कविता : प्रवाशबाट

~दिव्य गिरी~Dibya Giri

बितेका वर्षरूमा जस्तै
यो वर्षपनि आँखामा झझल्को आईरहेछ
घर अगिल्तिरको बगैंचामा
गोदावरी फुलेको होला
मखमली फुलेको होला
सयपत्री फुलेको होला
तिनै फूलहरूको सुगन्धले
आँगन मग्मगाएको पनि होला
तिनै फूलहरूको सौन्दर्यले
आँगन जग्मगाएको पनि होला
र, घर पूर्णतः
नयाँ दुलही जस्तै सिँगारिएको होला ।
दिदी,
तिमी मनको मजेरीमा
विश्वासको दीयो जलाएर
माला गाँसिरहेकी हौली
यसपालि त भाईलाई तिहारले अवश्य ल्याउंछ भन्दै
भाईटीकाको दिनलाई औंलाहरूमा गन्दै
घरसम्म जोडिएको नागवेली गोरेटोभरि आँखा तान्दै ।
तर दिदी,
गएका वर्षरूमाझैँ
तिमीले गांसेको माला
मेरो गलामा नसुहाउंदै ओईलाउने भयो
माला भित्ताको किलामा झुण्डाएर
तिमी पूर्ववतः रुने भयौ ।

म सात समुद्रपार रहे पनि
मन त्यहीं पुगेको छ
सोच्न त पोहरको वर्षपनि सोचेको थिएं
त्रि्रो हातबाट टीका लगाएर
दीर्घायुको आशिर्वाद माग्छु
तर दिदी,
सोचे जस्तो हुंदै रहेनछ जिन्दगी
मैले पाएको भनुँ वा रोजेको भनुँ
मेरो वन्दकी जिन्दगी
बलिदिन पन्साएको बोको जस्तै
मेरो फौजी जिन्दगी
न पत्नीलाई चाहेजति माया दिन पाइन्छ
न नानीहरूलाई काखभरि खेलाउन पाइन्छ
नत बृद्ध बाबु-आमाको आश पूरा गर्न सकिन्छ
खै, के जिन्दगी भोगेको छु भन्नु र ?
मात्र जिन्दगी आँसुमा अनुवाद भैरहेछ
मात्र जिन्दगी आशैआशमा झुण्डिरहेछ
मनको फाँटहरूमा व्यथाको बिस्कुन सुकाउनु पर्छ
झर्नै लागेको आँसु गहमा नै लुकाउनु पर्छ ।

सत्य हो दिदी,
नढाँटी भन्छु
म बन्दुक बोकेर बाँचिरहेछु
म बन्दुक भिरेर मर्दैगैरहेछु
पुर्खाले आर्जन गरेको वीरत्वको नाममा
पुर्खाले आर्जन गरेको वीरत्वको आडमा
परार्इको लागि आफुलाई अर्पेर
म प्रवाश भोगिरहेछु
आँखाको नानीभित्र देशको सम्झना लुकाएर
म परदेश बाँचिरहेछु ।
विवश छु
इतिहासको उपस्थितिमा शिर झुकाउनु पर्छ
मन आत्मग्लानीले पानी पानी हुन्छ
कत्रो विडम्वना !
पुर्खाहरूले देश जिते
वदलामा म देश हारिरहेछु
पुर्खाहरूले वहादुरी कमाए
वदलामा म वहादुर गुमिरहेछु ।

थाहा छैन दिदी,
कुन दिन विजयको आशिर्वाद शिरमा थापेर
युद्ध-मोर्चातिर कुँदनु पर्ने हो
कुन क्षण खांदाखांदैको गाँस छोडेरर्
मर्न र मार्न तम्सनु पर्ने हो
यसरी निश्चित मृत्यु आफ्नै पिठ्यूंमा बोकेर
अनिश्चित जिन्दगी बांचेको ति म्रो भाइ
आएन भनेर आँसु नखसाल्नु
किन आउंथ्यो भनेर चित्त नदुखाउनु
बरु मेरो चिठी हेरेर मन बुझाइदिनु
अन्त्यमा एउटा अनुरोध दिदी,
मेरो प्रत्येक चिठी पढ्दा वा सुन्दा भने
मनलाई दह्रो गराएर मात्र पढ्नु है
मनमा धैर्य बटुलेर मात्र सुन्नु है
यस कारण कि
चिठीभित्र ति म्रो फौजी भाइले
लडार्इमा वीरको भूमिका नवीकरण गरेको खवर पनि हुनसक्छ
लडार्इमा वीरगति प्राप्त गरेको समाचार पनि हुनसक्छ ।

विगत वर्षरूमा जस्तै
यो वर्षपनि
दिदी, तिमीलाई केवल
मेरो मनभरिको सम्झना
मेरो मुटुभरिको शुभ-कामना ।

टीकाथली-५, ललितपुर, काठमाडौं

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.