कथा : साइको

~सीमा आभास~seema avas

गोप्य विद्या उसको रुचिमा पर्छ ।

कलात्मक ढंगले अरूका गोप्य कुरा सुनाउनु उसको क्षमता हो । एक दुईचोटि संगत गरेका मान्छेका नितान्त व्यक्तिगत कुरा भन्न सक्छ । अरूका कुरा काट्नु ऊ सन्तुष्ट हुने अर्को पाटो हो ।

मान्छे बोल्दा हात हल्लाएको हाउभाउ, हिँडाइको चाल, अनुहारको मोहोडा, शरीरको बनोट यस्ता अनेकौं कुरा हेरेर मान्छेका लक्षण बताइदिन्छ ।

मुरली बजाउनु उसको पेसा हो । बोलेर, हाँसेर र मुरली बजाएर मान्छेलाई ऊ छिट्टै प्रभावमा पार्छ । उसकोमा मान्छे आएपछि घुमीघुमी मुरली बजाउँछ । मुरलीको मन्त्रमुग्ध धुन सुनेपछि आउनेहरू दानपेटिकामा पैसा खसाइदिन्छन् । ऊ झनै खुसी भएर सुमधुर धुन निकाल्छ ।

पैसामा बार्गेनिङ गर्दैन ।

चौबाटोको दक्षिणमा सानो भट्टीबस्ती छ । भट्टीबस्तीको प्रचार गर्छ । ग्राहक खाजिदिन्छ । त्यसबापत दिनको बीस रुपैयाँ पाउँछ । भट्टीमा जाँदा आउँदाका नियमित ग्राहकबाट पनि केही पैसा कमाउँछ ।

यो साइको भनेसम्मको नराम्रो छ ।

उसका बाक्ला आँखीभौँ, राता गाोलभेँडाजस्ता बल्ढ्याङ्ग्रे आँखा, बसिलाले तासेजस्ता खबटे गाला, बान्की नपरेको नाक, अनुहारको कालो रङमा कालै रङका बाक्ला ओठ, झनै नसुहाएका लाग्थे । ऊ हाँस्ता देखिने नीला गिँजा र पाइरिया लागेका दाँत, माथ्लोपट्टिका दुइटा दाँतले तल्लो ओठ छोपिँदा उसको अनुहार कतैबाट सुहाएझैँ लाग्दैनथ्यो । उसको चार फुट दुई इन्च उचाइ, लगभग पैँतीसदेखि चालीस किलो तौलको जीउ पनि त्यस्तै नसुहाएकै लाग्थ्यो ।

जन्मजात ऊ उभिएर हिँड्न सक्तैनथ्यो । घुँडा दोब्रिएका भए पनि बसीबसी लौरोको सहाराले हिँड्थ्यो ।

उसकी साथी बेलौती र उसको गाउँ एकै थियो । बेलौतीका जस्तै साइकोका पनि आफन्त कोही थिएनन् । बेलौती दयालु भए पनि साइको सन्काहा नै हो । बेलौतीसँग ऊ सन्केका कुरा मात्र गथ्र्यो सानैदेखि । गाउँमा बिहान बेलुका खान मात्र पनि दुवैलाई संकट थियो । विकट गाउँबाट बेलौतीकै सहारामा साइको यस ठाउँमा आइपुगेको हो ।

यस ठाउँको विशेषता भनेको अर्ध गाउँ र अर्ध सहर हो । सामान्य कमाइले बाँच्न पुग्छ ।

टिनको छानो भएको बाँसको होचो माच पनि बेलौतीले बनाइदिएकी थिई । उसका ओढ्ने ओछ्याउने, खाना पकाउने भाँडाकुँडा, अर्को छेउमा ओछ्यान बेलौतीले नै जोहो गरिदिएकी थिई ।

भित्तामा हिरोनीको ठूलो तस्बिर झुन्डिएको छ । त्योचाहिँ साइकोले किनेको थियो । ऊ सुत्ने ओछ्यानको सीधामाथि सुरिलो मुरली सिउरिएको छ । माँचको पछाडि पश्चिमपट्टि पिसाब फेर्ने ठाउँ छ । उसलाई माचबाट उक्लिन र झर्न अप्ठ्यारो हुने भएकैले भान्साको छेउमै पिसाब फेर्ने ठाउँ बनाइदिएकी हो बेलौतीले ।

ऊ प्राय: कोठे सर्ट र सेतो पाइजामा लगाउँछ । पिसाब टुंगामा गर्न नसक्ने भएकाले साइको पाँच सातवटा पाइजामा साथै राख्ने गर्छ । यी सारा कपडाको चाँजोपाँजो पनि बेलौतीले नै मिलाएकी हो ।

एउटा वयस्क पुरुषमा हुने आकर्षण र गुण साइकोमा थिएन । तथापि यति कुरुप साइकोलाई बेलौती असाध्यै प्रेम गर्थी । बच्चालाई जस्तै माया गर्थी । उसका सानातिना गल्तीमा साह्रै चित्त दुखाउँदिन थिई । बेलौतीलाई प्याचप्याच वचन लाउँथ्यो । वास्तै गर्दिनथिई ।

एक साँझ बेलौतीले साइकोलाई भनेकी थिई, ‘अर्काको दोकानमा भाँडा माझ्नुभन्दा आफ्नै व्यवहार अगि बढ्छ । बिहे गरौँ ।’

जवाफमा साइकोले भनेको थियो, ‘तैले मलाई यहाँ ल्याएकी बिया गर्न ?’

बेलौतीले भनि, ‘तिमी पनि अशक्त छौ । बिहे गर्नैपर्नेछ । दुईजना भयौँ भने गरिखान सजिलो हुन्छ ।’

उसले आफ्नो कुमारत्वमाथि गर्व गर्दै भनेको थियो, ‘मलाई जिउन सजिलो छ । यो उमेरसम्म मैले मेरो कुमारत्व जोगाएको छु । मेरो कुमारत्व मेरो लागि भगवान्को वरदान हो ।’ यो अनौठो मान्छेको अनौठो कुरा सुनेर बेलौती छक्क परी ।

उसले साइकोलाई भनी, ‘तिमीसँग नजिक भएकाले गाउँघरमा तिमीसँगको बात लागेको छ ।’

साइकोले भन्यो, ‘बात लागे लागोस् । मलाई मतलब छैन ।’

यसपालि भने साइकोको कुराले बेलौतीलाई तीतो लाग्यो । टुटेको सारंगीको तारजस्ती भई । इख मान्दै भनी, ‘मैले तिमीलाई प्रेम गरेकी हुँ । मेरो प्रेममाथि वचन लायौ । एकदिन तिम्रो कुमारत्व मेरो ढोकासम्म आइपुग्ने छ । या त भत्किन, या त जोगिन ।’

होटलमा भाँडा माझ्ने काम गरेकी थिई बेलौतीले । होटल चलाउन अलिअलि जानेकी थिई । होटल मात्र भन्दा पनि भट्टी राम्रोसँग चल्छ भनेर बेलौतीलाई लाग्यो । भट्टी चलाउन थाली ।

साइको अरू भट्टीलाई भन्दा बेलौतीको भट्टीलाई बढाइचढाइ गरेर कुरा गथ्र्यो । अनि ग्राहक त्यता पठाउँथ्यो ।

साइकोको माँचबाट दस मिनेटपति हिँडेपछि भट्टीबस्ती पुगिन्छ । तर साइको भाइटीकाको दिनबाहेक अघिपछि भट्टीबस्तीमा छिर्दैन । भट्टीका अरू दिदीबहिनीले जस्तो बेलौतीले साइकोलाई तिहारको टीका लगाइदिएकी छैन ।

ग्राहकलाई भट्टीमा पठाएपछि साइको कल्पनामा चुर्लुम्म डुबेर मुरली बजाउँछ ।

ऊ सोच्छ– दस मिनेटमा त्यो नयाँ ग्राहक भट्टीमा पुग्यो । बेलौतीले त्यसको अगाडि लोकल छ्याङ र तारेका माछा, छेउमा हरियो अकबरे खुर्सानी, प्याज र मुलाका केही टुक्रा राखी । र, मुसुक्क गर्दै फर्किएर आफ्नै काममा गएझैँ गर्दै ग्राहकको चियो गरी होली । मुला र काँक्राका टुक्रा थप्दै अर्कोपटक मुस्कुराई । छ्याङ थप्दै गई । मातेको भुसतिघ्रेले लरबरिंदै फेरि छ्याङ थप्यो होला । बेलौतीले त्यसको सर्टको गोजीमा के छ पत्ता लगाइसकी होली । साइकोलाई बेलौतीको ग्राहक आफैँ भएजस्तो लाग्यो ।

रोमाञ्चित हुँदै फरक धुनमा मुरली बजाउन थाल्यो । ऊ अवस्था र मुड हेरेर मुरलीका धुन निकाल्छ ।

फेरि सोच्न थाल्यो– माथिदेखि तलसम्म झुन्डिएको हरियो पर्दा पन्छाइवरी मातेर होस गुम भएको त्यो ज्याङ्गो ग्राहकलाई बेलौतीले जतनका साथ भित्रको खाटमा ढाली र पर्दा टाँगी होली ।

साँझको बेला एक्लै हुँदा बजाउने मुरलीको धुन निकैबेर बजाइरह्यो ।

तरुनी आइमाईलाई आफूसँग मिसाएर कल्पना गरिसकेपछि साइकोलाई पीडा बल्झेर आउँछ । जीवनदेखि विरक्त लागेर आउँछ । तर, कुमारत्व जोगाउनुपर्छ भन्ने ठान्छ । अनि, आँखा चिम्लिएर पीडा धुनमा मुरली बजाइरहन्छ ।

जब उसको माँचमा तन्नेरी केटाहरू छिल्लिएर भट्टीवाल्नीका कुरा गर्न थाल्छन जीवनको अभिष्ट इच्छा पहिलोचोटि पूरा भएझैँ गरी साइको खुसी देखिन्छ । ऊ कहिल्यै छि:छि: र फोहोरी बोल्दैन । अरूले बोल्दा आनन्द मान्छ । अनि सभ्य शैलीमा ठट्टा गरेर सबैलाई हँसाउँछ । भट्टीवाल्नी दिदीले तिहारमा दिएका कानका चाँदीका मुन्द्रा हल्लिने गरी अरूसँगै सार मिलाएर हाँस्छ । सानका साथ घुँघुरी परेको कालो र मैलो कपाल सुम्सुम्याउँछ ।

आफूले टीका थापेका दिदीबहिनीका कुरा काटेर रमाइसकेपछि उसलाई अपराधबोध हुन्छ ।

जन्म गते थाहा नभए पनि ऊ मंसिरमा जन्मिएको हो । उमेर कति भयो थाहा छैन । तर पैंतीसको भए भन्छ । आफ्नो जन्म महिना मनाउन एक दिन कमाएको पैसा गन्यो । झन्डै पाँच वर्षको बीचमा लगभग असी हजार रुपैयाँ जोगाएको रहेछ । उसले यति धेरै पैसा भएको होला कल्पनासम्म गरेको थिएन ।

पैसा गनेको साँझ उसलाई मुरली बजाउन मन लागेन ।

माँच कुरेर बस्ने र अरूलाई ग्राहक खोजेर पठाउने काम गर्न उसलाई अल्छी लाग्न थाल्यो । बाटो हिँडेकालाई बोलाउन मन लागेन । आठ बजेसम्ममा खाना खाइसकेको हुन्थ्यो । खाना बनाउने जाँगर चलेन ।

ओछ्यानमा सुतिरह्यो । छानोमा सिउरिएको मुरली निकालेर बजाएन । बरु त्यही मुरली हेरेर अनेक कल्पना गर्‍यो । कहिले मुरली हेथ्र्यो, कहिले ओछ्यानमाथि टाँसेको हिरोनीको पोस्टर ।

भट्टीवाल्नी दिदीबहिनीलाई तिहारमा टीका लगाउँदा छोइएको बाहेक कहिल्यै कुनै उमेरदार केटीलाई छोएको थिएन । उसले जानेर बेलौतीलाई पनि छोएको थिएन । तर, हिरोनीको पोस्टर सुम्सुम्यायो ।

उसले खान छोडेको र ननिदाएको पनि त्यति नै भयो, जति दिन भयो उसले पैसा गनेको ।

उसले जीवनमा सबैभन्दा बढी कुरा आइमाइको गरेको छ । आइमाईका कमजोरीलाई चाखलाग्दो गरी भन्थ्यो र अरूलाई मन्त्र मुग्ध पाथ्र्यो । उसलाई आइमाईका कमजोरीका कुरा गर्दा बडा आनन्द आउँछ । आज उसलाई आइमाईका विषयमा एकवचन पनि नबोलुँ, केवल सम्झी मात्र रहुँ लागेको छ ।

उसको जीवनमा त्यति धेरै आइमाईहरू आउने मौकै पाएनन् । ऊ आइमाईलाई उडाएर बोल्छ भन्ने सबैलाई थाहा थियो । बेलौती पहिलो र अन्तिमचोटि उसको जीवनमा आएर गएकी थिई । बेलौतीलाई पनि उसले उडाएकै थियो । हेपेरै बोलेको थियो । तैपनि बेलौती बेलाबेला उसलाई भेट्न आउँछे । तर, ऊ वचन लाएर पठाउँछ ।

सधैंझैं साँझ मासु चिउरा र गुन्द्रुकको अचार लिएर बेलौती आइपुगी । साइकोको अनौठो मुद्रा देखेर सोधी, ‘के भयो तिमीलाई ?’

‘मलाई यहाँ बस्न मन लागेन । ’

‘किन ? ’

‘खै ? ’

‘त्यसो भए मेरोमा आऊ केही समयको लागि । ’

ऊ यति नम्र भएर बेलौतीसँग बेलेको सायद यो नै पहिलोचाटि थियो होला । तर बेलौतीलाई कुनै फरक परेको झै लाग्दैनथ्यो । हतारमा थिइ । ऊ गई ।

उसलाई विगत सम्झिएर हीनताबोध भयो । जान मन लागे पनि बेलौतीकोमा जान सकेन ।

उसलाई ज्वरो फुट्यो । लोग्ने मान्छेले रुनुहुन्न भन्ने दम्भ साइकोमा भए पनि निस्पट्ट अँध्यारोमा भलभल आँसुका धारा चुहाएर रोइरह्यो ।

हप्ता दिन बितिसकेको थियो । बेलौती पनि आएकी थिइन ।

साइकोलाई पनि थाहा छैन खाली बेलौतीको अनुहार उसको आँखा अगाडि आएर किन नाच्छ । यतिका वर्षपछि उसलाई बेलौतीप्रति किन माया जागेर आयो ? बेलौतीलाई एकपटक मात्र भेट्न पाए पनि उसको ज्वरो झर्ने थियो कि ? सिर्फ एकपटक त्यो स्वास्नीमान्छेको अगाडि उभिन चाहन्थ्यो ।

साँझ परिसकेको थियो । पानी पर्न नसकेर मडारिएको बादलजस्तो भएर जीउभरि सकस भरेर ऊ भट्टीबस्तीमा छिर्‍यो । उसले भाइटीका गरेका चेलीहरूले देखे के भन्लान् भन्ने ठूलो डर थियो । ऊ बेहोस बेहोसजस्तो भएको थियो । दाहिने तिघ्रोमा पिसाब फेरेर अघि भिजाएछ ।

हतारहतार पाइजामा फेर्‍यो । एकएक हजारका दुई दुइटा नोट सर्टका दुईपट्टि गोजीमा राख्यो । पाइजामाका दुइटा गोजीमा हजारका दुई दुइटा नोट राख्यो । दुइटा हजारका नोट भित्री कट्टुको तुनामा राख्यो । ऊ हिंड्दा सधैं दुई चारवटा पाइजामा बोक्थ्यो । यसरी झोलामा पाइजामा बोक्न बेलौतीले नै सिकाएकी थिई । अरूबाट छलिँदै मनमा साहस भरेर ऊ बेलौतीको भट्टीतिर लाग्यो ।

‘बेलौतीभट्टी’ नपुग्दै रहरलाग्दी बेलौती उसका आँखाभरि सल्बलाउन थाली । रोमाञ्चित बन्दै सोच्न थाल्यो– तिर्नै परेछ भने पनि यो दस हजार देवी सम्झिएर उज्यालो नोर भएकी फरासिली बेलौतीलाई नै चढाएर फर्कनुपर्ला ।

अम्बकजस्ती छे भनेर बेलौतीको नाम ‘बेलौती’ साइकोले नै राखेको थियो । ‘बेलौतीभट्टी’ लेखेको साइनबोर्डमा उसका आँखा परे । उसलाई खुसी लाग्यो आफूले राखिदिएको नामले वैधानिकता पाउँदा ।

ऊ हतार गर्दै ‘बेलौतीभट्टी’ मा छिर्‍यो ।

सेतो भुइँमा नीला फूलबुट्टा भएको स्लिपलेस म्याक्सी लगाएकी बेलौती सुकुटी भुट्तै थिई । सुकुटीको मीठो बासना सिधै उसको नाकमा छिर्‍यो ।

उसले छ्याङ र सुकुटी खायो । मातेपछि मुरली सम्झियो । यस बेला सुमधुर धुनमा मुरली बजाउन पाएको भए बेलौती खुसी हुने थिई ।

संयोगले बेलौतीको भट्टीमा अरू कोही ग्राहक आएनन या बेलौतीले अरूलाई नआउने वातावरण बनाई । उसले थाहा पाएन । जे होस् आज उसको भट्टीमा अरू ग्राहक आएनन् । साइकोलाई खुसी लाग्यो ।

कहिल्यै नतन्काइएका खुट्टा तन्काएर बेलौतीले मालिस गर्न खोजी । खुट्टा तन्किएनन् । झिना हातखुट्टा र पातलो जीउमा मालिस गरेर सिकुटे साइकोलाई जुरुक्क उचाली र गाढा रङको हरियो बाक्लो पर्दा उचालेर भित्रको खाटमा सुताई ।

साइको बेलाबेलामा बेहोसीझैँ बोल्थ्यो, ‘बेलौती ल्याउन बिर्सिएछु, मुरली ल्याएको भए सुमधुर धुनमा, मात्र तेरोलागि बजाउने थिएँ ।’

लरबरिँदै साइकोले भन्यो, ‘बेलौती मसँग बिहे गर्छेस् ?’

बेलौती बोलिन ।

मातेर लरबरिँदै भन्यो, ‘अरूको चियोचर्चो गर्दागर्दै उमेर बितेको पत्तो पाइनँ । घरजम गर्नैपर्ने रहेछ । यत्रो सम्पत्ति जम्मा भयो अर्काकै कुरा काटेर । तैँले पनि बिहे गरौँ भनेकी थिइस् । आज म भन्छु बेलौती मसँग बिहे गर्छेस् ?’

बेलौतीले फेरि पनि जवाफ दिइन ।

चौथोपटक साइकोले बेलौतीलाई उसै गरी सोध्यो, ‘भन त मसँग बिहे गर्छेस् ?’

बेलौती बोलिन ।

साइकोका आँखा खुल्दा बिहानको हुस्सुले केही देखिंदैनथ्यो । जाडो हिजोको जस्तै थियो ।

उसको दाहिने पाइजामा भिजेको थियो । उसले बेलौतीको अनुहारमा कुनै परिवर्तन देखेन ।

भित्तामा झुन्ड्याएको ऐनाअगाडि आफूलाई उभ्यायो । अनुहारभरि हीनताबोध पोतिएको देखेर साह्रै नरमाइलो लाग्यो । जीउलाई असहजता बढेको थियो ।

ऊ आफ्नै माँचमा फर्किन चाहन्थ्यो । तर बाहिरभित्र गर्दै थिए उसले टीका थाप्ने भट्टीवाल्नी दिदीबहिनीहरू । ऊ बाहिर निस्किन सकेन ।

चिउँडोमा हात राख्तै सोच्न थाल्यो– मैले मेरो कुमारत्वलाई सम्पत्ति भन्थें । त्यही गुमाएको छु ।

उसलाई पिसाब लाग्यो । उठेर जान सकेन । अघिपछिझैँ सकसले उठ्ता उठ्तै दाहिने तिघ्रो भिज्यो ।

बेलौतीले देख्ने हो कि भनेर अप्ठ्यारो मान्दै अर्को पाइजामा लगायो ।

फाट्टिएका बाक्ला ओठ सर्टको बाउलाले पुछ्तै सोध्यो, ‘बेलौती मसँग बिहे गर्छेस् ?’

अहिले साइको बेलुकीजस्तो बेहोसीमा बोलेको थिएन । बेलौतीलाई ठूलो सकस परेको थियो जवाफ दिन । बेलौतीले बिस्तारै भनी, ‘मैले बिहे गरौँ भन्दा भट्टी चला भन्यौ । चलाएँ । प्रेम गरेको मान्छेसँग बिहे गर्नैपर्छ भन्ने छैन । तिमीलाई तिम्रो कुमारत्वमा गर्व भएझैं मलाई मेरो नारीत्वमा गर्व छ । तिम्रो कुमारत्व त मसँग आउँदा नष्ट हुन सक्छ । तर मेरो नारीत्व तिमीले नष्ट गर्न सक्तैनौ । मलाई कन्यकुमार केटासँग बिहे गर्नु छ । अब तिमी कुमार छैनौ ।’

साइकोको टाउकोमा भुइँचालो चल्यो ।

उसले बेलौतीलाई हेर्दै भन्यो, ‘मेरो प्रेम पनि रहेन । कुमार पनि रहिनँ ।’

उसलाई रिँगटा छुट्यो ।

यदि नबिर्सिएको हुँदो हो सुमधुर धुनमा बजाउनेथ्यो बाँसुरी ।

प्रकाशित: मंसिर १९, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.