~प्रतीक चाम्लिङ~
यो बन्द कोठा भित्र
खोलेर सपनाका पोकाहरु
विरहका भुङग्रो जलाई
विगतहरु निर्ममता साथ
खरानी बनाउन चाहन्छु
र
आँखा बन्द गर्छु
कान थुन्छु
तर
सम्झनाको ढोकाबाट
अनवरत पसिरहन्छ विगतहरु
अनि
म जल्न थाल्छु आफै पीरसंगै विस्तारै विस्तारै ।
पर्दा खोल्छु झ्यालको
पर क्षितिजदेखी
उनको सम्झना मलाई चियाए झै लाग्छ
गोधुलीको मिहीन किरणसंगै
जबर्जस्ती हेर्छु पर पर सम्म
आँखाले नभ्याउने आकाश भरी
टाँगिन्छ उनी
उफ ! कस्तो यो सम्झना ?
मनको हासोलाई निमिट्टनै पारेर
फेरी रातको साँझ
झमक्कै पार्छ
म पर्दा लगाउछु
र
आँखा चिम्लन्छु फेरी
म कोठामा बतीको मधुरो धिप धिपे ज्वालोमा
उसै गरी जल्न थाल्छु विस्तारै विस्तारै ।
बन्द आँखाभित्र
कता कता उसकै मुहार आए जस्तो
तर
असम्भव ! हुनै सक्त्तैन
किनकी
धेरै भयो सपनाका ढोकाहरु बन्द छन्
थुप्प्रै रात भयो म देखी भागेको
सपना देख्ने नीदहरु
पुरानै घाउहरु अटसपटस भएर
मन भित्र हाम फालिईरहन्छ एक माथि अर्को
म चुपचाप सहिरहन्छु
लाग्छ निमेषभर मै मृत्यु अंगालुँ….
तर…
बांच्नु भन्दा मर्नु झनै गाह्र्रो
यो पीडादायक समय
भोगिरहुं म कतिन्जेल ?
म मृत्यु सहजै स्वीकार्नु तयार छु
बिस्तारै म आफुलाई छाम्छु
म मरिसकेछु जीवनदेखी
विवश म !
आफ्नै शव आफै पर्खिरहेछु
जिउदो मूर्दा भएर
शून्यताको चित्तामाथि
अध्यांरो कोठाको धिप धिप बत्तीको ज्वालोमा
जलिरहन्छु उसै गरी सधैं झैं विस्तारै विस्तारै ।
खोटाङ्ग खिदीमा-८, हाल-हङकङ
(स्रोत : कविता कुसुम)