~लारा राई~
उनी-
कोही थिइनन् तथापि, मष्तिष्कमा मेरो सदैव रहिरहनेछिन्।
अपार असहमति छ। यो माहौल, यो सभाहलभित्र छरपष्ट छरिएको गिदी र, यो गिदीजस्तै छरपष्ट मान्छेहरुसँग। भीडमा मान्छेहरु भनिरहेछन्- रक्सी ज्यादा पिएर मरेकी अरे। अल्कोहोलिक पो रहिछे-एउटी मोटी महिलाले लामो श्वास तान्दै भनी। त्यस्ती योंग केटी पनि- सँगै उभिएकी मझौली महिला मित्रको आश्चर्य मिश्रित प्रश्न। ‘नीट’ पिउँथ्यो अरे-भीडमा अर्कैको जवाब। ‘सुतेको सुतेकै मरिछ’ कुरा जोड्न थाल्यो एकजना भलादमी पुरुष, ‘कसरी र के भएर अथवा किन मरिन्’ खुबै जान्ने टोपलेर। उनको मृत्युप्रति प्रत्येक मान्छेहरुले ‘अरे’ को भरमा धेरथोर आ-आफ्नो कुरा थप्दै गए। अर्को भलादमीले सोध्यो – ‘नेपालघर कताको, के थरी रहिछन्-’ प्रवासमा ‘नेपाली’ मात्रै भनेर पुगेन उसलाई। मानौं, आफ्नो गाउँठाउँ र जातको भएमात्रै चासो दिउँला नत्र बाल मतलब ! भनेजस्तो।
सभाहलमा मिश्रित प्रतिक्रियाहरु आइरहेछन्।
चुपचाप मान्छेहरुलाई सुनिरहेकी छु म। कुन्नि के सोचेर त्यो एउटी गोरी केटी मेरो नजिक आई। सायद मलाई चुपचाप सुनिरहेको देखेर होला। अनि, मलिन आवाजमा गोरीले मनको आफ्नो गाँठो फुकाई- नेपाल जान निक्कै कोसिस गरेकी थिइन्। भनेको बेलामा जान पाईनन्। फेरि, नेपाल जावोस् पनि कसरी। विचरी। नेपाल फर्केर माइती जाउँ जन्मघरमा हेला। लोग्नेको घर जाउँ विद्रोह गरेर घर छोडेर हिडेंकी। लोग्ने सम्झेर जाउँ त, प्रतिक्रिया पनि हुनुपर्यो नि लोग्नेबाट पनि। नाबालक छोरो सम्झेर एकान्तमा रुनु सिवाय अरु के गरोस् बिचरीले। मन भुलाउन अलि अलि पिउँथी। रक्सीले मरेको होइन। आयु नै त्यति होला दिदी ! संयोगमात्रै हो उसको मृत्यु।
अघिदेखि कता कता गह्रुंगो भइरहेको मेरो मन त्यो गोरी बहिनीको कुरा सुनेपछि अलिकति हल्का भयो।
वास्तवमा, उनलाई म धेरैअघिदेखि राम्ररी चिन्दथें। एकदिन मेरो अफिसमा आएकी थिइन् उनी। भन्दैथिइन्-’दिदी म नेपाल जान चाहन्छु।’
समस्या ! उनी सजिलै नेपाल जान सक्दिन थिइन्।
उनको आग्रह थियो म उनलाई केही सल्लाह र उपाय बताइदिउँ। अफिसबाट निस्कनै लागेकोले मैले भनें- म त हिंड्नै लागेको, उताउतै बाटोमा स्टारफेरी हुँदै भ्यालेण्र्टाइनको चहलपहल हेर्दै कुरा गरौं हुन्न र ? सहमति नहुने कुरै भएन। छ बजिसकेको हुनाले अफिसियल काम बन्ने छाँट थिएन। अफिसबाट निस्केर हामी दुवै स्टारफेरीतर्फ बाहिरियौं।
फेव्रुअरी महिना। भ्यालेण्टाइनको चहलपहल।
झिलीमिली बत्ती र समुद्रका छालहरुसँग मन साट्नुको पनि आफ्नै नशा हुन्छ। धमिलो साँझमा, मान्छेहरुको चहलपहलसँगै स्टारफेरीबाट पारी हङकङको लामबद्ध देखिएका बहुराष्ट्रिय कम्पनीका होर्डिङ बोर्डका चम्किला विज्ञापन अनि फेरीको आवात-जावत नियाल्दै हार्वरमा लगाइएका फोटोग्राफरहरुको रात्री पसल छेउको बगल-बगल हामी हिँड्न थाल्यौं।
हङकङको यो स्टारफेरी, कुरीकुरी नलागे पनि एक्लो उभिरहँदा कताकता कुतिकुति लाग्ने ठाउँ हो। रातो गुलाब बोकेर युगलजोडीहरु हात समाएर हिंडिरहेका छन्। कोही फेरीको बेञ्चमा अंकमालमा कसिएर बसिरहेका छन्। हामी हिंडिरहेको पेटीको रेलिंगसँगै अलिकति पर एउटा प्रणयजोडी अंगालोमा हराएर चुम्बन साटासाट गर्दैछन्।
त्यसो त हाम्रो परिचय भएको धेरै समय भएको थिएन त्यसैले पनि उनी अझै मसँग खुलस्त बोल्न सकिरहेकी थिइनन् तर आफ्नो चाहिँ आदत फट्फट् बोलिरहनु पर्ने। भ्यालेण्टाइनको बिन्दास मौसम, बिन्दास प्रश्नः ‘क्या हो यो उमेरमा पनि यस्तो चुपचाप, ब्वाइफ्रेण्ड छैन ?’
‘मेरो त एउटा छोरो पो छ त दीदी’-उनले भनिन्।
उनको निजी जीवनको बारेमा मलाई बिल्कुलै ज्ञात थिएन। कामको ब्यस्ततामा अरुबेला सोधिरहने कुरा पनि भएन। आज प्रंसग र मुडमा प्वाक्क बोलेकोमा मैले ‘सरी’ भन्दै पुनः स्थितिलाई सहज तुल्याउने कोशिस गरें- ‘के भो त श्रीमानसँग पनि मनाउन सकिन्छ नि त भ्यालेण्र्टाइन डे।’
‘न त हो, न त होइन’ उनको अनुहारमा त्यस्तो कुनै भाव देखिएन। यसो भनुँ, मलिन अनुहारबाहेक केही देखिएन। उनको अनुहारको भावलाई बुझेर थप कुरा अघि बढाइनँ मैले। त्यसो त उनी रुखो स्वभावकी पटक्कै होइनन्। यही मेसोमा अफिसबाट मैले नजिकै स्टार हाउसभित्रको ‘स्टारबक’ क्याफेमा कफी पिउन जाऔं, आग्रह गरें। उसै पनि समुद्रको चिसो हावाले हामी दुवै लगभग लगभग काम्दै थियौं।
कफी अर्डर गरेसकेपछि अफिसबाट निस्क्नुअघि उनले नेपाल जान चाहेको प्रसंगबारे कुरा सुरु भयो। कफीको वाफसँगै क्रमशः मनका वाफहरु पनि विस्तारै फैलन थाले क्याफेभरि।
विगत दुई वर्षदेखि हङकङमा शरणार्थी आवेदन गरेर बस्दै आएकी रहिछिन् उनले। काठमाण्डौको सुखसयलमा हुर्किएकी। हुनेखाने घरकी छोरी-बुहारी। आमा, वुवाले ठूलो सपना सजाएर कलिलै उमेरमा खान्दानी घरको छोरो भनेर बिहे गरिदिएको रे उनको। लोग्ने परेछ निक्कमा ! दुर्ब्यसनी। माइतीको आड-भरोसामा उनले एक, दुई वर्ष जसोतसो काटिन्। छोरो जन्मिएपछि खर्च थपियो, समस्या बढ्दै गयो। कलिलै उमेरमा बिहे गरेर वुहार्तन गर्न थालेपछि पढ्न छोडेकी उनले गतिलो जागिर पाउने कुरो भएन। समाजमा धाक जमाउन छोरीलाई खान्दानी घरमा विहे गर्ने त्यही माइती अहिलेचाहिं छोरीले माइतको आँगन टेक्न नभ्याउँदै अध्याँरो अनुहारले खरीखोटी कस्ने- ‘तेरो भाग्य नै खोटो’। लोग्नेको कमाई छैन। आफ्नो बच्चाको सानो भन्दा सानो आवश्यकताको लागि सासुको अघि हात फैलाउँदा सधैं दुत्कार सुन्नु पर्ने बाध्यता। अन्ततः सुर कसिछन् छोराको भविष्यका लागि भएपनि विदेश लाग्न। दयालु मामाले आर्थिक सहयोग जुर्टाईदिए। मामाले खर्चको गुण लगाइदिएकोमा उनी जति प्रसन्न बनेकी थिई विपरित आमाले उतिकै आगो बनेर झांको झारिछिन् मामालाई-बढ्ता जान्ने तँ भन्दै। खान्दानी घरकी बुहारीले विदेशमा घरेलु कामदार बन्न जाने सुर कसेको देखेर घरपट्टीकाहरु आगो नबन्ने कुरै थिएन ! झन् पानी बारेको जतिकै उनलाई हेयको दृष्टिले हेर्न थालेछन्। ढोंगीहरु ! घरमा निकम्मा छोरा पाल्न शरम लाग्दैन तर बुहारीको कमाईले इज्जत जान्छ भनेर खोक्रो ढर्रा देखाउने। कुरा सुन्दा कता कता झ्वाँकै चल्ने। त्यस्ताले आफ्नो बुहारीलाई इज्जत र स्नेह दिएर राख्न सक्दैन थिए घरमा – हाम्रो समाज तर यस्तै विचित्रको छ।
विडम्बना ! त्यसो हुन सकेन।
थाहा पाएँ-उनी चाहन्थिन् त्यसैले, ‘कोही मलाई कहिले नसोधोस्, म सुखी छु कि दुःखी’ उनको भित्री आग्रह। जीवनप्रतिको वितृष्णा, छातिभित्रका अनगिन्ति पींडाहरु। मान्छेले नचाहेर पनि निर्वाह गर्नुपर्ने यो संसार। उफ् कति गाह्रो छ एउटी नारी त्यसमाथि पनि जवान युवतीलाई सुखको जिजिविषाहरुसँग र्सघष गर्नु यो विदेशीभूमिमा। शिथिल बन्दै गईरहेकीछिन् उनी भित्रभित्रै। उनको कुरा सुन्दै गर्दा मलाई एउटा कुराको याद आयो। एकपटक कतै पढेकी थिएँ- ‘के सुख-सयल र सम्पन्नताभन्दा पर्तिर जीवनमा मान्छेलाई अरु केही चाहिन्छ-’
अवश्य ! चाहिन्छ। प्रेम। शान्ति। बाँचिरहेको वर्तमानभन्दा पर्तिर विगतहरुले हमेशा मान्छेलाई चिमोटिरहेको हुन्छ। त्यहि दुखाई विसेक गर्नका लागि सुख-सयल र सम्पन्नताभन्दा पर्तिर जीवनमा मान्छेलाई प्रशस्त शान्ति चाहिंन्छ। सत्य हो। त्यही शान्तिका लागि उनी पनि भौतारिंदै यहाँ आईपुगेकी छिन्। जहाँ पुगेपनि आखिर मान्छेलाई कुनै न कुनै दुःखले सधैं चिमोटिरहेको हुन्छ। उनलाई पनि मनभित्रभित्रै केहि कुराले चिमोटीरहेको थियो वर्तमानमा। सहज अनुमान। उनको अनुहारको भावले प्रष्ट बताउँथ्यो। वर्तमानमा पनि उस्तो शान्ति नै कहाँ पाएकी थिइन् र !
अकल्पनीय सत्य ! आज म उनको लाश अघिल्तिर उभिएकी छु।
उनले मृत्युवरण गरिन् अचानक। मान्छे मर्नु संसारमा विल्कुलै नौलो घटना होइन। हरेक दिन यहाँ लाखौं मरिरहेका हुन्छन्। यस्तरी कोही मरिदिन्छन् कल्पना विपरीत यो चाहिं नौलो घटना हो क्यार ! उनको मृत्युले मलाई निक्कै असहज तुल्यायो। अझै पनि तुल्याइरहेको छ। शून्य र मूल्यहीन रहेछ यो जिन्दगी यसमानेमा, कति सस्तो मृत्यु। थाहै नपाई सुइँकिदिई कोठामा सुतेको सुत्यै। मृत्युको कारण जेहोस् तर उन्मुक्तिको सजिलो उपायहरु विरुद्ध छु म सधैं। सहमति-असहमति दुवै हुन्छन् मान्छेका। यर्सथमा, मनका उकुसमुकुस भावनाहरु बाहिर ल्याउनुपर्छ भन्ने मेरो मान्यता। विद्रोही त म हुँदै होइन तर चुपचाप सहन पनि सक्दिनँ। मानवीय स्वभावका आदर्श ओडेका केही सज्जनहरु भन्छन्-यसो गर्नाले आफ्नो ब्यक्तित्वलाई आँच पुर्याउँछ। हु केयर्स – मनका बोझहरु आवश्यकता अनुरुप शेयर गर्नुपर्छ जस्तो लाग्छ। कमसेकम चित्तले खाएका दुई एक विश्वसनीय मित्रहरुसँग।
रोचक कुरा के भने, यो उमेरमा पनि तपाई ब्लग र च्याटिंगको कुरा गर्नुहुन्छ – विकासमूलक राष्ट्रमा बसेका तर विकासोन्मुख मानसिकता भएका केही मित्रहरु तीन दशक कटेको मेरो उमेरलाई ब्यंग्य गर्दै भन्छन्। तर, मेरा लागि, थेरापीजस्तै भएको छ ब्लगमा विभिन्न मुलुकमा छरिएर रहेका मेरा मित्रहरुसँग भलाकुसारी गर्न। मलाई लाग्छ, यसका लागि कलेज या विश्वविद्यालय जाँदै गरेकी नवयौवना उमेरकी हुनुपर्छ र – या, यी कुराहरुका लागि कुनै निर्दिष्ट समय र आयु तोकिएका हुन्छन् मान्छेका लागि – विशेषतः महिलाहरुका लागि – रेडिमेड प्रतिप्रश्न मेरो सँधै यही हुने गर्दछ यदि कसैले यस्तो हमला गरेर बोल्दछ भने।
पिएर या रोएर पींडा हल्का गर्ने दुवै जमातमा म पर्दिन। विशिष्ट पनि हुइंन। रहर र खुशीहरुलाई बन्धकी राख्ने मान्छे पनि परिन।
त्यो दिन, उनले के सोचिन् कुन्नि ! मनमा गुम्सिएका आफूभित्रका पीडाहरु मलाई शेयर गर्न तम्सिन्। मानसिक विद्रोहहरु पनि सायद एउटा निश्चित आयतनभित्रमात्रै अटाउँछन्। सिमित आयतनभित्र खुम्चिएका विद्रोहहरु आफैंमा युद्ध गर्दै परास्त हुन्छन् अनि, बाहिर निस्कन्छन अन्ततः हरुवा भएर। उनले ठीक त्यस्तै हरुवी बनेर मेरो अघिल्तिर क्याफेको सोफामा बसेकी थिइन्। भित्री कुरो जस्तोसुकै होस् कहिलेकाहीँ बिन्दास र उट्पट्याङ स्वभावले पनि कसैको सोचलाई नयाँ निकास दिंदोरहेछ क्यार ! यसो भनुँ, पर्रपर्र बोल्ने मेरो आदत कमसेकम उनको लागि सहज बनेछ मनका कुरा बाहिर पोख्नलाई।
कथा यस्तो छःः
आफैंभित्र आफूसँग परिचय मागेर विदेशी भूमिमा भौतारिरहेका शराणार्थीहरुको आगमन हङकङमा कहिलेदेखि भयो यकिन साथ भन्न सक्दिन। मैले बुझे र जानेसम्म एकसय पचपन्न वर्षउपनिवेश रहि आएको हङकङको भूमिमा सभंवतः १९७५ साल देखि भियतानमदेखि डुंगाबाट यस्ता शराणार्थीहरु हङकङ भित्रिएका हुन्। शराणार्थीको परिभाषादेखि अनभिज्ञ, कयौं जीवनहरु तथाकथित ठुला मुलुकहरुमा केवल ओत लाग्न जाने सपनालाई लहैलहैमा पछ्याएर प्रवासमा भौतारिहेका छन्। तथाकथित शराणार्थीहरुको सिको गरेर हङकङमा वैधानिक भिसा लिएर काम गर्दै गरेका कतिपय घरेलु कामदारहरु पनि हुँदाछँदाको वैधानिक करारनामा तोड्दै मालिकको कचकचबाट मुक्ती यो वहानामा आफैंलाई पासो थाप्दै शराणार्थी दर्ता गर्नपुगेका छन्। र, अवैध बसोबाससँगै अबैधरुपले काम गर्न बाध्य हुन्छन्। भनेको र चाहेको बखत उनिहरु सजिलै आफ्नो मुलुक र्फकन सक्दैनन्। यस्ता बाध्यताभत्र अनगिन्ति कथाहरु छन्। त्यहि कथाभित्रकी एउटी पात्रा थिइन् उनी पनि।
यहि कारण, उनी सजिलै नेपाल जान सक्तिनन्।
अध्यागमन विभागमा आफूलाई आत्मसमपर्ण्र्ाारेको केहि हप्ताभित्र सबै केस रफादफा एवं फैसला पश्चात्मात्रै उनी नेपाल जानसक्छिन् तर छोरो विमार छ भन्दैमा अध्यागमन विभागले तोकेको प्रकृया पुरा नगरी हङकङका अन्य नेपाली बासिन्दाजस्तो आजका-भोलि उनी नेपाल जान सक्दिनन्। मेरो जवाफ सुनेपछि, मायाले गहभरि आँसु पार्दै एकै श्वासमा भनिन्- ‘दीदी म के गरुँ ! मेरो छोरो बिमारी छ’ रे ! जसकोलागि कमाउन आएँ अनि यत्रो जोखिम मोलिरहेकी छु त्यहिं आज छोरो बिमारी भएको सुन्दा कुन आमाको मन यहाँ अडिन्छ हौ दिदी, भन्नुस् त ! मेरो सासुहरु अझै रिसाएका छन् फोनमा पनि बोल्न दिंैदन विमारी छोरोसँग।’
शराणार्थी एवं तिनिहरुका परिवारहरुलाई आवश्यता हेरिकन वैकल्पिक आवास, शिक्षा तथा आवश्यक परामर्श दिंदै आईरहेको छ यो मैले काम गर्ने यो अफिसले हङकङकमा। कोहि पनि सोधपुछ र सहयोगका लागि आउँछन भने, निश्चित दायराभित्र सहयोग र सल्लाह दिनेमात्रै हो मेरोे काम। स्टाफभन्दा बढि नेपाली दीदीको आत्मियता जनाउँछिन् उनी मप्रति। मेरो पदीय दायरा, उनको अवस्थाप्रति मेरो निजि चासो रहनुहुँदैन। अतः यो भन्दाबढि मैले चाहेर पनि उनलाई सहयोग गर्न सक्दिन। एउटा निष्कर्षनिकाल्दै भनें- बहिनी, तिमीले पक्का नेपाल र्फकने ठोस निर्ण्र्ाालिएपछि नै बरु बाँकी प्रकृयासम्बन्धि कुरा गरौंला हुन्न –
मैले यसो भनिरहँदा, भर्खरै चौविस वर्षटेकेकी त्यो भर्रभराउँदी युवती कम एउटी असहाय आमाको अनुहारमा मातृत्व वेदनाको पींडाहरु प्रष्ट झल्किरहेको थियो। यति कलिलो वैंशमा केवल आमामात्रै नभई, जिम्मेवार आमाको ममतालाई देखेर चसक्क नराम्रोसँग दुख्यो मेरो मन। मैले गर्न सक्ने भनेको बस् त्यति सल्लाह न हो बाँकी निर्ण्र्ाात उ आफै जान्दछे।
विल्कुलै सोचिन, ठिक गरें या वेठिक – चहर्याईरहेको मनलाई कोट्याएँ या मलम लगाएँ – एउटी नारीको अर्की नारीप्रतिको सहानुभूति दर्सर्ाा- बाउ भएको के काम ! हर्ेछनि त्रि्रो लोग्नेले पनि छोरालाई। धेरै चिन्ता नगर बहिनी। लोग्नेमान्छेलाई पनि अलिकति आफ्नो नानीप्रतिको जिम्मेवारी बोध हुन दिनर्ुपर्छ। धेरै चिन्ता नलेउ। मेरो कुराले उस्तो आश्वस्त दिलाउन सकेन सायद। सहमति पनि जनाईनन् विमति पनि प्रकट गरिनन्। नत आफ्नो लोग्नेप्रति घृणाभाव नै दर्सर्ाान्। आफैं शुन्य भएर हर्राईरहेकी विचरीले अर्को शुन्य अस्तित्वलाई जोडिरहनुको कुनै तुक देखिन होली।
क्याफेको बडेमाको शिसाको झ्यालबाट प्रष्ट देखिन्छ स्टारफेरी घण्टाघर, समयहरु कस्तरी चिल्एिछन् ओहो ! आठ बजिसकेछ। स्टारफेरी- क्याफेबाहिर विद्युतीय उज्यालो फैलिएको छ। समयलाई लोभ्याउन सक्दैनन् तरैपनि उज्यालोले। साँझ छिप्पिंदै गईरहेको छ। कफिका कपहरु रित्तिसकेका छन् मानौं, उनको नेपाल जाने सपना रित्तिएजस्तै। कफिका कपहरु फेरि पनि भरिनेछन तर के उनको नेपाल र्फकने सपना चाँडै सहज होला त ! मनमनै सोच्दै गर्दा अनायसै ओंठबाट निस्किए- वहिनी, ‘होप फर दि बेष्ट !’ अहिलेलाई बस् यो भन्दा अरु केहि बोल्न सक्ने स्थितिमा हामी दुवै छैनौं अतः क्याफेबाट बाहिरियौं।
खैत कहाँ रहेछ शान्ति – हामी प्रत्येक मान्छे आफूभित्र शान्ति खोज्दै भौतारिन्छौं। मनभित्रका विचलनहरुलाई जर्वरजस्ती अनुहारमा बाहिर हाँसो ल्याउने प्रयत्न गर्दै। जतिनै भाग्न खोजे पनि मनभित्रका विचलन, समस्या एवं पींडाहरुबाट मान्छे, आफैसँग भने भाग्न नसक्ने यो कस्तो बाध्यता ! खैर ! उनलाई वान्चाई जानु छ’रे। वान्चाई रंगिन संसार फैलिएको ठाउँ हो। भ्यालेण्टाइनको रंग त्यहाँ नजम्ने कुरै थिएन। आज धेरै मेरा मित्रहरु पनि वान्चाई डिस्कोथेकको प्लोरमा तैरिनेछन् वाईनको ग्लाससँगै।
दुवै आ-आफ्नो बाटो लाग्यौ। स्टारफेरी ओशियन र्टर्मिनलको मुख्य गेट छिचोलेर, क्याण्टोन रोड हुँदै उकालो घरतर्फहानिएँ म।
नियमबद्धतामा बाँधिएको दैनिकी। पछिल्ला दिनहरुमा हाम्रो भेट हुनसकेन। उनी नेपाल गइन् या गईनन् त्यो पनि मलाई थाहा हुन सकेन। पक्कै जाने नै हो भने, औपचारिक सल्लाहको लागि फर्केर उनले अफिस आउनुपथ्र्यो तर आईनन्। खै उनी कहाँ हर्राईन्। थाहा भएन उनी यस्तरी कहाँ विलाईन्। निक्र्यौल गरें, पक्कै पनि उनी नेपाल फर्कीहोलिन् – केहि महिना पश्चात् मैले त्यो अफिस छोडिदिएँ। र, युनएचसिआरको यो अफिसमा काम गर्न थालें। यहाँ पनि कहिले देखिन मैले उनलाई। वास्तवमा, युनएचसिआरमा उनको केस बन्द भइसकेको रहेछ। यहाँ भेटेर पनि त्यसो त मैले उनलाई गर्न नै के सक्थें सहानुभूतिसम्म न हो। त्यो पनि आवश्यकता परेन अव त।
उनि मरिन्। आँखा चिम्लिदिएर। उनको लाश नेपाल पठाउन संभव भएन। भटाभट सहयोगी मन र हातहरु एकजुट भए। अन्ततः उनको सद्गत विधीपर्ूवक हङकङमा सम्पन्न भयो। सबै समाप्त भयो। एउटा सुन्दर जीन्दगीको यात्रा छोटो दुरीमा नै समाप्त भयो। जीवनको प्रारम्भसँगै मृत्यु निश्चित छँदैछ। उनी, साहै नीडर एवं साहसी केटी नलागेपनि जीन्दगीबाट यति चाँडै भाग्लिन्, कल्पना गरेकी थिईँन। उनको मृत्यु साँच्चै नै अकल्पनिय रह्यो।
पाठकहरुलाई लाग्न सक्छ, कस्ती पागल केटी यतिचाँडै हरेस खानुहुँदैन थियो उसले। संसार उसले बुझेकी नै कति थिई र ! संभवतः बुझाईभन्दा भोगाई बढि तितो भो होला। थाहै नपाई मान्छेलाई धमिराले खाएजस्तो भित्रभित्रै खोक्रो रित्याउँदै लैजान्दों रहेछ र अन्ततः गर्लम्म ढाल्दोरहेछ थाहै नपाई यसरी हिड्दा हिड्दै, सुत्या सुत्यै। उमेरले थेग्ने हो र मान्छेभित्रका पींडाहरुलाई – के थाहा कतिले यसो पनि भन्दा हुन्-उमेर छँदैथियो मन मिल्ने जोडी खोजेर नयाँ जीवन सुरु गरेकेा भएपनि हुन्थ्यो नि। दोस्रो घरजम पनि अन्तिम तथा अति उत्तम उपाय कतै होईन। अन्य विकल्पहरु पनि त हृुनसक्छन् बरु मलाई चाहि के लाग्छ भने, नाबालक छोरो संझेर पनि मायालाई जीवनप्रति अलिकति मोह हुनुपर्ने होईन र – तर्कनाहरु ध्ोरै हुनसक्छन्। सबै समस्या एवं सवालका जवाफ यति सजिलै दिन सकिंदैन। र, छैन पनि। मृत्यु नै समाधान थियो होला भन्ने ठम्याई पनि विल्कुलै गलत।
उनी गइन्। निरुत्तरित सवालहरु छोडेर। कस्को के लाग्छ ! बाँकीरह्यो केवल भयंकर शून्यता र निस्सारता। यही शून्यताको विन्दुमा उभिएर-उनलाई संझिरहेछु यतिबेला। थाहा छैन, उनको मृत्युको असर कस्तो पर्यो उनको परिवारलाई। उनको नाबालक छोराले कुनैदिन, सही अर्थमा ‘आमा’ शब्दको महत्वलाई बुझ्ने छ मलाई लाग्छ, त्यो क्षण उनको मृत्युको क्षणभन्दा धेरै गुणा मार्मिक एवं पीडादायी क्षण हुनेछ।
जीन्दगी भन्नैपर्दा आफैंमा एउटा नदेखिने घाउ रहेछ। लाग्छ, प्रत्येक मान्छे आफूभित्र नदेखिने घाउ बोकेर आफैंभित्र माइलौं यात्रा गरिरहेको हुन्छ। चुपचाप। उनी पनि त्यस्तै एउटी पात्रा थिईन्। मेरो कोही होइन। केहि वर्षघि भेटिएकी त्यो युवती यस्तरी आज मेरो लेेखको नायिका बन्नेछिन् कल्पना पनि गरेकी थिइनँ। जायज होईन विल्कुलै, कसैको नीजि जीवनका उतार-चढाव अझ भनौं, मृत्युप्रति त विल्कुलै टिकाटिप्पणी गर्न कसैलाई। त्यो हक मलाई पनि छैन। अलिक अटेरी छु त्यसैले धृष्टता गरें हुँला-त्यो एउटा संयोग ! भेट र मृत्युलाई शब्दहरुमा उतारेर तपाईहरु सामु बक्ने।
लेखको थालनीमा नै भनिहालें नि ! अपार असहमति छ। मान्छेहरुसँग। त्यसैले।
समाप्त।
(नोटः पूर्ण सत्य न त कोरा काल्पनिक नै हो यो लेख। भिन्दाभिन्दै घटनाक्रमहरुमा सरिक हुँदा अनुभव गरेका खेस्राहरु हुन् वस्तुतः यो सिंगो लेख)
March 18th, 2009
लारा/हङकङ
(स्रोत : Mysansar.com)
