~चूडा मणि रेग्मी~
आयामेली लेखनको थालनी तिर आयामेली आन्दोलन भनेर प्रचार गरिदिने श्रेय तारा नाथ शर्माको भअेको कुरा धुलावारीमा भएको आयामिक आन्दोलनका पच्चीस वर्षे समारोह छेक पनि चर्चित भएको हो । २०२१ मा निस्केको फूलपाती भन्दै द्वैमासिक साहित्यिक पत्रिकाको पूर्णाङ्क (३ भदौ–असोज)मा नेपाली साहित्यमा आयामेली आन्दोलन शीर्षकमा र पूर्णाङ्क(४ कार्तिक–मङसीर)मा आयामेली कविता र यसको दर्शन शीर्षकमा तारानाथ शर्माले आयामेली कवि, कविता र यसको दर्शनवारे निकै गहन चर्चा गरेपछि तेस्रो आयामेका उत्साह वढेर गएको ऐतिहासिक तथ्य कसैले विर्सने कुरा हेइन । कसैलाई २–४ जनाले चर्चा गरेपछि ठूलो हुन्छ । यस्तै भर्खर देखापरेको विचार पनि धेरैले चर्चा गरेपछि त्यसले अस्तित्वमा आउने मौका पाउँछ । यसरी आयामेली लेखन चर्चित भएर गयो । नेपालमा २०१७ साल पछिको वातावरणमा खुलेआम कुरा गर्न वा लेख्न नपाइने हुनाले पनि आयामेली विचारले गंकिने मौका पायो र आयामेली कविले मदन पुरस्कार, साझा पुरस्कार पाएपछि त मानौं नेपाली साहित्यको आधुनिक विचारको प्रतिनिधिका रूपै हो कि झैं गरी आयामेली लेखनले चर्चित हुने मौका पायो ।
२०३० पछि क्रमश: जव प्रगतिवादी लेखन फेरि उठेर आयो, आयामेली लेखनको ओज निकै नै घटेर गयो, तर आयामेलीहरुले प्रगतिशील विचारधाराका विरोधीहरुको जमघट गरेर आफ्नो अस्तित्व अक्षुण्ण राख्न भित्र-भित्रै धेरै नै प्रयत्न गरेका थुप्रै कुरा छन् । एउटा उदाहरण इन्द्रवहादुर राईको प्रगतिशील माथि सिधा आक्रमणलाई लिन सकिन्छ। आफू र आफ्ना समर्थक चेलालाई अवतारवादको करिया वनाएर कविता विचारको दास हुन सक्तैन भनी प्रगतिशील विचारधाराका विरोधमा आयामेलीहरुले टाउकादेखि गोडासम्मको वल लगाएका छन् ।
तारानाथ शर्माले फूलपातीको उक्त पहिलो लेखमा पुरानाको विरोध गर्ने कुरामा आयामेलीलाई प्रगतिशील क्रान्ति गर्ने सहयोगीका रूपमा वखान्दा–वखान्दै पनि यति त लेखिहालेका छन्– नेम्वाङ्गले त्यसै सम्पादक्यौली (तेस्रो आयाम–२ को) को पहिलो डफ्फामा लेख्नुभएको छ– “साहित्य–लेखन कुनै वादको पूर्वाग्रह देखि मुक्त नभए त्यो साहित्य ठहरिन्न” र हामी छक्क पर्छौ विचार र दर्शनलाई नै तेस्रो आयाम मान्ने लेखक कसरी वाद देखि तर्सनु भएको हो ? “तारानाथ शर्माको यस कुराको पूरा खण्डन गर्दै भनेका छन्– वाद वा विचार नभएको रचना साहित्य हुन सक्तैन ।”
यसरी थालनीमा नै तारानाथ शर्माले आयामेलीहरुका दुइजिव्रे कुरा छर्लङ्ग देखाए पनि रूप–रेखा, मालिङ्गो आदि पत्रिकामा आयामेलीहरुले कविता राजनीति देखि फरक छ जस्ता नक्कले र पटक्कै अवैज्ञानिक र अवास्तविक कुरा प्रचार गर्दै रहे।
फूलपातीको अघिल्लो लेखमा कोट्याएको तारानाथ शर्माले पछिल्लो लेखमा निकै नै निफने। एकापट्टि आयामेली द्वारा जीवनलाई झ्वाप्प हेर्ने दृष्टिकोणको तारानाथले प्रसंशा गरे भने अर्कातिर त्यो जीवन प्रगतिशीलले झैं हेरे मात्र ग्राह्य हुने निर्क्योल पनि दिए। आयामेलीले तारानाथको प्रशम्सा–पक्ष मात्र वढी प्रचारमा ल्याए र विचार–पक्ष चाहिं त्यसै थन्कियो। वास्तवमा ती लेखमा प्रतिक्रियावाद तिर उन्मुख हुने आयामेली आन्दोलनको समर्थन तारानाथले गरेका थिएनन्। हो, तारानाथ आयामेली शैलीवाट भने निकै नै प्रभावित थिए। तर उनी राम्रो शैलीका साथै प्रगतिशील विचार पनि महत्वपूर्ण रूपमा चाहन्थे– तर प्रतिक्रियावाद विचारक र प्रतिक्रियावाद विचारका भरिया आयामेलीहरुले त्यस्ता इच्छा किन पूरा गर्थे ?
♥ चूडा मणि रेग्मी
झापा।
(स्रोत : Voiceofjhapa)