कविता : नियति

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

व्यस्त संसार, खुल्ला निश्वास, पेवा होइन कसैको यो
आनन्दको सर्वोच्चता, सर्वव्यापी फुल्दैन यो,
सजिव इच्छा छेकिंदो छ, रोचक कथा जिन्दगी यो
विवेकको वशभित्र, झुल्दो छैन नियति यो,
**
समस्याको खडेरीमा, अठोटहरु छिपेपछी
पौरखीको मझेरीमा, जिउँदो वाचा झुकेपछी,
फुलेल हुने झिनो आशा, ओईली झर्छ बलेनीमा
उमंगको भित्री संसार, रुझिदिन्छ परेलीमा,
**
बाध्यताको भूमरीले, जिजीविषा च्यापेपछी
सम्पन्नता सिर्जनाको, जन्मशत्रु निस्केपछी,
सास्ती बीच संकल्प यो, चेतनाको चुली भा’छ
मात्र संझे परिवर्तन, जागृतिको गीत गा’छ,
**
शताब्दीको शिखर यो, सुस्तताले भिजेपछी
असमेल यो संभावना, नेपथ्यमा डुबेपछी,
संयमता सँगेलेर, आक्रोश आशा बन्दोरेछ
आवेश छाडी संघर्षले, जिउँदो कर्म बुन्दोरेछ,
**
औकातमुनि निमुखाको, फुल्दो आशा फाटेपछी
मर्स्याङ्दी र कुलेखानी, टाढा नाता गाँसेपछी,
सुकुल माथी धुलो-धुवाँ, मोहको यो मुकाम भा’छ
जल्दो, ज्यूँदो, मैनबत्ती, दिलको मेरो चन्द्र भा’छ,
**
जिउने चोला एकान्तमा, अभ्यस्तता बढेपछी
अभाव नैं दैनिकीको, पर्याय यो भएपछी,
व्यग्रतामा प्रतिक्षा यो, मार्ग स्वयं बन्दोरेछ
संभावना, यथार्थमा, साक्षात्कार यो गर्दोरेछ,
**
व्यस्त संसार, खुल्ला निश्वास, पेवा होइन कसैको यो
आनन्दको सर्वोच्चता, सर्वव्यापी फुल्दैन यो,
सजिव इच्छा छेकिंदो छ, रोचक कथा जिन्दगी यो
विवेकको वशभित्र, झुल्दो छैन नियति यो,
****

02/28/2009

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.