कथा : यो जिन्दगी यस्तै हो

~सुमलकुमार गुरुंग~Sumal Kumar Gurung

“नेपालबाट ट्रङ्ककाल आ’को छ मनप्रसादलाई छिट्टो बोलाएर ल्याउँ बत्तीस” भनेर कम्पनी बाबुजीले रनरलाई उसको आर्मी नम्बरबाट पुकारेर अह्राउँछ । रनर (सेनामा दस्तावेज र सञ्चारवाहकको काम गर्ने) दौडदै गएर छेउको ब्यारेक अघि हतियार सफा गरिरहेको मनप्रसादलाई खबर दिन्छ । मनप्रसाद ट्रङ्ककाल भन्ने बित्तिक्कै अतासिदै अफिसतिर दौडदै आएर क्लर्कको अघि ठिङ्ग उभ्यो । बाबुजीले, “एकैछिनपछि फोन आउँछ, एकैछिन् पर्ख मनप्रसाद” भन्यो । पल्टनमा क्लर्कको काम गर्नेलाई बाबुजी भनेर बोलाउने अझ पनि आर्मीमा चलन् छ ।

पाँचमिनट पछि फोनको घण्टी बज्छ । बाबुजीले फोन उठाउँछ अनि, “लौ कुरा गर” भनेर मनप्रसादलाई फोन दिन्छ । “दाइ ! बुबा एकदमै सिकिस्त हुनुहुन्छ छिट्टो छुट्टी मिलाएर आउनुहोला !” उताबाट माइलाभाइ सन्तोष हतासमा र व्यग्रभई दुःख मिश्रित अवाजमा बोलेको मनप्रसादले सुन्छ । “बुबालाई उपचारको लागि भारत लानुपर्छ दाइ यहाँको अस्पतालले केही गर्न सकिएन”… भाइ व्यग्र भएर गुहार मागे झैं प्रतीत हुन्छ । एक्कासी मुखको भाव परिवर्तन हुँदै उसको आँखाबाट आँशुका दानाहरु खस्छन् ।

“बुबा एकदमै सिकिस्त हुनुहुन्छ छिट्टो छुट्टी मिलाएर आउनु होला” भन्ने कुराले उसलाई एकदमै चिन्तित तुल्यायो । उसले, “केही फिकर नगर … म तुरुन्त आउँदैछु” भन्दै फोन् राख्यो । अप्रत्याशित खबरले गर्दा आवेगमा छु्ट्टीको लागि कम्पनी हवल्दार मेजर गजेन्द्र बहादुर रानालाई रिपोर्ट गर्न दौडन्छ । बिमारीको खबरले उसको मन विचलित तुल्यायो । ऊ अदृष्य भयमा आतङ्कित भयो ।

पल्टन भारत–पाकिस्तान सिमानामा पर्ने जम्मूको मेनधरमा सरुवा भएर ६ महिना अघिमात्र गएको थियो । घरको जेठो छोरा भएको हुनाले ठूलो जिम्मेवारी उसको काँधमाथि थियो । घरको आर्थिक अवस्थालाई सुदृढ बनाएर बुबाआमालाई सुखसित राख्छु भन्ने एकमात्र ईच्छा थियो उसको । ऊ वाध्यतावश लाहुरेको जागीरमा लाग्नु परेको थियो । अघिल्लो बिदामा ऊ घर गएको बेला बुबाको स्वास्थ्य राम्रो थिएन । उसले तत्काल डाक्टरलाई देखाउनुपर्छ भन्दा बुबाले बुढेसकालमा स्वास्थ्य यस्तै हुन्छ भनेर टारेको कुरा अहिले सम्झँदा झस्कन्छ ऊ । बुबालाई केही भयोकि भन्ने आशङ्का लाग्छ उसलाई । जीवनकालभरि दुःख गरेर आफु र ससाना भाइबहिनीहरुलाई हुर्काएका दिनहरु सम्झ्यो उसले । छोराहरुमाथिको भरोसाले गर्दा बुबा सँधै भन्ने गथ्र्यो.. मेरो पनि पालो आउलानी कुनै दिन.. । उसले तत्काल छुट्टीको लागि चढाएको निवेदनमा आकस्मिक २० दिनको छुट्टी मन्जुर भयो । कम्पनी कमाण्डर क्याप्टैन डोगराले मनप्रसादलाई आकस्मिक छुट्टी बढाउनु परे तुरुन्त टेलिग्राम गर्नु भनेर विदा दियो ।

ऊ गहभरि ऑशु र मनभरि विचलन बोकेर मेनधरबाट कानवाईमा (फौजीगाडीहरुको लस्कर) चढेर जम्मूतर्फ प्रस्थान गर्यो । उसलाई जम्मुका हरिया पहाडहरुले मौन विदाइ गरीरहेका थिए । आकाशमा उराठलाग्दो बादलका टुक्राहरु उसको मनभित्रका पींडाहरु बोक्दै ऊसँगै उडिरहेको भान भैरहेको थियो । मेनधर पछि रजौरी अनि पूँछ नाघेर आएपछि जम्मुतर्फ लाग्ने नागबेली बाटोहरुमा ऊ आफैलाई अतितमा पुगेको पाउँछ । बुबा भारतीय सेनामा ऊ जन्मेको केहीवर्ष पछि भर्ती भएको थियो । केही वर्षपछि ऊ बुबाआमासित गोरखालीहरुका प्रशिक्षणकेन्द्र, देहरादुनमा पुगेको थियो । त्यतिबेला ऊ ११ वर्षको थियो । उसको अरु भाइ बहिनीहरु थिएनन्, बुबाआमाको एक मात्र प्यारो छोरा । तिनताका उसको बुबा ५८ गोरखा प्रशिक्षण केन्द्रमा १÷५ गोरखा राइफल्सबाट सरुवा भएर आएको थियो । निकै समयको अन्तरालपछि २ भाइहरु र एक जना बहिनी जन्मेका थिए । केही वर्षपछि बुबालाई उच्च रक्तचापको बिमारी हुन्छ । बुबालाई बिमारको कारण शारीरिक असक्षमताले गर्दा तल्लो मेडिकल क्याटगरिमा राखिएको थियो । यसै बिमारीले गर्दा नोकरी पूरा नगर्दै बुबा मेडिकल पेन्शनमा निस्कनु पर्यो । बुबाको पेन्शन हुनसाथ प्रायः सबै लाहुरेका छोराहरु झैं ऊ पनि भर्ती भयो । गोर्खा हाइस्कुलबाट उसले मेट्रिकसम्मको मात्र पढाइ पूरा गरेको थियो ।

जीवनका पलहरु कति छिटो बित्छन्, सोची हेरे साह्रै छोटो लाग्छ । ऊ यस्तै कुराहरु सोच्दै आर्मीको गाडीमा पहाडी बाटोका घुम्तीहरु पार गरेर गन्तव्यतिर बढी रहेको थियो । बुबाको उमेर ५४ वर्ष पुगी सकेको थियो, तर, बिमारका कारण निकै बूढो देखिन्थ्यो । २ जना भाइहरु र बहिनी ससाना थिए । ती सबै देहरादूनमा जन्मेका थिए । बुबा पेन्शन निस्केको पनि १०, १२ वर्ष भइसक्यो । बुबालाई ती बच्चाहरुमाथि धेरै फिकर थियो । पछिल्लो पटक छुट्टी गएको बेला उसलाई बुबाले भनेका कुराहरु सम्झ्यो, ….हेर छोरा, जेठा ! हामीलाई तलमाथि केहीभयो भने यी भाइहरु र बहिनीलाई तैले हेर्नुपर्छ …तेरो आमा र म, हामी दुबै रोगी छौ, केही गर्न नसक्ने भयौ भाइहरु भर्खरै पढ्दैछन्… । उसले बुबाको हात समातेर, “हुन्छ बुबा… केही फिकर नगर्नु” भनेको थियो । यी नै सोचाइहरुमा जम्मुतविको ट्रान्जिट क्याम्प नआउन्जेल डुबिरह्यो ऊ ।

फेरि एउटा मीठो कल्पनामा डुब्छ ऊ । गाडी आफ्नो रफ्तारमा अहिले जम्मुतवितिर बग्दै गरेको नहर किनारका सडकमाथि अति नै वेगमा गुडिरहेको छ । उसको प्रेमिका, कमलाको बाटुलो अनुहार आँखाअघि तैरिदै आउँछ । आफुभन्दा तीनवर्ष कान्छी, कमलाको सम्झनाले मनभित्रको विषाद केहीबेर हराउँछ । झण्डै पाँच वर्षअघि ऊ तेश्रो पटक घरविदामा आउँदा गाउँमुनिको खोलामा गाउँका साथीहरुसँग माछा मार्न जाँदा उसको आँखा कमलामाथि टक्क अडेको थियो । कमलाको सुन्दर रुप, लावण्य र उसको भरभराउँदो यौवनमा ऊ निहाल भएको थियो । एक अर्कामा कुनै बोलचाल बिना नै आकर्षित भए दुबै । दिनभरि पटक् पटक् अरुलाई छल्दै माछा मार्ने क्रममा कमलालाई हेर्दा कमलाका आँखाहरुले पनि उसलाई नै पछ्याइरहेका थिए । दुबैका मुस्कान र निमन्त्रणाले एकअर्कालाई सहर्ष स्वीकारे । अनायसै दुबैका मनमा एकअर्काप्रतिको आकार्षण र चाहना बढेर आयो । त्यसै दिन बेलुकीपखतिर उनीहरुले एक पटक एकान्तमा कुरा गर्ने मौका पाउँछन् ।

“के नाम हो तिम्रो” सँकोच दूर गर्ने प्रयासमा मनप्रसादले पहिले सोध्छ ।
“कमला ! मेरो नाम कमला ! यो दाइ आफ्नै गाउँकोलाई पनि नचिन्ने” लजाउँदै उत्तर दिईन् कमलाले ।
“मलाई के थाहा सानैमा परदेश लागे, गाउँकाहरुलाई धेरै चिन्दिनँ… मेरो नाम थाहा छ तिमलाई ?”
“थाहा छ तपाई पल्लो घरे लाहुरे, धन बहादुरका जेठा छोरा मन प्रसाद” खिसिक्क हाँस्छिन् र मुख रातो बनाउँदै अलि अत्तिन्छिन् । मनप्रसाद उसको हाँसो र कुराहरुमा मोहित हुन्छ । चाहना र प्रेमको पखेटाले मानौ प्रेमको नीलो आकाश विचरण गर्न पहिलो जमर्को यानेकि त्यो पहिलो कदम झै दुबैलाई अनुभूत हुन्छ । एउटा मीठो ठेसले कता कता आनन्द बौलाए झै हुन्छ । मनको ढुकढुकी अलि वेगमा गतिमान हुन्छ । एकछिन्सम्म दुबैका आँखा एकअर्काभित्रको गहिराईलाई अनुभूति गर्दै रल्ल पर्छन् । कमला लजाउँछिन् र टाउँको निहुँराउँदै भुइँतिर हेरेर बोल्छिन—

“भरे हामी तपाईको घरमा आउँछौनी.. आमाटोलीसँगै”
“किन आउने हो र ?” ऊ मुसुमुसु हाँस्दै सोध्छ ।
“लाहुरे आको घरमा आमाटोली आउछन् तपाईलाई था’ छैन” खिस्स हाँस्छिन् एउटा उन्मुक्त हाँसो । सँकोच उडेर गयो कमलाको मनबाट, ऊ अलि उघ्रिएर कुरा गर्न थाल्छिन् ।
“अँ हँ मलाई थाहाछैन किन हो र?”
“चन्दाको लागि, हाम्रो गाउँमा पानीको दुःख छ त्यसैले मूलडाँडाबाट पानी ल्याउने रकम जुटाउन नी”
“ओहो कति राम्रो कुरा ल हुन्छ आउँ है” भनेर छुट्छन् दुबै जना । एकैछिन्को वार्तालापमा युग–युगान्तार देखि सँगै रहेको अनुभूति गर्छन् दुबैले । मनप्रसादलाई कमलाको निश्छल कञ्चनजस्तो स्वभाव र रुपले मोहित पार्यो । घर नपुन्जेल कमलाको बारेमा सोच्दै उकालो लागेको थियो ।

आमाले, “छोरा आईस्… आज आमाटोली आउँदैछ घरमा… लौ तिमी पनि भोकाको होला खाजा खाउ बाबु” । आमाले थालमा खाजा पस्काईन् । खाजा खाँदै उसले भन्यो … हो आमा मलाई कमलाले भनेकी थिईन्…। आमाले चुल्हामा आगो फुक्दै भन्छिन्.. ए कमला ! एकदमै राम्री केटी हुन् …शीलस्वभाव राम्रो छ, टुहूरी हुन् मामामाइज्यूले सानैबाट पालेको .. बुबाआमा उहिले नै बितेका रहेछन्..कठैबरा.. भन्दै बेलुकि घरमा आउने समुहका लागि खानपिनको तयारीमा जुटिन् । आमाको कुरा सुनेर मनप्रसादको मनमा कमलाप्रति सहानुभूति र अनुराग बढेर आउँछ । उसको मनभित्र पलाएको प्रीतिको मुनाले जडा गाड्यो । त्यस साँझ बेसरी रमाइलो ग¥यो । लाहुरेले ल्याएका दुईचार बोतल रम खाली भयो । रमको रमझममा गाउँका आमासमुह, टोलछिमेकका ठिटाठिटिनीहरुको दोहोरी गीत र नाचले मनप्रसादको घर गुञ्जायमान भयो । सबैले अबेर रातसम्म रमाइलो गरे । बुबाले नाङ्लीभरि फूल, अक्षता र दाम दिएर बिदा गर्यो । मनप्रसाद त्यसपछिका दिनहरुमा कमलाको एक झलक हेर्न र भेट्न आतुर रहन थाल्यो । आँखाअघि त्यही कमलाको हिस्सी परेकी मुहार आउँथ्यो । उता कमलाको पनि त्यही हाल थियो । बलिष्ठ जिउडाल, लक्का जवान र सुदर्शनरुपी मनप्रसादलाई देख्ने बित्तिकै कमला पनि कायल भएकी थिईन् । माया मौलाउँदै गयो । अनुभूतिको करुणा हुँदै गहिरो प्रीतिको सागरभित्र उमङग र अल्हाद बीच डुबे यी दुबै । प्रत्येक पलको ढुकढुकीमा बज्न थाल्यो प्रेमको झन्कार यी दुबैका मनमा । एकले अर्काको तस्बीर मनमन्दिरमा सदाका लागि सजाए ।

हिमालमा घामको किरण नटेक्दै घरबाट झण्डै एक किलोमिटर पर धारामा पानी भर्न गाउँका युवतीहरु सबेरै पुग्छन् । मनप्रसाद पनि बिहानै उठेर नित्यकर्म गर्न त्यतै जान्छ । केवल एउटा निहुँ कमलालाई भेट्ने । बाटोमा गागरी बोकेर कमला सँधै बिहान कुर्छिन् मनप्रसादको लागि । यो सिलसिला छुट्टी अवधिभरि रहिरहन्छ । देउराली, भञ्ज्याङ, बनपाखा र छहराहरु ती दुईक प्रेमका साक्षी बने । यसरि चार महिनाको छुट्टी सकियो । यस्ता मीठा क्षणहरु बितेर गएको थाहा नै भएन । मनप्रसादको छुट्टीभित्र बुबाआमाले विवाह गर्ने कुरा मनप्रसाद लाई भने । उसले बुबाआमालाई हतार नगरौ अहिलेलाई भनेर टारेको थियो । यतिबेला कमलाको सम्झनामा केही पल क्षणिक सुखद अनुभूति मनमा पलाउँछ, तर, जम्मुतवि आइपुग्दा फेरि बुबाको बिमारीको पीरले ऊ चिन्तित हुन्छ ।

ऊ भोलीपल्ट रेल चढेर गोरखपुर, नौतनवा अनि सुनौलीहुँदै बस चढेर पोखरासम्म आइपुग्दा तीन दिन लागेको थियो । मनभित्र उसलाई चयन थिएन, एउटा अतासले डेरा गरेको थियो । उसको आशङ्का सहि हुन्छ । घरमा पुग्दा ऊ घरको माहोल देखेर निस्तब्ध हुन्छ । बुबाले सँसार त्यागेर गईसकेछ । उसलाई देख्नेबित्तिकै सबैजना डाँको छाडेर रोए । भाग्यको खेल मान्छेले चिताए जस्तो कहाँ हुन्छ र ? बुबाले भनेको कुराहरु सम्झ्यो उसले… मेरापनि छोराहरु छन् मेरोपनि पालो आउला नि … तर, बुबाको सपना कहिल्यै पुरा भएन । आमाको हालत एकदमै दयानीय थियो । ऊ एकदमै कमजोर र बिमारी थिईन् । बुबाको काजकिरियामा उसलाई बढी चिन्ता आमाको थियो । भनिन्छ दशाले शाखा सन्तान बोकेर ल्याउँछ । बुबाको किरिया उम्काउन नपाउँदै नवौ दिनमा ऊ गएको चारदिनपछि आमा पनि आचानक सदाकालागि सबै परिवारलाई दुःखको भूमरीभित्र छाडेर आफ्नै पतिलाई भेट्न गईन् । यो अप्रत्याशित दोहोरो चोटमा ऊ एकदमै मर्माहात भयो । भाइहरु र बहिनीको मुख हेरेर ऊ अझ विचलित हुन पुग्यो । …हे भगवान यो के भयो भन्दै ऊ भगवानलाई पुकार्छ । जीवनको यथार्थ तितो हुन्छ । मर्ने मरेर गए पनि बाँच्ने जति बाँच्नु नै पर्छ भन्ने सोच लिँदै उसले मनमनै अठोट लिँदै म टुहुरा भए पनि यी बच्चाहरुलाई टुहुरो हुन दिन्न भन्ने सङ्कल्प गर्यो । अब उसको काँधमाथि झन् ठुलो जिम्मेवारी थप्यो । भाइहरु र बहिनीलाई सम्झाएर यथार्थसँग जुझ्ने प्रेरणा दियो उसले । ती बच्चाहरुलाई हुर्काउने र पढाउने उसले सोच बनायो । कलिला भाइहरु र बहिनीको अभिभावक बनेर जीवन गुजार्ने सङ्कल्प ग¥यो । उसलाई ठूलो चिन्ताले पिरोलिरहेको थियो । जागीर नगरी घरपरिवार थेग्न गाह्रो हुन्छ । यी बच्चाहरुलाई छाडेर कसरि जागीर गर्न जाने भन्ने पिर थियो उसलाई । उसका आफन्तहरुमा तीनचार पुस्ता पहिले छुट्टिएका भाइहरुको व्यवहार उनीहरुप्रति त्यति राम्रो थिएन । यसबेला कमलामात्र एक थिईन् जसले मनप्रसादको भावना र पीडालाई बुझेकी थिईन् । स्वयम् ऊ पनि मनप्रसादको दुःखमा दुःखी रहेकी थिईन् ।

कमलाको मामा–माइज्यूलाई कमला र मनप्रसादको सम्बन्धबारे थाहा थियो । मामा–माइज्युकोमा पल्टन फर्कनु अघि मनप्रसाद गएर आफ्नो दुःखेसो पोख्दै केही राय सल्लाह माग्यो । उसले अर्कोवर्ष बुबा–आमाको अन्त्येष्टिको एकवर्ष पछि कमलालाई विवाह गर्ने विचार पोख्यो । उनीहरुले मनप्रसादलाई पहिलेदेखि नै मन पराएका थिए । अतः सहर्ष स्वीकार गरे । कमलाले आँखाभरि आँशु बगाउँदै, “मनु म तपाईकी नै हुँ, ढुक्क हुनुहोस … सबै जिम्मेवारी म सम्भाल्ने छु” भनिन् । “तपाई पल्टन जानुहोस, सबै ठीक हुनेछ म भाइहरु र बहिनीको देखभाल गर्नेछु” भनेर मनप्रसादलाई ढाडस दिँदै उसको प्रेरणा बनिन् । कमलाको कुरामा मनप्रसाद भावविव्हल भयो । कमला अहिले उसको ठुलो विश्वास बनेर उभेकी थिईन् जन्म जन्मान्तारका लागि । पल्टनमा थप छुट्टी बढाएर सबै काजकिरिया सकेपछि पल्टनतिर अमिलो मन लिएर घरको जिम्मेवारी भाइहरु, बहिनी र कमलालाई सम्झाएर जागीरमा गयो । ऊ सोच्छ, जीवन संघर्ष हो, मान्छेले जुझ्नै पर्छ ।

मनप्रसाद ठीक एकवर्षपछि छुट्टी आयो । अर्को साल बुबाआमाको अन्त्येष्टिको वर्षी पछि सामन्य तवरमा अग्निलाई साक्षी राखेर कमलाको सिउँदोमा मनप्रसादले सिन्दुर हाल्यो र जुनी जुनीका लागि एक भएर रहने दुबैले वाचा गरे । एउटै सपना लिएर जीवन जिउने अध्यय थपे दुबैले । मनप्रसादको माइला भाइ सन्तोषले उसले विवाह गरेको दुईवर्ष पछि एसएलसी पहिलो श्रेणीमा उतिर्ण गर्यो । बुबा–आमा बित्ने सालमा माइला सातमा, कान्छा भाइ अमृत पाँचमा र बहिनी ३ कक्षामा पढ्दै थिईन् । माइला ठुलै भईसकेको थियो तर बहिनी सानै थिईन् । यी स–साना कलिला भाइहरु र बहिनीका लागि कमला र मनप्रसादले सन्तान नजन्माई उनीहरुका भविष्य निर्माणमा लागेका थिए । कति ठूलो त्याग र निःस्वार्थ भावना । भाइहरुलाई सकुन्जेल पढाएर उनीहरुका खुट्टामा उभ्याउने र बहिनी सँगितालाई पढाएर राम्रो घरमा विवाह गरिदिने सपना बोकेका थिए दुबैले । एसएसएलसी पछि सन्तोष पीएन क्याम्पस, पोखरामा डेरा गरेर पढ्न थाल्यो । यसले मनप्रसादलाई ठूलो खुशी दिएको थियो । आफूले मेट्रिकदेखि बढी पढ्न नपाए तापनि भाइहरुलाई पढाउने उसको लक्ष्य छ ।

सन्तोषको लागि सबैकुरामा केही कमी राखेन उसले । गाउँमा अमृत र सँगिता कमलाको छहारीमा राम्रैसँग पढ्दै थिए । सन्तोषको आईकमको फाईनल दिएपछि नेपाली सेनामा जागीर खाने विचार आयो, तर, मनप्रसादले तिमी पढ्दै जाउ खर्चको फिकर नगर भनेको थियो । यसैबेला अमृतले पनि एसएलसी दिईसकेको थियो । सँगिता आठमा पढ्दै थिईन् । सन्तोषको आईकमको फाईनल रिजल्ट निस्क्यो । ऊ यसपाली पनि प्रथम श्रेणीमा नै उत्तिर्ण भयो । परिवारमा सबै खुशी भए । उसले पढाइ छाडेर नेपाल आर्मीमा कमिसनका लागि भिड्ने विचारले आवेदान फारम भर्यो । ऊ भित्र अफिसर बन्ने आत्मविश्वास थियो । नेपाल आर्मीका लागि जाँच दिने पेपरहरु अध्ययन र शारीरिक तन्दुरुस्तीका लागि नियमित व्ययाम गर्न थालेको थियो । यहि बेला अमृतको एसएलसी रिजल्ट निस्क्यो । ऊ पनि एसएलसी प्रथम श्रेणीमा उतिर्ण भयो । घरमा हर्कबढाइँ भयो । दाइलाई तुरुन्त खबर पठायो ।

सन्तोषलाई भाग्य र मेहेनेतले साथ दियो । कमला आज निकै खुशी छिन् । उनीहरुको विवाह भएको पनि सात वर्ष बितिसकेको छ । तर, मनप्रसाद र कमलाले अझ सन्तान जन्माएका छैनन् । उनीहरुका सङ्कल्प भाइहरुलाई पढाउने, उनीहरुलाई खुट्टामा उभ्याउने र बहिनीलाई पढाएर राम्रो खानदनामा विवाह गराई दिने मात्र थियो । आज सन्तोषले सेकेण्ड लेफ्टिनेन्टको फुलि लगाउने दिन हो । मनप्रसाद पल्टनमा नै छ तर कमला आज सन्तोषको दिक्षान्त समारोहमा सहभागी भएर परेड हेर्दै छिन् । कमला गर्व महशुस गर्छिन् । कमलालाई आफैले जन्माएको छोराले फुली लगाईरहेको अनुभूति गर्छिन् ।

अमृतले पनि आईए पास गरेर प्रहरीमा असईको तालीम गर्र्दैछ । सँगिता पनि एसएलसी परिक्षामा बसेकी छिन् । मनप्रसादको सपनाहरु पूरा भइरहेको छ । ऊ यति बेला सम्झन्छ… यदि बुबा–आमा बाँचेको भए कति खुशी हुन्थे होलान् …। भाइहरु र बहिनीलाई बुबा–आमाको कमी महशुस कहिल्यै हुन दिएन उसले । उसको भारतीय सेनाको सेवा पनि १४ वर्ष पुगी सकेको छ । अब ३ वर्षपछि पेन्शन निस्केर कमलासँग भावी जिन्दगी सदाको लागि सँगै रहेर बिताउने सपना बुन्दै ३ सालको लागि कम्मर कसेर नोकरी गर्र्दैछ । अब केवल बहिनीलाई क्याम्पस पढाउने र राम्रो केटा पाए विवाह गरिदिने सोच दुबै दम्पतिको छ ।

मनप्रसाद पेन्शन निस्केर आएको वर्षदिन जति भयो । भाग्यले पनि साथ दियो उसलाई । गाउँको प्राइमरी स्कुलमा पढाउने गाउँका बूढो मास्टर पेन्सन निस्कनै आँटेको बेलामा ऊ पुगेको थियो । त्यसै बेलामा उसैको ठाउँमा मनप्रसादले निवेदन चढायो । उसलाई सञ्चालक समितिले शिक्षकका लागि चयन गर्यो । अब ऊ गाउँमा मास्टर बन्यो । मनप्रसादको पेन्सन, मास्टरको तलब तथा खेतीकिसानबाट आएको श्रोतले उनीहरुका जीवनरथ् सुगमतासाथ गुड्न थाल्यो । सन्तोष अहिले बागलुङमा सरुवा भएर गएको छ । ऊ लेफ्टिनेन्ट भइसकेको छ । अमृतको पनि तालीम समाप्त भयो । उसले नेपालगञ्जमा प्रहरी दरबन्दी पाईसकेको छ ।

डेढवर्षपछि खुशीको दिन आयो । आज सँगिताको विवाहको दिन । बहिनीको विवाहको बेला भाइहरु घर आए । आज तीनै दाइहरुका हातबाट बहिनीलाई कन्यादान दिंदै छन् । बाजागाजाको साथ जन्ती आएको छ । पुरा गाउँनै विवाह हेर्न उर्लेर आएका छन् । गाउँका रिट्ठे साहुको जेठा छोरा खगेन्द्रसँग सँगिताको विवाह धुमधाम सँग सम्पन्न भयो । मनप्रसादले आफुले बचत गरेको सञ्चय कोष र पेन्शनको पुरा पैसा मध्ये केही पैसा भाइहरु र बहिनीको पढाइमा खर्चेको थियो । बाँकी रहेको रकमबाट बहिनीको विवाह धुमधामसँग सम्पन्न गर्यो । एकाधले भने… मनप्रसाद जस्तो सपुतको छोरा र कमला जस्ती लछिन्की बुहारी सबैले पाउन् । कसैले भने… विचरा.. भाइहरु र बहिनीका लागि सन्तान नजन्माई यसरी त्यागी बनेर छहारी दिने दाइ भाइज्यु यो कलीमा पनि हुँदो रहेछ …भनेर उनीहरुका प्रशंसा गरेका थिए । भाइहरु र बहिनीका लागि उसले अभिभावक बनेर गर्नु पर्ने कर्तव्य निभायो । उसलाई आज कता कता ठुलो चयन मिलेको छ । तर, सन्तानको खुसी हेर्ने बुबा–आमा थिएनन् । मनप्रसाद सोच्दछ यो बुबा–आमाको नै आशीर्वादको फल हो ।

दुलही, बहिनीलाई बाजागाजा बजाउँदै दुल्हाले लग्यो । भोलिपल्ट भाइहरु आ–आफ्ना काममा गए । घरमा केवल मनप्रसाद र कमला थिए । कमला भन्दै थिईन्, “जीवनमा धेरै दुःख गर्यौ अब हाम्रो पनि सुखको दिन आउलानी मनु !” । प्रत्युत्तरमा मनप्रसाद बोल्छ, “आउँछ कमला… खुशीको दिन आई सक्यो नि” । कमलालाई अँगालोमा बाँधेर कुराकानी गर्दा दुबैका आँखामा खुशीका दुईदाना आँशु टिलबिलाइरहेका थिए ।

दिन, सप्ताह र महिना बित्यो । तेश्रो महिनामा कमला दुई जिउकी भईन् । मनप्रसादको खुशीले आकाश र भुइँ सारा जगत नै ओगट्यो । यो खबरमा भाइहरु र बहिनी खुशी भए । विवाह भएको यतिका वर्षपछि तपस्य गरे सरह सन्तान लाभ गर्न पाउँदा कसलाई खुशी नहोला ? । समय पुगेपछि कमलाले लोर्के छोरा जन्माईन् । खुशी यी दम्पतिका अँगनमा स्वर्गबाट अवतरण गरे भैm खुशीको माहोल बित्दा नबित्दै वर्षदिन पछि फेरि कमला दुई जिउकी हुन्छिन् । यसपाली पनि कमलाले छोरा नै जन्माईन् । घरमा खुशीको माहोल थपी रहेको छ मानौ भाग्य घरभरि उदाएको छ । वर्षौटे छोराहरु जन्मेपछि मनप्रसाद र कमलालाई सन्तानको रहर पुगेको छ । उनीहरु ढुक्क छन्, खुशी छन् । यसरी दुई सन्तान पाई सकेपछि दुई दम्पतिलाई तिनीहरुका स्याहार धन्दामा दिन बितेको थाहा नै हुँदैन । मनप्रसाद अत्यन्त उत्साहित हुँदै खेतीकिसान र मास्टरी पेशामा व्यस्त रहँदै जीवनको आनन्दमा मक्ख छन् । भाइहरु आ—आफ्नो जागीरमा थिए । कहिलेकाँही घर आउथे उनीहरुका खुशी दुबो जसरी मौलाई रहेको थियो । मनप्रसाद र कमला अब भाइहरुको विवाह कुलघरानको कन्याहरुसँग गरिदिने सोचमा थिए । जीवन यसरी हाँसिरहेको थियो कि उनीहरु आफैमा भुलेका थिए ।

सन्तोष पदोन्नति भएर कप्तान भईसकेको थियो भने अमृत पनि सईमा पदोन्नति भइसकेको थियो । आचानक दशैंताका सन्तोषले एक जना बुहारी थाहा नै नदिई सुटुक्क विवाह गरेर घर भित्र्यायो । दाइभाउज्युले विवाहका लागि सोचीरहेको बेलामा आफै बुहारी भित्र्याएकोमा झनै खुशी भए । अब घरमा जेठानी देउरानी मिलेर बसौला भन्ने कमलाले मीठो सपना बुनिन् । तर, केहीदिन पछि सन्तोषको छुट्टी पछि काठमार्डौ नै फर्केर गईन् देउरानी । सन्तोषको श्रीमति आफ्नै कर्नलसाबकी छोरी उमा थिइन् । शहरमा हुर्केकी एउटी मात्रै छोरी, केहीदिन पछि गाउँले माहोलबाट उक्ताईन् । शहर आफ्नै घर बस्ने विचार गरिन् । सन्तोषले केही विरोध गर्न सकेन । कमलाको देउरानी सँग बस्ने सपना सपना नै रह्यो । फेरि पनि उनीहरु सन्तोष र उमाको खुशी नै आफ्नो खुशी सम्झेर कहिलेकाँही आउँदै गर्नु भनेर गहभरि आँशु लिँदै विदा गरे ।

विवाहपूर्व सन्तोषले दाइभाउज्युलाई केही पैसा पठाउने गथ्र्यो । विदा पाउने बित्तिकै दाइभाउज्युको आशीर्वाद थाप्न आतुर भएर आउँथे । तर, विवाहपश्चात् उसको गाउँ आउने फुर्सतमा कमी आएको छ । अहिले ऊ विस्तारै काठमाडौतिर नै पत्नीको आगोशमा हराउन थालेको छ । पत्नीको माइतीतिरका परिवेशभित्र ऊ हराउँदै गयो । दाइभाउज्युको सम्झनाबाट पनि टाढिन पुग्यो । चिट्ठीपत्र, खबर पनि पठाउन छाडे । आचनक यो परिवर्तनमा शायद नयाँ नयाँ विवाह पत्नीमोहले होला भनठाने दाइभाउज्युले । तर, उनीहरुले अरुबाट सञ्चो बिसञ्चो खबर पाउने गर्थे । दशैंमा पनि टिका थाप्न आएनन् सन्तोष र उमा । तर, यस सालको दशैंमा अमृतले सन्तोषको कपी गरे जस्तै एउटी अति राम्री दुलही दाइभाउज्युलाई चालै नदिई सुटुक्क घरमा भित्र्यायो । तराईमा सरुवा भएर गएको अमृतले आफ्नै स्वजाती केटी ल्याएकीमा दाइभाउज्यु अति नै खुशी भए । सन्तोषको सम्भmना र ऊ दशैमा नआएको वितृष्णा अमृतको खुशीभित्र रुमालियो । यसपालीको दशैमा पोहोर जस्तै छरछिमेकका भाइखलक जोडेर नयाँ दुल्हा दुलहीको टिकाटाला गरे मनप्रसाद र कमलाले । मनप्रसाद र कमला ढुक्क थिए अब । सबै जनाको विवाहको झन्झट टुङ्ग्यो । यसरी भाइहरु र बहिनीको विवाह भइसकेकाले परमेश्वरलाई धन्यवाद दिए दुबैले । कमला सोच्दै थिईन् माइली देवरानी काठमाडौ बसे पनि कान्छी देउरानी सँगै बस्लान् । अमृत आफ्नो विदा सकेपछि तराईको दरबन्दीमा पुनः ड्युटीमा गएको ३ महिनापछि कान्छी बुहारी सुशीला पनि अमृत भएकोमा जाने विचार प्रकट गरिन् । दाइभाउज्युले सहर्ष कोसेली सहित उसलाई पठाए । तर, कान्छी बुहारी पनि त्यसपछि कहिल्यै फर्कीनन् ।

सन्तोष सुडानमा राष्ट्रसँघको सुरक्षा दस्तामा ६ महिनाका लागि गएको थाहा पायो मनप्रसादले । विदेश गएको सन्तोष यसपालीको दशैमा आउने कुरा नै थिएन, तर, उसको अनुपस्थितिमा दुलही उमा आउने कुरा नै थिएन । शुसीला र अमृत पनि आएनन् दशैमा । उनीहरुका बाटो कुरेका मनप्रसाद र कमला यसपालीको दशैमा पनि निराश भए । उनीहरु पनि विदामा आएनन् । दशैं सँस्कार र परम्पराको बलियो सम्बन्ध गाँस्ने पर्व । आशा, खुशी र सपनाहरुको दियो बाल्ने दशैतिहारमा मान्छेले आफ्नो परिवारजन् सँगै नहुँदाको अमिलो अनुभूति निकै नै निराशजनक हुन्छ । जीवनमा पहिलोचोटि उनीहरुलाई एक प्रकारको नरमाइलो लाग्यो । मनप्रसादले कमलालाई सम्झायो, “केही फिकर नगर कमला… जीवन यस्तै हो उनीहरु आउँलान् .. भरोसा राख… उनीहरुलाई भगवानले खुशी दिउन्” । उनीहरुलाई आफ्नो सन्तानभन्दा बढी माया गर्ने कमला दुःखित हुन्छिन् र भन्छिन् .. हामीबाट त केही गल्ति भएको जस्तो लाग्दैन मनु.. किन हँ? मनप्रसादले निश्चिन्त भएर बोल्छ.. कमला उनीहरु आफ्नै जीवनसँग व्यस्त छन्… केही फिकर नगरौ.. भनेर टाउको सुमसुम्याउँदै उसलाई न्यानो अँगालोभित्र राख्छ । आफ्नो ससाना छोराहरुलाई टीका र आशीर्वाद दिएर जीवनको खुशी बाँडने प्रयास गरे ।

समय बित्दैछ । छोराहरु बढ्दै गईरहेका छन् । स–साना झ्योलाहरु बोकेर चौतारीको स्कुलमा पढ्न जान्छन् । भाइबुहारीहरु विस्तारै टाढीदै गएको मनप्रसादलाई अनुभूति भईरहेको छ । तीनवर्ष देखि अकल झुकल एकाध दिनका लागि भाइहरु घर आए तर बुहारीहरु आएनन् । दाइभाउज्युले उनीहरुलाई घर ल्याउने आग्रह गरे तर उनीहरु आएनन् । उनीहरुले बुहारीहरु शहरवासी भएकाले शहरतिर नै रमाएका होलान् भन्ने सोचे । सन्तोष र अमृतको पनि एक एक जना छोराहरु जन्मेका छन् । उनीहरु आफ्नै सँसारमा व्यस्त छन् । मनप्रसाद सोच्छ, शायद यहि व्यस्तताले गाउँ भुलेका होलान् । बुबाआमाले टुहुरो बनाएर गए तापनि टुहुरोका अनूभुति हुन दिएको थिएन मनप्रसादले । दुःख गरेर आफ्नो कमाईको सबै पैसा उनीहरुमाथि खर्च गरेको थियो । उनीहरुका लागि सन्तान नजन्माई उनीहरुकै भविष्य निर्माणमा जोतिएका थिए दुवै निकै वर्षसम्म । तर, अहिले समयले नेटो काट्यो, बेग्ले भयो यो समय । भाइहरु र बहिनी पछि अब फेरि आफ्नै बच्चाहरुका माली बनी जीवन निर्माण गर्न दम्पती कस्सिएको छ ।

मनप्रसादको उमेरले चालीस नाघ्यो । कमला पनि चालीसकी हुन आँटिन् । फेरि यस उमेरमा कमला दुई जिउकी बनिन् । यसपाली एउटी पूर्णिमाको जून जस्ती छोरी जन्मीन् । मनप्रसाद र कमला साह्रै खुशी भए । भाइहरु र बहिनीका भविष्य निर्माणका लागि उनीहरुले आफ्नो सन्तान जन्माउने उर्बर समय खेर नफालेको भए यतिबेलासम्म सन्तान जन्माएर पनि उनीहरुका सन्तान हुर्किसकेका हुन्थे । छोरीलाई भगवानको प्रसाद सम्झेर उनीहरु ती स—साना बच्चाहरुका भविष्य निर्माणका लागि जीवन सँघर्षमा जुटी रहे । पौरख र मिहिनेतमा विश्वास राख्नेले सँसार सुखमय बनाउँछ भन्ने कुरामा दुबै जना बिश्वास गर्छन् । मनप्रसादको पेन्शन रकम, मास्टरको तलब र खेती किसानबाट जेनतेन जीवन निर्वाह भईरहेको छ ।

दाइभाउज्युको दुःख र त्याग भुले भाइहरुले आफ्नै सानो सँसारको परिधिभित्र हराउँदा । सन्तोष र अमृतले शहरमा घरेटीहरु किनेर घर बनाएको खबर मनप्रसाद र कमलाले सुने । उनीहरुलाई खुशी नै लाग्यो यो खबरले । गाउँमा मनप्रसादका छोराहरु पनि हुर्कदैछन् । सानी छोरी, अम्बिका स्कुल जान्छे । अब यी बच्चाहरुलाई उच्च शिक्षाकालागि अझ खट्नु पर्छ भन्ने आकाङ्क्षा बोक्दै यी दम्पती जोतिएको छ एउटा सपना बुनेर । बेलाबखत बहिनी माइत भेट्न आउँदा ठूलदाइबाहेक अरु दाइहरुसँग भेटघाट भएको छैन । ऊ कमला भाउज्यु र ठूलदाइसँग दुःखसुखको कुरा गर्न बेलाबखत माइत आउछिन् र घर फर्किन्छिन् ।

समयको रङ्ग विस्तारै उनीहरुका मुहारमा पोतिदै छ । उनीहरु बूढा बूढी हुन थाले । छोरा अर्जुनले यसपाली एसएलसी दिदैछ र अर्को साल कान्छा छोरा गोपालको एसएलसी दिने पालो हो । कक्षामा सँधै उत्कृष्ट अङ्क लिँदै यी दुई छोराहरु प्रथम हुँदै आएका छन् । मनप्रसादले यी छोराहरुको प्रगति देखेर आफूले जसरी पनि पढाउने लक्ष्य राखेको छ । छोराहरु र छोरीको भविष्य निर्माणतर्फ दुई पतिपत्नी दृढ सङ्कल्प लिएर जिन्दगी अघि बढाइरहेका छन् । उसलाई भाइहरुबारे केही गुनासो छैन ननै कमलालाई यस कुरामा गुनासो छ । अफ्सोस केवल उनीहरु बेला बखत भेट्न नआउनाले चिन्तित हुन्छन् कहिलेकाँहि । उनीहरुलाई अभिभावक बनेर हुर्कायो, पढायो र आफ्नै सन्तान भन्दा बढी माया गरेका थिए ती दम्पतीले ।

भाइहरुले प्रगति गरेका छन् । माइला मेजर पदमा पदोन्नति भइसकेको खबर उनीहरुले सुने । धेरै खुशी लागेको छ उनीहरुलाई । कान्छा पनि भखैरै इन्स्पेक्टर भयो रे भन्ने खबरले उनीहरु अझ खुशी हुन्छन् । खुशीको अनुभूतिमाझ उनीहरुका मनमा एउटा सानो पींडाको टीश कता कता पलाउँछ । दाइ–भाउज्युको आशा झिनो हुँदैछ ।…के उनीहरुले बिर्से? .. सोच्छन् दुबैले उनीहरु आफ्नै सँसारमा रमाए होलान् ..कुनै दिन भाइहरु र बुहारीहरु सपरिवार भेट्न आउलान् भन्ने आशामा छन् ती दुई ..कठै उनीहरुले किन बिर्सेलान् ? भनेर दिन गनिरहेका छन् ती दुबैले । तर, समय समात्न सकिन्न, निकै अबेर भयो यो गतिलिने जिन्दगी ।

मनप्रसादले कमलालाई भन्छ, “कमला भाइहरु भेट्न आउलान नी मलाई” भनेर पिंढीको डिलमा बसेर पारी डाँडामाथिको क्षितिजतिर एकहोरो हेर्छ । कमला भन्छिन, “अवश्य आउलान उनीहरु सपरिवार कुनै दिन” दुबै जना एकअर्काको आँखाबाट चाउरिएका गाला हुँदै तप् तप् खसिरहेका आँशुका दानाहरु पुछिरहेका थिए । अर्जुन र गोपालले भित्रबाट बुबा र आमाका कुरा सुने । उनीहरु बाहिर निस्के पिंढीमा । बुबाको गालाका आँसुहरु पुछ्दै गोपालले, “बुबा ! यो हाम्रो सानो सँसारमा हामी खुशी छौ, आँशु खसाउने होइन” भन्दै बुबाको आँसु पुछ्यो । अर्जुनले आमाको आँशु पुछ्दै, “आमा ! हाम्रो स्वर्ग समान परिवारमा के कमी रह्यो र आमा ! नसम्झनु कसैलाई” भन्यो । यतिन्जेल सम्म आठवर्षकी छोरी अम्बिकाले पनि सबैलाई हेरिरहेकी थिईन् अनि फ्याट्ट भन्छिन्, “यो जिन्दगी यस्तै हो” । कुन्नी अम्बिकाले के बुझिन् । ऊ हाँस्दै बुबा–आमाको गाला मुसार्दै फेरि भन्छिन्, “यो जिन्दगी यस्तै हो रुन हुँदैन” । मनप्रसाद र कमला आफुले जन्माएका सन्तानहरुको अनुभूतिमा जिल परे । मनप्रसाद र कमलालाई सायद भाइहरु परिवार भित्र हराए होलान् भन्ने अनुभूति हुन्छ । अनि…’हो यो जिन्गी यस्तै हो’ भनेर छोरीलाई गालामा म्वाई खान्छन् दुबैले ।

(स्रोत : Ghatanarabichar)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.