~इलामेली टीकाराम दुलाल~
छन्द : तिमाल
प्यारी प्यारी मेरी रानी, किन सताएकी ?
के भो गर्छौँ आनाकानी, किन सताएकी ?
कामैले हो मेरो साच्चैँ अलि ढिला भाको
केही बोले हुन्थ्यो सानी किन सताएकी ?
रातै पार्यो भन्दै होला तर रिसाएकी
मेरो जागिर् जानी जानी किन सताएकी ?
भोली चाडै गर्ने कोशिस् अब गरौला नि !
तिर्खा लाग्यो देऊ पानी किन सताएकी ?
कामैले हो चिन्ने मान्छे अफिसमा खाली
मेरै मात्रै यो हैरानी किन सताएकी ?
२०७३।०१।२६ रोज १
इलामेली टीकाराम दुलाल
नक्साल
छन्द :- तिमाल ( म म त स गुरू गुरू ८-१४ मा बिश्राम )
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )