~चण्डी सुवेदी~
एकादेशमा एउटा जंगल थियो रे। जंगलमा एउटा मुसा, कछुवा, मृग र काग थिए रे। सबैजना साथी थिए रे। उनीहरु एकदम मिलेर बसेका थिए रे। एकदिनको कुरा हो कछुवालाई बसिराखेको नजीकैको पोखरीमा बस्न झ्याउ लाग्यो र।
“ म यो पोखरीमा बस्दिन , “ – कछुवाले साथीहरुसँग भन्यो। उनीहरूमा मूसा अलि बुद्दिमान थियो।
“कछुवा भाई , जान त जाऊ , तर बाटोमा ख्याल गर है “ – मुसाले भन्यो।
अनि कछुवा आफ्नो बाटो लाग्यो। मूसा, काग र मृग आफ्नो साथीलाई बाटोमा केही हुन्छ कि भनेर सतर्क थिए।
अचानक कछुवा बाटोमा हिड्दै बेलामा एउटा शिकारीले कछुवालाई देखेर थैलोमा राख्यो।
“ अहो , हाम्रो साथीलाई त त्यो शिकारीले लग्यो नि “ – मूसा, काग र मृग निकै आत्तिए।
अनि उनीहरूले एउटा जूक्ति पत्ता लगाए।
शिकारीको बाटोमा मृग मरेजस्तो गरेर सुत्यो र कागले मृगको कानमा ठुंगी ठुंगी गर्यो।
“ अहो कति ठूलो मृग पर्यो “ – कछुवा बोकेको थैली बिसाएर मृगलाई समात्न शिकारी अघि बढ्यो। त्यही बेला पारेर मूसाले कछुवा राखेको थैली आफ्ना तीखा दाँतली काट्यो र कछुवा थैलीबाट भागेर नजीकैको पोखरीमा डुबुल्की मार्यो र मूसा पनि नजीकैको दूलोमा पस्यो।
उता मरे जस्तो गरी सुतेको मृग पनि शिकारी नजीकै आउनसाथ उठेर बुर्लुक्क दौडियो र काग पनि भुरुर उडेर भाग्यो।
मृग र कछुवा पनि गुमाउँदा शिकारी पनि जिल्ल पर्यो।
अनि चारजना जनवार वर्षौ सम्म मिलेर बसे रे।
शिक्षा : मिलेर काम गर्यो भने अप्ठ्यारो पर्दा पनि सजिलै पार पाइन्छ।
-चण्डी सुवेदी
टोकियो
(स्रोत : रचनाकारको ब्लगबाट सभार)