कथा : घुर

~दिनमान गुर्मछान~Din man Gumachan

पुस लागेपछि चिसो महँगी झैं ह्वात्तै बढेको थियो। यो चिसोमा बाँच्न सकिन्छ के? मानिसहरू भन्न थालेका थिए। हुनेहरू बाक्लो लुगामा न्यानो भएर बस्थे। नहुनेहरू साँझ्सँगै कक्रिंदै जान्थे।

भगिराम मुसहरले हरेक साँझ् चिसो भगाउन पिउने उपाय निकालेको थियो। अरू भने सम्साँझै चुलोछेउमा टुक्रुक्क बस्न पुग्थे। उनीहरूको दुवै हात दुईतिरको काखीमुनि पुगेका हुन्थे। सबैको मगजमा यो जाडो कसरी छल्ने भन्ने हुन्थ्यो।

“ठन्डी हरेक साल बाघजैसन हमनीकै पिछा करता। कबु त लागला, हमनीकै लेगइला परही छुटी (हरेक साल चिसो बाघजस्तो बनेर हाम्रो पिछा गर्छ। कहिलेकाहीं त लाग्छ, हामीलाई लिएर गएपछि मात्र यो जान्छ)”, भगिरामकी आमा भुत्भुताइन्।

कुनामा कुचुक्क परेर बसेकी आमाको कुरा सुनेर भगिराम मनमनै डरायो। उसलाई यो हिउँदमा पनि मतारीलाई न्यानो लुगा दिन नसकेको पीडा भयो। उसले देख्यो, केटाकेटीहरू चुलो छोपेर बसेका छन्। भगिरामको सबभन्दा सानो छोरो चाहिं आमाको थोत्रो सारीमै घुसि्रएको छ। उसले कट्टु पनि लगाउन पाएको छैन।

भगिरामले सानोमा आफू पनि यसैगरी आमाको सारीमा घुसि्रएको सम्झियो र मनमनै सोच्यो– ‘यो हप्ताभरि काम गर्दा जे जति पैसा जम्मा हुन्छ, त्यसले चाहिं अरू केही नगरी आमालाई न्यानो सारी र छोरोलाई एउटा ट्राउजर किनिदिन्छु।’

“ठन्ड लागल हौ त आग ताप्न माई”, भगिरामले भन्यो र चुलो घेरेर बसेका छोरीहरूलाई अलि पछाडि हटाएर आमाको लागि ठाउँ बनायो।

चोर्नी गाविसको यो मुसहर बस्तीका सबै परिवार मूलतः कृषिमा मजदूरीमा निर्भर छन्। तर, खेतबारीको काम बाह्रैमास पाइन्न। त्यस्तो वेला घाँस–दाउरा गर्ने हो, तर पनि वल्लोपल्लो गाउँका ठूलाबडाको घरमा बोलाए मात्र। वरिपरि कसैले नबोलाउँदा मुसहर वस्तीका लाठेहरू काम खोज्दै सदरमुकामसम्म पुग्छन्। भगिरामले चाहिं कामको लागि कहिल्यै गाउँ छाड्नु परेन। अहिलेसम्म गाउँका मालिकहरूले उसलाई खाली बस्न दिएको छैन।

ऐलानी जग्गामा बसेको मुसहर बस्तीमा जम्माजम्मी तेइस परिवार छन्। सबैको एकनासे झुप्रो छ। गोठ या बस्तुभाउ कसैको छैन। गाउँमा दिनभर केटाकेटी मात्र हुन्छन्।

भगिरामले श्रीमतीलाई हेर्‍यो, जो परार माइतीबाट पाएको धोतीमा बेरिएर खाना पकाइरहेकी छे। भगिरामले बिहेयता जम्मा एकपटक सारी किनिदिएको छ। त्यो सम्झ्ेर मन कटक्क पार्दै उसले दुब्लाउँदै गएकी श्रीमतीलाई हेर्न थाल्यो। साँच्चै भन्ने हो भने रामप्यारी खानै नपाई दिन–रात काममा दलिएकी छ। उसले भरपेट खाने भनेको मालिकको घरमा हो। आफ्नो घरमा त ऊ सबैले खाएर उब्रियो भने खान्छे। भगिरामले श्रीमतीको अवस्थालाई लिएर आफूलाई मनमनै धिक्कार्‍यो।

बिहे गरेको साल रामप्यारी कस्ती हँसिली र खाइलाग्दी थिई। अब त्यो ज्यान कहाँ रह्यो र! त्यो उज्यालो अनुहारमा पोतो बाक्लिएको छ। भगिरामले आफ्नो ज्यानबारे पनि सोच्यो। ऊ पनि सुकेको छ। उसको ज्यानमा पोहोर परशुराम मालिकले दिएको जडाउरी उनिएको छ। जसको फाटिसकेको काखीबाट घरी–घरी चिसो पसिरहेको छ। बिहेमा बाहेक उसले सधैं जडाउरीले नै काम चलाएको छ। उसलाई जिन्दगी पनि जडाउरी झैं लाग्छ।

रामप्यारीले चुलाबाट तरकारी निकाल्दा वरिपरि बसेका सबै चलमलाए। आमाको काखमै झ्ण्डै निदाइसकेको कान्छो पनि चनाखो भएर उभियो। सबै चुला वरिपरि गुन्द्रीमा बसे। भगिरामले मातारीलाई हात धुन सघायो र रोटी खाँदा हेरिरह्यो। केटाकेटीहरूले पनि खाइसकेपछि भगिराम खान बस्यो। अन्तिममा रामप्यारीले खाई।

रातसँगै चिसो बढ्दै थियो। खाएपछि निद्राले झोक्राउन थालेका छोराछोरीलाई भगिरामले चुलादेखि अर्काे कुनासम्म ओछ्याइएको परालमा सुतायो। एउटै हारमा लडेका केटाकेटीलाई उसले फाटेर च्यांग्ला परिसकेको तन्ना ओढाइदियो। “यत्नासे कहाँ होई!” जेठो छोरा बोल्यो।

“चटाई कहाँ बा?” भगिरामले श्रीमतीलाई सोध्यो। रामप्यारीले नबोली एउटा गुन्द्री ल्याएर तन्ना माथि ओढाइदिई।

भगिरामले पोहोर एउटा सिरक किनेको थियो, तर परिवार थियो सात जनाको। त्यो सिरक केटाकेटीले तानातान गरेरै सिध्याए। त्यसपछि भगिरामले सिरक भन्ने चिज किन्दै नकिन्ने निर्णय लिएको थियो।

आमालाई ओछ्यान लाउँदा दुइटा सुकुल बाँकी थिए, त्यो पनि मक्किएका। भगिरामले एउटा सुकुल ओछ्याएर माथिबाट अलिकति पराल राखिदिएपछि त्यसमा आमा पल्टिइन्। भगिरामलाई आज निदाउन सकिंदैन भन्ने लागिसकेको थियो।

नौ बज्न लागेको हुनुपर्छ, मुसहर गाउँमा झुप्रैपिच्छे घुर शुरू भएकोले उज्यालो बढ्यो। भगिराम घर बाहिर चिसोमा आयो। उसले देख्यो– सबैको आँगनमा घुर बलेको छ। सिरक वा न्यानो लुगा नभएकाहरू घुर तापेरै चिसो रात बिताउने हो। उसले पनि यसकै लागि भनेर मालिकहरूको घरबाट पराल जम्मा गरेको थियो। अब ऊ पनि घुर बाल्ने सुरमा लाग्यो।

रामप्यारी पनि लोग्ने भएठाउँमा आई। उसलाई भगिरामको मुखबाट निस्किएको रक्सीको हरक थाहा पाउन कुनै गाह्रो भएन।

“खाली अप्ने खइलह?”

“आजु जर्किन उठइलेबानी, ऊ उहाँ बा। तुहो निकालके खा।”

यति भनेर भगिराम डगरमा घुर बाल्न बस्यो। शीतले भिजेको पराल सल्काउन उसले चार काँटी सलाई खर्चनु पर्‍यो। आगो ताप्दै बूढाबूढी पिउन थाले। जाडोमा पिउँदै आगो ताप्नुको मजा नै अर्कै। त्यसमाथि आज उनीहरू रक्सीमा आत्मनिर्भर छन्। दुवै राँकिंदै गए। अब भगिरामले रामप्यारीलाई जिस्क्याउन थाल्यो।

“आग बुझागइल्”, भगिरामले अझ्ै आगो ताप्ने मनसाय बनायो। रामप्यारी भित्र गएर एउटा कुनामा थुपारी राखेको पराल तानी। बाहिर निस्किँदा छोराछोरी सुतेको हेरी। निद्राले लस्त उनीहरू चिसोले निदाउन सकिरहेका थिएनन्। आमाले आधा पराल छोराछोरीमाथि छरिदिई अनि बाँकी बोकेर बाहिरिई।

भगिराम निभ्नै लागेको घुरमा हात सेकिरहेको थियो। रामप्यारीले पराल हालेपछि ऊ अलिकति पछाडि सर्‍यो। उनीहरू नजिकैको पराल तानेर घुरमा थप्दै, जर्किनबाट रक्सी निकाल्दै खान थाले। गरीबी र जाडोले सताएको उनीहरूको शरीरलाई आगो र रक्सीको न्यानोले रन्काउँदै लग्यो। उनीहरू एकअर्कामा ढेपिन पुगेका थिए।

“आग त हमु तापेनी, भितर त ठण्डके मारे निन्दे नइखे लागल”, त्यत्ति नै वेला बूढीआमा पनि बाहिर आइन्। भगिरामले हेर्‍यो, आमा थुरथुर काँपिरहेकी छन्। ऊ भित्र गएर एउटा गिलास लिएर आयो अनि भरेर आमालाई दियो। बूढीमान्छेलाई अभाव र चिसोबाट रमरमीको दुनियाँमा प्रवेश गर्न धेरैबेर लागेन।

त्यतिञ्जेलसम्म केटाकेटी पनि उठेर आगो ताप्न आइसकेका थिए। उनीहरूलाई पनि आफ्ना अभिभावकको अनौठो व्यवहार ठम्याउन धेरैबेर लागेन। दादी लगभग निस्लोट भइसकेकी थिइन् भने बापमतारी बलिरहेको आगोमा लगातार पराल थप्न थालेका थिए। उनीहरू छोराछोरीले भनेको विल्कुलै सुनिरहेका थिएनन्। जर्किनबाट रक्सी सारेर पिउने, नजिकैबाट पराल थुतेर घुरमा थप्ने, छोराछोरीले रोक्न खोज्ने र जीउ तताउने प्रक्रिया चलिरह्यो।

बिहानीपखको कडा चिसोमा सबै मस्त निद्रामा थिए। मिरमिरेमा पहिले रामप्यारी नै चलमलाई। ऊ उठ्न खोजी, तर टाउको ज्यादै गह्रौं थियो। भगिराम छेउमै कुक्रुक्क परेको थियो। उसको कालो अनुहारलाई ध्वाँसो र र्‍यालसिगानले हेरिनसक्नु बनाएको थियो। रामप्यारीले झ्ण्डै नचिनेकी। उसले नउठेरै नियाली, नजिकै पसारिएकी सासूलाई पनि। लगत्तै छोराछोरीको सम्झ्ना आएपछि भने ऊ अत्तालिएर जुरुक्कै उठी। सबै निभिसकेको घुरकै वरपर असरल्ल निदाइरहेको देखेर बल्ल सास आयो।

तर जब रामप्यारीले झुपडीतिर हेरी, उसका आँखाहरू एकाएक विस्फारित हुनपुग्यो। ठूलो दुःखले आर्जेको उसको घरको अस्थिपञ्जर मात्र बाँकी थियो। त्यो अस्थिपञ्जरभित्र एउटा जाली डढेको खाट र टीनको थोत्रो बाकस मात्र बाँकी थियो। छानो, भित्ता, सुकुल, गुन्द्री, कपडा सब घुरको खरानी बनेका थिए। रामप्यारी छेउमै लडिरहेको पाँच लीटरको रित्तो जर्किन समाएर रुन थाली, जो भगिरामले जाडो धपाउन बन्दोबस्त गरेको थियो।

(स्रोत : हिमाल खबर)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.