~डिल्लीराम अंमाई~
मेरा शब्द घोरिइरहेछन्
भाव गंगा किनारभरि
मित्र,
म कहाँनेर छु ?
म कसैभित्र छु रू
वा
मभित्र कथित अभिशप्त
निर्देशित चाह बसेको छ ?
हो, मभित्र केही छ
जुन मैले चिमोटी रहन्छु
अनि,
ऊसले मलाई चिमोटी रहन्छ ।
ए हजुर,
मैले गुरुभक्त बन्नु पर्ने,
उहाँको लागि एक अन्जुली
पवित्र मन अर्पण गर्दै,
भक्ति रसको शिरोमणि
उहाँबाटै लिनु पर्ने !
महासय,
मैले सकिनँ
म, मभित्र छैन
किनकि,
म मभित्र बस्नै मान्दैन,
म कसैभित्र समाहित छ,
म मेरै पद चिन्ह र
गन्तब्यका डोबहरु उसिन्दै छ।
गुरु माफ गर्नु होला,
मैले माथिको तलुवा चाट्दै
कुकृत्यको इतिहास पुज्नु पर्ने,
कौरबशाली कथानक चलचित्रका
भिष्म र दोर्णहरुलाई ढोग्नु पर्ने ।
महाराज,
म कहाँ छु ?
कहाँ छ मेरो मन शयल ?
अभागीलाई दया गर्नुस् दाता,
म बिचलित भएको छु
मेरो मन बिचलित छ,
आँफै बहुलाएको हुँ हजुर,
के भएको छ र यहाँ
भूकम्पले निमुखा मरेका त हुन्,
धन राशीको जोहो गर्न नसकेर
केही बलात्कृत भएका त हुन्,
आँफै सुरक्षित हुन नसकेर
केहीको घरबास जलाइएको त हो,
बासको आँफै जोहो गर्न नसकेर
पालभित्र रात काट्नु परेको त हो,
भाग्यले अभागीलाई ठगेर ।
म पागलले तिनैको लेख्नु पर्ने,
मालिकको सयललाई दुत्कार्नु पर्ने,
थुक्क म पत्रकार !
मैले गल्ती गरेँ हजुर,
भाग्यको भवितब्यमा मैले
हस्तक्षेप नगर्नु पर्ने,
आफ्नो मन दबाउनु पर्ने,
निवहरु बंग्याउदै
शब्दहरुलाई नचाउनु पर्ने
घटनाका चित्रहरुमा
तपाईंको चित्र नदेख्नु पर्ने ।
सरकार !,
मलाई समाज र राजद्रोही भन्दै
ठूला ठूला ब्यानरहरुमा
मेरो फोटो सजाएर
कि वारेन्ट जारी गरियोस्
हैन भने राज्यबाट लाल्मोहर लगाएर
तुरुन्त मलाई पागल घोषित गरियोस्,
कि भने महोदय,
फौजी कलाकारमार्फत्
मेरो कलम फोरियोस्
मेरा हात भाँच्चिउन्
घटनाको शीर्षक लेख्न नभ्याउँदै
मलाई इन्काउन्टर गरियोस् ।
ए भगवान !
त्यसपछि मेरो मन
हजुरसँग नभए पनि
मेरो आत्माले
तपाईंको योगदान नगाए पनि
मेरो कलमले शब्द कोर्ने छैन,
मेरो नाममा लेखिएको
तपाईंको पेज खाली रहने छ,
अर्को कसैले दुस्साहस गर्ने छैन,
म स्वयम्,
फेरि कहिल्यै हुनु पर्ने छैन
अपाङ्ग,पागल र खत्तम।
-बेल्जियम
(स्रोत : Ghatanarabichar)