~शंकर लामिछाने~
श्री सम्पादकजी,
कहानी पठाउनु भनी तपाईँको आदेश पाएँ । तर, आज केही दिनदेखि मनस्थिति बिग्रिरहेको छ । यसको कारण हो, मेरो एक मित्रको चिठी जो मैले अस्ति पाएँ । हामी सँगै पढ्यौँ, सँगै खेल्यौँ । तर राजु हामीभन्दा पहिले पनि भिन्न देखिन्थ्यो । उसको पिताजी दरबारी थिए । तेस्रो बाजी बिहा गरेर जन्मेको राजुले आफ्नो बाल्यावस्था पिताजीको काखमा बिताउन पाएन । आमा उसलाई जन्म दिएको केही समयमा नै परलोक भइन् । र ऊ पालियो पिताको एक साथीकहाँ । परदेशमा । काकाले उसलाई मित्रको हैसियतबाट पाले । र राज जहिले पनि थियो । उसले चाहेको पुग्न गाहारो थिएन – धनको विषयमा । तर प्यार उसले पाएन ।
र आज उसको यस्तो पत्र पाउँदा- मलाई दुःख लागेको छ । र म त्यसको जवाफ पाउन सक्दिनँ । यो पत्र छापिदिनोस् । सायद कोही पाठकले तकलीफ उठाएर जवाफ दिहाल्नेछन् ।
भवदीय-
शङ्करप्रसाद, ताहाचल ।
शङ्कर,
आज बिहानैदेखि एक किसिमको नरमाइलो लागिरहेछ । बितिसकेका जीवनका घटनाहरूको सम्झना अहिलेको अवस्था र भविष्य यी तीनै थोक एकैचोटि मगजमा घुमिरहेछन् । र असहाय भएर, एउटाबाट अर्कोमा आफ्नो विचार हुत्याउँदै गर्छु तर हरेकमा पीडा छ । बितिसकेका जीवनको दुःख मेटिइसकेछ – तिनमा सिर्फ मिठो बिझ्ने सम्झना छ । अहिले चलिरहेको जीवन कुन दिशामा जाँदै छ, थाहा छैन, त्यसमा अज्ञानता छ । भविष्य के हुन्छ, कसरी म आफूलाई एक स्थान बनाऊँ, यो सोच्न सक्दिनँ दृष्टि धमिलिएको छ- अतः त्यसमा असमर्थता छ ।
आज बिहानैदेखि मनमा आफूलाई पढ्ने भावना उम्रिरहेको छ । यो अज्ञानतालाई चिरेर- म देख्न सकूँ केही, यो इच्छा छ । र बिहानैदेखि जीवन-फिल्मको चक्कलाई उल्टो घुमाएर म झन्झन् पुराना सीनहरू हेर्दै जान्छु । र एक प्रश्न बारबार मेरो मनमा घुमिरहेछ, म त्यसलाई समाधान गर्ने कोशिसमा थिएँ । म किन यस्तो दुःखी छु – व्यतीत जीवनका हर अङ्गमा यो प्रश्नचिन्ह ट्रेडमार्कझैँ लागेको छ !! वर्तमान जीवनको हरेक कुनामा यो प्रश्नचिन्ह झन् गहिरो सँग छापिएको छ ! मलाई आफ्नो जीवन अहिले एउटा पुरानो नोट जस्तो लागिरहेछ । मैलो, ठाउँठाउँमा च्यातिएको, असङ्ख्य हातमा परेर एउटा गरिबको हातमा पर्न आएको । ऊ त्यसलाई ओल्र्टाई-पल्र्टाई हेरिरहेछ । त्यसमा छापिएको रुपियाँको अङ्क अस्पष्ट छ, त्यसको पानीछाप धमिलिएको छ तापनि व्याप्त छ, त्यो पानी
छाप नोटको जीवनी हो, एक इतिहास ! मेरो जस्तै । र त्यो गरिब सोचिरहेछ – यो नोट चल्छ ? मेरो प्रश्न जस्तै ।
र सबैभन्दा मुख्य छ- यसको रुपैयाँ भुक्तान माग्न आएमा सदर मुल्की खानाबाट मोरु… तुरुन्त पाइनेछ । नोट जन्मेको अड्डामा पुग्न गाहारो छ, धेरै दुःखदायी, तर सबै जान्दछन् नोट कहाँबाट आयो । …..
मनको यो भावना हटाउनकै लागि होटलतिर लागेँ । होटेलहरूको ख्याउँख्याउँमा एक किसिमको आनन्द हुन्छ । तर …. भाग्यवश भनूँ या अभाग्यवश साथीहरू पनि रहेछन् । कुराको बहस मलाई नै केन्द्रित भएर उठ्यो । एउटाले भन्यो – ‘राजु केटाकेटीमा यति तेज, चलाख र हँसिलो थियो, आजकाल के भो ?’
मेरा केही मित्रहरू यस्ता पनि छन्, शङ्कर, जसले राजुको सिर्फ एक रूप देखेका छन्- हँसिलो । तिनीहरू सोच्दछन् राजु अत्यन्त सुखी छ, किनकि ऊ खुसी छ । तर जो मेरा धेरै नगीच छन्- र दुवै रूप जान्दछन्- उनीहरू जान्दछन् कि राजु गम्भीर हुँदै आएको छ ।
मोहनले भन्यो- “यत्ति इन्टेलिजेन्ट भएर पनि राजुले धेरै पढ्न सकेन । यही त सबैभन्दा दुःखको कुरा छ ! नपढ्ने कुरा पनि केही थिएन ।”
गोपालले भन्यो- “कलेजमा जब थियो, अत्यन्तै ब्रिलियन्ट थियो । हामीहरूले धेरै आश राखेका थियौँ । तर…..शायद खल्तीको पैसा र यहाँको वातावरण सब यसका प्रतिकूल भए । यसमा राजु डुब्यो, पार हुन सकेन ।”
“होइन ।”
“ठिटीहरू ?” “अहँ, मलाई राम्ररी थाहा छ !”
“तब, सिर्फ एउटै कारण हुन सक्छ- स्नेहको अभाव ! यसले केटाकेटी बेलामा प्यार पाउन सकेन, र माया पनि त्यसबेला जब धेरै ढिला भैसकेको थियो । त्यसबेला जब ५ बजिसकेको थियो ।”
त्यस बखत यस्तो लाग्यो कि भईँमा मुङ्ग्रोले हानेर खेल्दाखेल्दै अकस्मात् हातमा चोट लागेझैँ मेरो हृदयको ठीक कमजोर ठाउँमा कसैले ढुङ्गा हान्यो । र बिहानैदेखि घुमिरहेको प्रश्न….. त्यसले जवाफ पायो – स्नेह अभाव ।
मेरो जीवनको ट्रेजेडी आमाको छिटो मरण । र बाबुको साथी काकाको शुष्क हृदय । म काकालाई दोष दिन्नँ । किनकि मैले उनीसँग स्नेह पाइनँ यो भन्दिनँ । यो अन्तिम २ वर्ष उनले आफ्नो हृदय मेरो अगाडि राखेका छन् । तर….. गोपालको अवस्था…. त्यस बखत राजु ढुङ्गा बनिसकेको थियो । पानीले माथिल्लो सतह भिजाएर बगेर गयो भित्र पुग्न सकेन । काकाले मलाई एक मित्रको हैसियतबाट प्यार दिनुभो न कि छोराले । हामी राजनीति, साहित्य, इतिहास, प्रेम र वासनामाथि गफ गर्थ्यौँ । मेरो जीतमा बधाई र मेरो हारमा अफशोच दिनुभो- एक मित्रले झैँ। तँलाई थाहै छ, मैले एक दिन वहाँलाई भनेँ- “म फलानी लड्कीसँग विवाह गर्न चाहन्छु ।” वहाँले भन्नुभो- “हुन्छ, तर मैले अठोट गरेँ कि ऊ सच्चा प्रेम गर्छे कि गर्दिन !” र उमाबाट निराश भएर एक दिन इतिहास बताउँदै मैले भनेथेँ- “म बिहा गर्दै गर्दिनँ, स्वास्नीमानिस धोकालु छन् ।” काकाले भन्नुभयो- “वासनाको भोकमा अन्धा भएर नहुत्तिनु । बिहे गर्नु-नगर्नु तेरो हातमा छ, तर राजु, बिहे गर्ने अगाडि सिर्फ २ कुरा विचार गरेस् । एक त एउटैसँग जीवन बिताउने प्रण र अर्को उसले तँलाई प्रेम गरेको होस् ।”
यत्तिको स्वतन्त्रता पाएर पनि, सबैभन्दा धोका पाएको छु, स्वास्नी मानिसबाट । मेरा पे्रमहरूको श्री गणेश राम्रो छ तर कठिन वाचा अत्यन्त नराम्रो । शायद यो मेरो असमर्थताकै दोष होला ! बिजुली बत्ती बलेको सडकमा हिँडेको बेला के तैँले एउटा कुराको विचार गरेको छ – बत्तीको खम्बा अगाडि हुन्जेल क्या राम्रो लाइट छरेर सडकै उज्यालो पारेको हुन्छ । तर त्यही खम्बा नाघ्नेबित्तिकै छाया अगाडि सरेर बाटोलाई झन् अन्धकार पारिदिन्छ । मेरो जीवन पनि यस्तै एउटा बटुवाको सफर हो । तर…. शायद म रुकेको भए उनीहरूको ज्याति पाउन सक्थेँ होला । र रुक्नु त जीवन होइन, अब त्यो पनि अस्वाभाविक हुन जान्थ्यो ।
त अँ, काकाले दिइराखेको यो स्वतन्त्रताले मलाई एउटा राम्रो मित्र बनायो तर एउटा असल पुत्र बनाउन सकेन । र आज मेरा सयकडौँ मित्र छन् र सबै मलाई चाहन्छन्- म उनीहरूलाई चाहन्छु । तर म पति बन्न सकिनँ । त्यो शक्ति ममा उठ्नै पाएन । स्वास्नी मानिसहरूप्रति, म उनीहरूको प्रेम तुरुन्त पाउन सक्छु, तर टिकाउन सक्दिनँ । प्रेमी बनेर उनीहरूलाई प्रेम गर्न सक्छु, तर पति बनेर उनीहरूलाई स्नेह दिन सक्दिनँ । यहीँ त मेरो जीवनको ठूलो हार छ ! स्त्री चाहन्छे, पतिमा कठोर एवम् बलियो आश्रय । ऊ दबिन चाहन्छे, न कि दबाइन । ऊ चाहन्छे कोही आफ्नो मुठोमा (हृदयमा, जीवनमा) उसलाई बाँधोस् । स्वास्नीमान्छेमा शरण (resignation) को भावना हुन्छ र ऊ चाहन्छे लोग्ने मानिसमा आश्रय (possession) को । राजुमा त्यो (instinct, faculty) शक्ति छैन । नोटझैँ ऊ एक हातबाट अर्को हातमा सरी, आफूलाई बेचेर, सुख दिन जान्दछ । जान्दैन त सिर्फ कसरी सुख किनिन्छ । नोटलाई हातमा लिँदा हरेकलाई खुसी हुन्छ, तर सुख किन्न नोट बेच्नुपर्दा सबलाई दुःख पनि हुन्छ । राजु खुसी दिन सक्छ, सुख दिन सक्दैन । हुन त, तँ भन्लास् नोटको सच्चा जीवन च्यातिएर चिथडा नहुन्जेल र सहर मुल्की खानामा त्यसको भुक्तानी माग्न नपठाइन्जेल हात साटिरहनु, खुसी दिइरहनु हो । कन्जुसको सेफमा बन्द हुनु होइन । तर…. आफ्नो जिउमा, कागजमा तेल-मैलो लागेको देखेर नोटलाई के मलाई जस्तै थुनिन मन लाग्दो होइन होला ?
मलाई यस्तो किन मन लाग्छ ? किन ? किन ?
तेरो मित्र,
राजु
(स्रोत : Shankar Lamichhane Smriti Ghar)