कथा : एक पाखो गुराँस र म

~देविनबाबु राई~

परबाट हान्ने गाईझैं बत्तिएर आएकी प्रेमिकाले सोझै मेरो कठालो समाई । त्यो कड्की कुटिल स्वरमा– रातो गुलाफसँग प्रेमपत्र पठाउने तैं हैन ?

मेरो सात्तोपुत्लो उड्यो, हो वास्तवमा पठाएको मैले नै थिएँ ।

त्यसले झन् रडाको मच्चाएर उफ्रिन थाली, हो कि हैन भनेको ?

म थर्थर काँप्तै बोले मिहिन स्वरले– हो मैले नै हो ।

किन पठाइस् ?

मैले नम्र जबाफ टक्र्याएँ– नयाँ वर्ष हो नि त ।

ए नयाँ वर्षमा रातो गुलाफ र प्रेमपत्र पठाउन मिल्छ ? तात्तिएको हाँडीमा पड्केको भट्मासजस्तो पटटट पड्किन थाली प्रेमिका ।

मैले निकै साहस गरेर भने– भन्छन् सबै नयाँ वर्ष प्रेमको अनुष्ठान पनि त हो ।

कति छिटो प्रेमिकाले तीन थप्पड फटाफट मारी मेरो गालामा । तोरीको फूल देखें र पिसाब आउला आउला जस्तो भयो, सायद अर्कोसम्म थपेकी भए त्यो पनि नखुस्केला भन्ने थिएन ।

कुन तेरो बाउले भन्यो न्यु इयर प्रेमको अनुष्ठान हो ? एउटा लभ लेटर र रातो गुलाफमा प्रेम हुनका लागि आउँछ यो न्यु इयर ?

फेरि अर्को दुई थप्पडले गाला रातो र पिरो भयो, यतिखेर भने कहाँबाट अनुराधा सामुन्ने आइपुगेकी थिई र त्यस अलच्छिनी आइमाईलाई समाती र मलाई बेस्सरी उत्फाल मारेर भाग्न भनी । मौका यही हो वायु–पङ्खी वेगले उडेर त्यहाँबाट फरार भएँ ।
भोलि पल्ट–
अनुराधा परैबाट हाँस्तै आई, लौ सानुकान्छा नयाँ वर्ष हिजो मज्जाले मनाइस् हैन ?

यो कहाँबाट आएर अब नहुनुसम्मको हल्ला चलाइदिने भई, सायद सबैलाई सुनाउँदै आएकी होली, यसको घोक्रोले के लुकाउँथ्यो र यस्ता अरुले पाएको बेइज्जतको कुरा । उडाउने गजबको मौका पाएकी छे मोरीले, फेरि चानचुने झाप्पु लाएकी हैन त्यस डङ्किनीले । अरिङ्गालले चिल्याभन्दा चर्को भुम्भुम्ती सुनिएको गाला देखेर हिजै मेरो दिदीले के भयो तेरो गाला भन्दा कठेउरीले चिलेको भनेर ढाँटेको थिएँ, अब यसले सबै महाभारत खोलेर मलाई बिल्लीबाँठ पारिदिने भई ।

त्यो नजिकै आएर गाला छाम्दै भनी, विचरा ! नयाँ वर्ष प्रेमको अनुष्ठान हो हगि ? अनि फेरि खित्का छाडेर हाँसी ।

सुटुक्कै भने, नहाँस्न यार, मेरो दिदीले थाहा पाउनुभयो भने घरमा मेरो बास हुँदैन के ?

त्यो झन् उत्ताउलिएर भनी, किन नभन्नु यस्तो रमाइलो कुरा ।

म मर्नु भएँ, अनुराधा प्लिज त्यसो नभनी दे न हौ ।

त्यो के मान्थी, त्यसलाई यसबाट कति धेरै रमाइलो मिलेको छ, म त भन्छु हौ भन्छु ।

भनुँला भनुँला जतिकै गरेर मलाई आपत खेलाई, निकै बेर जिस्काइसके पछि, त्यसले अलिक सिरियस भएर भनी, सानुकान्छा, ऐनामा आफ्नो अनुहार फुकाएर हेर, सौन्दर्यताको पछि दगुर्ने आधुनिक युवतीहरुले तेरो जस्तो कुरुप अनुहारलाई स्वीकार गर्छ गर्दैन ?
यो कुरो हो २०४५ वैशाखको ।

दाउरा, घाँस गर्न जाँदा भेटेको हुँ, ढुङ्गाझैं पटक्क नबोल्ने केटी, संयोगले सहयोग गरागर भयो, मैले रुखमा घाँस काटे त्यसले बटुलेर भारी लगाइदिने गरी र दाउरा चिर्ने पाखुरे म हुँदा त्यसले चुपचाप भारी बटुलेर दुबै जनालाई लगाइदिन्थी, बोलाउँदा बोलाउँदा त्यसले मलाई आफ्नो नाम बसन्ती भनेर बताई, हुनु पनि त्यो बसन्ती नै जस्ती, लजालु स्वभावकी, श्यामल उद्यानकी श्वेत सुन्दरी !

पछि अलि अलि बोल्न शुरु गरी, त्यसले सधैं रुमालमा कुराउनी पोको पारेर ल्याउँथी र मलाई खान दिन्थी, मैले खान्न भने त्यसले जबर्जस्ती मेरो हातमा थमाइदिन्थी र म त्यहाँ नपुगुञ्जेल त्यो आफ्नो सुरिलो झरनाका धुन जस्तो स्वरले गुनगुनाएर बस्थी र म आइपुग्ने बित्तिकै त्यो चुप हुन्थी, मलाइ त्योसँग भइञ्जेल कहिल्र्यै वसन्त आउनु परेन बनमा । पहाडको ठाउँ हो, उकालो ओह्रालो गर्नै पर्छ, स्कुल सकिएपछि त कलेज पढ्ने यो सानुकान्छाको हैसियत पनि त थिएन । र नै त खेल्यो रमायो बनमै ।

बसन्ती स्कुल सकेर दाउरा घाँस आउँथी, अलिअलि बोल्न र हाँस्न थालेकी थिई । २०५१ सालको नयाँ वर्ष आयो, म के दिनु के दिनु भएँ, बसन्तीलाई, पोस्टकार्ड दिनेलिने चलन भएकोले मैले एउटा पोस्ट कार्डसँग गुराँसको एक थुङ्गा टिपेर दिएँ, त्यसले सोधी, यो के हो ?

मैले भने, नयाँ वर्षको शुभकामना ।

पर्दैन, त्यसले भनी । मलाई मेरो क्लासको एउटा केटाले दिएको थियो मैले त लिन मानिन ।

मलाई आरिस लाग्यो, आफ्नो बसन्तीलाई खोस्न खोज्ने आँखाहरुदेखि, मैले उसलाई फकाएँ, तर म त तिम्रो भिरपाखा गर्ने साथी हैन र ?

त्यो अलिक छिटो बोली केटाको पनि केटी साथी हुन्छ र ?

अनि के हुन्छ त ? यहाँ तिमी र मबाहेक अरु को छौं तिमी मेरो साथी र म तिम्रो ।

त्यसले अस्वीकारको बहाना गर्दै भनी, भरै घरमा सोधे के भन्नु म ?

पोस्टकार्ड हो भन्नु ।

नाक खुम्च्याएर भनी, हुन्छ तर यो गुराँस त पाखैभरि छ के लाई ?

सिउरन चुल्ठोमा र त्यहीँ सुक्न देऊ ।

हत्तेरी ! तपाईं केके भन्नु हुन्छ ।

साँच्चै फूलजस्तै चोखा दिलकी बसन्ती, त्यसको वैंश नै एउटा गुराँशभन्दा कम छैन । मैले थपक्कै गुराँश खोसेर त्यसको चुल्ठोमा सिउरिदिएँ, भैगो त नि ।

त्यो लाजले एक पोको परी । अनुहार छोपी र भनी, छि ! मलाई त लाज लाग्यो है ।

यो ५१ सालको नयाँ वर्ष मेरो प्रेमको अनुष्ठान नै सही, मैले बसन्तीलाई पाखाभरि पाएँ र आँखाभरि पाएँ, बीचैमा त्यस अलच्छिनी डाइनी प्रेमिकाको थप्पडले जीवनभरि घाउ बनायो तीतो सम्झनाको ।

बसन्तीसँग नभेटेको कुन दिन हुन्थ्यो र, अलिक ढिलो भएको दिन त्यसले के भयो किन ढिलो भनेर सोधपुछ गर्थी, यसो हुँदै हामी मेला र हाटबजारहरुमा पनि भेट्न थालेका थियौं । त्यसले निर्धक्क मलाई आफूभन्दा ज्यादा चासो गर्थी, मेरो कमिज दाउराको छेस्कोले उधारेर दुई फर्लाङ पारिदिँदा हाँसेर चित्त खाई तर भोलिपल्ट सियो धागोसमेत लिएर आइछे । तुरुन्त खोल्न लाएर त्यसले आफैले सिलाइदिई ।

हामी अब धेरै अघि पुगिसकेका थियौं, हामी दुवैलाई थाहा भैसकेको थियो, हामीबीच अनन्त प्रेम पलाएको छ, एकअर्काको दुःखमा हामी बराबर दुःखी र सुखमा खुसी हुन्छौं । मैले आफूले प्रेमिकाबाट थप्पड खाएको कुरा पनि भनिसकेको छु र नै त्यसले मलाई झन् माया गर्न थालेकी हो ।

एकदिन–
गाउँका मान्छेहरुले हामीलाई जंगलमा रमाइरहेको भेट्टाए । यही स्थिति हाम्रो लागि खतरनाक अवश्यम्भावी घटना हुन आयो, बसन्तीलाई जंगल आउनबाट निषेध गरियो, म नितान्त एक्लो भएँ ।

बनहरु पर्यावरण भएर पनि फेरि वसन्त आयो, गुराँश फक्रिएका पाखाहरु रातै भए, यतिखेर टिपेर पनि के गरौं सिउरिदिने बसन्तीका चुल्ठोहरु छेउमा छैनन् । मेरो जिन्दगी वसन्त आएर पनि पत्झड भयो, अनुराधा पनि शहर पसिसकेकी थिई ।
निकै दिन बिते, बसन्तीसँग भेट्ने मनसायले भुतुक्कै पा¥यो, छट्पटाहटको पीडा कति असिम । भग्न हृदय बोकेर सल्लेरीसँग रोइरहें, दिनरात रातदिन ।

म फूल हुँ भने ओइलिसकेको थिएँ, नदी हुँ त सुकिसकेको बगरजस्तो र पात खसिसकेको हाँगा जस्तो । मैले कहाँ भेट्ने मेरी बसन्तीलाई ? मलाई याद छ बसन्तीले मलाई एक झोंका प्रेमले लर्बराएकी छे, मलाई जीवनभरि साथ दिने बाचा गरेकी छे, तर त्यसका पल्टने बाबुको निर्णय पनि त्यसले सुनाएकी हो पल्टने केटोबाहेक अरु कसैलाई आफ्नो छोरी दिने छैन र बाबुको आज्ञापालकपुत्री भएर जोसँग दिए पनि लुरुलुरु जाने भनेर त्यसले भनेकी छे ।

साह्रै दुःख यसैमा लाग्छ ।

मैले चाल पाएँ बसन्तीलाई शहर पठाएछन् ।

अब म नितान्त एक्लो भएँ, मेरो बिहे गरिदिने कुरा पक्का मेरो घरमा पनि भयो, बुढो पापाको निर्णय मैले पनि टार्नु हुन्न, एउटी सोझी गाउँकी चम्पासँग मेरो बिहे हुने भयो । सोझी टुहुरी, चम्पा लुरुलुरु आई मेरो जीवनमा । मैले त्यहीसँग घाँसदाउरा गरेर बसन्तीलाई भुलिदिएँ । मैले भुल्नुसिवाय विकल्प अरु पनि के हुन्थ्यो र । चम्पा राम्री नै थिई, मैले उसलाई कहिल्यै दुःखको अनुभव हुन दिइन न त त्यसले नै मलाई । समयसँगै त्यो दोजिया भई । हामी मीठो कल्पना परिकल्पनामा डुब्दै हरायौं । नयाँ सन्तान सुखी परिवार । बुढो पापा पनि हामीसँग असाध्यै खुसी हुनुभयो । जीवन फूल्यो ढकमक्क सुखका हाँगाहरुमा ।

फेरि अर्को आँधी –
प्रसव वेदनाले फत्रक फत्रक परी मेरि चम्पा ! म आत्तिएँ, धामी, झाँक्री, सङ्गिनी र वैद्यहरुलाई हात जोर्दै रोएँ कराएँ, भगवानलाई मेरो खुसी मन परेन, मेरी चम्पा सुटुक्कै मेरै काखमा आफूलाई छाडेर बेपत्ता भई ।

रोएँ कराएँ र पनि मैले मेरी चम्पालाई पाइन । जीवनमा दुःखी हुनुको पराकाष्ठाले धेरै पर उछिन्यो । सुकेको रुखझैं गर्लम्म ढले म । र पनि घाँसदाउरा गरिरहें, चम्पालाई सम्झेर रुन पनि मैले बाँच्नु पर्छ, बसन्तीको घाउ पुरिदिने मेरी चम्पालाई मैले भुल्नु हुँदैन ।
मेरो पागलपन दिनहरु त्यसरी नै बित्दै गए, म आफूलाई को हुँ र कहाँ छु के गर्दै छु, भन्ने कुराहरु पनि सबै बिर्सिंर्दै गएको थिएँ ।

एक अनौठो दिन –
म भञ्ज्याङमा बसेर पाखातिरको गुराँस एक चित्तले दृष्टिगोचर गरिरहेका बेला पछाडिबाट तर्साउन आइपुगी कोही, मलाई वास्ता भएन, किनकि मलाई थाहा छ यो अनुराधासिवाय अरु को हुन सक्छ । मैले कुनै चासो नदिएपछि त्यसले भनी किन यति दुखी भएर टोलाएको ?

मैले फर्किएर हेरें– आश्चर्य, बसन्ती !

बसन्ती त बनभरिको बसन्ती भएर आइछे, झन् रुप माथिको महारुप बोकेर, पाखा नै उज्यालो पारेर आई ।

म त अवाक् नै भएँ बोल्न नसकेर । त्यो मेरो छेउमा बसेर मेरा खबरहरु सोधी, मैले दुःख पोख्ने ठाउँ यतिखेर पाएको थिएँ र नै मैले एक थोपा आँशु नराखेर उसलाई रोइदिएँ । त्यो पनि सँगै रोई, शहरको अत्याधुनिक वातावरणले पनि रती नफेरिएकी बसन्तीले अन्त्यमा एउटै कुरा भनी, दुःख बिर्सिदिनु अब केही काललाई गाउँ छोडिदिनुपर्छ । एक पटक मैले त विश्वास पनि गरिन, त्यसले सबै योजनाहरु उनी र पापासमेतलाई यो कुरामा सहमति गराई, अनि हामीले यो गाउँ २०५३ सालमा छाडिदियौं ।

आज बसन्ती मसित छे र हाम्रा दुई बच्चाहरु छन्, उनका पल्टने पिता आउँछन् जान्छन् जुँगा बटारेर नाति र नातिनीलाई म्वाइ खाएर जान्छन्, जुँगाले घोचेर केटाकेटीहरु पर–पर भागेर बेपत्ता हुन्छन्, पल्टने ससुराले बच्चाहरुलाई मुठोमुठो पैसा छरिदिएर जान्छन् । मेरो पापा सुकुलमा बसेर तमाखु तान्दै पारिको सगरमाथासँग जुझ्नुहुन्छ । धेरै दु ःखपछिको मेरो सुख यो । मेरी चम्पालाई बसन्ती भारी सँगालेको छु ।

फुच्ची छोरी यतिखेर पनि दगुर्दै आएर भनी, पापा मामुलाई खोइ चुल्ठोमा गुराँस सिउरिदिनु भएको त ?

किन नि ?

आज पनि त नयाँ वर्ष २०७० ।

बसन्ती परबाट हाँसिरहेकी छे र म र मेरो पापा वर बाट ।

देविनबाबु राई, खोटाङ

(स्रोत : Vishwanews.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.