~मोतीराज बम~
जब उर्लन्छ वेगले धनवान खहरे
तब गतिहीन भएर बग्छ विवेकको नदी
जब मडारिँदै तमासा देखाउँछ क्षितिजमा
दम्भको कालो बादल
तब लुसुक्क किनारा लाग्छ क्षमताको किरण
जब हुङ्कार गर्छ आडम्बर हुरी बनेर सर्वत्र
तब निहुरिन्छ आफैँ स्वाभिमानको धुपिसल्ला
भन्न त भन्छन्
हिङ नभए पनि हिङ बाँधेको टालो छ
बाघ नभए पनि बाघ बसेको ढुङ्गो डरलाग्दो हुन्छ
भएर के गर्नु
धन छैन भने कोही पनि छैन यो जमानामा आफ्नो
छिमेकीको के कुरा
दाजुभाइ पनि आफ्नो हुँदैन
दाजुभाइको के कुरा
आफ्नै बा–आमा पनि आफ्नो हुँदैन
जति लायक वाक्य बोले पनि
त्यो नालायक बन्छ धनको अगाडि
जति जायज कुरा गरे पनि
त्यो नाजायज हुन्छ धनको अगाडि
धनभन्दा मन ठूलो भन्थे मान्छेहरू
त्यो बकवासजस्तो लाग्छ आजभोलि
तरबारभन्दा कलम ठूलो भन्थे मान्छेहरू
त्यो पनि बकवासजस्तो लाग्छ आजभोलि
किन ? कराउँछन् यी पागल मान्छेहरू
बेरोजगारीलाई काम दे भनेर
भोकाहरूलाई माम दे भनेर
किन ? गर्छन् नारा–जुलुस
किन ? गर्छन् बन्द–हडताल
कसले सुन्छ र ? गरिबहरूको रोदन
कसले सुन्छ र ? आर्तहरूको क्रन्दन
यो सम्पन्नताले जितेको युद्धभूमिमा
वर्जित छ विपन्नहरूको हाँसो
भो ! नकराउ पागल मान्छेहरू ।
(स्रोत : Ghatanarabichar)