~टंक वनेम~
मिथक हो
सावाला खोला कहाँ बग्थ्यो
खोलाको पानी
धमिलो थियो कि ? नीलो थियो
मिथकले
सप्रसंङ्ग ब्याख्या गर्दैन
तर एउटा कुरा चाहि पक्कै हो
सावाला खोला वारि पारि
मृत्युमा बिजोर बिजोर
र
उत्सवमा जोर नाल बन्दुक पड्किन्थ्यो
उसो हो भने
त्यो बन्दुक पड्किने थुम्का थुम्कीहरुमा
अहिले पनि
बारुदको गन्ध छर्दै
मृत्युको बिलौना र
उत्सवको हर्षित मोडमा
एउटा मिथक बोल्छ
जूनको सन्तान जूनले लग्यो
घामको सन्तान घामले लग्यो
बुझनु पर्ने कुरा
सावाला खोला मिथक हो
मिथक सावाला खोला होइन ।
मिथकका अगुल्टाहरुले कुटिएर
सावाला खोलाको गति रोकिन्दैन
मिथककै पेरुङ्गो भित्र च्यापिएर
अस्तित्वको बाजी किन हार्नु
आरेन्नी सुठी नैं सारो
कति लाउँनु यो निधारमा
उत्तरार्ध सरलीकृत भास्यटिका
कति मान्नु
त्रिकालदर्शी रहस्यात्मक कारण
कति समात्नु
इतिहास सम्मत नभएको पुत्छर
कति पालना गर्नु
धृर्त्याइको युगान्तकारी उपदेश
कति आँखा चिम्लनु
कुटनीतिक दृष्टान्तको अभ्रि्राय
कति स्वीकार्नु
नपुंसक सकाइपूर्ण अनुनय बिनय ।
बरु
सावाला खोला सून्दर बग्छ
सावाला खोलाको
अक्षत योनीमा
त्यो बृथाभिमान जन्मदैन
जसरी
पुरुषसुक्त मन्त्रले
चार ठाउँमा सृष्टिको द्धार खोल्यो
मिथक सावाला खोला हो
सावाला खोलाले कहिल्यै पनि
उकालो बग्न जान्दैन्
अब
सावला खोला
कसरी बग्दै जान्छ
सुन्नु छ
वारिपारि जोर बिजोर बन्दुक पड्केको
सुनिन्छ कि सुनिन्दैन
मिथकको आकासमा
कस्तो रंग पोतिन्छ
कृतिमताको खहरे खोलाले
प्राकृतिक बाटो लिन्छ कि लिँदैन
फेरि पनि सावाला खोला
मिथकले जन्माएको
वर्तमान हुन्छ कि हुँदैन
शुरु गर्ने हो भने
शुरु गरौं हो लुङवा !
यही सावाला खोलाको गडतिरबाट
चप्लेटी ढुङ्गामा कविता कुँदेर
यो……….अविजित यात्रा ।
हाल – वेष्टमिडल्याण्ड्, वेलायत
(स्रोत : कविता कुसुम)