~लिला उदासी~
झापा आन्दोलनबारे लेखिएन । थोरै लेखिएको पनि पूर्वाग्रही पनि रह्यो र सत्य पनि लेखिएन । झापा आन्दोलनका नायकहरूको रुचि सत्य लेखनतर्फ भएन । हुन सक्छ, उहाँहरूले अहिले पनि कसैलाई सगरमाथा बनाउनुपर्दो हो । त्यसैले उहाँहरूको कलम सत्यको निकट जान रुचाउँदैन । त्यसो त, एउटा मान्छे जब धेरै लेख्छ या त उ अरू थोकभन्दा लेखक धेरै हुन्छ, उसको व्यक्तित्व र प्रवृत्तिलाई लेखकीय स्वभावले थिच्छ । निश्चित हुन्छ, त्यो लेखक इमानदार हुन्छ । यस्तो अवस्थामा कि त उसले लेख्दैन, लेख्छ भने इमानदारीको रेखा नाघ्दै – नाघ्दैन । झापा आन्दोलनका बारेमा जतिले कलम चलाए, उनले यसैलाई उचाल्न पछार्न, यसको कुनै पाटोमा झुन्डिएको डोरीमा समातेर पिङ खेल्न चाहे । अनि कसरी सत्य र पूर्ण लेखनको परिकल्पना गर्नू र ?
झापा आन्दोलनका बारेमा विस्तृत लेखन भइदिएको भए त्यो आन्दोलन विस्तृत रूपमा उधिनिने त थियो नै, साथै झापा आन्दोलनको भाव, भूमि र जरासमेत प्रदर्शन हुन्थ्यो । झापा आन्दोलनको औचित्यमा उठेका प्रश्नहरूको उत्तर पनि त त्यस्तो लेखनबाट सम्भव हुने हो । वास्तवमा, झापा आन्दोलन भनेको वीरता, अनुभव, आकाङ्क्षा, उत्तेजना, भावुकता र अरू पनि अनेक प्रसङ्गहरूको प्रवाह हो । त्यस प्रवाहमा सम्मिलित सबै तत्त्व र यथार्थहरूको तस्वीर फगत त्यस्तो लेखनले मात्र प्रदर्शन गर्न सक्छ र प्रवाहका अनेक तत्त्वहरूको गुण, गरिमा स्वभाव र प्रवृत्ति त्यस्तो लेखनले नै स्थापित गर्दछ तर झापा आन्दोलनले कुनै मेरी टाइलर पाएन । अनिल वर्वे जन्माएन । तिनका कृतिगत प्रवृतिको प्रतिनिधित्त्व र परिपूर्ति बन्दी रहर र फुटकर रचनाहरूले गर्न सकेनन् । अझै पनि समय छ, जाँगर र सीप भएको कोही लेखक भए झापा आन्दोलन यस्तो वञ्जर धर्ती हो, जो मलिलो छ, लहलहाउँदो बाली लाग्न सक्छ र उब्जाउयोग्य पट्टेर धर्ती जाँगरिलो शिल्पीको प्रतीक्षामा छ ।
वास्तवमा त्यस्तो लेखनले हिजो अन्यायमा परेकाहरूलाई न्याय दिन सक्ने थियो भने तत्काल अन्याय गर्ने साँढेहरूका टाउकोमा अहिले पनि भुङ्रो खनिन्थ्यो । तत्काल छोपिएका अनेक चित्रहरू अनगिन्ती आँखाहरू सामुन्ने हुने थिए । धुरीमात्र देखेकाहरूले जग पनि देख्ने थिए, चर पनि देख्ने थिए, जहाँबाट त्यो रहर उम्रिएको थियो सारा बगर देख्ने थिए – सबैले । जेहोस् अनौपचारिक तर मार्मिक अनगिन्ती अभरहरू कहरहरू जनसमक्ष आउने थिए । त्यस्तोमा झापा आन्दोलन जनमानसबाट केस्राकेस्रा भएर बुझिने थियो । आगामी सन्ततिलाई त्यो गतिलो उपहार पनि हुने थियो तर त्यस्तो गर्न खोइ ! कसैको जाँगर चलेन ।
प्रसङ्ग रामनाथ दाहालको हो । रामनाथ दाहाल २०२९ साल फागुन २१ गते शहादत प्राप्त गर्ने पाँच झापाली सपुतमध्धे एकको नाम हो । ती सपुतहरूको शहादतले नै झापा आन्दोलनलाई मुलुकको राजनीतिमा यति उठाएको हो । वास्तवमा व्यक्ति हत्याको प्रसङ्गले झापा आन्दोलन चौतर्फी प्रश्नको घेरामा परिरहेको बेलामा ती सपूतहरूले शहादत प्राप्त गरे र मुलुक शहादतको बहसमा उत्रियो । त्यसरी बहस र छलफलका माझबाट झापा आन्दोलनले राजनीतिक मान्यता प्राप्तगर्न थाल्यो । कुनै अभियोगसम्म लाउन नसकी आफूले थुनेका मानिसहरूलाई जेल सार्ने बहानामा हतकडी लगेर डोर्याथउँदै लगेर सुखानीको जङ्गलमा हत्या गर्ने सरकारको कायरता राम्रैसँग प्रदर्शित भयो र शासकहरू राम्रैसँग नाङ्गिए । ती सपूतहरूको बगेको रगतले मुलुक ब्युँझियो र झापा आन्दोलनलाई जोसुकैले च्याउन थाले । यसका नायकहरूले पनि यस्तै ज्वार भाटा बीचबाट गम्भीर हुन सिके । सङ्कोचनबाट मुक्त हुन खोजे । अलिक परसम्म हेर्ने चेष्टा गरे । त्यसैको परिणाम हो मुलुकमा रामनाथहरूले हिँडेको बाटो निकै फराकिलो, सहज र सफा बन्यो । अँध्यारोका भक्तहरू पनि सूर्यलाई हेर्न र पूजा गर्न थाले । हो, घमाइलो दिन त त्यसको परिणाम हो जसको कारण रामनाथहरूको रगत हो यद्यपि अहिले त्यो घामको सतहमा कालो बादल लागेर घामलाई छोपेको किन नहोस् ।
झापा आन्दोलनमा कुन शहीदको कस्तो भूमिका र योगदान रह्यो ? त्यहाँ रामनाथको भूमिका के थियो ? यस्तो प्रश्नको उत्तर खोज्नु भनेको शायद ती शहीदहरूलाई अनादर गर्नु पनि हो । जो मान्छेले त्यो आन्दोलनका लगि आफुलाई बलिदान गर्योो, त्यो भन्दा ठूलो र महत्वपूर्ण भूमिका अरू खोज्नु मूर्खता हुनेछ । वास्तवमा, दुस्मनसँग नझुकी सिद्धान्तका लागि, स्वन्त्रताका लागि, भोलिका सन्ततिका लागि, समानताका लागि, न्यायका लागि हाँसी हाँसी मृत्यु वरणगर्ने जोसुकै हुँदैनन्, थोरै हुन्छन् । अनि ती शहीद हुन्छन् । ती जनमानसका श्रीपेच हुन्छन् । त्यस्तै श्रीपेच मध्येका हुन् – रामनाथ । अरूलाई अनादर नगरी रामनाथको अतीत खोतल्दा अलिक बेग्लै हुन सक्छ । त्यो अलग पहिचान विशिष्ट पनि हुन सक्छ ।
त्यसो त, रामनाथ दाहाल केवल राजनीतिक चेत भएसम्मको मान्छेसम्म मात्र गणना गर्दा रामनाथलाई चिन्ने र बुझ्नेले समर्थन गर्दैनन् । उनले तुरुन्तै प्रतिवाद गर्छन् र भन्छन् – रामनाथमा पर्याप्त राजनीतिक चेत थियो, तर त्योभन्दा अरूकुरा पनि धेरै थियो । हो, वास्तवमा रामनाथको समाजसेवा, साहित्यिक र सांस्कृतिक चिन्तन, दूरदर्शी र उदार दृष्टिकोण, यस्ता स्वभाव र प्रवृत्तिले राजनीतिक चेत पो कहिले कहिले ओझेल जस्तो भान हुन्थ्यो, तर त्यस्तै पनि हैन । निष्कर्ष त यस्तो हो – रामनाथका अनेक क्षमताहरू उछिन पाछिन हुन्थे । तसर्थ झापा आन्दोलनका क्रममा शाहदत प्राप्तगर्नेहरूको योगदान कुनै तौलमा हेरेर घटी या बढी छ भन्न सकिँदैन नै । बलिदानभन्दा ठूलो योगदान के खोज्ने र ? तर रामनाथको अतीत खोतलेर झापा आन्दोलनलाई नियाल्दा त फेरि पनि हिचकिचाउनु हुदैन होला ।
रमनाथसँग यस लेखकको पहिलो औपचारिक परिचय कहिले भयो ? निश्चित रूपमा मिति सम्झना भएन । त्यसको खास कारण त यस्तो थियो– अनौपचारिक रूपमा हामी दुवै परिचित थियौ । माध्यम साहित्य थियो । दुवैले एक – अर्कोका रचना पढिसकेका थियौ । अझ केही समय त यस्तो पनि रहयो, रामनाथ चिनेको पनि, तर औपचारिकतामा अलमलिएर बोलचाल नफुकाएको । यस मामलामा आफ्नै स्वभाव प्रतिकूल बनेर पनि यस लेखकले पीडा भोग्नुपरेको छ । हो, औपचारिक खोजीको समय अलिक लामै रह्यो । शायद, भद्रपुरतिर नै होला– २०२५ सालका आसपास एक दिन रामनाथ दाहाल र मैले कसिला हातहरू मिलाएर अनौपचारिकता नष्ट गरेथ्यौ ।
एस. एल. सी परीक्षा दिएर तराई झरेको अल्लारे ठिटो यस लेखकलाई शनिश्चरे बजारले आनन्द दिएको थियो । त्यस दिन शनिवार परेछ । मध्यान्नमा शनिश्चरे उत्रिदा शनिश्चरे बजार यौवनले ढकमक्क फुलेको रहेछ । शुक्रबार दिउँसोबाट शुरू भएको बजार आइतबार दिउसोसम्म लाग्दो रहेछ । सबै नयाँ मान्छे, नयाँ घर, नयाँ वातावरण, एउटा पहाडे ठिटाका लागि शनिश्चरे बजार ठूलो शहर लागेको थियो । त्यसो त शनिश्चरे अहिले जस्तो हैन, थुप्रै मिल थिए । सिनेमा हल थियो । त्यसको माइकले बजार थर्काउँथ्यो । जिपहरू इलाम गइ रहन्थे । जिपहरू इलामबाट आइ रहन्थे । बिर्तामोड जन्मेकै थिएन । भद्रपुर – शनिश्चरे पनि जिप सेवा चल्थ्यो । पछि मात्र थाहा भयो, त्यसै दिन देखेको रहेछु रामनाथ दाहाललाई शिवप्रसाद शिवाकोटीसँग । उहाँहरू दुवैलाई देख्दा पछिसम्म सम्झना हुन्थ्यो – शनिश्चरेको कुनै चिया पसलमा ओल्लो – पल्लो बेन्चमा बसेर चिया खाने आकर्षक व्यक्तित्व भएका दुई जना नै रहेछन् रामनाथ दाहाल र शिवप्रसाद शिवाकोटी ।
´पञ्चामृत´को सहयात्रामा रामनाथ दाहालसँग निकट हुने मौका मिल्यो । साहित्य, संस्कृति र लेखनका बारेमा हाम्रा बीचमा धेरै छलफल चल्थे । अध्ययनका लागि किताबहरू खोजी र जोहो हाम्रा सामूहिक चिन्ता हुन्थे । नयाँ प्रकाशनहरूको तत्काल प्राप्ति र उपयुक्त प्रकाशनको चयन पनि हाम्रा छलफलका प्राथमिकतामा पर्थे । यस्तै चिन्ताबाट हामीले अनुरोध गर्यौ र राधाकृष्ण मैनालीले जन–ज्योति कुइनेटो नामक पसल खोल्नुभयो । त्यो पुस्तक पसलले झापामा तत्काल ठूलो सेवा प्रदान गर्यो । भारतीय कम्युनिस्ट पार्टी मालेका मान्छेहरूले यहाँबाट चिनियाँ प्रकाशनका पुस्तकहरू लैजान्थे । रामनाथ दाहाल मन परेको नयाँ पुस्तक खरिद गर्नुहुन्थ्यो । पढि सकेपछि अरूलाई पढ्न दिनुहुन्थ्यो । पढेका पुस्तकका बारेमा हाम्रो विभिन्न कोणबाट छलफल र बहस चल्थ्यो । थोरै भेटघाटको समयलाई हामी यसरी प्रयोग गर्थ्यौ ।
तत्काल हतियार बन्द आन्दोलनका बारेमा त्यस्ताका युवा विद्यार्थी समूहमा निकै बहस चल्थ्यो । निश्चित हो त्यो बहसलाई चारू मजुम्दार र कानु सन्यालहरूको पार्टीले प्रभाव पार्यो । त्यो पार्टीमा पश्चिम बङ्गाल र आन्ध्र प्रदेशतिरका धेरै बौद्धिक जमात र युवा विद्यार्थीको भिड लागेको थियो । लाग्थ्यो, कम्युनिस्ट शासनलाई भारतमा छिर्न नदिनेहरू अब धेरै टिक्दैनन् । मेचीपारिको यस्तो बिगबिगीले यता पनि धेरै सोच्ने समय दिएन र झापा आन्दोलनको दौड चल्यो । त्यसो त यस क्षेत्रको वातावरण पनि उत्तेजक थियो । ठूला – ठूला विद्यार्थी आन्दोलनहरू चल्थे । सुस्ता महेशपुर अतिक्रमण विरोधी आन्दोलन चल्थ्यो । पूर्व कोशीको नेतृत्व आफै अन्तर्द्वन्दमा फसेको भएपनि हतियारबन्द संघर्षको चेत प्रवाह गर्थ्यो । मनमोहन अधिकारी सम्पादक भएको नव युग हेरे पुग्छ । यता झापामा युवा विद्यार्थीहरू पुराना कम्युनिस्ट नेता गोपालकृष्ण प्रसाईका विरुद्धमा आन्दोलित र केन्द्रित थिए । मदन खपाङ्गी जस्ता इमानदार र सरल नेताहरू किम् कर्तव्यको अवस्थामा थिए । झापा आन्दोलनका बारेमा हतार – हतार बहसहरू चलिरहे ।
चिन्तनशील, विचारक तथा दुरदर्शी प्रवृत्तिका रामनाथ दाहाल झापा आन्दोलन जसरी चल्यो, त्यसरी चलाउने पक्षमा हुनुहुन्थेन । हतारो बाटपर्ने प्रतिकूल प्रभावका बारेमा उहाँको स्पष्ट दृष्टिकोण थियो । यस्तो थालनीबाटहुने क्षतिबाट यसलाई बचाउन तत्काल धैर्य गर्नुपर्ने सोच पो रामनाथसंग पर्याप्त थियो । तापनि, उहाँ पक्राउ पर्नुभयो । द्रोणाचार्य क्षत्री लगायत हामी धेरै छटपटीमा पर्यौंय । हाम्रो पहुँच थिएन । प्रयत्न बालुवाको पनि । पूर्व कोशीको नेतृत्वले चाहेको भए, अवस्थामा सुधार आउने थियो, त्यसो भएन । बरू प्रतिकूल रह्यो । जसरी झापाली युवा विद्यार्थीहरूलाई झापा आन्दोलनगर्न हतार थियो, त्यस्तै हतार प्रशासनलाई दमनगर्न थियो । त्यही दमनमा रामनाथहरू शहीद भएर जन्मे । कायरहरूले सुखानीमा वीरहरूको रगत बगाए । त्यो आन्दोलन निषेध त भएन, निषेध गर्न हिडेकाहरू निषेध भए ।
रामनाथलाई शहीद मान्नु हुन्छ कि हुँदैन ? भन्ने प्रश्न पनि क्षितिजको कुनै कुनामा सुनियो । धन्य हो ! यस्तो प्रश्न ! बिचार र सिद्धान्तका लागि आफ्ना कुनै आन्तरिक सहमति र असहमतिबारे आँ पनि नगरी, शत्रुका सामु शिर नझुकाई मृत्यु वरण गर्दापनि यस्तो प्रश्न ? बुझ्नै पर्ने कुरा त के छ भने अलिकति निहुरी मात्र दिएको भए रामनाथले मन्त्री पाउथे, तर पञ्चायतको तुच्छ मन्त्रीभन्दा स्वाभिमानी मृत्यु प्रिय मानेर त रामनाथ जनताको श्रीपेच बने । हो, रामनाथ जनताका शिरका ताज हुन् जो युग –युगसम्म जनताका शिरमा चम्कन्छन् । रामनाथहरू कहिल्यै मर्दैनन् । जनताको मनमा अमर भएका छन् ।
-लिला उदासी, झापा।
(स्रोत : Voiceofjhapa)