~सागर कार्की~
एउटा गाउँको सुन्दर ठाउँमा एउटी सानी नानी आफ्नो आमा बुवासँग बस्ने गर्थी । नानी सानी थिई त्यसैले सवैको प्यारी पनि थिई । नानीको एउटा साथी पनि थियो जुन चरा थियो । चरो उड्न सक्थ्यो । उड्ने चरोलाई नानीको आमाले पाल्नु भएको थियो । चरा नानीको साथी भएपनि अलि घमण्डी थियो । आफू उड्न सक्ने कुराले गर्दा उसलाई घमण्ड चढेको थियो । बेलाबेला नानीसँग खेल्दा रिस उठ्यो भने चराले नानीलाई आफू उड्न सक्ने कुराको घुर्की लगाउथ्यो ।
एक दिन चराको यस्तो घमण्डले नानीलाई खुव रिस उठ्यो । उसले पनि चरासँगै उड्ने अडान लगाई । ऊ सानो रुखमा चढी र आफ्नो हात फिजार्दै उड्ने प्रयास गरी । तर नानी साँच्चीको चरा पनि त होइन । उसँग उड्नको लागि चराको जस्तो पखेटा थिएन । त्यसैले ऊ उड्न सकिन र भुईमा लडी । यस कुराले चरालाई खुव हासो उठ्यो । ऊ मरि मरि हाँस्यो । नानी भने आखाँभरि आसु राखेर रुन थाली । नानी उड्न नसक्ने कुराले चरामा झन् घमण्ड बढ्यो । नानी रुदै आमा भएको ठाउँ पुगी । उसको आँसु देखेर आमालाई नरमाईलो लाग्यो । आमाले नानीको आँसु पुछ्नु भयो र घमण्डी चरालाई लाई पाठ सिकाउन एउटा जुक्ती निकाल्नुभयो । आमाले नानीलाई चरासँग दौडने प्रतिस्प्रधा गर्न भन्नुभयो ।
नानी र चरा दुबै एकै ठाउँमा जम्मा भए र आमाले वान्, टु, थ्री, गो भनेपछि दुवै सँगै दौडिए । नानीको खुट्टा लामा थिए तर चराको खुट्टा साना थिए । त्यसैले चरा नानी जसरी बेस्सरी दौडन सकेन । यसले नानी निकै खुसी भई । नानी पेट मिचिमिचि हास्न थाली । घमण्डी चराको घमण्ड भने चकनाचुर भयो ।
घमण्डले आफूलाई नै नोक्सान पु¥याउँछ । त्यसैले हामीले कहिल्यै घमण्ड गर्नुहुन्न ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)