कथा : वर्षा ऋतु

~पारिजात~parijaat_3

बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्यांङ उता केही दिनदेखि एउटा आकृतिलाई देख्दै आएकी छु। चोलीको भित्री मात्र मैलो फाटेको गुन्यू, ठूटो पारी छाडेको कपालमा रातो रिबन हेयर ब्यान्ड शैलीमा बाँधिएको एउटा स्वास्नीमान्छे हो त्यो आकृति। कहिले उसको हात र हंसिया छायाँमा छिट्छिटो सल्बाइरहेको हुन्छ र कहिले टोल्हाएकी हुन्छे र कहिले चिसै घाँसमाथि निदाइरहेकी हुन्छे। त्यसै स्पटमा एकदिनमा उसलाई रोइरहेकी देख्छु र छिमेककी सान्नानी सम्झाइरहेकी हुन्छे। भाषा बुझंदैन इशाराको भरमा अन्दाज लगाउँछु, “के गर्ने आइमाईको जातलाई, भाविले लेखेको मेटिंदैन, यस्ते हो दुःख सुख कतिसम्म भोग्नुछ अझै…” सोच्छु, सालाखाला नेपाली स्वास्नीमान्छेहरूको अस्तित्व यही हो।

यो वर्षा ऋतु हो। यस ऋतुभित्र असारको पन्ध्र आफूसँग उन्माद र खुशीयाली बोकेर आउँछ। रमझम हुन्छ त्यसै चाहे भकारी रित्तै होस् चाहे चामलको भाउ जति बढोस्। अपरान्ह सिमसिम पानी, पातलो बादल छिचोलेर आएका घामका तरवार जस्ता किरणहरू, पश्चिमपट्टि लम्किएको जोर इन्द्रेणी एउटा अत्यन्त सुन्दर पार्श्वदृश्यको अघि त्यही सयपत्री र हलीहकको झयाङनेरै ऊ नाँच्दै रहिछ। लाटी अथवा अर्ध सद्दे ठानेकी थिएँ तर होइन रहिछ। उसको नाँच असाध्य छरितो छ। सान्नानीको गीतसँग गजब मेल खाइरहेको उसको मुद्रा। यत्तिकैमा छेवैको सुन्दर भवनको पश्चिम झ्याल खोलेर एउट किशोरी यही दृश्य हेर्न देखा पर्छे र ऊसँगै झ्यालबाट एउटा चल्ती गजल पनि तरंगित भएर आउँछ “गम हो कि खुशी दोनो कुछ देर की साथी है”

हो र? के यति चंचल हुन्छ सुखदुःख? सोच्न नभ्याउँदै देख्छु एकाएका आकाशको क्यानभासमा भर्खरैको चित्रकारी मेटिइसकेछ। एक मुस्लो कालो बादल फराकिंदै रहेछ। जिज्ञासा कुत्कुतिएर आउँछ भित्रदेखि , सान्नानीलाई इशारा गरेर भन्छ, “उनलाई पनि लिएर आउन, एकै छिन” नाउँ कान्छी र जात दनुवार रहेछ उसको, शायद दनुवार महिलासँग मेरो यो पहिलो परिचय हो। ऊ घरीघरी खिसिक्क खिसिक्क हाँस्छे र त्यो हाँसो मात्र हाँसो हो । हाँसोभन्दा बढी केही हेाइन। यो हाँसोमा सौन्दर्य तथा मनस्थिति केही पनि अभिव्यक्त हुँदैन। कालो रोगन थेप्चो नाक, चिम्सो आँखा अझ चिसो भन्न मिल्दैन झन्डैझन्डै तिनकुने भने हुन्छ। टाढाबाट हेर्दा तरूनी लागेको थियो छेउमा आउँदा बुढी रहिछ, हेर्दै लाँदा अधवैंशे लाग्यो पछि त्यो भ्रम पनि हट्यो अनि निष्कर्षमा पुग्छु, यस स्वास्नीमान्छेेसँग उमेरको छाप रहेनछ कस्तो अनौठो। ऊ आफ्नो अघिल्तिर उछिट्टिएको हरिया दाँत देखाउँदै खिसिक्क–खिसिक्क हाँसिरहन्छे।

अरूको हर्ष र विस्मात कुनैलाई पनि एकैचोटी सोधि हाल्ने भनौं फरासिलो स्वभाव कहिले रहेन आफ्नो त्यसैले यस अनाम घँसिनीलाई केही सोधिन। सोधौं पनि के? अस्ति टोल्हाउने, हिजो रूने, आज हाँस्दै नाँच्ने मनस्थिति बोक्नेलाई उधारौं पनि कताबाट? आँशु, हाँसो, चित्ता, सबै ढोका खुल्लै छ पशु पनि कताबाट?

साँझ पर्छ। ऊ घाँसको भारी बोकेर छिँड्छे। गोरेटोतिरबाट असारे गीत टोकिंदै मेरो कोठासम्म आइरहेको छ। एउटा जिज्ञासा छ, सुत्न मान्दैन मनभित्र सान्नानीलाई बोलाउन पठाउँछु, र कुराकानी गर्न थाल्छु। आफ्नो कुरालाई सक्दो लामो पारामा भन्ने सान्नानीको त्यस अज्ञात घसिनी बारेको कथनबाट म एउटा सानो निचोड कथा झक्छु। कुनै खास कथा छैन। उसको औसत कथा हो। यतातिरका सुनिसुनाउ। व्यथा सुनिसकेपपछि आफैसँग प्रश्न गर्छु के स्वास्नीमान्छेलाई रूपवती हुनु आवश्यक छ? छ। के स्वास्नीमान्छेलाई रूपवती हुन आवश्यक छैन? छैन यी दुवै प्रश्नहरूले मेरो मनभित्र एकछिन यस्तो भीषण भुत्लाभुत्ली खेल्यो, रन्थनिएँ केहीबेर। युद्धपछि एउटा परिणाम आउँछ नै अनि म आफैभित्र घोषणा गर्छु। स्वास्नीमान्छे भनेर सिंगारिएको डोकोको पनि जार छ यहाँ अँ औसत कथा छ उसको। बिहे भयो छोराछोरी भएन, लोग्नेले सौता हाल्यो, सौताले छोराछोरी पाइदिई पछि लोग्ने मर्‍यो, ऊ घरबाट निकालिई, आमा बाबु कोही छैन। यतै कतै बाहुनका गोठाल्नी बसेकी छे, काम थुप्रै गर्नपर्छ, खानावासी पुरोवस यति नै हो यसको कथा।

भोलिपल्ट ठीक त्यही ठाउँमा दुई छरिता हातहरू सल्बलाइरहेका छन्। सिमसिमे पानी परिरहेको छ उसलाई वास्ता छैन। यसो हेर्छु माया लाग्छ, सोच्छु, अर्को अलिक राम्रो ठाउँमा काम लगाईदिन पर्ला यो भन्दा बढी उसलाई खुशी तुल्याउने अर्को साधन पनि त छैन। अलिकति सुकिलो ठाउँमा पुगुन, अलिकति शारीरिक सुख मिलुन….। ऊ एक धुनमा छे यता हेर्दै हेर्दिन , आखिर म चिच्याएर उसलाई बोलाउँछु। लोसे चालले आएर मेरो छेवैमा बस्छे। पसिना र झारपातको गन्ध एकैसाथ मिसिएर आउँछ। उसका त्रिकोण आँखाहरूमा कुनै जिज्ञासा छैन, हिजो जस्तो खिस्सखिस्स हाँस्दिन पनि एकदम भावशुन्य छ अनुहार। म उसलाई केही पनि प्रश्न सोधिन्न, भूमिका पनि बनाउँदिन, एकैचोटि सोधिदिन्छु, “बाहुन कहाँ तलब दिया छ?”

“दिया छैन।”

“यो भन्दा राम्रो–राम्रो ठाउँमा काम गर्न जाने हो? खाइ लाइकन पूरा सत्तारी तीनबीस र दश खान पनि राम्रो छ यस्तो दुखिया काम पनि गर्न पैर्दन।”

ऊ घोप्टो मुन्टो लाएर एकैछिन घोरिन्छे र भन्छे, “माया लाग्छ” “कसको?” म अचम्मै मान्दै सोध्छु।

“अस्ति बाहुनको बैनीको बिहेमा एउटा गौनको फरिया हालिदिया थिएनयैं छ, लगाएकी छैन।”

बल्ल बुझ्छु प्राण कता अड्केको रहेछ तै फेरि फकाउँछु, “त्यसो भए भोलि खुसुक्क पोल्टोमा घुसारेर आऊ न त त्यो फरिया होइन भने माया मारिदेऊ त्यो एउटा जाबो फरिया। मैले पठाएको ठाउँमा जति पनि दिइहाल्छ नि। “ल ऐले ट्याक्सीमा चढाएर पठाइदिन्छु।”

“कहाँ?”

“पाटन।”

“पाटन भनेको कहाँ छ? यही नेपालमा नै छ?”

मलाई हाँस उठ्छ उसको अबोधपना देखेर भन्छु, “लाटी त्यही हो पाटन भनेको दिनको दश चोटी ओहोरदोहोर गर्न सकिन्छ ” केहीबेर ऊ फेरि घोरिन्छे र आँखामा एक प्रकारको आत्मविश्वास र ओंठको कुनामा अलिकति लाज पोखेर सडकतिर संकेत गर्दै भन्छे, “त्यहाँ पालो बस्न आउने सिपाहीले लैजान्छु भनेको छ” त्यसपछि ऊ स्पष्ट लजाएर घोप्टिन्छे।

उसको स्वास्नीमान्छे हुनुको समग्रतालाई निमेषभरीमा मूल्यांकन गरेर सोच्छु यिनी तावाबाट उम्केर भुंग्रोमा खस्न गइरहेकी छे। म तर्सिन्छु र आवेशमा आएर भन्छु, “लाटी त्यो छल हो, धोखा हो, प्रवचना हो, तिमी गतिलो भ्रममा फँसेकी रहिछौ।”

ऊ त जिल्लिएर सोध्छे, “के भन्नु भा हो मैले बुझन?” म आफूलाई नियन्त्रण गर्दै भन्छु, “त्यो सिपाहीले तिमीलाई लाग्दैन।”

“खै लान्छु भन्छ” उसका त्रिकोण आँखाहरू आत्मविश्वासले रंगिइपो सकेछन्।

त्यो आत्मविश्वासलाई म अब कसरी आघात गरूँ? सोच्न नपाउँदै ऊ “आज हतार छ” भन्दै मलाई छोडेर गइदिन्छे। लाग्छ, उसको मसँग कुराकानी गर्ने रहर अब छैन।

भोलिपल्ट ठीक त्यही समय खेततिर हेर्छु तर त्यहाँ आज त्यो आकृति छैन। सधै देखिरहेको क्यानभासमा एउटा विशेष रंग मेटिए जस्तो लाग्छ। एकैछिनपछि सान्नानी खस्केको अनुहार लाएर मतिर आउँछे, सोच्छु यसको पनि होला आफ्नै समस्या अब मलाई पोख्दिहुन। म मौन बसिरहन्छु, कुरा कोट्याउन डर लाग्छ किनकि सान्नानीको कुरा गर्ने शैलीले कस्तै धैर्यवानलाई पनि थकाउँछ।

सान्नानी आफै बोल्न थाल्छे सारांश अति छोटो छ। गोठाल्नीले हिजै भनेर गई “अब उपान्त म यहाँ घाँस काट्न आउने छैन, ऊ त्यो घरकी आइमाईले कता हो कता पाटनतिर ट्याक्सीमा हालेर भगाईदिन्छु भनी, मलाई डर लाग्यो, आजभोलि हामी जस्तालाई देशतिर बेच्छ भन्छन्, कसको के भर।”

सारांश सुनिसकेपछि मलाई आफू बसेको ठाउँबाट खस्कँदै खस्कँदै जाँदैछु कि जस्तो लाग्न थाल्छ। थुप्रै प्रश्नचिन्हहरू मेरो वरिपरी उभिएर सोध्न थाल्छन् के म यति जाली, फ्टाही, विश्वासघाती देखिएँ? मेरो दोषी भाषा तथा व्यवहारमा जब सद्भावना , सह्दयता जस्तो केही बाँकी रहेन? के मैले बोल्न जानिन? के भएको छ मलाई म कस्तो परिवेशमा बाँचिरहेकी छु? के कोही मेरो परिवेशलाई मोसो पोटिरहेछ? मलाई एकाएक यो परिवेशसँग जुध्न मन लाग्छ, भुत्लाभुत्ली चिथारो विचार गर्न मन लाग्छ हारजीतको सीमासम्मै।

आँका यसो छामेर हेर्चु वर्षा ऋतुको दुई थोपा बाछिटा कसो कसो पसिसकेछ। मलाई आँखा बिझाए जस्तो लाग्छ र पानीले आँखा यसरी बिझाउनु जीवनको यो मेरो पहिलो अनुभव हो।

(स्रोत : नेपाली साहित्य, वर्ष ३ अंक ७, २०४१ कार्तिक)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.