~प्रकाश के.सी.~
शहरमा गोली चलेको थियो । शहर, अलि भित्रतर्फको थियो । दिन छिप्पिँदै थियो, पाकेर दिन जो खस्दैथियो पट्टाक्षेपभरि, क्षितिजबाट सूर्य खस्न थाले जस्तै । सबै एकैचोटी वल्लो देवलको डीलबाट कान थाप्दै थिए । ‘उसले’ विपिनको केश छाँट्नको लागि भर्खरै सेलुनमा बसालेको थियो । केश साह्रै लामो भएर पनि होइन । नराम्रो देखिएकोले पनि होइन । जीवनको यस घुम्तिमा सुविधाले बेजार थियो रहर । टिलिक्क टल्कने चमक बोकेको कैँची हातमा हल्लाउँदै हजामले झ्यालबाट सकभर घाँटी तन्काएर वल्लो डिलतिर चिहृयाउँदै थियो र आँखाले नै सोध्दैथियो……के भयो ?
आज त घरमा अति नै भएको थियो । अप्ठ्यारोहरु अग्लिएर चुलिँदै गएको थियो । त्यही चुलीबाट निरीहपन छचल्किएर स्वाभिमानमा लतपत्तिने गर्दथ्यो । माया अनि समाजिकताको हाराहारीमा क्षूद्रता पनि सँगसँगै फैलिने गर्थ्यो र तराजुको त्यस कठिन सन्तुलनमा तटस्थ रहन नसकेको भाइ-वन्धुत्व आज एक्कासी हलुङ्गिएको थियो, ‘उसले’ सोँच्दै थियो ।
सेलुनअगाडिको देवलको आड पारेर ‘ऊ’ पनि तलको मोडबाट देखिने अलिकति भित्री शहरको भागतिर नियाल्न थाल्यो । कतै सडकमा सायद टायर बालिएको हुनुपथ्र्यो, धूवाँहरु उखरमाउलिएर आकाशभरि आकाशिएको थियो । दायाँतर्फको सडकबाट एम्बुलेन्स र दमकलहरु हाराहारीमै साइरन बजाउँदै कुद्यो र सँगसँगै दुर्इवटा, पुलिसहरुले भरिएको जिपहरु पनि । ‘उसले’ फर्केर सामान्यपन अनुहारमा पोतेर त्यसलाई झल्काउँदै, हजामलाई सामान्य हो भन्ने भाव सम्प्रेषण गर्यो । ‘ऊ’ चाहान्थ्यो, हजामले विपिनको शिरलाई लायकदार बनाओस् जत्ति सक्यो चाँडो ।
मस्तिष्कका सम्झनाहरु सँगाल्ने कुनामा अप्रष्ट तर मनमोहक किसिमले, ‘उसको’ सानो टाउकोको लथालिङ्ग भई लम्बिएको केशलाई प्रयोगात्मक शैलिमा मिलाउन खोज्दैको तरुण विपिन तरङ्गियो । घण्टौँ लगाएर पनि मिलाउन नसकेर केशलाई तरेली छाड्दै अनि त्यसलाई धुलाउँदै गरेको विपिनको हड्बडी अहिले सुस्तरी ‘उसको’ ओँठहरु सुस्तैसँग फैलाउन समर्थ रहृयो । ‘उसको’ त्यो सम्झनाले ‘उसलाई’ देवलको आडमा सजिलिन सजिलो बनायो, ‘उसले’ बुझ्यो त्यसरी ।
एकहूल मानिसहरु हुर्रिएर दाँयातिरको सडकबाट भित्र छिरे र हातमा र्इँट्टा बोकेका विद्यार्थीहरु पनि । आकार बिग्रन थालेको देशलाई र्इँट्टाले ठोकेर सकार पार्न खोज्ने ठिटाहरु आदर्श हातमा बटारेर दगुर्दै गए भित्रतिर ।
‘उसले’ सम्झ्यो, हिजो बेलुका, ‘उसको’ छोरोले आफ्नो कोठाको ढोकाबाट गलहत्याई दिँदा ढुन्मुनिएर ‘उसको’ गोडानिर पछारिएको विपिनलाई भन्दैथियो- ‘अब फेरि पनि त्यसरी नै मेरो टाउको सुम्सुम्याए …….यसैले टाउकोमै दिन्छु ।’
मोटो किताव दाहिने हातले दह्रोसँग माथि उठाउँदै आँखा तरेर विपिनलाई हेरेपछि आफ्नो बुबालाई अर्थात् ‘उसलाई’ सुनाउन थाल्यो- ‘ड्याडी, केही गर्नुस्, म सक्दिन सहन कत्ति पनि ।’
बल त ‘उसको’ छोरोको शरिरभरि हालका वर्षमै थोपरिएकोथियो, बोलीमा रगतको ताप छँदैथियो । ‘ऊ’ चुपचाप हेर्दै गएकोथियो त्यतिखेर फगत, खोच्याउँदै, लङ्गडाउँदै बाहिरी ढोकातिर जाँदै गरेको विपिनलाई ।
यतातिरका पसलहरुका सटरहरु पनि बिस्तारै-बिस्तारै झारिँदैथियो…कुनै पूर्णतः त, कुनै आधा मात्र । मानिसहरु थुप्रो-थुप्रो जम्मिएर मन्दिरको पछाडिबाट भित्री शहरतर्फ हेर्दै नै थिए । यो कच्ची सडकबाट धूलो उडाउँदै दङ्गा प्रहरीको एउटा थोत्रो निलो ट्रक, प्रहरीहरुले टन्न भरेर देवलअगाडिको साँघुरो गल्लीबाट मूल सडकमा पुगी बत्तिएको थियो र साथमा अनिश्चितता सर्वसाधारणका जीवनयापनभरि बत्याएर त्यसरी नै, यो, सम्भवतः ‘ऊ’ जस्तै अरुले पनि सोच्न भ्याएका थिए, यस्तै ‘ऊ’ सोच्दै थियो । भित्र कतै ‘जिन्दाबाद !’ र ‘मूर्दाबाद !’को मधूरो नारा सुनिँदै थियो । ट्वाल्ल परेर ऐनामा आफूलाई अपरिचितले हेरेझैँ सरसर्ती हेर्दै थियो विपिन र हजामले रुमाल निकालेर कपालहरु शिरबाट झट्कार्दै थियो, कपाल छाँटिसकेपछि । चटक्क पारेको थियो हजामले विपिनलाई, त्यसपछि विपिनको फुलेको तिलचामले दाह्री र जुँगा खौरन शुरु गर्यो ।
सम्झनाहरु पनि किस्ता-किस्तामा उदाउने गर्दैथिए मानसमा ! अनौठो मान्यो ‘उसले’ । धेरै मुस्किलले जम्मा दुर्इवटा कोठाको ढोका र झ्याल पक्का गर्न भ्याएको थियो, एउटामा ‘ऊ’ र श्रीमती अनि अर्कोमा छोरी सुत्दथिई र बाँकि दुर्इवटा कोठाका झ्याल र ढोकाहरु पर्दाले ढाकिएको थियो जसमध्य एउटामा ‘उसको’ छोरो सुत्दथ्यो र अर्कोलाई ‘उनीहरुले’ किचन बनाएका थिए । लोग्ने स्वास्नीको वर्षौँदेखि जोगाएर राखिएको पैसामा यता-उताबाट सर-सापट गरी थपेर, ‘उसलाई’ ससुरालीबाट दाईजोमा मिलेको शहरबाहिर एकटुक्रा जग्गामा भुइँतले-घर ठडाउन भ्याएका थिए । यो हुनु र पाउनु भन्दाको ज्यादा ठूलो प्राप्ति थियो ‘उसको’ परिवारका लागि । डेरा छोडेर उक्त घरमा सरेको दिन घरका कुना-काप्चा जताततै दीप प्रज्वलित गरिएको थियो ।
झरी परेको दिन थियो । रेनकोटमाथि छाता ओढेर कुरियरबाट आएको मान्छेले एउटा चिठी, नाम र ठेगाना प्रमाणित गराईसकेपछि ‘उसलाई’ हस्ताक्षर गर्न लगाएर थम्याई गएको थियो । यस प्रकारको प्रक्रियाको गम्भीरताले स-परिवारलाई गम्भीर बनाएको थियो र त्यस घरले हात पारेको प्रथम चिठी थियो त्यो अतः उक्त चिठी विदेशी भएकोले त्यसपछि सबै नै गम्भीरसँग चिठीलाई एकोहोरो, आश्चर्य, कौतूहलता, असमञ्जसपन मनभरि उमारेर ट्वाल्ल पर्दै हेरिरहे ।
हजामले कैची, ‘उसको’ सोँचमा चलायो, ‘ऊ’ हड्बडाएर सेलुनतिर हेर्यो । विपिन चिन्न मुस्किल पर्ने गरी भिन्दै देखिएको थियो । विपिनको यस्तो स्वरुप ‘उसले’ दुर्इ वर्षपछि देख्दै थियो । हजामको पैसा तिरिदिएपछि ‘ऊ’ विपिनको सर्टको कल्लर मिलाए जस्तो गरी देखाउँदै थियो हजामलाई । विपिनको हात समातेर हिँड्न खोज्दै गरेको ‘उसलाई’ रोकेर देब्रेतिरबाट जानलाई शुभचिन्ता व्यक्त गर्दै हजामले सद्भाव दर्शाएको थियो र धन्यबाद ज्ञापन गरेपछि विपिनलाई डोर्याउँदै देब्रेतिरको बाटो लाग्यो ‘ऊ’, किनकि, दाहिनेतिरबाट भित्री शहर भएर घर जानुपथ्र्यो र त्यहाँ भर्खरै फेरि अर्को गोली चलेको आवाज आएको थियो ।
‘ऊ’ घरतिर गईरहेको थिएन, कुनै पनि हालातमा यसरी । सबैतिरबाट घर पुग्ने बाटो विपिनको लागि बन्द भईसकेका थिए । ‘उसले’ दाँया, वाँया अनि चारैतिर हेर्यो । सबै आ-आफ्नै शूरमा थिए । एउटा ट्रैक्टर फर्निचरहरुले चुलिएर ‘उनीहरुलाई’ उछिन्दै अनि प्रशस्तै धूलो उडाउँदै अगाडि गुड्यो । विपिन खोच्याउँदै लङ्गडाउँदै ट्रैक्टरको पछि-पछि लाग्यो । धूलोले विपिनलाई धुलाम्मे पार्दै थियो । ‘ऊ’ दौडेर गई विपिनलाई रोक्यो अनि गोजीबाट रुमाल निकालेर विपिनको सिँगान, र्याल पुछिदिई हात पक्डिँदै भित्री गल्ली हुँदै भित्री शहरतिरको बाटो लाग्यो ।
विपिन ‘उसको’ अघि-अघि लङ्गडाउदै हिड्दै थियो र आफ्नो हिसाबले ट्रैक्टरलाई भेट्न खोज्दै थियो । ‘जुन काममा पनि यसैगरी एकोहोरिन्छ’ ‘ऊ’ सोँच्दै गयो । आज बिहान, बाहिरबाट सुनिने गरी विपिन रोइरहेकोथियो ‘उसको’ घरको तेस्रो तलाको, अगाडिको कोठामा । बूढो मान्छेको उक्त रुवाई कुनै टिस, मनमा उत्पन्न गर्न सक्ने पक्कै थिएन । विपिनको रुवाइ रोकिरहेको थिएन । त्यसैगरी एकोहोरिने, दुर्इ-चार शब्द र त्यो पनि मुस्किलले बाहेक खासमा ज्यादा बोल्न नसक्ने विपिनको रोगै थियो । कोठाभरि भाँडाकुँडाहरु सबै तितरबितर छिरल्लिएका थिए र विपिनको निधारमा सानो चोट पनि लागेको थियो जसबाट रगत रसाईरहेको थियो । कोठाको ढोकाबाहिर पचासथरि फलाक्दै गरेका थिए ‘उसकी’ श्रीमती र छोरी । ‘ऊ’ कोठानजिक पुग्नासाथ आमा-छोरी ‘ऊतिर’ जाई लागे- ‘कसको नखाने खा’थ्यो र ! यसरी जीवनभरि नै यस्ताको कमारी हुनु भन्दा त छिँडीमै बास भा’भे राम्रो !….. अब म कुनै पनि हालातमा स्याहार्न सक्दिन । केही भन्यो भने यसरी रोइदिन्छ, दिक्कै लाग्ने गरी । सुन्नेले के भन्ला ? अब तपाईँ नै गर्नुस्, जे गर्नु छ । अब या त यो छ यस घरमा, या हामी ।’
‘उसकी’ श्रीमती, छोरीसँगै गोडा बजार्दै झरेकीथिई बीचको तलामा । यो सँधैकैझैँ रडाको थियो, तर, यतिखेर ‘उसकी’ श्रीमती चाहिँ दृढ देखिन्थिई । घिसार्न नसकिने समस्याका भारी ‘उसको’ थाप्लोमा थोपरेर परिवार, मुक्त भएको थियो । ‘ऊ’ पनि साह्रै नै दिक्क थियो..तर के गर्ने ? ढोकामा ‘ऊ’ उभिएको देख्नासाथ विपिन चुप लाग्यो । आँशु, सिँगान र र्यालले विपिनको अनुहार लगभग पूरै लत्पतिएको थियो । कस्तो घीन लाग्दो !
‘ऊ’ विपिनसँगै भित्री शहरमा पुगिसकेको थियो । अलि-अलि गर्दै भीडले ‘उनीहरुलाई’ निल्दै लाँदै थियो । पुलिसले छोडेको अश्रु ग्याँसले आँखाहरुलाई पिरो पार्दै लगेको थियो । केही विद्यार्थीहरुले बाल्टीमा ओसारेको पानीमा रुमाल चोपेर आँखामा लगाउँदै दृढताले र्इँट्टा पुलिसहरुतर्फ प्रहार गर्दै प्रशासनविरुद्ध नाराबाजी गर्दै थियो भीड । ‘उसले’ पनि रुमाल निकालेर त्यसलाई भिजाएर आफ्नो र विपिनको आँखामा लगाई सकेपछि फेरि त्यही रुमाललाई विपिनको नाक र मुख छोपिने गरी अनुहारमा बाँधिदियो । भिजेको रुमालले विपिनलाई पक्का पनि निक्कै राहत दिइरहेको हुनुपर्छ, त्यसैले त यस्तो विषम परिस्थितिमा पनि विपिन, सामान्यतः तटस्थ नै देखिन्थ्यो । ‘ऊ’ विपिनसँग अझ भित्रतर्फ हिँड्दै गयो । केही पर पुगेपछि मानिसहरुको ठूलो भीड र साथमा तिनीहरुलाई रोक्न तम्तयार पुलिसहरुको समुह देखियो । विभिन्न नाराबाजी गर्दा गर्दै र्इँट्टा हानाहान् भएको थियो । विद्यार्थीहरुले डोकोभरि र्इँट्टा कतैबाट ल्याएर थुपार्ने गर्दै थिए र त्यसैलाई टिपेर भीडबाट पुलिसतिर लक्षित गरी फालिन्थ्यो भने पुलिसले त्यसैलाई भीडतिर फाल्दथे । दृश्यहरु ज्यादा उत्तेजित हुँदै गएको थियो । विपिनले पनि अरुले जस्तै एउटा र्इँट्टा उठाउन भ्याएको थियो र ….मूर्दाबाद !,…मूर्दाबाद !…भन्दै हात विरोध स्वरुप घरि-घरि आकाशमा उठाउने गर्दै थियो । केही क्षणपछि एकहूल प्रहरीहरु लामो-लामो डण्डा लिएर दौडेर प्रदर्शनकारीहरुतर्फ आउन थाले र तूरुन्तै भीड तितर-बितर हुन थाल्यो । मौका राम्रो ठानी ‘ऊ’ विपिनको हातबाट आफ्नो हात थुतेर एकातिर दौडँदै गयो । कोही चिच्याउँदै थिए पछाडि, कोही ‘उसलाई’ पनि उछिनेर अघि भाग्दै थिए । ‘ऊ’ पछाडि नफर्किकन दौडँदै गयो, दौडँदै गयो, सास फुलेर फोक्सोसँग गला भएर निस्केला जस्तो गरेको भए तापनि, ‘ऊ’ दौडँदै गयो । ‘उसले’ सोँच्यो, जीवनमा यो नै ‘उसको’ पहिलो दौड हुनुपथ्र्यो र यस्तो लाग्थ्यो ‘उसलाई’, यसपालि पनि ‘उसले’ न जिते जीवनभरि नै पछि पर्नेछ । ‘ऊ’ दौडँदै गयो गल्ली-गल्ली हुँदै र केही क्षणको अनवरत दौडपछि ‘ऊ’ शहरबाहिरको खेतमा पुग्यो । खेतमा धानहरु भर्खर बिस्तारै झुल्न थाल्दै थिए । एक किसिमले माटोको मीठो शुगन्धको मिठास छाईरहेको थियो । ‘ऊ’ धेरै नै थाकेकोले लामो-लामो सास तान्दै केही पल श्वास-प्रश्वासलाई व्यवस्थित पार्नको लागि कान्लामा थचक्क बस्यो । चिसो हावाको लहरले, जस्तो, ‘उसको’ मनलाई थप्थपायो । जमीन र बालीको बास्नाले ‘उसको’ मनलाई तरुण बनाउँदै लगेको थियो । शहरको यति नजिक भएर पनि गाउँले सम्झनालाई सजीव बनाउन सक्ने यस ठाउँले ‘उसलाई’ बिस्तारै आफ्नोपन दिलाउँदै गयो ।
त्यसरी नै विगतका दिनहरुमा ‘ऊ’ र विपिन, बाबाले अँधियामा लिएका खेतमा काम गर्दै थकाई मार्दै बस्थे । लहलह झुलेका धानका बालीसँगै ‘उनीहरुको’ तरुण मन झुल्दथ्यो र झुल्दै गरेका तरुण मनहरुले रहरहरु अनि सपनाहरु तन्मयताका साथ उमार्थे, लस्करै । बिरामी बाबाले मकै भुटेर ल्याइदिन्थे अनि ‘ऊ’ र विपिन साँदेको गुन्द्रुकसँग मकै, सन्तोषले चपाउँथे र साझा सपना उघ्राउँथे । कति प्यारा क्षणहरु थिए ती !
बितेका दिनहरु ‘उसका’ सम्झनापटलभरि र्छलङ्ग झझल्किरहेको थियो । समयको खस्रो यथार्थताले कठोर बनाएको ‘उसको’ आँखाहरुबाट अतीतका क्षणहरुको सुमधूरताले उब्ज्याएको सम्वेदना, आँशु बनी टल्पलिएका थिए । अचानक आफ्नो मरिसकेका बाबा, आमाको याद आएको थियो । बाबा बितेपछि, विपिन टुरिस्ट गाइड बनेको थियो भने ‘ऊ’ काम गर्दै पढ्न भनी शहर छिरेको थियो । ती दिनहरु ‘उसलाई’ हिजो जस्तो लाग्छ । कति गाह्रो थिए ती सँघर्षका दिनहरु !, तर कति रमाइलो पनि ! आफुभन्दा दुर्इवर्ष जेठो विपिन, भुटानमा ‘रिभर-राफ्टिङ’ गर्दा दूर्घटनामा परेर हराएपछि ‘ऊ’ सम्पूर्णतः एक्लो ठानिएकोमा ‘उसकी’ श्रीमती, जो त्यतिखेर प्रेमिका थिई, ले सबै नाताहरुको माया, भर, सद्भावना आफूमा समाहित गरी ‘उसलाई’ भरिपूर्ण बनाएकिथिई ।
आफ्नो रगतको नाताको मान्छे कोही नरहेको हुँदा गरीव जीवनमा झन् ज्यादा कँगाल भएको महशुस गर्ने ‘उसले’ अचानक नयाँ घरमा सरेकै हप्ता कुरियरद्वारा चिठी पाएको थियो । कुरियरबाट चिठी बुझेको भोलीपल्ट ‘उनीहरु’ स-परिवार बेल्जियम दूताबासमा पुगेका थिए । धेरै-धेरै वर्षअगाडि हराएर मरिसकेको भनिएको दाई बेल्जियममा पुगेको, र त्यहीँ कैयौँ वर्षदेखि रहँदै आएको अनि कुनै कामको सिलसिलामा दूर्घटना भएर शिरमा र दाहिने गोडामा गहिरो चोट लागेकोले विक्षिप्त अनि लङ्गडो भई दूर्घटना विमा र कम्पनिले दिने क्षतिपूर्ती वापतको सम्पूर्ण रकमसहित विपिनको एउटै मात्र नातेदार ‘ऊ’ भएकोले सीधा दूतावासबाट ‘उसलाई’ हस्तान्तरण गरिएको थियो । हराएको भनिएको दाईसँगै त्यत्तिका वर्षपछि, त्यति धेरै पैसाको साथ भित्रिँदा ‘उसले’ सँसारै पाएको महशुस गरेकै हो र साथमा ‘उसको’ परिवारले पनि, तर, समयान्तरमा, सिर्फ दुर्इवर्षकै समयावधिमा, उसको परिवारको विपिनतर्फको आकर्षण, सम्बन्ध, माया सबै बाढीले लथालिङ्ग किनारा पारी छाडेको सतासझैँ बगर जस्तो सम्वेदनशीलताभरि मिल्किए । बिस्तारै विपिनका लागि छड्के रुपमा असजिलो व्यक्त गरिएका शब्दहरु पछि हातपातमा अनुवाद भई ‘दाइ या परिवार’ चुन्न भनिएपछि ‘उसले’ आज यसरी परिवार चुनेको थियो ।
‘उसको’ मन धेरै गह्रुङ्गो भएको थियो अहिले । ‘के गर्दै होला ? जे गरे पनि एकोहोरो गर्ने विपिनको विक्षिप्ततावस्थाले कस्तो हालमा पुर्यायो होला ?’ ‘ऊ’ छट्पटियो, त्यस्तो अवस्थामा पनि विपिनले सँधै एउटा अव्यक्त आड र भरोसाको नजरले ‘उसलाई’ ‘उसको’ आँखामा हेर्ने गथ्र्यो, जो अहिले ‘उसले’ प्रष्टसँग सम्झँदै थियो । ‘उसलाई’ धेरै ग्लानी, पश्चाताप र अपराधवोध भयो । नचाहँदा पनि वाल्यकालहरुका सम्झनाहरु ‘उसको’ आँखाअगाडि झझल्कियो ।
तर, जीवन धेरै लामो थियो अनि यसभित्र अप्ठ्याराहरु पनि प्रशस्तै थिए । जीवनमा सबै कुराहरु आफूले चाहे जस्तो मात्र हुँदैनथ्यो । सम्झौताले नै मुख्यतः धानिने जीवन, विपिनसँग अब कुनै पनि हालातमा चल्न सक्ने अलिकति पनि लक्षण देखिएको थिएन घरमा र ‘ऊ’ त्यस अर्थमा साह्रै नै वाध्य थियो । ‘उसले’ आफूलाई आफैले स्पष्टिकरण दियो, त्यसैले ‘ऊ’ उठ्यो र पछाडि नफर्किकन पहिलेकै गतिमा शहरबाट बाहिर घरतिर दौडिँदै गयो र लगभग त्यही समयमा भित्री शहरमा गोली चलेको आवाज आयो । ‘अश्रु ग्याँसको पनि हुनसक्छ’ ‘उसले’ सोँच्यो, कर्तव्यको मसिनो धागोले एकपल, जस्तो, जेलियो तर पनि, ‘ऊ’ दौडँदै गयो लगातार । यसरी एकपटक, एउटा प्रतियोगितामा विपिनले तेस्रो भई परेवाको एकजोडी जितेको थियो गाउँमा र ‘उसले’ उक्त जोडीलाई त्यहीँ नै स्वतन्त्र छाडिदिएको थियो । बाबा लगायत सबै रिसाएका थिए तर विपिन रमाइलो मानी हाँसेको थियो । ‘उसको’ प्रत्येक निर्णयको मुक्त मनले साथ दिन्थ्यो विपिन । ‘उसको’ मन गह्रुङ्गिएर जस्तो भुइँमा नै घस्रिन थाल्यो । ‘ऊ’ दौडँदा दौडँदै स्वतः सुस्तायो । ‘उसको’ पाईलाहरु त्यसै नै भुइँमा नै जम्न खोजे जस्तो भैरहेको भान भयो ‘उसलाई’ । मुस्किलले सारेको पाईला उठाउन त्योभन्दा ज्यादा मुस्किल पाथ्र्यो र त्यसपछि त पाइला जाम भएको झैँ ‘उसले’ महशुस गर्यो । आँखाहरु आँशुहरुले ढाकिएर बाटोहरु धमिलो देख्न थालेको थियो । केही बेरपछि ‘ऊ’ लामो-लामो सास फेर्दै सुस्ताउन थाल्यो अनि फर्किएर शहरतिर हेर्यो जहाँबाट धूवाँहरु आकाशिँदै थियो ।
एउटै कोखबाट जन्मेका दाजु-भाइका सम्बन्धले ‘उसलाई’ फर्कन वाध्य पार्यो । ‘जे परे पनि यसरी त्यस अवोधलाई लत्याउन ‘उसले’ कुनै पनि हालातमा सक्दैन’ ‘उसले’ अठोट गर्यो अनि आउँदाको भन्दा बेस्सरी र हतारिएर दौडँदै फक्र्यो । जति अर्को मिनेट बित्दथ्यो त्यति नै ‘उसको’ मुटुमा, जस्तो, चिरा पथ्र्यो । दम फुलेर फोक्सो गलामा आइपुगेको पक्काझै थियो । एउटा हातले कोखालाई थिच्दै पनि दौडँदै गयो ‘ऊ’ ।
मानिसहरु हड्बडाएर गल्लीको भित्र-बाहिर गर्दै लुक्दै छोप्पिईँदै भाग्दै थिए र ‘ऊ’ एकतमास सरासर दौडँदै गरेको देखेर कुनै विद्यार्थी ‘अगाडि गोली चलेको र पुलिसले पक्डिन शुरु गरेकोले नजान’ भनेर ‘उसँग’ केहीबेर दौडेपछि देब्रेतिरको गल्लीमा छिर्यो ।
‘उसको’ त होसले कामै गर्न छाड्यो । ‘दाइ कहाँ छ होला र के गर्दै होला………..!’ ‘ऊ’ झन् हतारिन थाल्यो र दौडँदै गयो । एकहूल मानिसहरुलाई पुलिसहरुले लखेट्दै आउँदै थिए । ‘ऊ’ उक्त हूलको ठेलमठेलामा दाहिने तिरको खोँचमा हुत्तियो । केही घरहरुभित्रको साझा चोक रहेछ । भित्र पसिसकेपछि कसैले ठूलो गेट लगाई दियो । पुलिसहरुले बाहिरबाट केहीबेर ढोकामा लात हान्दै गरे अनि तीमध्य केहीलाई कसैले त्यहीँ पहरा दिन भनेपछि केही बुटहरुको आवाज बिस्तारै कम सुनिनथाल्यो तर ढोकाबाहिरका पुलिसहरुका अश्लील शब्दहरु ज्यादा प्रष्ट आउन थाल्यो ।
त्यस चोकमा ‘ऊ’ लगायत लगभग १६, १७ जना मानिसहरु थिए, धेरै ठिटाहरु थिए र केही ‘ऊ’ जस्ता बूढाहरु पनि । सबै लामो-लामो सास तानिरहेका थिए । कोही सतलमा बस्दै, कोही गेटभित्र उभिएर कान थाप्दै, कोही भित्तामा अडेसिँदै, कोही घरकाहरुसँग पानी माग्दै र पिउँदै सुस्ताउन थाल्दै थिए । तर, ‘ऊ’ जीवनभरिका सबै हतारहरुको एकमुस्ट हतारले हतारिँदै थियो । ‘उसले’ केही व्यक्तिलाई विपिनको हुलिया बयान गर्दै, देखे नदेखेको बुझ्न चाहृयो तर कसैले पनि केही सुझाउन समर्थ भएका थिएनन्, र उल्टै ‘उसको’ अधैर्यशीलताको आगोमा झन् घिऊझैँ घटनाहरुका वयान गरेर थपेकाथिए । दुर्इ, तीनजनालाई गोली लागेको र थुप्रै पक्डिएका भनिएकोले ‘उसको’ पीरहरुले सीमा नाँघ्न थाल्दै थियो र कसरी हुन्छ, बाहिर जाने र विपिनलाई खोज्ने एउटै धोकोले ‘उसलाई’ लगभग पागलझैँ बनाएको थियो ।
चोकको दाहिनेतिरको घरको करेसा भएर उक्त घरको पछाडिको बाहिर निस्कन मिल्ने पुरानो, प्रयोगविहीन ढोकाको ताल्चा फोर्न थालेका केही केटाहरुलाई सघाउन ‘उसले’ कतैबाट एउटा बिँडसँगैको खिया परेको खन्ती पाएर ल्यायो अनि त्यसैको मद्दतले उनीहरुले ताल्चा फोर्न सफल भए । बाहिर खुसुक्क निस्कन थालेका भीडमा ‘ऊ’ पनि थियो, तर जब, अलि पर, बाहिरको सडकमा विपिनलाई घिसार्दै, लतार्दै अनि बुटले र डण्डाले हान्दै भ्यानमा कोच्न लाँदै गरेको पुलिसहरुलाई देख्दा रिस ओइरिएर एकैपटक मुठीमा आईपुग्यो ‘उसको’ । विपिनले पनि हात हाल्दै थियो पुलिसलाई, तर रोइरहेको भने थिएन । ‘उसले’ त्योभन्दा ज्यादा हेर्न पनि सकेन, त्यहीँ उभिइरहन पनि सकेन । आँखाअगाडि उही बेसाहारा दाइ नजर आइरहृयो अनि पश्चातापले ‘उसको’ आत्मा जल्न थाल्यो र बौलाहाको तालमा बेतोडसँग चिच्याउँदै मूल सडकतिर दौडँदै गयो । यसको साथै, चोकको गेटबाहिर उभिइरहेका पुलिसहरु अनि ‘उसँगै’ निस्किएका मानिसहरु सबैमा एकैसाथ प्रतिक्रिया आयो । पुलिसहरु त्यता आए भने मानिसहरु चारैतिर छिरल्लिए ।
‘ऊभन्दा’ मात्र केही सय मीटरको दूरीमा विपिनलाई लगिँदै थियो । केही पुलिसहरुले ‘उसलाई’ लखेट्दै थिए पछाडिबाट, अनि पुलिसको भ्याननिरको पुलिसहरुको भीडबाट कसैले ‘उसलाई’ रोकिनलाई चेतावनि दिइरहेको थियो । ‘उसले’ लामो खन्ती फाल्न भ्याएको थिएन, जसलाई ‘उसले’ दाहिने हातमा बोकेको थियो । ‘ऊ’, मात्र, केही मीटरको फरकमा थियो र ‘ऊ’ ‘विपिन ! विपिन !’ भनी चिच्याउँदै थियो तर हल्लाले गर्दा या ‘ऊ’ हतासिएर थाक्दै गरेकोले गर्दा, आवाज राम्ररी या सुनिने गरेर निस्किएको थिएन ‘उसको’ गलाबाट ।
पछाडिबाट पछ्याउँदै र लखेट्दै आइरहेको पुलिसले फालेको डण्डाले गोडामा लागेर ‘ऊ’ अल्झिई भुइँमा लड्यो र यता भ्याननिरबाट चेतावनी दिइरहेको पुलिसले खट्टामा ताकेर हानेको गोली, ‘ऊ’ भुइँमा लडिसकेको हुँदा सीधा ‘उसको’ शिरमा लाग्यो । त्यसपछि ‘ऊ’ चल्दै चलेन, जहाँ लडेको थियो, त्यहीँबाट पुलिसहरुले तुरुन्तै घिसारेर अर्को भ्यानमा हाल्यो, जहाँ केही ‘ऐया !…मरेँ !…दुख्यो !….पानी !’ भन्दै चल्ने र केही मूढाझैँ नचल्ने शरीरहरु थिए ।
अलि परको भ्यानमा बुटले र डण्डाले भकुर्दै विपिनसँगै तीनजना केटाहरुलाई लगिँदै थियो । विपिन उसैगरी, एउटा हातमा र्इँट्टा लिएर, अर्को हात शिरमाथि उठाउँदै, ‘मूर्दाबाद ! मूर्दाबाद !’ नारा लगाउँदै थियो-अनवरतः…एकोहोरो…..
-प्रकाश के.सी.
2008
(स्रोत : Nepal.hk)