~दीपा राई पुन~
सपनाहरु उडेर
समय स्तब्ध उभिएको बेला
सुनसान मलाई तिमीले प्रेम गरेको क्षण
मप्रतिको निश्चलता
मायालु लाग्या मरो नेप्टे !
दूर देशबाट पनि
चिम्सो आँखा अझ चिम्सै पार्दै
मायाको मिठो धुन सुनाउँदा
हत्केलाले आँसु पुछ्दै
मलाई हाँस्दै बाँच्नू भन्दा
तिम्रो त्यो सम्मान र आदर बुझेर
अझ बेसी माया लाग्यो मेरो चिम्से !
तिमी पो कहाँकहाँ बिरानो मुलुकमा
जहाँ म पुग्नै सक्दिन
यहाँ त हेर तिमीले हिँडेको गोरेटोमा
तिम्रै पाइतालाको डोब छ
नेवारो, गगुन र भर्लाको पातमा
लहरे र डाले घाँसमा
तिम्रै हत्केलाको छाप छ
यादले आँखा रसाएको बेला
माथि गौचरणमा जान्छु
तिम्रो बाँसुरीको धुन सुन्न
साँच्ची, तिम्रो पटुकी खै ?
जहाँ मेरो माया बाँधेर
बाँसुरी भिरेको हुन्थ्यौ
हाँस्दैहाँस्दै मलाई अँगालेर
सुईसुई पार्दै गाईबस्तु धपाइरहेको हुन्थ्यौ
एक दिन गोठालोबाट फर्कंदा
मलाई उपरतली लागेर
फत्र्याकफत्र्याक भएको हेर्न नसकेर
जङ्गली नलागोस् भन्दै
कम्मरमा खुर्मी सिउरिदिएको
आजजस्तै लाग्छ
अहिले सम्झँदैछु
त्यही बेला
तिमीले मेरो अन्तस्करणमा मुटु पो सिउरी दिएछौ
सट्टामा मेरो मुटु लिएर घर लागेको तिमी
हुटहुटी भएर आमा र आपालाई भनेर
घाम डुब्दै गरेको एक साँझ
कोङपी र खिदीलाई दुई चिन्डो सगुन बोकाएर
मलाई माग्नु पठाएछौ
सगुन आपाले सारेर सबैलाई बाँडिदिँदा
स्वीकारोक्ति बुझेर छड्के नजरले मलाई हेर्दा
लाजले रातो भएको गाला सम्झँदा
अझ सेलाएजस्तो लाग्दैन
फूलबुट्टे रुमाल गाँठो पारेर
बैना मारी नौमती बाजा बजाएर साइतमै लगेथ्यौ
समयले कहाँ दियो र हामीले सोचेजस्तै बाँच्नु
जूनले चिहाएको मन पर्थेन तिमीलाई
चिसोले गिज्याएको झनै मन पर्थेन
आमा र आपाको सपना
टोङ्मा र खुसेको घरजम बसाउने
माइती राजा भएर जिउनु थियो
रात भागेर घुम्ती काट्दा
मेरो चुल्ठौमा चाँप सिउरेर
देउरालीमा आँसुको फूलपाती चढाएर
तिमी हिँडेथ्यौ क्षितिज पारि कताकता
प्रत्येक बिहानी मलाई छाडेर जाँदै गरेको देख्छु
तिमी कहाँ पुग्यौ कुन्नि
समस्या ज्युँको त्युँ नै भेट्छु
जब धरधरी आँसु खस्छ
चप्लेटी ढुङ्गाजस्तो तिम्रो छातीमा
बिसाएर सुस्ताउन मन लाग्छ
आऊ, अब त मेरो नेप्टे
मेरो आपा र आमा डाँडाको घामजूनजस्तै हुनुभयो
तिमी आएपछि मलाई ‘बागदाता’ दिने रे ।
अर्थ :
कोङपी, खिदी : केटी माग्नु जाने बुढौली ।
बागदाता : माइतीको कुलबाट निकाल्नु ।
(स्रोत : नेपाल सरोकार)