सबारमा छोडेर फकिएँ ।

झरेर ऊ मेरो अँगालोमा बेस्सरी कस्सिइ । अनि आँशु पुछ्दै, भित्र दौडी । मेले हेरिरहँे तर, उसले फर्केर हेरिन ।

ट्याक्सीभित्रबाट मधुर आवाज आइरहेको थियो,

… ‘अभी अभी तो मिले हो… अभी ना करो छुटने कि वात….’

……………….

(स्रोत : Rsamachar)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.