~सुरज दाहाल~
कर्णाली !
उनी चट्टानहरु सग जुध्दै
मानसरोवर बाट झर्छिन
भिमकाय पहाडलाई छल्दै
मुगुमा स्वास फेर्छिन
हजारौ जलचरलाई गर्भमा बोकेर
कालीकोटेलाई चुम्बन गर्दै
रारा ताल सग सहबास गर्छिन
डोटीको पसिनाको तालमा
अछामको सपनाको छालमा
उनी हजारौ वर्ष हराएकि छन
मानवताको मृत्युमा साथी
उनले जुठो बारेकि छन ।
कर्णाली ,
एक नदि मात्र हैनन
उनी अनवरत अविरल अमृतधारा हुन
उनी अचल अटल कृष्णप्याला हुन
उनी अदृश्य अस्पर्शनिय अग्नीज्वाला हुन
ऐ नेता ,
कर्णाली बेच्न सक्छौ जसरी
आफ्नै आमा बेच्न सक्छौ त्यसरी
आमा बेचेर श्रीमती किन्नेहरु
आफ्नै छोरी बेच्न सक्छौ कसरी ?
ऐ नेता ,
लैनचौरको यौन कोठिमा लम्पसार पर्दै
तिमी स्खलित हुदा
पर्वत सग सिँगौरी खेल्दै
सिँहनी कर्णाली बिहारमा गर्जन गर्दै
पवित्र गंगामा एकाकार हुन्छीन ।
नेता ! तिमीले देखेका हौला-
सट्टा ,अँसला ,टोटे ,बाम खोली माछा
तर याद गर –
हामी कर्णालीको गोही बन्न नपरोस
राष्ट्रघातीको सामुहिक चिहान खन्न नपरोस ।।
– सुरज दाहाल , २१/०२/२०७३
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )