~टंक गौतम~
बर्सिन्छन् अभावका बादलहरू, प्रत्येक बस्तीहरूमा । सुकेका आँतहरू आकाश हेर्दै भक्कानिन्छन्, र पीडा पिउँछन् प्रत्येक दिन । हो, मेरो जन्मभूमि हो यो, मेरा पुर्खाको रगत र पसिनाले भिजेको माटो । हेर्छु, पटुका कसेका पेटहरू र टल्किएका करङ्हरू । पातुखोलामा पोखिएका छन् असङ्ख्य होनहार जीवनहरू, खोलाको बालुवासँग हेलिँदै, ढुङ्गासँग घोटिँदै, गिट्टीहरूसँग कुँटिदै ।
बालुवामा जन्मिन्छन्, बालुवामा हुर्किन्छन् र बालुवामै बृद्ध भई हुत्याउँछन् आफ्नो जीवनको भारी मृत्युको पोल्टामा यिनीहरू । उतापट्टि ठडिएका छन्, असङ्ख्य महलहरू । रिक्तता घोलिएका बगरका आँखाहरू बारम्बार नियालि रहन्छन् गगनचुम्बी महलहरू । अर्काको रगतमा ठडिएको सभ्यता, अर्काको पसिनामा उभिएको आधुनिकता । व्यङ्ग्य हो यो युगको ।
पाइला सोझिन्छन्, पातुको किनारै किनार उत्तरतिर । देखिन्छन्, ट्रयाक्टरहरू, ट्रकहरू र देखिन्छन् अभाव घोलिएका जीवनहरू । नाङ्गो बालकलाई पातुको बगरमा सुकाएर गिट्टिसँगै कुटिदै गएकी आमा । घरि हेर्छिन्, आफ्नो रगतको अंश र घरि सम्झिन्छन् चिसो चुलो घरको । लोग्ने परदेश पसेको होला, लोग्ने मरि सक्यो होला, लोग्ने भट्टी पसी जाँड तान्दै होला, या त लोग्ने बिनाकी कुमारी आमा पो हुन् कि उनी ? जीवनका विविध रूपहरूको कल्पना गुजमुजिन्छ मेरो मस्तिष्कमा ।
नानीहरू बलुवा चाल्दै छन् । नानीहरू ढुङ्गा जम्मा गर्दै छन् । नानीहरू गिट्टीमा हथौडा ठोक्दै छन् । लाग्दै छ, टाउकोमा हथौडा ठोक्दै छन् । भाग्यमा हथौडा ठोक्दै छन् । भविष्यमा हथौडा ठोक्दै छन् । एक बेल्चा गिट्टीमा एक चम्चा बेसार देख्छिन् उनी । एक बेल्चा गिट्टीमा एक चम्चा नुन देख्छिन्, एक चम्चा तेल र एक किलो चामल देख्छिन् उनी । यसरी धकेलिँदै छ जीवन । यसरी पसिनासँग साटिदै छ जीवन । यसरी हुत्याइदै छ जीवन अनकन्टार भविष्यतर्फ ।
प्रत्येक बिहान सूर्योदय हुन्छ बगरमा र सूर्यास्त हुन्छ बगरमै । भाग्य उम्रिन्छ बगरमा, भाग्य फक्रन्छ बगरमा, भाग्य फुल्छ बगरमा र भाग्य ओइलाउँछ बगरमै । र, एकदिन निसङ्कोच झर्छ बगरमै । उतापट्टि मोटरसाइकलमा हुर्रिएका सुकिला मुकिलाहरूलाई परेलीमा च्यापेर मोडिन्छन् आँखाहरू, सुकेनास लागेका करङ्मा । कैयौँ बर्षदेखि यिनै करङहरूमा साइकलहरू कुदे ।
कैयौँ बर्षदेखि यीनै करङहरूमा मोटरसाइकल कुदे । कैयौँ बर्षदेखि यी करङमा ट्याक्सी ट्रयाक्टर, ट्रक र गाडीहरू कुदि रहे । यिनै हड्डीहरू बाटो बनी थेगि रहे असङ्ख्य सवारी साधनका छापहरू । यिनकै जीउमा गगनचुम्बी महलका जग ठडिए । बिडम्बना, उनीहरूका ती महल कहिल्यै भएनन् । ती महलहरूले सधैँ व्यङ्ग्य मात्रै गरि रहे । ती महलहरूले सधै हेपि नै रहे ।
श्रम बेचेर पनि युगौँ बित्यो, पेट भरिएन । परिवर्तन पेटमाथि चढेर गुडि नै रह्यो, पेट भरिएन । करङ्हरू उस्केनन् । कन्चट खप्टि नै रहे । शरीर सिन्का झैँ दुब्लाइ रह्यो मोटाएन । मोटाउन त उनै साहुका घरहरू मोटाए, भकारोको रायोको संग जस्तै । जीवनको करिब एक तिहाई समय धकेल्दै छु म । वर्षौँ भयो यसरी नै पातुखोला बगि रहेछ, तुलसीपुरलाई किनारमा छोडेर ।
पहिले पानी बग्थ्यो पातुमा । अहिले पानी बग्दैन, जीवन मात्र बग्छ निरन्तर । बग्नु त आखिर बग्नु नै हो । जीवन पहिले पनि बग्थ्यो, अहिले पनि बग्छ । बग्न छाडेको पातुले होइन पानीले हो । खोलो भासिदै छ प्रत्येक बर्ष, किनारका घर उक्लिदै छन् प्रत्येक बर्ष । यसैको छातीमा बसपार्क उभियो, यसैको काँधमा स्याउली बजार थपियो । खोला चाउरिदै गयो, सहर नामको सभ्यता फराकिदै गयो ।
मानवता टुक्रिदै गयोे, आत्मीयता भासिदै गयो, पातुको प्रवाहसँगै । युगौँ भयो, पातुको छातीमा कुल्चेर कैयौँ मोटाए तर पातु सधै खुम्चि नै रह्यो । पातुको भुँडी जहिले पनि एक छाकको निम्ति जीवनलाई ढुङ्गासँग ठोक्काइ रह्यो, बालुवामा हेलिदै रह्यो । बाबुलाई खोलामा बालुवा चाल्दै र ढुङ्गा फुटाउँदै गरेको देखेका सन्तान कखरा के सिकुन् त्यही बगरे सभ्यता सिक्छन् । धकेल्छन् जीवनका पाङ्ग्राहरू र खोलामा गाडीन्छन् जीवनका पाङ्ग्राहरू, निस्कनै नसक्नेगरि ।
जति जति पाङ्ग्रा निकाल्न खोज्यो त्यति नै भासिदै जान्छन् । यसरी हिडेको छ सभ्यता । बाबु बगरमा मरिमरि बालुवा चाल्छन्, आमा बगरमा मरिमरि गिट्टी कुट्छिन्, सन्तान बगरमा नाङ्गै दौडन्छन् र सघाउँछन् बा आमालाई । भर्खर जन्मेको नानीलाई बगरको उखर्माउलो गर्मीमा सुताएर सभ्यता निर्माणमा जुटेका होनहार श्रमजीवीहरू प्रत्येक बर्ष खिइदै गएका छन् ।
ती सन्तान जसले बगरे सभ्यता भोगे, तिनले खोलाको किनारै किनार टाइ र युनिफर्ममा ठाँटिएर विद्यालय जाँदै गरेका आफूजस्तै नानीहरू देखेका छन् । उनीहरूले आफ्ना बाजस्तै मान्छेले पछाडि तरुनी राखेर मोटरसाइकलमा हुर्रिएको देखेका छन् । उनीहरूले विद्यालयको प्राङ्गनमा लाइन लागेर ‘ह्यान्डस् अप’, ‘ह्यान्डस् डाउन’ गर्दै गरेका आफूजस्तै बालक देखेका छन् । आँखा त हुन् देखिन्छ नचाहाँदा नचाहँदै । अलिनो मन लिएर पातुको बगरमा पिलपिल अनुहार बनाएका छन् उनीहरूले ।
खै, कुन सभ्यता बाँचेका छौँ हामी, जसको काँध चढेर सुन्दरता नियाल्छौँ, त्यही काँधमाथि कोर्रा हिर्काउँछौँ । जसको श्रमको आडमा भव्य महल खडा गर्छौँ उसलाई त्यो महल हेर्न लायक पनि सम्झन्नौँ । जसका पसिना र रगतमा आफ्नो भविष्य निर्माण गर्छौँ उसलाई सधैभरि घृणाले हेरि रहन्छौँ ।
नाराहरू घन्किए, व्यवस्थाहरू ढालिए, राजनीति बदलियो, इतिहास विभिन्न मोड पार गर्दै अगाडि बढ्यो तर पातुको बगर उस्तै रह्यो । पातुको बगर दिन प्रतिदिन सुक्दै सुक्दै गयो भासिदै गयो, मोटाउनै सकेन । फराकिनै सकेन । सधैभरि नुन, तेल, बेसार, चामल र मट्टितेल आदिको जोहोमा जुट्न बाध्य भयो पातुको बगर ।
करिब २० बर्ष अघि कपुरकोटबाट ओरालो झर्दा बालाई सोधेको थिएँ, ‘बा तिनीहरू खोलामा पौडी खेल्छन् ?’ बाले भन्नुभएको थियो ‘पौडी खेल्छन् बालुवा चाल्छन् ।’ आमाले रोटी पकाउँदा चाल्नोमा पिठो चालेको देखेको थिएँ, किन चाल्छन् बालुवा ? ‘बालुवाका रोटी हुन्छन् र ?’ मैले बालाई सोधेको थिएँ । बा हाँस्नु भएको थियो । मैले बाको हाँसोको अर्थ बुझिनँ । बर्षदिन भित्र पातुकै बगरमा मेरो पनि झुपडी ठडिएको थियो ।
बा जागिर गर्नुहुन्थ्यो, सायद त्यसैले होला मैले बगरलाई २० बर्ष यता हेरि नै रहेँ तर म स्वयं बगर कहिल्यै बन्नु परेन । तर यो लामो जीवनको अवधिमा आँखा भब्बाउनेगरि मैले पातुको बगरे सभ्यता देखेको छु । बगरमै जीवन बिताएका बुढाबुढी देखेको छु । बगरमै जन्मिएर हुर्किएका नाबालक देखेको छु । बगरमै वयस्क बनेका तरुणीहरू देखेको छु । र बलात्कृत भएका चेलीहरू देखेको छु । सँगसँगै के पनि देखेको छु भने ती श्रमजीवीहरूका ओसिएका चुलाहरू ।
गुन्द्रुक र मकैको भरमा एकपेट खाएर जीवन निर्वाह गर्नु पर्ने विवशता । बर्षौँ भयो उनको चुलामा कहिल्यै अन्य परिकार पाकेन । उनका मुखमा कहिल्यै स्वादिलो बस्तु परेन । सधैँ त्यही बालुवा झैँ एकरूपता काममा पनि रह्यो र खानामा पनि । दसैँ आए, तिहार आए, माघी मनाइयो ।
उतापट्टि लाखौँ खर्च गरेर भोज गरियो, मोज गरियो तर पातुका बगरमा ती कुनै पनि पर्वले छुन सकेन । बरु आँसुको भल बगाइ दियो परिवारमा । अरुहरू लाएको, खाएको देख्दा नानीहरू त्यस्तै रहर गर्छन् कहाँबाट पु¥याउन् बाआमा, दिनभरको आम्दानी सय पुग्दैन । छोराछोरीको अनुहारमा हाँसो फुलाउन सक्दैनन् । सन्तानका अनुहारमा हर्ष उमार्न सक्दैनन् र निसासिन्छन् सभ्यताको किनारमा उभिएर ।
यो पातुको बगर, पातुको बगर मात्र होइन । सुनकोसी, तामाकोसी, त्रिसुली, मेलम्ची, बबई, कमला, राप्ती र तिनाउको बगर पनि हो । यो बगर बगरे जीवन जीउन विवश सबैको प्रतिनिधि बगर हो । यो बगर श्रमजीवीहरूको दिनचर्याको प्रतीक हो । यो बगर हेपिएका र ठगिएकाहरूको प्रतिनिधि बगर हो । यो बगर इतिहास निर्माण गर्नेहरूको बस्ती हो र सँगसँगै इतिहासमा हराउनेहरूको बस्ती हो ।
यो बगर आधुनिक सभ्यताद्वारा थिचिएको, मिचिएको, र खिइएको बगर हो । युग निर्माण गर्ने निर्माताहरूको बस्तीमा सधैँभरि अँध्यारो छायो । सधैँ अभाव बल्झि रह्यो । सधैँ पीडा दुखि रह्यो । आँसुका लाखौँ करोडौँ थोपाहरू पातुको पानीमा मिसिदै बगे । जसमा कैयाँै सपनाहरू बगे, जसमा कैयौँ रहरहरू बगे ।
जसमा कैयौँ इच्छा, चाहनाहरू बगे । निरस जीवन सधैँ बगरको किनारमा रगतसँग छाक साटि रह्यो, आँसुसँग गाँस निलि रह्यो ।
महोदय कृपया एकपल्ट यता फर्किनु होस् त !
(स्रोत : Rsamachar)