~इस्माएल सुब्बा~
तिमीले त केवल सजाउन
चाहेको थियौ
एउटा अर्थपूर्ण जिन्दगी,
र नै मागेको थियौ,
केहि महत्वपूर्ण कुराहरू…
एउटा टुक्रन्दै गएको पेन्सल,
जसले कोर्न थियो
जिन्दगीका उकाली-ओरालीहरू,
अग्लो अग्लो आशाका पहाड,
र चौडादार भित्ताहरू प्रयासको।
लेख्नु थियो
त्यो भाचेँको पेन्सल तिखारेर
विश्वासको कथाहरू
जून विश्वास टुट्यो छवार्ल्याम्मै,
कोर्नु थियो भाषाणहरू
परिवर्तन भएको सुन्दर चित्र,
तर भाषाण उडेर गयो धुवाँ जस्तै,
न सुन्दर कथा बन्यो उदाहरणको,
न नै कोरियो कविता
सुन्दर स्वप्नहरू सजिएको…
तिमीले मागेको थियौ
अर्को एउटा “इरेजर”,
चाहेको थियौ मेटाउन इतिहासको पन्नाहरू,
ताकि नदोहोरियोस इतिहास कसै गरी,
नदोहोरियोस पुर्खाको कथा र संघर्षहरू…
तिमीले धमिलिएका अनुहारहरू
मेटाउन चाहन्थ्यौ र
बनाउन चाहन्थ्यौ थुप्रै डाडाँ-काडाँहरू
जहाँ लेखिनु थियो
सुदिनको गितहरू,
जहाँ बनिनु थियो घरहरू,
बनाउनु थियो परिवारहरू,
मान्छे जस्तै आकृतिहरूको निम्ति
र त्यसपछि कहिले नअस्ताउने एउटा घाम….
अनि मागेको थियौ
सिङ्गो कागज
जहाँ लेख्न चाहन्थ्यौ
जिवनी आफ्नै संघर्षको,
आफ्नै दु:ख,सुखहरूको,
अनि छपाउन चाहेथ्यौ
नबुझिने शैलीमा लेखिएको तिम्रै
आत्मकथा।
भन्न चाहन्थ्यौ,
तिम्रै अक्षरहरूमा
सरकारलाई चिठ्टी लेखेर
केहि गुनासोहरू,
पोखाउन चाहन्थ्यौ आक्रोशहरूको भारी,
र गर्नु खोजेथ्यौ
केहि प्रेमिल अनुरोध।
तर अहँ,
सरकार निदाएको छ।
त्यसले सुन्दैन तिम्रो डिमान्डसहरू,
किनकि त्यो आमा होइन…
सुतिरहेछ सरकार
तिमी बस अब
ताराहरू गन्दै…।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )