~महेश दाहाल~
एक दिन त सोधिन् आमाले
दिनैपिच्छे के कोट्याउँछस् हौ त्यो मोबाइलमा ?
भनेथेँ मैले-
घर बसेरै संसार देख्न थालेको छु
मैले पनि दुनियाँ बुझ्न थालेको छु
आमा ! मोबाइलमा इन्टरनेट हालेको छु।
आमाका रङ्गी-बिरङ्गी सपनाजस्तै सहरहरू
आमाकै समयका हिन्दी सिनेमाका प्रहरहरू
आमाले सोच्न पनि नभ्याएका महल र घरहरू
केही देखाएँ आमालाई । उनी छक्क परिन्।
आमाले सोधेकी थिइन् –
भन् न के के देखाउँछ तेरो मोबाइलमा ?
यसमा त आमा देश देखाउँछ। विदेश देखाउँछ।
नाम र दाम दुइटै पाएको कुनै नेताको केश देखाउँछ
या त नाङ्गो स्त्री वा उसको भेष देखाउँछ।
हो ! सप्पै देखाउँछ यसमा
मात्र तिमीलाई देखाउँदैन। मलाई देखाउँदैन।
आमा ! मैले पनि दुनियाँ बुझ्न थालेको छु
मोबाइलमा इन्टरनेट हालेको छु।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )