लघुकथा : प्रेमी/प्रेमिका

~आर. आर. चौलागाईं~R R Chaulagain

प्रेमी/प्रेमिका-१
प्रेमिकाले प्रेमीलाई सोधी- “तिमी मलाई कति माया गर्छौ ?”
प्रेमीले भन्यो- “म तिमीलाई यति माया गर्छु कि-तिम्रो निम्ति ऊ त्यो पहाडबाट हाम फाल्न सक्छु ।”
प्रेमिका- “साँच्चै ?”
प्रेमी दौडिएर गयो र पहाडको टुप्पाबाट हाम फाल्यो ।
प्रेमिका अर्कै प्रेमीको खोजीमा हिँडी ।

प्रेमी/प्रेमिका-२
प्रेमिका- “तिमी मेरो लागि के गर्न सक्छौ ?”
प्रेमी- “भन न मात्रै । तिम्रो लागि म जूनतारा टिपेर ल्याउन सक्छु ।”
प्रेमिका- “ल हेरौँ त !”
प्रेमी जूनतारा टिप्न हिँड्यो । तर अहिलेसम्म फर्केको छैन ।

प्रेमी/प्रेमिका-३
प्रेमीले प्रेमिकासँग भन्यो- “मेरो खातिर के गर्न सक्छ्यौ भन न !”
प्रेमिका- “भोलि यति बजे यो ठाउँमा भेट । त्यहीँ भन्छु ।”
भोलिपल्ट प्रेमी प्रेमिकाको प्रतीक्षामा हुन्छ । प्रेमिका आउँछे तर एउटा केटोसँग ।
प्रेमीले सोध्छ- “यो को हो ?”
प्रेमिका- “यो मेरो नयाँ प्रेमी ।”
प्रेमी- “यही हो मेरो निम्ति तिमीले गरेको ?”
प्रेमिका- “तिम्रो खातिर यो बाहेक म अरू केही गर्न सक्तिनँ ।”

प्रेमी/प्रेमिका-४
प्रेमीको यो सातौँ प्रेम । प्रेमिकाको पनि चौथो । हुन सक्छ-पाँचौँ, छैठौँ र सातौँ । अझ त्यो भन्दा पनि बढी ।
प्रेमी प्रेमीकालाई भन्छ- “प्रिय ! यस्तो लाग्छ-तिमी मेरै निम्ति जन्मेकी हौ ।”
प्रेमिका पनि प्रेमीलाई भन्छे- “मलाई पनि यस्तै लाग्छ प्रिय ! तिमीलाई पाउन सकिनँ भने म मर्छु होला ।”
उनीहरू पहिलो प्रेमदेखि नै आफ्ना प्रेमी/प्रेमिकालाई यस्तै भन्दै आइरहेका छन् ।

प्रेमी/प्रेमिका-५
प्रेमीले प्रेमीकालाई मिठो कविता सुनायो । प्रेमिकाले कान थुनी ।
गुलाफको फूल टिपेर लगाइदियो । रिसाई ।
भविष्यको सुख बतायो । अन्तै हेरी ।
छोटो लुगा नलगाऊ भन्यो । आँखा तरी ।
पढेर सक्षम हुनु भन्यो । झर्कोफर्को गरी ।
अन्तिममा केही सिप नलागेर खल्तीबाट पैसा झिकेर दियो । मुसुक्क हाँसी ।

प्रेमी/प्रेमिका-६
उनीहरू एकअर्कालाई प्रेम गर्थे । प्रेम भर्खरैजस्तै सुरू भएको थियो र हुर्किँदै थियो ।
एकदिन प्रेमी मिलनले प्रेमिका मेनकालाई फोन गर्यो- “मेनका चिन त म को हुँ ?”
मेनकाले सोधी- “राजेश हो ?”
– “हैन ।”
– “मोहन हो ?”
– “हैन ।”
– “रोहित हो ?”
– “हैन ।”
मेनका झर्की- “अनि तिमी को त ?”
मिलनको मनमा भुइँचालो गयो । उसले सोच्यो-उसको प्रेम अब धरापमा पर्यो । उसले प्रेमिकालाई- “मेरो आफ्नो नाम छैन मेनका । म नयाँ राजेश, नयाँ मोहन र नयाँ रोहितमध्ये एक हुँ ।” भन्यो र आफ्नो प्रेमको टुङ्गो लगायो ।

प्रेमी/प्रेमिका-७
प्रेमीले प्रेमिकालाई सोध्यो- “मेरो माया कति लाग्छ ?”
प्रेमिकाले जवाफ दिई- “तिमीसँग जति पैसा छ त्यति धेरै ।”
प्रेमी- “के तिमीले पैसाको लागि प्रेम गरेकी हौ ?”
प्रेमिका- “के म जोगीसँग विवाह गरौँ त ?”

प्रेमी/प्रेमिका-८
प्रेमिकाले सोधी प्रेमीलाई- “मलाई कत्तिको सम्झिन्छौ ?”
प्रेमीले उत्तर दियो- “तिमीसँग दाइजो जति आउला त्यति धेरै ।”
प्रेमिका- “के तिमीले मसँग सम्पत्ति खोजेको ?”
प्रेमीले प्रत्युत्तरमा भन्यो- “तिमीले जोगिनीको विवाह भएको कतै सुनेकी छ्यौ ?”

(‘कौशिकी’ व्दैमासिक-स्वर्णाङ्क ५०, प्रतिनिधि नेपाली सूत्रकथा विशेषाङ्कबाट)

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.