कविता : उर्दी

~गोविन्दप्रसाद आचार्य~

आन्दोलनमा आउनु पर्ने उर्दी जारी छ
मकै छर्न नपाएर बारी बाँझैं छ
खान बस्न दिनै पर्ने उर्दी जारी छ
मकै छर्ने बेला हो यो बारी बाँझै छ
१

बारी बाँझो खाना पनि दिनै पर्ने रे
शहर घेर्ने आन्दोलनमा आउनै पर्ने रे
नआउ भने उर्दी छ गाई भोको छ
घरका सबै आउन पर्ने उर्दी जारी छ
२

खान नपाई बस्तु गोठमा दाम्लो चुडाउँछ
खान दिनै पर्छ भन्ने उर्दी आको छ
उर्दी आयो खान देउ मान्नै परेको
मकै छर्या छैन बारी बाँझै परेको
३

शहर घेर्ने आन्दोलनमा आउनु भन्या छन्
आन्दोलनमा नआउनेका टाउका गन्या छन्
घरको काम धन्दा पनि नगर भन्या छन्
घरमा आउनेलाई खान दिनु भन्या छन्
४

स्वार्थीलाई सत्ता दियो केही भएन
बादल उठ्यो हरायो हरायो पानी परेन
हामी माटो ढुड्ड हौं जता फाले हुने
हामी सोझा सिदालाई उर्दी आए हुने
५

काम गर्न नपर्नेले झनै धेरै खाने
गरीबलाई उर्दी आउँछ खाना पकाउने
नपरे नी हुन्थ्यो अब खाना पकाउन
कैले सम्म आउने उर्दी हामलाई सताउन
६

यो उर्दीले धेरै जनको टाउका फुटायो
आयो उर्दी धेरै जनका गर्दन कटायो
उर्दी आउँदा काल आए जस्तो लाग्या छ
पशु पिटे जस्तै पिट्छन् जानै पर्या छ
७

जे भनेनी मान्नै पर्ने नमानेमा पिट्ने
उर्दी आउँछ भेडो बन्दै गाउँ हिंड्डा छ
साना मर्ने ठूला गर्ने यो उर्दीको कुर्सी
सानालाई सताउँछ असती यो कुर्सी
८

टाउका माथि टेक्न देऊ उर्दी आको छ
घरभित्र पसी खोसी खाना खाको छ
माटो पनि कोपर्ला झै उर्दी करायो
उर्दी सँगै लाठी आयो गाउँ डरायो
९

आन्दोलनमा हिंड्ने हो दुष्मनसँग भिड्ने हो
उर्दी हैन चेतनाले सिस्नु फाँड्ने हो
यो पुरानो युगको झारले मल धेरै खायो
उखेल्नलाई आँट गर युग चेतना आयो
१०

नयाँ चलन आउँदै छ उर्दी जाँदै छ
उर्दी हैन चेतनाले कान्ति आउँदै छ
धमिराले खाइसकेको सत्ता ढल्दैछ
उर्ली आउँछ क्रान्ति नदी सत्ता बगाउँछ

–२०६७/१/१२ काठमाडौं

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २७ – २०६७ जेष्ठ १२, बुधबार )

This entry was posted in कविता. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.