~शुषमा मानन्धर~
विदा शुरु भैसकेको थियो। परीक्षाअघि लाइब्रेरीवाट ल्याएको किताब बुझाउन कलेज जानु थियो। त्यसैले साथीको प्रतिक्षा गर्दै म घर बाहिर उसैलाई कुरिरहेकी थिएँ। विपरित दिशाबाट गाडीमा आउँदै गरेका उनी म उभिएको ठाउँनिर एकै छिन रोकिएका थिए। उनको खिरिलो व्यक्तित्व, नशालु आँखा र परफ्युमको कडा बास्नाको सम्मोहनमा बाँधिएर म पनि उनीतिर हेर्याहेर्यै भएँ। पछाडि आएको गाडीको हर्नले नबिथोलेको भए हामीवीचको त्यो हेराहेर निकै बेर लम्बिन्थ्यो। अगाडिबढुन्जेल पनि गाडीको साइड मिरर मिलाउँदै उनले मलाई हेर्न छाडेका थिएनन्। साथी आइपुगेपछि मैले उसलाई पनि यो घटना सुनाएँ। ऊ अलिकति ईर्ष्यालु देखिई।
“भर्खरै गएको रातो कारवाला हो? मैले टाढैवाट देखेकी थिएँ। त्यो सम्राट हुनु पर्छ। तिमीलाई थाहा छ? ऊ त यहाँ बिहेकै लागि मात्र आएका रे नि।” ओहो,त्यसो भए उनको नाम सम्राट रहेछ। खासै चासो नराखेकीले होला,मलाई भने त्यति थाहा थिएन।
“तिमीले ख्याल गरेकी छौ कि छैनौ,कस्तो ह्यान्डसम देखिन्छ ऊ! मलाई त साह्रै मनपर्यो। ” मानौं आफूले मन पराउने बित्तिकै आफूलाई पनि मन पराइने कुरामा उसलाई कुनै शंका नै थिएन। उनको बारेमा बयान गरिरहँदा साथीको आँखामा एउटा आशलाग्दो उत्सुकताका इन्द्रेणी झलमल्ल टल्केको देखेकी थिएँ। आखिर यिनको पनि त बिहे भएको छैन,अविवाहित केटीले यसरी कामना गर्नु कुनै अनुचित पनि थिएन।
हालै मात्र बिदेशबाट फर्किएका उनी टोल छिमेकतिर अहिले निकै चर्चाको विषय बनेका छन्। धनी परिवारको इन्जिनीयरीङ्ग गर्दै गरेका एक्लो सुदर्शन छोरोको बारेमा घरघरै प्रसङ्ग चल्नु स्वाभाविकै थियो। उसमाथि बिहे गर्नकै लागि मात्र भनी यहाँ आएका भन्ने गाइँगुइँ चल्न थालेपछि त हाम्रो टोलमा हरेक परिवारलाई आफ्नो घरमा जवान चेली छन् थाहा दिने होडै चलेको छ।
पहिले पनि उनलाई मैले नदेखेकी भने हैन। जहाँसम्म सम्झना छ, त्यो बेला उनको नाम सम्राट थिएन। हुनसक्छ उनले यो नाम पछि मात्र राखेका हुन् वा उनको वास्तविक नाम त्यो बेला मलाई थाहा नभएको पनि हुन सक्छ। सानैदेखि राजधानीको स्कूलमा बोडर्स गरी पढेका उनी बेलाबेलामा घर आइरहन्थे। हाम्रो टोलमा सम्पन्न परिवारका छोराछोरीहरुको छुट्टै जमात थियो जहाँसम्म पुग्ने सपना पनि हामी देख्दैनथ्यौं। विदामा केही दिन घर आउँदा उनी त्यही सीमित संसारमा रमाएर फर्कन्थे। हामी मध्यमवर्गीय परीवारका केटाकटीहरु उनको ठाँटिलो रवाफ देखेर ईर्ष्या गर्थ्यौं र हामीहरु पनि उनको मित्रमण्डलीभित्र समावेश हुन पाए हुन्थ्यो भन्ने हाम्रो भित्री चाहना चैं हुन्थ्यो। त्यो ताका टोलका केही साथीहरु बाहेक अन्यसँग उनको खासै हिमचिम थिएन। पछि सुनें,स्कूल सकेर उनी बाहिर पढ्न गए।
अहिले उनको कुरै अर्को छ। घर आएदेखि सानो ठूलो जो कोहीसँग पनि भेट्दा बोलिरहेका छन्। मान्छेहरु उनको वारेमा अनेक कुरा गर्छन्। चर्चा परिचर्चाका वीचमा उनको वारेमा कुनै कुनै अपत्यारिला कुराहरु नसुनिएका पनि हैनन्। राम्रो भन्दा नराम्रो कुरा खोतली हिँड्ने त मान्छेको बानी नै हो। बाटो हिँड्दा एकदुई पल्ट मैले पनि देखेकी छु उनलाई। अरुले कुरा गरे भन्दा उन्नाइस लाग्दैनन्। जेल हाली मास्तिर फर्काएर चिटिक्क कोरिएको कपालमा उनी झट्ट हेर्दा पुरानो हिन्दी सिनेमाको कुनै नायक जस्तो देखिन्छन्। अग्लो जिउ र चाक्लो छाती,वैभवशाली परिवार र अकुत सम्पति ,कुनै पनि युवतीलाई आकर्षित गर्न प्रशस्तै हुन्छ। यति आकर्षक व्यक्तित्व भएकोलाई बिहे गर्न केटीको के अभाव हुन्थ्यो र? उसमाथि अहिले त हाम्रै समाज पनि धेरै व्यँंुतिसकेको छ, बिदेशबाट पढाइको डिग्रीसँगै बिदेशी जीवनसाथी साथै ल्याउनेहरु पनि धेरै भैसके। केही समयअघि छिमेकतिर बद्रिदाइको छोरोले पढाइ सकाइ आफूसँग फिलीपिनो दुलही पनि ल्याएको थियो। यस्तो बेला, उनको भने बिहेकै लागि स्वदेश फिराइलाई, आफ्नो संस्कारप्रतिको अगाध माया भन्ने हो वा परिवारको करकाप वा अन्य कुनै कारण, बुझ्न सकेकी छैन।
त्यो दिनदेखि मेरा साथीहरु माझ गफको एउटा नयाँ विषय शुरु भयो। सम्राटको घर परिवार, इच्छा अनिच्छा, रुचि, उनका साथीहरुको बारेमा मानौं यिनीहरुले शोध गरेर अभिलेखै राख्न थालेका छन्। “चाहिने कुरामा पो समय फाल्ने,” म कत्ति सम्झाउँछु उनीहरुलाई। “किन तिमीलाई चैं विहे गर्न मन छैन जस्तो छ नि … त्यो पनि सम्राटसँग?” साथीहरु उडाउँदै उल्लीबिल्ली गर्न थालिहाल्थे। सम्राट! सम्राट! सम्राट! उनीहरुका दिनचर्या र उनीहरुले जप्ने नाम सुन्दा उनीहरुको दिमागमा सम्राट भन्दा अरु केही र कोही अटाउन सकेको जस्तो लाग्दैन। कतिपयले त सम्राटको दुलही बन्न पाए के के चढाउँछु भन्ने भाकल पनि गर्न थालिसके।
आफ्नै घरको परिस्थिति पनि बाहिरको भन्दा त्यति फरक थिएन। घरमा पनि हरेक दिन भने जस्तो सम्राटको प्रसङ्ग चल्थ्यो। उनको लवाइ, खवाइ,बोली व्यवहार र उनको रुपरङ्गको कुनै न कुनै बहानामा तारीफ नगरिएको दिनै हुँदैनथ्यो।
“ सुन्नुस् न,विदुरजीका छोरा कस्तो लायकका हगी? सांँची! सम्राट विहे गर्न मात्र यता आएको भन्छन्,हो र? यता बाउआमा मात्र,अनि यत्तिका सम्पति के गर्छन हँ ं?” आमालाई साह्रै पीर परेछ कि कुन्नि,निकै चासो लिंदै बुवालाई सोध्नु भयो।
“खै के गर्लान्? ”बुवा पत्रिका पढ्दै हुनु हुन्थ्यो। टार्ने हिसाबले वहाँले भन्नु भयो। “रेणुकी ममीले भन्दै थिई,अव आउने हप्ता लाउने पूजामा सम्राटको परिवारलाई पनि निम्त्याउने रे। म त भ्याउंँदिन सवै जिम्मा छोरीलाई दिएकी छु,भन्दै थिई। कम्ति चलाख छे! छोरीलाई अगाडि लाएर देखाउन खोजेकी न हो। हामीले पनि समय मिलाएर सम्राटको घर जानु पर्छ है। भेटघाट गर्न गए जस्तो पनि हुन्छ, कुरा बढाउन पनि सजिलो हुन्छ। अरुका मात्र हो र? हाम्री पनि छोरी ठूली भैसकी भन्ने कुरा तपाईलाई थाहा छ कि छैन? ” आमाले अलि सानो स्वरमा यसो भन्दा मतिर पुलुक्क हेर्नु भयो। मैले नसुने झैं झयालबाहिर हेरिबसें। “हेरौंला नि। ” बुवाले कुरा टुंग्याउनु भयो।
एउटै टोल भएको हुँदा बाहिर निस्कंदा सम्राटसंग कतै न कतै जम्काभेट भैरहन्थ्यो। कहिले बाइक, कहिले गाडी र कहिले हिंडेर उनी आफ्नो साथीहरुको माझ आफ्नो ऐश्वर्यको प्रदर्शन गरिरहेका हुन्थे। जब जब पनि उनीसँग सामना हुन्थ्यो,उनको व्यक्तित्वको आकर्षणबाट बच्न मलाई पनि हम्मे हम्मे पर्थ्यो। उनी जस्तो जीवनसाथी पाउनु कुनै पनि केटीको लागि अहोभाग्य हुन सक्छ तर यो कुरा अझसम्म पनि गर्भमै थियो कि सम्राटकी साम्राज्ञी हुने सौभाग्य हामीमध्ये कसैले पाउने हो वा उसले अरु कोही नै रोजिसकेको थियो।
सुन्थें, पारिवारिक स्तरवाट पनि उनको लागि बिहेका थुप्रै प्रस्तावहरु आएका छन्। आ–आफ्ना चीरपरिचितहरु मार्फत् कुरा पुर्याउनेहरुको पनि कमी नहोला। उनको दुलहीको कुनै टुंगो लागिनसकेको हुँदा हाम्रो टोलमा उम्मेदवारीमा बसेका परिवारले आशा मारीहाल्ने स्थिति कसैको थिएन। आमा चाहनु हुन्थ्यो कसै न कसै गरी सम्राटसँग मेरो कुरा मिलोस्। “ तेरो बिहेको कुरा मिलेको भए,भाइको पनि त्यति चिन्ता हुँदैनथ्यो। ” वहाँ अक्सर खुइ्यय सुस्केरा हाल्दै भन्नु हुन्थ्यो।
एक टन्टलापुर गर्मीको दिउँसो घर फर्कन बाटोमा टेम्पो कुर्दै थिएँ। हतारमा छातासम्म पनि नबोकेकी मेरो के हविगत भयो होला त्यो म मात्र जान्दछु। पानीको प्यास र धुँवा धुलोको असरले टाउको दुखाइ, व्यथै यतिबेला निस्केछु भन्ने लागेर आफूमाथि नै थकथक लाग्न थाल्यो। आमाले त “ आज नजा ” भन्दै हुनुहुन्थ्यो। कोही परिचित त्यही बाटो भएर आइहाल्छन् कि भन्ने आशाले म टाढा टाढासम्म पनि आँखा दौडाइरहेकी थिएँ। नभन्दै सम्राटको कार मेरो छेउबाटै गयो। उनले मलाई देखे या देखेनन् वा देखेर पनि बेवास्तामा अगाडि गएका हुन्,भन्न सकिँन। उनले मलाई देख्दा देख्दै पनि बेवास्ता गरेका हुन् भन्ने कुरा मेरो मनले स्वीकार्न सकिरहेकै थिएन। उनको यसरी मेरै सामुबाट जानु पनि यथार्थ नै थियो र यही कुराले मेरो नारी सुलभ स्वाभिमान्लाई ठेस पुर्याएको थियो। तर्कनै तर्कनामा अगाडि आएको अर्को टेम्पो पनि छुट्यो। हताश,तिरस्कार र थकानले रातोपिरो हुँदै आइन्दा त्यो सम्राटले जुनसुकै प्रस्ताव राखे पनि ठाडै अस्वीकार गर्छु भन्ने सोच्दै थिएँ, साइडमा हर्न बजेर झसङ्ग भएँ। सम्राट थियो,कारमा बस्न मलाई आमन्त्रण गर्दै। मेरो रीस गर्मीमा बाफ उडेसरी उड्यो। जाउँ या नजाउँको दोसाँधमा परेँ तर भर्खरै आफूले पाएको अपमानको अनुभूति हुने वित्तिकै ममा कठोरता देखापर्यो, “हैन,भै हाल्यो। ” सम्राट गैसकेको थियो। भीडभाड भरिएको गाडीमा कोचिएर घर ढिला पुगेँ। आमा ढोकैमा कुरिरहनु भएको थियो। भित्र पस्न पाएकी थिइनँ,वहाँले सुनाउनु भयो, “अघि रेणु आएकी थिई। भोलि पूजाको प्रसाद लिन बेलैमा आइपुग्नु भनेकी छ। ” मैले नबोलेपछि वहाँले थप्नु भयो। “सम्राटका परिवारलाई पनि चुल्है निम्ता छ रे। ” वहाँले मवाट कुनै प्रतिक्रियाको आशा गर्नु भएको थियो शायद। “होला। ” म वहाँबाट फुत्किन आफ्नो कोठामा छिरिहालें।
भोलिपल्ट रेणुको घर पुग्दा खुराफाती साथीहरुको मण्डली पहिले नै हाजिर भैसकेको थियो। एकभन्दा एक बनेर ,सबैको आकर्षणको केन्द्र बन्ने धूनमा साथीहरुले आफूलाई निकै पोतेका थिए। उनीहरु भन्दा फरक र केही फिका पनि महशुश गरें आफूलाई। पूजाको प्रसाद ग्रहण मात्र नभै अरु केही आयोजना गरिएको भए म आउँदिनथें। उपस्थित मध्ये धेरैलाई सम्राट र उनको परिवारको प्रतिक्षा थियो भन्ने बुझिन्थ्यो किनकी धेरैले उनीहरुकै सोधीखोजी गरिरहेका थिए। सम्राटका बुवाआमा पहिले आए। सम्राट निकै पछि आयो। त्यसपछि त रेणुको घरमा मानौं बिहे घर झैं चहलपहल भयो। पाहुनाहरुको रेखदेख गर्ने जिम्मा रेणुको भए पनि ऊ सिर्फ सम्राट र उनको परिवारको वरिपरि मात्र झुम्मिरहेकी थिई। अपेक्षाकृत उनीहरु धेरैवेर बसेनन्,अरु एक दुई ठाउँमा पनि जानु छ भन्दै थिए। जानेबेलामा सम्राट र मेरो आँखा जुधेको थियो। ती नशालु आँखाहरु ममा केही खोजिरहेका थिए। मलाई उनी साँची राम्रा लाग्छन् या लाग्दैनन्,खुद मसँग यसको इमान्दार जवाफ थिएन तर उनको सामु उनको व्यक्तित्वले मलाई मात्र हैन कसैलाई पनि सम्मोहित गर्ने कुरालाई नकार्न भने सक्दिन।
काम विशेषले एक्लै बाहिर निस्कँदा कैलेकाहीँ सम्राट भेटिए पनि हुँदो हो जस्तो लाग्छ। यसको अर्थ मेरो उनीसँग प्रेम बसिहालेको पनि हैन। पढाइ सकेर मात्र बिहे गर्छु भन्ने सोच बनाएकी मैले, अहिले आएर सोच्न थालेकी छु यदि राम्रो घरबर मिलेमा पढाइ र पाँच वर्ष नै किन कुर्नु पर्यो? जबदेखि यसरी सोच्न थालें, बाटामा कतै सम्राट भेटिए, निर्लिप्त बस्नुभन्दा मुस्काउन थालें। उनले बोल्न खोज्दा सहज हाँसेर बोल्थें। हरेक पटक उनले मसँग बोल्दा उनको हेराइमा गहिरो अभिरुचि हुन्थ्यो। कुरा गर्दा पनि उनका तीक्ष्ण काला आँखाहरु मलाई भेदिरहेका हुन्थे। कहिलेकाहीँ त उनका दृष्टिले आफूलाई विवस्त्र बनाएको झैं महशुश भएर जिउ सिरिङ्ग हुन्थ्यो। सम्राटको आँखामा नशा थियो वा नशाभित्र सम्राट डुबेका थिए,यति छोटो समयमा बुझिहाल्न नसकेको भए पनि उनको सामिप्यमा एक खाले मात चढ्थ्यो। यो मात सम्पति वा तडकभडक देखेर वा उमेरमा हुने आकर्षण थियो,यिनलाई विश्लेषण गर्नसक्ने उमेर मेरो भैसकेको थिएन।
दुईचार पटक उनले मसँग कतै घुम्न जाने प्रस्ताव राखि सके। यो जमानामा त्यसरी घुम्न जानु कुनै अस्वाभाविक र अनौठो कुरा थिएन झन् उसमाथि सम्राटले यसरी निकटता चाहनुमा बिहेको लागि अझ बढी बुझ्न पनि हुन सक्थ्यो। उनको दृष्टि र सामिप्यमा मलाई भने हमेशा एक किसिमको डर लागिरहन्थ्यो। त्यसैले उनको प्रस्तावलाई कुनै न कुनै बहानामा टारिरहेको थिएँ।
टोलका अनि एउटै कलेजमा सँगै पढ्ने मेरा केही साथीहरु म भन्दा फरक थिए। सम्राटको सामिप्य कसरी बढीभन्दा बढी प्राप्त गर्न सकिन्छ भन्ने मौकाको प्रतिक्षामा रहने उनीहरु,एक आपसमा कुरा गर्दा पनि सम्राटको प्रसङ्गवाट थाल्थे। “आज सम्राटले मलाई फोन गरेको थियो”, “मलाई ब्युटी पार्लरसम्म जान लिफ्ट दिएको थियो ” … … अनि लन्च,गिफ्ट जस्ता यी कुराहरु एक अर्कालाई सुनाएर आफू दोस्रोभन्दा विशेष नै रहेको देखाउने प्रयासमा आफ्नो महत्वलाई झारिरहेका कुरा यिनीहरुले कहिले बुझने हुन्? सम्राटले यिनीहरु सवैसँग पनि उत्तिकै मित्रता गाँसिसकेका थिए। केटीहरुसँग पनि हाँसेर धाप मार्दै कुरा गर्नु र सहज टाँसिनु उनको लागि केही थिएन। म सोच्थें शायद यो सम्पन्नहरुको अत्याधुनिकता हो। घरमा र हाम्रो परिवारमा कोही यसो गदैनन् , त्यसैले यस्ता दृश्य पचाउन मलाई अलि गाह्रै पर्थ्यो।
दुई दिन अघि लाइबे्ररीमा किताब लिन जाँदा त्यहाँ एक कुनामा गीता र रेणु आपसमा खासखुस गर्दै थिए। मलाई देख्ने वित्तिकै उनीहरुको गफ टुंगियो तर उनीहरुको अनुहारमा पोखिएको हाँसोका छिटाहरु अझै बाँकी थिए, सोधेँ,“के हो,नखरमाउलीहरु लाइब्रेरीमा के गफ गर्दै?” “हेर न,रेणुले भनेकी , सम्राट साह्रै छिल्लिन्छ रे। म चैं सवै कुरा बताउँछु तर ऊ बताउँदै बताउँदिन। ” गीताले हाँसो सकेसम्म दबाउँदै भनी। म केही नबोली किताब लिएर फर्कें। सम्राटको छिल्लिनुको हद,कसैलाई सामान्य लाग्न सक्ला,कसैको निम्ति पराकाष्ठा हुन सक्छ। मनभित्र विरोधी विचारहरुको युध्द,भावना र विवेकको द्वन्द्वमा निर्णय गर्न साहै्र गाह्रो हुँदोरैछ।
उदेक लागिरहेको थियो। कमला भाउजु आउनु भयो। घरमा आमा हुनु हुन्नथ्यो। “भाउजु, दाइ फर्किने कहिले त? ” मैले वहाँको हातमा चिया थमाएँ। कामको सिलसिलामा इन्डिया जानु भएको शंकरदाइ निकै वर्ष भयो क्यारे घर नफिर्नु भएको। “छिटै आउनु हुन्छ। सन्चो छैन भन्दै हुनुहुन्थ्यो। ” वहाँमा लोग्ने फर्किने खुशी पनि थियो र बिसन्चोको कुरा गर्दा चिन्तित पनि देखिनु हुन्थ्यो। “यतै बसेर राम्रो हेरचाह गर्नुस् अब,जाति भै हाल्नु हुन्छ नि,किन पीर गर्नु हुन्छ?” कमला भाउजु,केही वर्षदेखि दुखजिलो गरी बुढी सासु,बच्चाबच्ची,घरबारी धानी रहनु भएको छ। कति इच्छाहरु मार्नु भएको होला। मनमनै सोचें,जे होस्,अब दाइ आउनु भएपछि वहाँलाई धेरै सघाउ पुग्नेछ। कमला भाउजु पछि आउँछु भनी निस्कनु भयो।
राती आमा बुवा सम्राटकै वारेमा कुरा गर्दै हुनुहुन्थ्यो। बिदामा बिहेकै कुराको लागि मात्र भनी घर आएको छोरोको यसवारेमा कुनै सुरसार नै नदेखेर उनका आमाबुवालाई पनि निकै चिन्ता पर्नु स्वाभाविकै थियो। यसपालि जसरी भए पनि कुरा छिन्न पाए हुन्थ्यो भन्ने वहाँहरुको चाहना रहेछ। त्यसो त वहाँहरुलाई चित्त बुझेको परिवार र मन खाएका दुइचार केटीहरु पनि रहेछन्। आफैले त्यो निर्णय गर्न सक्ने भए पनि एक्लो पुल्पुल्याइएको छोरोको इच्छा र जिन्दगीभरिको कुरा भएकोले सम्राटमाथि निर्णय नलादिएको रहेछ। धेरै फोटो र देखाइएका केटीहरुमा खोट निकाली रहने सम्राटले आफूलाई कस्तो दुलही चाहेको रहेछ भन्ने कुरामा आमा अनुमान गर्दै आफ्नै तर्क दिँदै हुनु हुन्थ्यो। बुवाले भने कुनै बहस नगरी खाली सुनिरहनु भयो। “स्वर्गकी अप्सरा नै खोजेको रहेछ कि क्या हो,सम्राटले? ” आमा फत्फताउन थाल्नु भयो। “तपाईले हाम्रो पनि कुरा राख्नु भएको छैन? ” आमाको सोधाइमा बुवाले भन्नुभयो , “संकेत दिएको छु। सहदेवले पनि यसवारेमा कुरा गर्छु भनेका छन्। ” सहदेव अंकल,सम्राटका मामा पर्थे। वहाँहरु निकैबेरसम्म पनि कुरा गरिरहनु भयो। पछि पछि मधुरो स्वरमा कुरा गर्न थाल्नु भएकोले कोठावाट गुन्गुनाहट सिवाय केही आएन।
कलेजमा व्यस्त हुन थालेकीले अब सम्राटको जादु केही घट्न थालेकोथ्यो। पढाइको चिन्ता र खोज खबर नलिने आफ्नो बानीले उनको वारेमा त्यति जानकारी राख्न सकिँन। कलेज आउने जाने क्रममा यदाकदा उनलाई देख्थेँ तर उनको साथमा कारमा हमेशा कोही न कोही हुन्थ्यो नै। कुनैबेला आँखा जुध्दा उनी बोल्न खोज्थे,म हतार हतार पिछा छुडाइ भागीहाल्थें। कलेजवाट फर्किने क्रममा अस्ति कमला भाउजुलाई देख्दा चिन्नै मुश्किल पर्यो। अनिँदा आँखा र दुब्लाएर चाउरी परेका अनुहारमा अत्ाालिएर दौडँदै हुनु हुन्थ्यो। बाटोमा कुरा गर्न पनि भ्याउनु भएन।
त्यत्तिकै वहाँको हालखबर लिन वहाँको घर पुग्दा ढोकामा ताला मारिएको थियो। छरछिमेकीले शंकर दाइलाई अस्पताल लगिएको बताए। केही दिनपछि वहाँ बित्नु भयो। आमाले पनि कमला भाउजुको पीडामा साह्रै चित्त दुखाउनु भयो, “ बिचरी! के गर्नु भाग्य नै त्यस्तो। लोग्नेलाई पहिलेदेखि नै एडस् भएको आफैले थाहा नपाएका रहेछन्। साना केटाकेटीको पो बिल्लिबाठ, हरे शिव! ”
शंकर दाइको मृत्युले भन्दा पनि कमला भाउजुको असामयिक वैधव्यले निकै छोयो। त्यो रातभरी राम्रो निदाउन सकिँन। मनमा खेल्ने अनेक तर्कनाहरुले अनेक आशंका जन्माउँथे। त्यो आशंकाको जड सम्राटसम्म पनि पुग्थ्यो। साथीहरु पनि अचेल उनको बारेमा खासै कुरा गर्दैनन्। आफ्नो लागि नजुरेका भनेर आश मारेका हुन् वा आफ्ना कुराहरु मसँग शेयर नगरेका हुन्,त्यो उनीहरु नै जानुन्। एउटा कुरा चैं अप्रत्यासित भयो। सम्राटका आमाबुवालाई एक्कासी आफ्नो घरमा देख्दा आमा तीन छक्कै पर्नु भयो। मसँग पनि केही बेर कुरा गरेर वहाँहरु जानु भएपछि आमाबुवा आफ्नो कोठामा निकैबेर छलफल गरिरहनु भयो। त्यो रात आमालाई मैले निकै खुशी देखँेंे।
भोलिपल्ट साथीहरु भेला गरी यो कुरा सुनाएँ। उनीहरु खुशी भन्दा बढी ईर्ष्यालु देखिए। जलेरै भए पनि उनीहरुले बधाइ दिए। रेणुको त्यो बेला कुनै प्रतिक्रिया आएन तर त्यही दिन साँझ ऊ मलाई भेट्न आई। “ हैन,सम्राटले साँची तँसँग बिहेको कुरा चलाएको हो?” उसलाई यसमा विस्वासै लागिरहेको थिएन। मैले सवै कुरा दुरुस्त सुनाए पछि उसले कुरा फुत्काई, “सम्राटले मसँग बिहे गर्छु भन्थ्यो। त्यही भएर दुइचार पटक ऊसँग घुम्न पनि गैसकें। ” भाँचिएको मन लिएर ऊ फर्की। सम्राटको आफूसँग चल्न लागेको कुरामा मलाई हर्ष वा विस्मात् केही लागिरहेको थिएन। आमाले मुख फोर्नुभो, “सम्राटकी आमाले तेरो हात माग्नु भएको छ। अरु पनि राम्रा परिवारहरु थिए रे तर सम्राटले तँलाई नै रोजेछ। छोराको खुशीको लागि यसपालि टिकाटालो पक्का गरिराख्ने भनेका छन्। ” मैले कुनै जवाफ फर्काइनँ। सम्राटसँग सम्पर्क राखेँ र भेट्न खोजेँ। उनी उत्निखेरै आइपुगे। क्याफेको एउटा कुनामा बसी उनीसँग मनमा लागेका आशंकाहरु सवै सोधें। “ कम अन बेबी, साथीभाइसँग घुम्न जानु,मोज गर्नु उमेर मै त हो। बुढेसकाल लागेपछि पो घरको भएर बस्ने। तिमीले संसारै देखेकी रहेनछौ। ” उनको मादक आँखा बोलिरहेको थियो। हामीवीच कुरा हुन्जेल पनि उनलाई दुईचार कल आइसकेको थियो। यो उमेरमा नै उनले कुन फरक संसार देखे होलान्,म अनुमान गर्न सक्थें। घर फर्केर आमालाई आफ्नो निर्णय सुनाएँ, “सम्राटले यहाँ आउँदा आफ्नो मेडिकल सर्टिफिकेट पनि ल्याउनु पर्नेछ,त्यो पनि अनु दिदीवाट चेक गराएर। अनि मात्र बिहे गर्छु। ” आमाले नपत्याएर मलाई हेर्नुभयो,शायद यस्तो कुरा गर्न सक्छु भन्ने वहाँलाई लागेकै थिएन। “ बौलाइस् कि क्या हो तँ? ” यत्ति भन्नुभयो वहाँले। बुवा आउनु भएपछि आमाले सव कुरा पोख्नु भयो। म अगाडि बसिँन। वहाँहरुवीच के के कुरा भयो,थाहा पाइँन।
त्यसपछिका घट्नाहर अलि छिट्छिटै घटे। कुनै न कुनै तरीकाले सम्राटको परिवारमा यो कुरा पुर्याइयो, अनि त के चाहियो! ठूलै भुइँचालो गएछ। मलाई थाहा थियो,यी सव कुरा हुन सक्छन् भन्ने। सम्पतिको प्रलोभन,सम्झाइ,बुझाइ,हप्काइ गर्दा पनि मेरो मन नफिरेपछि सम्राटका परिवारहरु आफ्नो बेइज्जती भएकोमा निकै रिसाए रे। बिहेको कुरा अगाडि नबढ्दै तुहियो। सम्राट बिदा सकेर फर्किए। उनी मेरो पहुँचभन्दा टाढाको त्यो क्षितिज थिए,जहाँसम्म मेरो दृष्टि पुग्न सक्थ्यो तर हात हैन। मेडिकल सर्टिफिकेट एउटा बहाना मात्र थियो,यो बिहेलाई पन्छाउने। मेरो स्तर,मान्यता र विचारभन्दा पृथक सम्राटलाई म कसरी बिहे गर्न सक्थेँ,जसले रेणुसँग बिहेपछि राख्ने सम्बन्ध राखिसकेका थिए। म त्यो कमजोर धरातलमा उभिन चाहन्नथें,जहाँ टेकिँदा मैले भासिनु परोस्।