कथा : मामा

~निर्मल ज्ञवाली~Nirmal Gyawali

टिभीमा एउटा समाचार आएछ, अमेरिकामा दादुराको खोप लगाउँदा एउटालाई क्यान्सर ठीक भयो रे ! ठीक भो, राम्रै भो । तर समस्या मलाई भो, समाचार सकिन नपाउँदै मेरो मोबाइलमा कलको वर्षा हुन थाल्यो । मामाले फोन गर्नु भो, “तुरुन्तै खोप लगाउनु पर्यो भान्जा । टिभीले भनेको, च्वाट्टै हुन्छ रे !” काकाले भन्नु भो, “तिमीले सुन्यौ बाबु ! अमेरिकामा त औषधी पत्ता लाग्यो रे नि त ! तुरुन्तै बुझ्नु पर्यो ।”

माईला बाले भने, “यो रोग त निको हुन्छ रे नि ! हिजो टिभीमा देखाको रे !”

कान्छी आमाले पनि फोन गरिन्, “खुशीको कुरा सुन्यौ बाबु ? लौ है, चांडै गर्नुपर्यो ।”

***

एक महिनाअघि, एउटा दुखद समाचारले हाम्रो खान्दान मै खलबली मचाएको थियो ।

अमेरिकामा सँगै बसेको मेरो भाइलाई हल्का ज्वरो आएको थियो । मैले हस्पिटल जँचाउन लगें । डाक्टरको सल्लाह अनुसार सबै ल्याब टेस्ट गरें ।

सबै जाँचपछि, डाक्टरले मलाई एक्लै बोलाएर भनें, “तपाईंको भाइको बोनम्यारो नै ड्यामेज भएर ब्लड क्यान्सर भइसकेको छ । जसको संसारमा अहिले सम्म उपचार नै सम्भव छैन ।”

हाम्रो परिवारमा एक्कासी उथल पुथल आयो । हामी सबै विक्षिप्त भयौं । सुरुमा विश्वास गर्नै गाह्रो भो ! हामी कसैले पत्याएनौं । हिजो सम्म राम्रोसँग हिंड्ने, काम गर्ने, हाँस्ने, खेल्ने गरेको भाइलाई कसरी एक्कासी यस्तो हुनसक्छ ? अनि यो कल्कलाउँदो उमेरमा । गएको महिना मात्र उ चौबिस वसन्त पार गरेर पच्चीस लागेको थियो । हामीले केक काटेका थियौं । भोज गरेका थियौं । कति खुशी थियौं सबै जना !

बिहे गर्नु बाँकी थियो । जागिर खानु बाँकी थियो । बाउ बन्नु बाँकी थियो । अरू कति सपनाहरू अधुरै थिए ।

डाक्टरले दुई महिनाको टाइम दिए ।

उनीहरूको काम सबै कुरामा गणितीय हिसाबकिताब गर्ने हो । गर्छन् । तर, त्यो उनीहरू दिने जिन्दगीको ब्यालेन्स सिटले मान्छेको जीवनमा कति उथलपुथल ल्याउँछ उनीहरू बुझ्दैनन् ।

हामी सबै स्तब्ध भयौं । भावविव्हल भयौं ।

नेपालमा भएको भए, लौ अब दिल्ली लानु पर्यो । बैंकक लानु पर्यो । हुने, खाने, सक्नेले भए अमेरिका लानु पर्यो, भन्थे होला । तर हामी दुई वर्षदेखि दाजुभाइ नै अमेरिका थियौं ।

म, डिभी परेर । भाइ, पहिलो वर्ष स्टुडेन्ट भिसामा । दोश्रो वर्ष लुकेर, गैरकानुनीरूपमा ।

उ फर्कन मानेन । भन्यो, नेपाल फर्केर के गर्नु ?

गैरकानुनी रुपमा बस्नेको स्वास्थ्य वीमा हुने कुरा थिएन । यस्तो देशमा स्वास्थ्य वीमा नभएपछि एकै दिनको ज्वरोले पनि कंगाल बनाउँछ । त्यसमाथि यस्तो गम्भीर रोग । हस्पिटलले तीनमहिनाको उपचार खर्च निकाल्यो – एक लाख, तीस हजार डलर । उपचार खर्च के भन्नु ? निको नहुने रोगको – तीन महिनाको रोकथाम खर्च ।

अब हाम्रो कुनै उपाय भएन । दुईटा उपाय अगाडि थिए हाम्रो लागि – अमेरिका मै बसाल्ने वा नेपाल फर्काउने ।

केही उपाय लाग्छ कि भनेर हामी सबै परिवार लागेका थियौं ।

मैले चिनेको एक जना मान्छे स्यान फ्र्यान्सिसको हस्पिटलमा डाक्टर थिए, डा. राजेन्द्र । भर्खर यु.एस्.एम.एल.ई पास गरेर जागिर खाएका । केही उपाय लाग्छ कि, मैले उनलाई सोधें ।

धेरै बुझेपछि उनले अमेरिकाले रेफ्युजीका लागि भनेर छुट्टयाएको कोषबाट चालिस हजार डलर सम्म मिलाउनको लागि पहल गर्ने भए । त्यसको लागि पनि धेरै पापड बेल्नु पर्यो । यो ‘दिने’ कुरा भनेपछि नेपाल मात्र होइन, सबै देश उस्तै । झुलाईरहने ! यो डकुमेन्ट पुगेन । त्यो पुगेन । सिफारिस भएन ।

अन्त्यमा मिल्ने त भो । तर, त्यति सहयोगले पनि अरू बाँकी पैसा मिलाउन सम्भव थिएन ।

***

बिहानै फोन गरें डाक्टर राजेन्द्रलाई, “डाक्टर साब नमस्ते । टिभीमा दादुराको खोपले क्यान्सर निको भो भनेर समाचार आएको रैछ । घरबाट सोध्दै हुनुहुन्थ्यो । के साँचो हो ?” यी डाक्टरलाई अमेरिका होस् कि नेपाल जहाँ भएपनि ‘साब’ लगाईदिनै पर्ने । चिल्लो घस्नै पर्ने । अब झन् यस्तो आपतको बेला त गर्नैपर्यो । भन्दिएं ।

उनले भने, “हाइ डोजमा लगाउँदा एउटालाई ठीक भयो रे । मैले पनि हिजो समाचारमा पढेको । तर, त्यो लिभर क्यान्सरको लागि देखिएको हो । ब्लड क्यान्सरलाई होइन । अहिले त्यो रिसर्च हुँदैछ । अहिले नै तुरुन्तै बजारमा आउँदैन । वर्षौं लाग्छ ।”

मैले नम्र भएर भनें, “हाम्रो भाइमा पनि ट्राइ गर्न मिल्छ कि डाक्टर साब ?”

उनले रिसाउँदै भने, “चाहिने कुरा गर्नुस् न । प्रमाणित नै नभएको कुरा हामी कसरी गर्नसक्छौ ? हामी त्यो रिस्की एक्सपेरिमेंट गर्न सक्दैनौ । यो अमेरिका हो । नेपाल होइन । यहाँ जथाभावी गर्न मिल्दैन ।”

***

घरतिरबाट दिनको ७-८ पटक फोन आइरहन्थ्यो ।

“भान्जा, म अहिले नारायणघाटमा छु । यहाँ मैले क्यान्सर कै डाक्टरलाई सोधेको, ठीक हुन्छ भने । तुरुन्तै लाउनु पर्यो ।” मामाले बीच बाटोबाट फोन गर्नु भयो । पछाडिको गाडीहरूको हर्नको तिखो आवाज र वहाँको चर्को स्वरले सबैको निद्रा खलबलायो ।

यो महँगो ठाउँमा कोठामा एक्लै बस्नु सम्भव थिएन । हामी पाचँ जना मिलेर बसेका थियौं । त्यो हल्लाले सुतेका सबै जना जागे । उमेश त जुरुक्कै उठ्यो । भर्खर कामबाट आएर थाकेर सुतेको थियो । लाग्यो होला, कतै केही भो कि ?

अनि फेरि पल्ट्यो ।

अनि, नेपाल र यहाँको समय नमिल्ने । त्यसमाथि वहाँहरू जति बेला मन लाग्यो, त्यति बेला फोन गरिदिने । कहिलेकाहिँ त हैरान नै हुन्थ्यो । लाग्थ्यो, यो दुरसंचारले अमेरिका कल किन सस्तो बनायो होला ? पहिले जस्तो मिनटको पचास रुपैंया भएको भए यहाँ हामीलाई शान्ति त मिल्थ्यो कि ?

“मैले डाक्टरलाई सोधें, मामा । त्यो अर्कै रोगको लागि हो रे ! हुँदैन रे !” मैले विस्तारै उत्तर फर्काएँ, साथीहरूलाई धेरै डिस्टर्ब नहोस् भन्ने हेतुले ।

“हँ । सुनिएन भान्जा ।” मामा झन् जोडले चिच्याउन थाले, “के भन्नु भो ?“

लाउडस्पिकर नगर्दा पनि मोबाइलबाट मामाको ठूलो स्वर बाहिरै प्रष्ट सुनियो । अब त राती हल्ला गर्यो, सुत्न दिएन भनेर साथीहरूले चुट्लान कि भन्ने डर लाग्यो । म बाहिर निस्कें । निस्कें पनि के भन्नु, मामाले जबर्जस्ती निकालेरै छाडे ।

सबैजनालाई बिहानै काममा जानु पर्ने । दिनभर खडा भएरै भारी काम गर्नुपर्छ । एक दिन निद्रा बिग्रियो कि ठीक पार्न विकेन्ड नै कुर्नु पर्छ । के गर्नु अमेरिका भनेर भएन, काम नगरी खान पाइँदैन ।

“मैले डाक्टरलाई सोधें मामा । त्यो अर्कै रोगको लागि हो रे ! हुँदै न रे !” मैले फेरि त्यहीं कुरा दोहोर्याएँ ।

“कहाँ हुन्छ ? त्यो डाक्टरलाई थाहै रैन्छ । अर्कोलाई तुरुन्तै देखाउनु पर्यो । मैले यहाँ सबैलाई सोधिसकें । च्वाट्टै हुन्छ रे !” मामा कड्किनु भो ।

मामा अलि कडा स्वभावका हुनुहुन्छ । रिटायर्ड गोर्खा आर्मी । अरूको कुरा खासै सुन्नुहुन्न । वस् ! वहाँले भनेको हुनुपर्छ । अरू वहाँलाई चासो छैन ।

“हस् मामा । म अहिले नै अर्को डाक्टरसँग बुझेर तपाईंलाई खबर गर्छु ।” मैले मामालाई शान्त पार्ने कोसिस गर्दै भनें । मलाई कुरा टुंग्याउनु थियो ।

“बुझ्छु होइन ! खोप नै लगाई हाल्नु पर्यो भान्जा ।”

मैले हस् भनेर फोन राखें ।

***

तीन घण्टामा फेरि फोन आयो, “लगाइयो भान्जा ?”

“छैन मामा । अर्को डाक्टरसँग भेट भाको छैन । अहिले राती छ । म बिहान बुझेर खबर गर्छु ।” नछोड्ने भए मामाले । अब त भाइको रोगको भन्दा मामाको पिछाको चिन्ता बढ्न थाल्यो ।

अब रोग लागिसकेपछि रोईकराई गरेर पनि के गर्नु ! विस्तारै मनलाई बुझाउँदै थिएँ म । जुन रोगको अब यो दुनियाँमा उपचार नै छैन, त्यो लागिसकेपछि अब आफैले आफैलाई सान्त्वना दिनु भन्दा के नै बाँकी रहयो र? बरु भाइका इच्छाहरू पूरा गरिदिने, खुशी पार्ने, प्रयास गर्दै थिएँ म ।

फेरि एक घण्टामा फोन आयो । दुई तिन पटक आयो । मैल उठाइनँ ।

मैले सबैतिर बुझें । त्यसको कुनै सम्भावना नै थिएन । अमेरिका जस्तो ठाउँमा हल्लाका भरमा उपचार गर्ने को होलान् र ?

तर मामालाई यो भुत हटेन । बरु क्यान्सर रोग नै निको होला । यिनको रोग निको भएन ।

एक हप्तासम्म यसरी नै फोन गरिरहे । मैले कुरा मिलाउँदै गएँ । कुरा हुँदैछ, भनेर टारीरहें ।

***

अर्को दिन । कसैले भनेछ, गाईको पिसाब खाएर एउटी क्यान्सर लागेकी बुढी च्वाट्टै भइ रे !

उ च्वाट्टै भई, मेरो लागि कुनै आपत्ति थिएन । च्वाट्टै भई, राम्रै भो । तर, आपति यहाँ भो, त्यो कुरा कसैले मामालाई भन्दिएछ ।

“भान्जा ! गाईको पिसाब ल्याएर खुवाई हाल्नु पर्यो । त्यसले तल्लाघरे ठुटे बुढीलाई च्वाट्टै भो रे । तुरुन्तै गर्नुपर्यो भान्जा ।” एका बिहानै फोन आयो । मैले चिनिनँ, को हुन् ती ठुटे बुढी । जो सुकै हुन् ! चिनेर पनि के काम !

आफू रात भर सुतेको थिईनँ । आज नाइट काम थियो । इण्डियनको होटेलमा क्लिनिंग । एकै छिन बस्न दिएको होइन, सालेले । हामी नेपालीले अमेरिका आएर काम पाउने नै यहीँ इण्डियनकोमा । सालेहरूले पेल्नु पेल्छन् । जानी दुश्मन जस्तो ।

“हुन्छ मामा ।” कुरा काट्न सक्ने हिम्मत थिएन । स्वीकारी दिएँ ।

फोन राखें, फेरि सुते । निद्राले कहाँ छोडेको थियो र ?

“भान्जा, कालो लोकल गाईको है । अरू गाई हुँदैन नि !” फेरि एक घण्टामा फोन आयो, “तुरुन्तै खुवाउनु पर्यो । खालि पेटमा ।

“खालि पेटमा खुवायो भने मात्रै राम्रोसँग काम गर्छ है, भान्जा ।”, उहाँले थप्नु भो ।

अब यो अमेरिकामा कहाँ खोज्न जाउँ कालो गाई ? त्यो पनि लोकल ?

“मामा, यो अमेरिकामा अब कहाँ पाउनु मैले कालो गाई ?” नम्र भएर भने । मामासँग बोल्दा सारै विचार पुर्याउनु पर्छ । बरु राणाहरू सँग बोल्न यति डराउनु पर्दैन थियो होला ! सारै कडा थिए, मामा । कहिलेकाहिँ त लाग्थ्यो, कस्ले लगाई दियो यिनलाई आर्मीमा जागिर ?

तर के गर्नु ? उनी हाम्रै भलाइका लागि बोल्दै थिए । मेरै भाइको उपचारका लागि खटिएका थिए ।

हाम्रो खानदानमा उनी नै हर्ताकर्ता थिए । जे परेपनि ठुला घरे मामा । गाउँ, टोल । सबैका मामा ।

बिष्णु प्रसाद शर्मा । उनको नाम भनेपछि बाग्लुंग जिल्ला भरि बच्चा देखि बुढासम्म थरर ।

कडा पनि उस्तै । सहयोगी पनि उस्तै ।

उनलाई नकार्ने हिम्मत कस्को ?

“के त्यहाँका मान्छेले दुध खाँदैनन् ? चाहिने कुरा गर्नुपर्छ नि, भान्जा ।” मामा कड्किए ।

“हस! मामा । म ट्राइ गर्छु ।” मैले फोन राखें ।

फेरि एक घण्टामा फोन आयो । मैले उठाइनँ । तिन पटकसम्म आयो । अहँ उठाइनँ ।

***

अब कहाँ जानु यो अमेरिकामा कालो गाई खोज्न ? अनि भेटिहाल्यो भनेपनि कति बेला मुत्छ, भनेर ढुकेर बस्नु ?

दुई दिनपछि फेरि फोन आयो ।

दुई दिन कहाँ हराएछन् ? थाहा भएन । सोधिनँ पनि । बरु सोचें, सधैंका लागि यिनी हराइदिए त हुन्थ्यो नि !

“यहाँ त सबै सेतो जर्सी गाई मात्रै हुदों रैछ मामा ।” मैले टार्दै भनें ।

“मैले तल्लाघरे कान्छालाई सोधेको । त्यसको जेठान पनि त्यतै छन् रे । उनले भनेको त्यहाँ ठुला-ठुला फार्म हुन्छ रे ! त्यहाँ खोजे जस्ता पाइन्छन् रे ! छानी । छानी ।” मामा भन्दै गए, “बरु, गएको बेला अलि ठूलो भाँडोमा ल्याउनु ।”

“हस्! मामा, म फेरि बुझ्छु नि ।” मैले कुरा टुंग्याउन खोज्दै भने ।

“अँ, उनैका राइंला हजुरबुवालाई पनि दश वर्षअघि डाक्टरले क्यान्सर भनेको थियो रे ! त्यहीं कालो गाईको पिसाब खुवाएर ठीक भो रे ! अहिले सम्म हुइंकाउँदै साइकल कुदाउँछन् गाउँमा । ल तुरुन्तै खोज्नु पर्यो है भान्जा ।”

होइन! कस्ले सुनाउँछ यिनलाई यस्ता नानाथरी कुरा ? हावै हावामा चलेको देश ! एकै छिन त रिस उठेर आयो ।

यता भाइलाई झन् गाह्रो हुँदै गएको छ । “कस्तो छ ?” भनेर सोध्नु त कता-कता । खाली नानाथरि कुरा सुनेर लाद्न मात्र खोज्छन् । भगवानले पनि सोझा-साझालाई नै किन माथि लान खोज्छ ? बरु यिनलाई लानु नि !

जिन्दगी भर सम्मान गरिरहेको मामा प्रति नै रिस उठेर आयो ।

बेला-बेला घरबाट फोन आउंथ्यो । सबैले भन्थे, “घर लिएर आइज । कमसेकम हामीले त अनुहार देख्न पाउँछौ । दुई-चार दिन स्याहार गर्न पाउँछौ ।”

यता केही उपाय निस्कन्छ कि भनेर कुर्दै थिएँ म ।

अनि फेरि नेपालमा सबैको ताल त्यहीं मामाको जस्तै न हो । कसैले झारफुक भन्लान् । कसैले धामी झाँक्री । कसैले कालो गाई । कसैले सेतो गाई । कसैले गाईको पिसाब । कसैले गोबर । नाना थरि ।

काम नपाएका मान्छेहरु !

भाइलाई थाहा थिएन, उसलाई के भएको छ भनेर । हस्पिटलमा मैले सान्त्वना दिंदै भनेको थिएँ, “डाक्टरले भनेको, सामान्य भाइरल रुघा खोकी हो रे ! केही दिनमा आफै ठीक हुन्छ ।”

उसले सजिलै विश्वास गर्यो ।

अहिले सम्म उस्मा त्यस्तो अनिष्ट लक्षणहरू त केही देखिएका थिएनन् ।

उ हाँस्थ्यो । खेल्थ्यो । यता-उता डुल्थ्यो । साथीहरू भेट्थ्यो । काममा भने मैले बिदा लिन भनेको थिएँ । अब काम गरेर पनि के गर्नु ?

जति नै पैसा भएपनि उसको उपचार हुने होइन !

म भने उसको अघि पर्न सक्दिन थें । सारै नरमाइलो लाग्थ्यो । गीता पढ्थें । ओशो पढ्थें । जीवन मृत्युका प्रवचन सुन्थें । मनलाई बुझाउन खोज्थें ।

***

बिहानै दिमागमा आयो । कतै मामाले भनेको साँचो पो हो कि ?

सुनेको थिएँ, हरेक रोगको उपचार प्रकृतिले दिएको हुन्छ रे ! कतै मेरो भाइलाई निको पो हुने हो कि ? चमत्कार पो हुने हो कि ?

गाडी निकालें । बिहानै हिडें । फार्मतिर । स्यान फ्रान्सिस्कोबाट ‘ओकल्याण्ड बे ब्रिज’ हुँदै उत्तर-पुर्व तिर जाँदा, ९० माइल जति पर पुगेपछि देखियो एउटा फार्म – “ब्राउन काउ वेस्ट फार्म” ।

साइडमा गाडी रोकें । हेरें । कतै कालो लोकल गाई देखिन्छ कि ?

पर एक हुल भेंडा, हरियो घाँसमा चर्दै थिए । अलि पर घोडाको हुल पनि देखियो ।

फेरि गाडी स्टार्ट गरें । केही अघि बढें । फार्म ठुलो रैछ, आँखैले ठम्मयाउन नसकिने ।

केही अघि बढेपछि, पर एक हुल गाई चर्दै गरेका देखिए । खुशी लाग्यो ।

लाग्यो, मैले मरूभूमिमा पानी भेटें । भगवान् नै भेटें ।

गाडी रोकें । वरिपरि हेरें ।

गाई-चरन क्षेत्र वारिपरि इलेक्ट्रीकल फेन्सले घेरिएको थियो । र, लेखिएको थियो, “सावधान! हाई भोल्टेज करेन्ट ।” भित्रपट्टि अर्को काठको घेरा थियो । सायद त्यो जनावरको प्रोटेक्सनका लागि थियो, इलेक्ट्रीकल फेन्सको ।

परसम्म वरिपरि कोही देखिएन ।

यहाँ जनावरहरू ठूलो चौरमा बार लगाएर छोडिन्छ । के गर्नु ? नेपालमा जस्तो गोठालो पछि-पछि सँगै हिंडदैन । हिँड्ने भएको भए कति सजिलो हुने थियो होला मलाई ?

यता उता गरें । कुनै उपाय देखिन । कुरिरहें । साझँसम्म कोही झुल्केन ।

भित्र पस्नु पनि सम्भव थिएन । अनि, मैले राम्रोसँग ठम्म्याउन पनि सकिन कि ती गाई लोकल थिए या विकासी ! काला थिए या राता !

झमक्क रात पर्यो । कुनै उपाय नभएपछि रित्तै हात फर्कें ।

***

अर्को दिन, फेरि बिहानै उठें । स्यान फ्रान्सिस्कोबाट क्याब्रिलो हाइवे हुँदै दक्षिण दिशा तिर लागें ।

बाटोमा मामको फोन आयो । उठाइन ।

मलाई कुनै काम अधुरो रहयो भने निद्रा लाग्दैन । त्यो काम पुरा नहुँदा सम्म छट्पटी भइरहन्छ । आज जसरी पनि कालो लोकल गाईको पिसाव भेटाउनु थियो ।

लगभग १२० माइल जति पर पुगेपछि एउटा फार्म देखियो, स्प्रिंग हिल चिज फार्म । एक जना गोरे भर्खर गाईहरुलाई दाना पानीको व्यवस्था गर्दै रैछ । खुशी लाग्यो, आज काम हुने भो । सोचें, धन्न बिहानै आएछु ।

गेट खुलै थियो । गएँ भित्र ।

उ दाना हाल्दा-हाल्दै, भाड़ो भुइँमा छोडिदियो । जुरुक्क उठ्यो र मलाइ हेर्यो । सायद, नसोधी नजानु पर्ने थियो कि ? मलाई लाग्यो ।

अमेरिका आएको दोश्रो दिन । कोलोराडोमा बस्ने काकाले मलाई फोन गरेर भन्नु भएको थियो, “अमेरिका अलि खतरा ठाउँ हो है, बाबु । कालाहरु देखि सधै जोगिएर हिड्नु । सकेसम्म रातीमा बाहिर नहिड्नु । हिड्नै पर्यो भने गाडीमा साथीलाई लिएर मात्र हिड्नु । एक्लै ननिस्कनु । अनि झुक्किएर पनि कसैको फेन्स बार भन्दा भित्र नसोधी नप्स्नु । अमेरिकाको कानुन अनुसार यदि कोहि अपरिचित व्यक्ति आफ्नो व्यक्तिगत जग्गा भित्र नसोधी पस्यो भने आफ्नो सुरक्षाको लागि गोली सम्म हान्न पाउने नियम छ । त्यसमा आफ्नै गल्ती हुन्छ । हरेक काम धेरै बिचार पुर्याएर मात्र गर्नु । थाहै नपाई ठुलो विपत आइलाग्न सक्छ ।“

म तर्सिएको थिएँ, काकाको कुरा सुनेर । स्वतन्त्रताको देश, “ल्याण्ड अफ अपरच्युनिटी” भन्दै आएको । झन् डराई डराई पो हिड्नु पर्ने रैछ !

काकाको कुरा एक्कासी फिल्ममा रिल घुमे जसरी फनन आए । सम्झेर म पनि फनन भएँ ।

“सरी सरी । आइ एम इन ट्रबल । जस्ट वान्ट टु आस्क यु अ क्वीक क्वेसन ।“ मैले हतारिंदै भनें ।

उ सतर्क अवस्थामा मलाई ट्वाल्ल परेर हेर्दै थियो । सायद, मैले लिनसक्ने कुनै खतरनाक स्टेपको लागि उ आफुलाई तयार परेको थियो ।

“व्हाट ?” उ अलिकति रिस र अलिकति दोधार मिश्रित भावमा भन्यो ।

“व्हेन डज काउ पि ?” मैले हतारमा आफ्नो कुरा राखें ।

“व्हाट ?” उ हाँसु कि रोंउ जस्तो अनुहार बनाएर भन्यो, “आर यु म्याड ?”

“नो! आइ एम सिरियस ।“ मैले गम्भीर भएर भनें, “आर दिज काउज लोकल अर हाईब्रिड ? आइ निड ब्ल्याक लोकल काउज युरिन ।”

“व्हाट द हेल आर यु टकिंग टु मि ?” गोरेले रिसाउँदै भन्यो, “डु यु वान्ट मि टु कल पोलिस, अर यु गो योरसेल्फ ?”

अनि मोबाइल निकाल्न थाल्यो ।

म त्यहाँ कुनै ठुलो घटना निम्त्याउन चाहन्नथें । सोचें, धन्न बन्दुक निकालेन ।

“सरी सरी, आइ एम लिभिंग ।“

यसो वरिपरी हेरें । सायद सयौंको संख्यामा गाईहरु थिए । वरिपरी आँखा डुलाएँ, तर कालो गाई कतै देखिन । सबै गाई टाटे-पाटे ठुला-ठुला थिए । सबै बिकासी जस्तै थिए । थुन हेर्दा लाग्थ्यो, पाँच-छ वटा मिले भने त एक ट्यांकर नै भर्छन् ।

म ढिलो नगरी हतार-हतार निस्किएँ ।

दुख: लाग्यो, पिसाब पाइएन । खुशी लाग्यो, बाँचेर फर्कें ।

अब अरु कुनै फार्म जाने हिम्मत आएन । मैले कुनै सम्भावना नै देखिन ।

सिधैं घर फर्कें ।

घर आइपुग्दा भाइलाई फेरि ज्वरो आएको रैछ ।

हामी भोलिपल्ट नेपाल फर्कने निधो गर्यौं । सोचें, बुवा-आमाहरूले त देख्न त पाउनुहुन्छ । अब यहाँपनि कुनै उपाय निस्केला जस्तो छैन ।

भाइलाई केही दिनको लागि आराम गर्न घर जाने भनेर फकाएँ । उ थकित थियो । बच्चाले जस्तो सजिलै “हुन्छ” भन्यो । सायद, उसले पनि घरको याद गरिरहेको थियो होला ! बिरामी भएको बेला कस्ले गर्दैन होला र आमाको याद ?

***

अर्को दिन घर मै आइपुग्यौं ।

भाइलाई झन् गाह्रो हुँदै थियो । ज्वरो बढेको थियो । खुट्टाहरू सुन्निन थाले । उ अलि निराश देखिन्थ्यो ।

हामी आउने थाहा पाएर मामा पहिले नै आएर बसेका रैछन् ।

देख्ने बित्तिकै भने, “ल भान्जा तल्ला घरे ठुलेकोमा कालो गाई छ रे ! लिन गइहाल्नु पर्यो । मैले भान्जालाई नै कुरेर बसेको ।”

हामी गयौं । दिउँसो भरी कुर्यों । कुरिरह्यौं ।

गाईले मुतेन । अहँ, मुत्दै मुतेन ।

माथ्ला घरे काका आए । भने, “पुच्छर उठाअर, पिसाब गर्ने ठाममा प्याट्प्याट् पारओ त मुत्छ ।”

मामा अघि सरे । उठाए पुच्छर । पारे प्याट्प्याट् । गाईले पनि एकै झड्कामा खुट्टाले पारिदियो, प्याट्ट ढले मलखतोमा । मलाई हाँसु कि रोंउ भो ! भित्रभित्र कता-कता लाग्यो, यिनलाई अलि जोडले हानेको भए नि हुने !

काका अघि सरे । एकै छिन मसारे गाईको ढाडमा । अनि स्SSS स्SSS गर्दै, विस्तारै प्याट्प्याट् पारे । मुत्यो गाईले ।

दगुर्दै गएँ म । भाँडो थाप्न ।

बल्ल बल्ल पाइयो अमृत । खुशी भए मामा । फर्कियौं घर ।

“खुवाई हाल्नु पर्यो भान्जा । मलाई त्यसैको मात्रै आश छ ।” भुँईमा राख्न नपाउँदै घुँडा मुसार्दै मामाले भने । सायद ठुलै चोट पो लागेछ कि !

“एक गिलास गाईको तात्तातो मुत खाउ, ठिक हुन्छ मामा ।“ भन्न मन लागेको थियो भनिन ।

“आज ट्राभल गर्दा अलि एसिडिटी बढेको छ । भोलि खाउँला ।” भाइले बिस्ताराबाटै झोंक्रिएर भन्यो, “गाईको पिसाब एसिडिक हुन्छ ।”

भाइ अलि थलिंदै गएको थियो । उलाई थाहा थिएन, के हुँदै छ ?

कता-कता लाग्यो पनि होला, यो गाईको पिसाब खाएँ भने म ठीक हुन्छु कि !

“हेर्नुस भान्जा । त्यसमा त्यहीं एसिड हुन्छ र त काट्छ नि । त्यो एसिडले ग्यास्ट्रिक स्यास्ट्रिक सब ठीक हुन्छ । सब काट्छ यसले । किरा सिरा सब मार्छ । खाई हाल्नु पर्यो ।” मामाले भाइलाई सम्झाउँदै भने, “भान्जालाई त्यहीं गाह्रो भएको भएर त ठीक पार्न खान पर्यो नि !”

म टिभी कोठातिर गएँ । भाइको अगाडि मामासँग जिद्दी गरेर बस्न मन लागेन । आखिर मामाको पनि त भान्जा हो ऊ ।

फेरि यत्रो दिनमा घर आएको थिएँ । कस्तो भएछ घर ? हेर्न मन लाग्यो ।

सुखले के बस्न दिन्थे ! भाइलाई फकाएछन् । र, आए टिभी कोठामा । मलाई खोज्दै ।

“ल भान्जा, मैले भाइलाई भनिसकें । त्यो मिलाएर खुवाउनु पर्यो । एउटा गिलास ल्याउनुस् त ।”

अब मामा-भान्जा कुरा मिलेपछि मैले के भन्नु ? फेरि, मलाई पनि कता-कता केही गर्छ कि भन्ने झीनो आशा पनि त थियो ।

अनि सोचें, त्यो गाईको पिसाबले त्यत्रो हानि पनि के नै गर्ला र ?

मलाई भाइको बिग्रंदै गएको अवस्था देखि डर लागिरहेको थियो । उ आँखा ठुला-ठुला पार्दै थियो । अलि अर्कै लक्षणहरू देखिंदै थिए । सबै जना चिन्तित थियौं । मात्र हाम्रा हठी मामा बाहेक ! उनमा कुनै भावुकता थिएन । उनको भाव हेर्दा लाग्थ्यो, उनी अझै युद्द मैदान मै लड्दैछन् । दुश्मनलाई परास्त गर्न कुटनीति रच्दैछन् ।

मामाले आफ्नै हातले भाइलाई एक घुट्को खुवाए । भाइले मुख बिगार्यो । र, टाउको हल्लाएर नाइँको संकेत गर्यो ।

उ विस्तार बाट उठ्न खोज्यो । तर सकेन । सायद, अलि गाह्रो भयो कि !

“कहाँ त्यसरी हुन्छ भान्जा । पुरै एक घुड्को मै खानु पर्यो । त्यसपछि च्वाट्टै हुन्छ ।” मामाले भने ।

मलाई भो नखा भन्न मन लागेको थियो । भाइको अनुहार हेर्दा लाग्थ्यो, उस्का दिन धेरै छैनन् । यस्तो अवस्थामा उसलाई खुशी पार्नु र उसले भनेको पुर्याईदिनु हाम्रो दायित्व हो, मलाई लागेको थियो । अब रोगको उपचार हुने कुनै उपाय नभएपछि अरू के नै गर्न सकिन्छ र ? जति दिन बस्छ हाँसेर बसोस्, खुशीले बाँचोस, मेरो इच्छा थियो ।

तर, विचरा ! मामाको कुरा कसरी नकार्नु ! उसले जवर्जस्ती खायो । सारै मुख बिगार्यो ।

मामा दङ्ग परे । हेरिरहें । लाग्यो होला, उनले युद्द भुमिमा विजय हाँसिल गरे । अब, उनी यो संसारको राजा भए ।

तर, उनको त्यो खुशी धेरै बेर रहन पाएन । भाइको अनुहार एक्कासी निलो हुँदै गयो । छट्पटाउन थाल्यो । दुवै हात बटार्यो । खुट्टा तन्कायो । मुखबाट फिँज निकाल्यो । टाउको छाडीदियो । र, अन्तिम श्वास फेर्यो ।

(स्रोत : Himalayamail)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.