~लाल श्रेष्ठ~
काठमाण्डूको नख्खु जेलमा चेलीबेटी बेचेको अपराधमा म ६ वर्षका लागि थुनिएको थिएँ। पुषको जाडोको एक दिन एउटा कैदी मेरो कोठामा ल्याइयो। उनको अनुहार रगताम्मे र रूप ज्यादै फोहरी थियो। म उसलाई देखेर घिनाएँ तर रहँदा बस्दा मित्रता कस्सियो। ऊ बुद्ध रहेछ। कुराकानीको क्रममा थाहा भो उसको जन्मस्थल पर्सौनी रहेछ। उसको बाउ आमा सानैमा वितेको रहेछ। बाउ चैं सिकारी भएकोले भरुवा बन्दुक चलाउन उनले सानैमा सिकेको रहेछ। उसले पढ्न जानेन तर जङ्गल पस्न, जङ्गलसँग रमाउन र पशुपन्छीको सिकार गर्न निपुण भएर निस्क्यो। ऊ समाजबाट टाढिएर बाँच्दै आयो। उसले गोठालो आएकी आइमाई अनि केटीहरूलाई बन्दुक देखाउँदै तर्साउँदै धेरै पटक सेक्स गरेको रहेछ। त्यस बापत धेरै लोग्नेहरू र केटीका बाउहरूले उसलाई पिट्नु पिटेछन्।
पिटाइ खाँदा-खाँदा म-यो भनेर फ्याँकेको पनि हो रे तर पनि ऊ मरेन रे। जुध्नु, झगडा गर्नु र चोरेर खानुमा मज्जा मान्ने उनको स्वभाव बन्यो। ठूलो भएपछि गाउँका केटीहरूलाई बम्बईमा बेच्दै गयो। त्यति बेला उसले आफ्नै सोल्टिनीलाई उनकै घरमा बलात्कार ग-यो। घटनास्थलमा सबैले पक्डे र त्यहीँ दुवैको बिहे गरिदिए। यसरी स्वास्नी जोरे उनले। २ वटा बच्चा पनि जन्मिए। ऊ स्वास्नीसँग दोहोरो बोल्दैन रे। स्वास्नी त सेक्स गर्नका लागि मात्र हो भन्छ ऊ। नाता, सम्बन्ध, धर्म र साथीभाइ सबै बेकामका कुरा हुन उनका लागि। मेरो ‘मुड’मा जति बेला जे आउँछ त्यही गर्छु भन्छ। नियम कानुनको उसलाई कुनै पर्वाह छैन। ऊ भन्छ ठाडै भन्छ, ”मान्नेका लागि पो नियम कानुन, नमान्नेका लागि के को नियम कानुन?” मानव बेचबिखनको अपराधमा १० वर्षको सजायँ पाएर ऊ जेलमा ल्याइएको रहेछ। उसको लागि ड्रग्स बेच्नु बायाँ हातको खेल रहेछ भने मान्छेलाई चक्मा दिनु, तर्साउनु, लुट्नु, पिट्नु सामान्य कुरा।
”मलाई थुनामा हाल्ने दुई जना छन्, ती पोल्याहालाई म यहाँबाट छुट्ने बित्तिकै नमारी छाड्दिन” ऊ सधैं भनिरहन्छ । पैसाले मोज गरेको, मस्ती गरेको र अरू धेरै कुरा गरेको ऊ सधैं धाक लगाइरहन्छ। कुरा गर्दा धेरै गोप्यता राखेर बोल्छ। यस्तो लाग्छ यसको पहुँच भित्र-भित्र धेरै भित्रसम्म छ।
म जेलबाट सजायँ भुक्तान भएर निस्कने बेलामा उसले मलाई भन्यो, ”मेरो स्वास्नीलाई आफूखुसी गर् भन्दिनु, बच्चाहरूको मतलब छैन रे पनि भन्दिनु।” एकदिन उसको सन्देश पु-याउँन म पर्सौनी गएँ। घरमा कोही भेटिएन। सोधखोज गर्दा सबैले मलाई थुके, गाली गरे र झम्टे।
बर्षौ बित्यो मैले नाम-ठाम फेरेर यो शहरमा चौकीदारी गरेको। एकदिन अकस्मात् ”ए ठुटे?” भनेर एक परिचित आवाजले डाक्यो। फर्केर हेरेँ, ऊ त त्यही बुद्ध पो रहेछ। सुट-बुटमा ठाँटिएर मोटरसाइकलमा सवार भएको रहेछ। कुरैकुरामा उसले भन्यो, ”साला! मेरो काकाहरूले मलाई अंश नदिएकाले अंश मुद्दा हाल्या छु। अदालतमा भोलि पेसी छ, त्यै सुन्न जान लाग्या।” ऊ हुईंकिएर गयो धुलो उडाउँदै। ऊ ओझेलमा नपरेसम्म मैले हेरिरहेँ।
केही हप्ता बित्यो। एकदिन पर्सौनी गाउँको एउटा मान्छेले मलाई उसको बारेमा सोध्यो। मैले किन भनेर जान्न चाहे। उसले भन्यो, ”त्यसले दुई जना पोल्याहालाई खलास पारेछ, पुलिसले खोज्दैछ।” म डराएँ यो कुराले। सोचे, अब उप्रान्त यो बुद्धसँग मैले भेट्नु हुन्न। ठीकै छ बरु यहाँको चौकीदारी छाडेर अर्कै शहरमा गुपचुप सर्नुपर्ला।
२०६६/०६/१७
(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क २, फेब्रुअरी २०१०)