कथा : भित्ता

~शकुन्तला जोशी~Shakuntala Joshi

‘भित्ता पनि बोल्छ र ?’

‘किन नबोल्नु, बोल्छ । बोल्ने भएरै त म प्राय: गफ गरिरहछु नि यिनै भित्तासँग । जे छन्, यही भित्ताहरूमै छन् मेरो भन्नु ।’ त्यति भनिसक्दा उनको अनुहार अलिकति उज्यालियो । मलाई बस्न आग्रह गरे उनले । सायद सहयोगी हुनुपर्छ, एउटी महिलाले क्रिस्टलको चमकदार ग्लासमा हामीलाई पानी र कफी टक्राइन् । कफीको सुर्कोसँगै सञ्चो बिसन्चोबाट मैले कुराको पोयो सुरु गरें ।

‘सर, अचेल केमा व्यस्त हुनुहुन्छ ?’

‘खास केही छैन । पुराना पुस्तक दोहोर्‍याउँदै छु ।’

‘भनेपछि सर किताब पढ्नमा निकै रुचि राख्नुहुन्छ ?’

‘किताब, चुरोट र रक्सी त मेरा स्थायी साथी हुन् । गम्भीर प्रकृतिका किताब म बारम्बार दोहोर्‍याएर पढ्छु । खासगरी अटोबायोग्राफी र दर्शनमा मेरो गम्भीर रुचि छ । तपाईं कतिको पढ्नुहुन्छ नि किताब ?’ उनले प्रतिप्रश्न पनि गरे ।

‘म पनि पढ्छु सर । तर कविता र आख्यानमा रुचि छ मेरो ।’

‘गुड, आफ्नो रुचिका किताब छनोट गरेर पढ्नस् । मैले त मण्डेलाको ‘लङ वाक टु फ्रिडम’ छैटौंपल्ट पढिसकें ।’ उनी अलिक उत्साही देखिए । बुकसेल्फबाट झिकेर मण्डेलाको अटोबायोग्राफी देखाए । खासमा मलाई उनको पठन संस्कृतिबारे जान्नु थियो । तर मेरो ध्यान उनको भित्ताप्रतिको रुचिले तान्यो । मैले कुरा मोड्न खोजें ।

‘मलाई फोन गर्नु छ भने बिहान ८ बजेतिर गर्नुहोला,’ उनले एकदिन उर्दी जारी गरेका थिए । हाम्रो पत्रिका ‘अरुणोदय दैनिक’ को ‘पठन संस्कृति’ स्तम्भका लागि म निकै हप्तादेखि उनीसँग कुरा गर्ने प्रयत्नमा थिएँ । उनले पछि गरौंला ‘भन्दै’ टारिरहे । एक दिन फेरि ८ बजे फोन गरें, ‘उनकी श्रीमतीले उठाइन् र भनिन्, १० मिनेटपछि गर्नोस् ।’ एक छिनमा फेरि रिडायल गरें । नभन्दै उनैले फोन उठाए ।

‘सर, मैले डिस्टर्व त गरिनँ ? हजुरको अनुकूल भए आउँ कि भनेर ?’

‘थोरै गर्नु भो । म भित्ता संवादमा थिएँ ।’ उताबाट अलिक टर्रिएको आवाज आयो ।

‘हजुर ?’ कुरोमा प्रस्ट हुन चाहने पत्रकारको गुण नै हो । मैले प्रस्टिन चाहँ । उनले फेरि त्यही वाक्य दोहोर्‍याए । म अक्मकिएँ, भित्तासँग ? मेरो नाक खुम्चिए । मनमनमा लाग्यो– बूढो खुस्केछ कि कसो ? मैले फेरि भनें, ‘भेट्न आउँ कि सर ?’

‘हैन, एक हप्तापछि फेरि कल गरेर आउनुस् । अलिक मुड छैन कुरा गर्ने ।’ मलाई कुरा लम्ब्याइरहनु थिएन । हुन्छ भनें । त्यो हप्ता मैले अर्कै व्यक्तित्व छानें । यसरी उनलाई दुई महिनासम्म हरेक हप्ता फोन गरिरहें । उनले प्राय: भित्ता संवाद जारी भएको छुटाएनन् । कस्तो हो, त्यो भित्ता संवाद भन्या ? मलाई बडो कौतूहल भयो । उसो त उनी प्रत्येक हप्ता पढ्दै गरेको किताबको नाम भन्न छुटाउँदैनथे । यसपालि किताबभन्दा भित्ता संवादले मलाई खुब तानेको थियो । बल्ल एकदिन उनले मलाई घर बोलाए । हात लागेको मौका उम्केला भन्दै म हतारहतार समयमै उनको घर पुगें ।

निकै भव्य बङ्ग्लो थियो त्यो । केनलमा झ्यापुल्ले कालो कुकुर ह्वाङह्वाङ गर्दा मेरो सातोपुत्लो उड्यो । म अलिकति पछाडि हच्किएँ । फराकिलो जग्गामा फैलिएको बगैंचा निकै लोभलाग्दो थियो । पार्किङमा मर्सिडिज बेन्जकार थियो । जिन्दगीभर उच्चपदस्थ सरकारी हाकिम भएका उनीसँग यतिको बङ्ग्लो हुनु के अस्वाभाविक होला र † मनमनै सोच्दै भित्र पसें । घरको भित्री सजावट त्यस्तै राम्रो । पार्केटिङ गरिएको फ्लोर, सिलिङमा झुमर झुन्ड्याइएको, विभिन्न ट्रफी, सम्मानपत्र, ब्रान्डेड रक्सी, सजावटले भरिएका सेल्फहरू । सरसर्ती हेर्दा सुविधासम्पन्न जीवनका सबथोक थिए उनको घरमा ।

पक्कै पनि बैङ्क ब्यालेन्स, अरू एकाध पायक लोकेसनमा घडेरी वा अपार्टमेन्ट उनीसँग हुनुपर्छ । राम्रा कम्पनीको प्राइमरी सेयरमा पनि यिनको हस्तक्षेप हुनुपर्छ । बैठककै भित्रपट्टि फराकिलो पुस्ताकालय पनि बाहिरैबाट देखिन्थ्यो । बाफ रे के छैन यिनीसँग ? जिउँदै स्वर्ग पुग्नु भनेको सुन्थें, यही रहेछ क्यारे । मनमनै सोचें । तर उनको अनुहार किन त्यति खुम्चिएको ? उनको वैभव र अनुहारको फरकले म एकपटक झस्किएँ । फ्याट्ट सोधें, ‘सर आराम हुनुहुन्छ ?’

‘अँ, ठीक छु । तपाईं नि ?’

‘ठीकै छु सर ।’;त्यसपछि एक छिन मौनता छायो ।

फेरि सोधें, ‘घरमा को–को हुनुहुन्छ ?’

‘को हुनु ? हामी दुईजना । अनि एकजना सहयोगी बहिनी छन् ।’

‘ए †’ फेरि मैले किताबको प्रसङ्ग उठाएँ । त्यसपछि निकैबेर पठनशैली र किताबकै बारे चर्चा भो । उनको मुहार घरीघरी उत्साहित देखिन्थ्यो । तर, धेरैजसो लामो श्वास लिन्थे । छटपटीजस्तो गर्दै भित्तातिर आँखा लाउँथे । त्यसैबीच मैले रोक्नै सकिनँ आफूलाई र सोधें, ‘सर, तपाईं किन भित्तासँग कुरा गर्नुहुन्छ ?’उनले ग्लासको पानी स्वाट पिए । लामो श्वास ताने र भन्न सुरु गरे भित्ता संवाद ।

‘मैले निकै मेहनत गरेर आजसम्मको स्टाटस कमाएँ । केही मेहनतले केही पदमा बसेपछि गर्नैपर्ने बाध्यताले सम्पत्ति पनि राम्रै आर्जन गरें । श्रीमती, छोराछोरीले कहिल्यै भुइँमा हिँड्नुपरेन । ३ जना छोराछोरीलाई भारतमा बोर्डस राखेर पढाएँ । लगानीअनुसार ती निकै अब्बल थिए पढाइमा । आमाबाले छोराछोरी पढ्न टाढा नपठा भनेर धेरै गाली गर्नुभएथ्यो । उनीहरूको भविष्यका लागि मैले सम्झौता गर्न चाहिनँ । सानैदेखि काखै रित्याएर छोराछोरी टाढा पठाउँदा श्रीमती निकै उदास रहन्थिन् । ब्याच्लरसम्मको पढाइपछि ठूली छोरी सुप्रिया नेपालमै मास्टर्स गर्न चाहन्थी ।मेरै करले अमेरिका गई । त्यसपछि छोरा सुहान र कान्छी सुभाङ्गीलाई पनि ठूली छोरीले नै उतै तानी । अमेरिकामा स्थापित हुन तीनैजनाले निकै मेहनत गरे । मेरो इच्छा थियो, पढाइ सकेर तीनैजना नेपाल आऊन् । देशमै केही गरून् । सन्तमायाजी, तर ती नेपाल फर्केनन् ।’ त्यतिन्जेल उनको आँखा रसाइसकेका थिए ।

उनले फेरि लामो सुस्केरा मारे । मैले सोधें, ‘किन र सर ? कोही एकजना पनि नआउने रे ?’

‘अहँ, आउँदैनन् रे । कति मुस्किलले यहाँ सेटल हुँदैछौं, किन आउने नेपाल ? बरु तपाईंहरू नै यता आउनोस् । के गर्नु छ र अब नेपाल बसेर भन्छन् ।’ उनले भने । हाम्रो बसाइ लामो भइसकेको थियो । त्यसबीच उनी श्रीमती मुस्किलले एकपटक बाहिर निस्किइन् । मैले अभिवादन गरें ।

उनी फेरि अर्को कोठातिर छिरिन् । श्रीमती भित्र पसेपछि उनले स्वर अलिक सानो पारेर भने, ‘जीवनप्रति निकै उदास छिन् अचेल यिनी । मैले उनी खुसी हुन्छिन् भने अमेरिकै जाऊँ पनि भनें । मान्दिनन् । मर्न अर्काको देशमा जान्नँ भन्छिन् । छोराछोरीलाई काखबाट टाढिन मैले बाध्य पारें भन्ने उनको गुनासो छ । पल्ला घरको छिमेकमा हेर्छु, सानोतिनो व्यापार, व्यवसायमा कोही, कोही जागिरमा दु:खजिलो गर्छन् । तर, घरभरि छोराबुहारी, नातिनातिना छन् । खुसीले भरिएको छ तिनको आँगन । सन्तमायाजी, बाको गनगन आज पनि सम्झिन्छु । बा भन्नुहुन्थ्यो– छोराछोरीको पाइला नछन्छनाउने घर के घर ? हो रहेछ । जिन्दगीभर छोराछोरीकै लागि कमाइयो । तर, अब तिनलाई न यो सम्पत्ति चाहियो न त आमाबाको सामीप्य । फोनमा, स्काइपमा औपचारिकता साटासाटसम्म त भइरहन्छ । वर्ष, दुई वर्षमा एकपटक हामी उतै जान्छौं उनीहरूलाई भेट्न । तर जब घर फक्र्यो फेरि त्यही उदासीनता । म त जसोतसो किताब र रक्सीसँग भुलिन्छु । बेलाबखत आफ्ना समकालीनसँग बाहिरफेर पनि रमाउँछु । तर मेरी श्रीमती ? उनको न त किताब पढ्ने रुचि छ, न त रक्सी पिउने आदत । उनलाई जीवन पक्कै पनि बोझ लागेको हुनुपर्छ । सन्तमायाजी, अब हामीलाई गाह्रोसाह्रो पर्दा मुखमा पानी हालिदिने पनि कोही हुँदैन होला । अब बुझ्नु भो हैन ? म किन भित्तासँग संवाद गर्छु ?’ उनले पुलुक्क भित्तातिर हेरे । साँच्चै, तिनका छोराछोरीको विभिन्न उमेर र पोजका बोलिहाल्लान् जस्ता तस्बिरहरू भित्ताभरि टाँगिएका थिए ।

प्रकाशित: मंसिर १२, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.