~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~
लम्की लम्की आउने रातलाई छेक्न पाए पनि हुन्थ्यो
मेरी मायालुलार्इ उजेलीमै देख्न पाए पनि हुन्थ्यो ।
दिन बित्छ क्षणभरमै तर रात किन लामो हुन्छ
छटपटीको कथा मैले जम्मै लेख्न पाए पनि हुन्थ्यो ।
पानी पर्दा उनकै याद घाम लाग्दा नि उनकै याद
मनको तिर्खा मेट्न एकै क्षण भेट्न पाए पनि हुन्थ्यो ।
माघको झरीमा पनि जमेकै छ हाम्रो प्रेम कहानी
चिसो मनलाई तनको आँचमा सेक्न पाए पनि हुन्थ्यो ।
लम्की लम्की आउने रातलाई छेक्न पाए पनि हुन्थ्यो
मेरी मायालुलाई उजेलीमै देख्न पाए पनि हुन्थ्यो ।
काठमाडौ, नेपाल ।
(स्रोत : कविता कुसुम)